साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हलो

हलोप्रधान देशमा हलोवाद, हलीसिद्धान्त लागू हुनुपर्छ । हलोप्रधान देशमा अरू ठगी खानेहरूको शासन सत्ता हुनु हुँदैन । हलो र हलोको पसिनाको मूल्य हुनुपर्छ । हलोभन्दा भलो चिज अरू केही पनि छैन । हामी सबैले दैन्दिन जप्नु पर्ने मूलमन्त्र हो- जय हलो !

Nepal Telecom ad

चन्द्रप्रसाद न्यौपाने :

“अठार पुराण चार वेद, सबैभन्दा ठुलो हलाको फेद” भोगटेका चस्मा लगाएर व्यासासनमा बस्ने पण्डित बाजेका प्रवचन सुन्दा सुन्दा वाक्क भएका हलीकिसानी काकाले भनेका उक्त वाक्य मेरा कानमा झन्झानाइरहेको छ । जो मानिस शिक्षित छु भन्ने घमण्ड गर्दछ, उसले हलोको प्रयोगात्मक शिक्षा पाएको हुँदैन । हलोको किस्मत खाएर बाँच्ने मान्छेलाई हलोको व्याख्या गर्न नआउला- जो मान्छे म हली होइन भनेर घमण्ड गर्ने गर्दछ । हलोको सामान्य अर्थ हुन्छ- गोरु, राँगा आदिले तानेर खेतबारी जोत्ने फाली, अनौ, हरिस, जुवा, जोतारो आदि भएको कृत्रिम साधन, हल, हर । हलो धेरै मूल्य पर्ने सुनचाँदी जस्ता धातुबाट बनेको हुँदैन । चिलाउने, साल आदि सामान्य काठको साँढे दुईदेखि तीन फिट लामो गिँड, ठुटोलाई सिकर्मीले ताछतुछ पारेर हलो बनाउँछ । हलो बनाउने हलेसिकर्मीले हलो बनाएपछि हलीले खेतबारीमा जोत्छ । धातुको नाममा फाली र करूवा हलोको टुँडोमा ठोकिएको हुन्छ । जमिन जोत्ने मुख्य काम फालीको हुन्छ । फाली दुई किसिमका हुन्छन्- सुइरे र कोथे । कोथे फाली ठोकेको हलोमा फाली अड्याउने करूवाको आवश्यकता पर्दैन । सुइरे फाली अड्याउन करूवाको आवश्यकता पर्छ । फाली नभएको हलोलाई ठुटे हलो भनिन्छ त्यसले जोत्दैन ।

