चूडामणि रेग्मीनेपालका हास्यव्यङ्ग्य तीर्थधाम
यो कस्तो गरिमामय अखडा हो । यहाँ प्रज्ञा छैन, गरिमा छैन, साझा छैन, ‘प्रतिष्ठान’ छैन र पनि लाग्छ यहाँ सवैथोक छ । यहाँँ स्वार्थसिद्धि गर्ने कुइगन्ध छैन । लाग्छ वासुदेवको घर तीर्थस्थल हो, मन्दिर हो त्यसैले यहाँ पशुपतिमा झैं भीड छ, झर्रो गफ छ, गुलियोमा एक कम चिया छ ।

चूडामणि रेग्मी :
मेरा दाजु कोशराज रेग्मीले भित्र कोठामा बस्ने ‘बाबू’ कमलमणि दीक्षितलाई भेट्न जाँदा “तपाईं को हुनुहुन्छ ?” भनी वाहिर कोठामा बस्ने वासुदेव लुइँटेलले प्रश्न सोद्धा दाजुले सगर्व भन्नु भयो अरे ! ‘म महामन्त्री कोषराज रेग्मी ।’ यो उत्तरको परिणाम भित्र जेहोस् बाहिर आफ्नो अखडा जमाउने वासुदेव लुइँटेलका हास्यव्यङ्ग्य कारखानामा एउटा व्यक्तिको नयाँ नामको जन्म भयो “महामन्त्री ।” वास्तवमा दाजु ऐतिहासिक संस्था जनसांस्कृतिक सभा (२०१२)को महत्वपूणर् काम गर्ने महामन्त्री नै हुनुहुन्थ्यो, तर दाजुले महामन्त्रीको दावी गर्नुभएर विराटनगरमा हुने (२०२५ तिर) तृतीय देशव्यापी साहित्य सेमिनारको आयोजक समितिको महामन्त्री पनि । दाजुको कुरा छाडौं मेरो पनि कुरो छ- म पहिले-पहिले आफूले ज्यादै नाम सुनेका वावु कमलमणि नै भेट्न जान्थे । (साना लेखकलाई ठूला लेखक भेट्ने रहर हुन्छ नै !) त्यसै क्रममा वावुलाई भेट्ने प्रतीक्षा गर्दा वासुदेव लुइँटेलका कोठामा बस्दै जाँदा पो ‘भूतको भिनाजु’ कौवा प्रकाशनको ठूलो कौवा, हास्यव्यङ्ग्यावतार महाप्रभु वासुदेव लुइँटेललाई सम्झिएँ र राम्ररी चिनेँ । मेची वहुमुखी क्याम्पसमा धेरै वर्ष भाँडा माज्दा-माज्दा थोत्रिऐको व्यक्तित्व, ऐकैठाउँमा वसेर सिलवरको थाल जस्तो कुच्चिएर पत्रू भएको म वासुदेवका अड्डामा पस्न र वस्न थालेपछि निकै नयाँ जस्तो, निकै भुत्ते भए पनि अलिक धारिलो लाग्ने भए जस्तो अनुभव गरें । हुन सक्छ युगज्ञानमा प्रकाशित व्यङग्यऋषि नामको ‘गजवाष्टकको’ पुण्यप्रतापले नै क्रमशः म पनि ‘मधेसतिरको’ तक्मा पाई वासुदेवका दरवारको सानो भारदार ‘ठोकिदिएँ !’ नै भएँ ।
२०४६ सालपछि पहिलेको कोठावाट हास्यव्यङ्ग्येश्वर आफ्नै घरको कोठामा सरे ती दुवै ठाउँ मेरा लागि तीर्थधाम भयो । मान्छे विग्रन पो हुँदैन सप्रन त पाइन्छ ।
पाटनढोका स्थित त्यो कोठा तीर्थस्थल अव… को कोठा भएको छ । हुन त म कमल वावूको कोठामा पनि जान्छु, महामना र सच्चरित्र साहित्यकार ठान्छु उनलाई । काठमाडौं गएका वेला ‘मदन पुरस्कार गुठी’ नजाने व्यक्ति कमै हुन्छन् । वासुदेव लुइँटेलका घर जाने र उनलाई आदर गर्नेको ठूलो हुल छ, मेची वहुमुखी क्याम्पस नेपाली विभाग प्रमुख होम सुवेदी जस्ता वासुदेव लुइँटेललाई श्रद्धा गर्ने श्रद्धालु भक्त धेरै छन् । होम सुवेदीले वासुदेवलाई वावु नै ठान्छन् । मलाई पनि लुइँटेलको दर्शन गर्दा परमानन्दको अनुभव हुन्छ । परोपकारी, कणर्जस्ता दानी, उदार, भाषा साहित्य प्रेमी, असल प्राज्ञ, स्वार्थीहरूको सातोपुत्लो खाने तथा हुर्मत लिने, झर्रा-टर्रा वासुदेव गुरु अचेलका ऋषि हुन्ः कहिलेकाहिं त दुर्वासा पनि हुन् । उनलाई भेट्न जर्नेल जान्छन् भने सामान्य नागरिक पनि जान्छन् । चूडामणि जान्छ भने शेषराज पनि जान्छन् ।