जो मानिस कामभन्दा कुरा धेरै गर्छ, घुम्ने कुर्सीमा बसेर गफले विश्व हाँक्छ, उसलाई हलोको बारेमा दुई मिनेट बोल्न आउँदैन । यी यस्ता उँचा उँचा ओहदामा रहने मानिस हावा खाएर बाँच्दैनन् । अन्न, फलफूल नै चाहिन्छ । अन्न फलफूलको उत्पादन हलो नभई हुँदैन । संसारमा जेजति जो जस्ता मानिस छन् ती सबै हलोकै किस्मत खाएर जिएका हुन्छन् । दुनियाँका दृष्टिमा हली र राजालाई आकाश र पातालजस्ता अन्तर देखिँदो हो । राजा महान् हुन् तर हलो जोत्ने हली सानो । दुनियाँ अन्धो छ- विचरा हलीलाई राजाको पूजा गर्न लाउँछ । राजालाई हली र हलोको बारेमा के थाहा ? राष्ट्रपति भन्नेलाई हलोको नक्सा कस्तो हुन्छ त्यो पनि थाहा छैन । किसान मजदुरका नामले खोलिएका राजनैतिक दल किसान सङ्घ, मजदुर पार्टी आदिलाई त झन् जुवामा कतिओटा सोइला हुन्छन् त्यति पनि थाहा नहोला । बंगुर, सुंगुरले हलोको किस्मत खाएर मोटाएका हुन्छन् त्यस्तै बंगुर मोटाए झैँ ढसमस्स मोटाएका खन्चुवाहरूले हलो जोत्ने हलीको पसिना चुस्न नपाए निमेषभर पनि टिक्न सक्दैनन् । खेतीकिसानी गर्ने कृषकका लागि हलोको फेद नै धर्ती हो त्यसैमा उसको गुजारा चलेको छ । हलोभन्दा महवपूणर् वस्तु संसारमा प्रायः नगण्य र दुर्लभ होला । हाम्रो देशमा मात्र नभई विश्वका थुप्रै देशका केही मानिस हलो जोत्ने हलीलाई हेप्छन् । केही मानिस मन्त्री भयौँ, सांसद थियौँ । म कृषि मन्त्रालयको सचिव हूँ, म जि.वि.स.को सभापति, म सिडिओ, म आईजीपी, म सेनापति, हामी नै शिक्षित छौँ, रकेटको आविस्कार हामीले नै गर्‍यौँ, अन्त्यरीक्षमा डुल्यौँ, कम्प्युटर जस्तो छिटोछरितो साधन जन्मायौँ जस्ता थुप्रै कुराहरू देखाएर धाक लाउँछन् तर हलो जोत्ने हलीले आफ्ना काममा हड्ताल गरिदियो भने यी सारा मानिसका ओठमुख सुक्छन् । यिनका सारा विकास चक्नाचुर हुन्छन् । एउटा साधारण किसानको हलो सम्पूर्ण विश्व बचाउने साधन हो । हलो सिङ्गो विश्व थेग्न सक्ने प्राकृतिक कम्प्युटर हो । हलो नभए विश्वमा सृष्टि नै बन्द हुन्छ । कुटो, कोदालो हलोको शाखा, छोराछोरी हुन् । हलोको हड्ताल एटम बम पड्किनुभन्दा पनि ज्यादा खतरनाक हुन्छ । हलोको हड्ताल हुन नदिन राजनैतिक नेतृत्व पङ्क्तिमा पुगेका विभिन्न विचारका नेताहरू हलोवादीका हलीहरूलाई विभिन्नखाले लोभ लालच देखाएर अलमल्याउने गर्छन् । सबैभन्दा पहिले हलो कुन देशको मानिसले बनायो, म जान्दिनँ । हलोको सृष्टि हुँदा सायद यो विश्व एउटै सीमामा थियो । अहिलेको जस्तो सीमाविभाज्य देश देश त्यतिखेर थिएनन् । हलोको इतिहासबारे त्यति भरपर्दो प्रमाण मसँग छैन । हलोको उत्पत्ति कालका बारेमा हलीलाई थाहा हुन्छ- मैले तिनीसित सोधेको छैन । हलोको बारेमा हलीले जे भन्छ- त्यो सत्य हुन्छ किनभने हलीले कहिल्यै पनि अनावश्यक गफ गर्दैन ।

हलोको उत्पत्ति कहिले भयो किटान गर्न सक्ने आधार पनि मसँग छैन । म त केवल, हलीको किस्मत पसिना खाएर मात्र जिएको मान्छे हूँ । ढुङ्गे युगबाट नै मानिसले खेतीपाती गर्न थालेको अड्कल छ र त्यसैबेलादेखि जोतीखनी खेती गर्ने कुरा मानिसले जानेका होलान् ! हाम्रा पुराना काव्यहरूमा पनि त्यस बेलाका कविले हलोको बारेमा कतै कतै उल्लेख गरेका छन् । द्वापर युगका कृष्णका दाजु बलरामको युद्ध गर्ने मुख्य हतियार हलो थियो भनिन्छ । हलो लिएर बलराम युद्धभूमिमा उत्रेपछि विपक्षी लडाकुहरूका सारा धनुवाणहरू ध्वस्त हुन्थे रे ! दशैँमा ठुलाबडाहरूले टीका लगाई आशिष दिँदा “बलन्त हलधरे” भन्छन् । बलरामले हलोको हतियार प्रयोग गरी कयौँ कयौँ युद्ध जितेका थिए रे ! हलो चानचुने साधन होइन । हलो विश्वको सबैभन्दा कडा विष्फोटक साधन पनि हो । पृथ्वीमा भएका सबै हलोहरू एकैपटकमा विष्फोट भए भने पृथ्वीमात्रै होइन ब्रह्माण्डका अन्य ग्रह तारालाई पनि असर पुर्‍याउन सक्छ । नभए हलो हुँदैन देशको भलो, भन्ने कुरा कृषिप्रधान मानिने देशले मात्र होइन अन्न, फलफूल आदि हलोको किस्मत पसिना खाएर बाँच्ने सम्पूणर् देशको मूलमन्त्र हो भन्ने सम्झनुपर्छ । हलो हाम्रो देशको राष्ट्रिय गान हो । “श्रीमान् गम्भीर … ।” राजाको भलो होस् तर हलोको कुभलो ?