सुनिन्छ उनका हजुरिया जर्नेल ‘रचना’का सम्पादक रोचक घिमिरे रे ! वासुदेवका अखडामा धेरैले उपनाम रुपी इनाम पाउँछन् कोही पु.क.ज. हुन्छन्, कोही प.क.ज. कोही भगेंरे कांग्रेस हुन्छन्, कोही भुसतिघ्रे कांग्रेस हुन्छन् । उनले उपनाम राखेका कुनै पनि साहित्यकार उनीसँग रिसाउँदैनन् ।
कैयौं प्राज्ञ नगरवधू भएको यो मुलुकमा वासुदेव हीरा हुन् मणि हुन् । उनी जताउँछन- मान्य हुन ठूलो डिग्री चाहिँदैन, ठूलो पद चाहिंदैन । उनलाई देख्दा म वरावर गम्दछु र मनमनै निन्दा गर्दछु कतिपय कविवर, उपकुलपति र प्राध्यापक/प्राज्ञिकता वेच्न नलजाउने कैयौं नेपाली साहित्यकारका अगाडि यी निष्कलङ्क जुन हुन् । वासुदेवका अखाडामा वक्सियोस् चल्दैन, झर्रो भाषाप्रेमीका हैसियतले मलाई गौरव लाग्छ । हो, यदाकदा झर्रोले चर्को रुप दिन चाहिं सक्छ ।
मलाई कसैकसैका घरमा जाँदा कतिपय समस्या पनि बेहोर्नुपरेको छ, तर वासुदेवका घरमा जाँदा भने कसैको केही सुन्नु पर्दैन । मलाई लाग्छ, अप्रजातान्त्रिक ढङ्गको घरमा जानु र प्रजातान्त्रिक ढङ्गको घरमा जानु कति अन्तर छ । वासुदेवका अखाडामा झर्रा गफका साथै सुरम्य प्रजातान्त्रिक वातावरण पाइन्छ । हो, गफका क्रममा चियाको सुर्को पनि लिन पाइन्छ ।
वासुदेव पुराणकै वासुदेव अर्थात् श्रीकृष्ण हुन् । श्रीकृष्णका घरमा दुर्योधन पनि जान्थे अर्जुन पनि । त्यहाँ डाक्टर जान्छन्, त ‘रोगी’ पनि, ‘जर्नेल’ जान्छन् त रैती पनि । कोही आशिर्वाद पाउँछन्, कोही सुझाव पाउँछन्, कोही स्वाभिमान पाउँछन्, कोही देशको विकृति उपर व्यङ्ग्य हान्ने प्रेरणा पाउँछन् । कोही देशभक्ति पाउँछन् कोही भाषाभक्ति पाउँछन् । एकपल्ट म, शेषराज सिवाकोटी र मेरो नाति रविन गएका वेला नातिले चक्लेट पायो, त्यो देखेर हामी छक्क पर्यौंँ ।
यो कस्तो गरिमामय अखडा हो । यहाँ प्रज्ञा छैन, गरिमा छैन, साझा छैन, ‘प्रतिष्ठान’ छैन र पनि लाग्छ यहाँ सवैथोक छ । यहाँँ स्वार्थसिद्धि गर्ने कुइगन्ध छैन । लाग्छ वासुदेवको घर तीर्थस्थल हो, मन्दिर हो त्यसैले यहाँ पशुपतिमा झैं भीड छ, झर्रो गफ छ, गुलियोमा एक कम चिया छ ।
जय होस् । सुपुत्र जन्माउने नेपाल आमाको ! भन्छु प्रभाववादी नै सही ! असल वुहारी हुने छोरीको पनि जय होस् ! जयहोस् हास्यव्यङ्ग्य हुर्काउन कस्सिएको सम्पूणर् लुइँटेल परिवारको । अन्धविश्वासी नभए पनि ठान्दछु स्वर्गीय लुइँटेल आमै जय मनाउँदी हुन् आफ्ना हास्यव्यङ्ग्य क्षेत्रमा कस्सिएका वूढाको र वूढालाई सहयोग गर्दै छोरा र वुहारीको ।
०००
२०५९ भदौ २३ गते
दृष्टि पनि सृष्टि पनि २०६९ बाट
Subscribe
Login
0 Comments
Oldest







