नेपालको राष्ट्रिय गानमा हलो र हलीको कुनै नामनिसाना छैन । हलो जोत्ने हलीकिसानका राष्ट्रियगान यस्तो हुनु पर्ने हो नेपालीका राष्ट्रिय गान पढी हेरौँ  :

प्रजापालक नेपालीका महान् गौरव
प्रचण्ड प्रतापि महामानव कृषक
प्राणीका प्राण भर्ने जिउँदा ईश्वर
हली र हलाको सदा रहोस् उन्नति
पुकारौँ हलीको नाम जय प्रेमले
अन्न खाई बाँचेका हामी नेपाली साराले ।

कृषिप्रधान देशका लागि हलोको इज्जत हुनुपर्छ तर त्यसो भएको छैन हाम्रो देशमा । हलोलाई राष्ट्रिय चिन्हको रूपमा पनि ल्याएका छैनन् यहाँका छट्टु शासकले । हाम्रो देशमा कतिपय बिनसित्तिका राष्ट्रिय चिन्हरू छन् । विनासित्तिका राष्ट्रिय चिन्हका सट्टामा हलीको घेरा फाटेको टोपी, हलो जोत्दा गोरु या राँगालाई पिट्ने लट्ठी र हलोलाई राष्ट्रिय प्रतीकका रूपमा ल्याउनु पर्दछ । घेरा फाटेको टोपी हलीको श्रीपेच हो । हलीको गोरु पिट्ने लट्ठी राजदण्डभन्दा कयौँगुणा महत्त्वपूणर् छ । हलो नेपालको झन्डा हो । हल्लौँडो किसानको शाही चिन्ह हो । हलोको महत्त्व चानचुने छैन । हलोविना कोही पनि बाँच्दैन । हाम्रो देशका लागि ‘हलो’लाई राष्ट्रिय चिन्हको रूपमा घोषणा गरे हलीकिसानहरू रिसाउँदैनन् ।

कृषिप्रधान देशका लागि हलो अमूल्य साधन हो । अमूल्य साधनका रूपमा हलोलाई मान्यता दिनुपर्छ । म्युजियम घरमा हलोको प्रदर्शन गर्नुको सट्टा खेतबारीमा काम गर्ने किसानका हृदयमा प्रदर्शित हलोको महत्त्वलाई राष्ट्रिय महोत्सवको रूपमा मनाउनुपर्छ । देश थेग्ने मूलजरो हो हलो । एउटा हलो तैयार हुन बिस चिजको खाँचो पर्छ । करिब २-३ फिट जति लम्बाई र २.५ फिट जतिको गोलाई भएको एउटा काठको गिँडलाई सिकर्मीले रामो बसिलाले ताछ्तुछ, खोपखाप पारेर मूलखहलो बनाउँछ । हलोको फेदतर्फ हलीले उभिँदा उसको हात जति तल झर्छ त्यही साइजमा अनौ छिराउने प्वाल खेपिएको हुन्छ र अनौ गाँसिएको हुन्छ । अनौदेखि एककुरेत तल हरिस छिराउने प्वाल बनाइएको हुन्छ । हरिसको फेद, टुप्पो दुवैतर्फ करिब ५ इन्ची जति लामा ठेडी गाँसिएको हुन्छ । हलोको फेदतर्फ हरिस अड्याउन पाटी र टुप्पोतर्फ फाली र करूवा ठोकिएको हुन्छ । यति भएपछि एउटा हलोको नमुना बन्छ । गोरु या राँगालाई नार्न जुवाको अवश्यकता पर्छ । जुवाको बिच भागमा हल्लौँडो झुन्ड्याइएको हुन्छ । जुवाको दायाँबायाँ दुईदुई गरी चार प्वाल खोपिएको हुन्छ । ती प्वालहरूमा सोइलाहरू जोरिन्छन् । दुईतर्फ दुई गोरु या राँगा नारेर दुवै तर्फको गोरु या राँगाका घाँटीमा जोतारोले बाँधिन्छ । यति भएपछि पछाडिपट्टि अनौमा एक हातले समाती अर्को हातले लठ्ठी लिएर गोरु या राँगालाई धपाउँदै हलीले ‘होर्रा ह’ लगाएपछि खेतबारीमा धोत्रे स्वरले भ्यागुताहरू ट्वारट्वाराउन थाल्छन् । हलोको पूणर् वनावटका कुरा यी भए तर हलोको किसिमका बारेमा त्यति स्पष्ट नभए पनि सामान्य बोलीचालीमा विभिन्न थरीका नाम छन् । तराईतिर जोतिने हलोलाई हामी मधेसिया हलो, पहाडको हलोलाई कोथे हलो र हिमाली भेगको हलोलाई भोटे हलो भन्छौँ । यी स्थानपरक नाम हुन् । ठाउँअनुसार यसका अलगअलग नाम हुने गर्छन् । कोथे फाली भएकोलाई कोथे हलो र सुइरे फाली भएकोलाई सुइरे हलो भन्ने चलन पनि छ । हलोको टुप्पो बुच्चिए कोथे फाली हालिन्छ र हलोको आयु केही समय अझै टिकाउ हुन्छ । हलो बनाउँदा हरिस छिराउने प्वालमा पाटी मिलाएर नठोके हलो ठाडो, घोसे भयो या भएन भनी जाँच गर्न गोरु या राँगाको उचाइअनुसार वा हलोको टुप्पोतर्फको फालीको सिधा रहेको हरिससम्मको उचाइ वा नारेर हेर्नुपर्छ । हलोको फेद अनौ अड्याउने प्वाल र गोरु या राँगाको थुतुनु बराबरी लेबलमा परे हलो ठिक हुन्छ । हलोले नजोत्ने भएपछि कतिपय ठाउँमा हलोको फेदलाई धामी झाँक्रीले बिरामीको चिन्ता गरी दोबाटोमा लगेर गाड्छन् । यसलाई खड्गो पन्छाएको भनिन्छ । यो धामीझाँक्रीको अन्धपरम्परा र संस्कृति हो भन्ने म बुझ्दछु ।

“पढ्ने गुन्ने छैन काम हलो जोती खानु माम” पढ्न अल्छी गर्नेलाई उक्त नेपाली उखान प्रयोग गरी उपदेश दिन धेरैले जान्दछन् । मुखमै झुन्डिएको उक्त उखान उपदेशात्मक मात्र होइन, व्यावहारिक पनि हो । पढ्नेगुन्नेले के नै गरेका छन् र ? गाउँघरतिरका साधारण किसानका छोराले (छोरा मात्र, छोरीले हलो जोत्ने प्रचलन छैन । अहिले यदाकदा छोरीहरूले पनि हलो जोत्न थालेका छन् ।) राम्ररी नपढे वा पढ्दापढ्दै फेल भए पढीगुनी केही काम छैन, हलो जोते हातमुख जोर्ने रोजगार मिल्छ भन्ने धारणा हो । मध्यमवर्गीय र निम्नवर्गीय समाजमा यो चलन छ । हलो जोत्ने हली, हरुवा अनि कसैले पढ्ने काममा अल्छी गर्‍यो भने हली बन् ! भनेर गिज्याउँछन् । हाम्रो समाजमा हलो जोत्ने हलीलाई हेलाँ गर्ने, तिरस्कार गर्ने गरिन्छ । कतिपय ठाउँमा पढेलेखेका मानिसलाई सम्मान गरिन्छ । फलानो त ठुलो मान्छे भएछ …. ठुलाको सङ्गत गरेछ । उसलाई सबैतिरबाट स्याबासी आउँछ तर हलीलाई कसले सम्मान गर्ने ? मेलापातमा जाँदा गुन्द्रुकको झोलसित ढिँडोको डल्लो कुकुल्ढुक् कुकुल्ढुक् गरी निल्नुपर्छ हलीले । हलीले जोतेर उत्पादन गरेको मिठोमसिनो खानेचाहिँ सम्मानित तर हलीचाहिँ अपहेलित हुने गजबको चलन छ हाम्रो देश नेपालमा । हलो जोत्ने हलीलाई अत्यन्त हेलाँको भावनाले हेरिन्छ । मैले पनि हलो जोतेको छु । दश वर्षसम्म निरन्तर हलो जोतेँ ।

हलो जोत्दा कतिपय ठाउँमा असह्य गालीहरू सहनुपर्‍यो । माष्टर बनेँ अनि सबैले मास्टर बाबु ! भन्न थाले । कविता लेख्ने कवि बनेँ- गाउँघरतिर मात्रै होइन, जिल्ला जिल्लान्तर देशमा म चिनिएँ ! इज्जत प्रतिष्ठा बढाएँ ! कतिले सलाम ठोके, कतिपय पछि लागे … ! म अझै नेता बनूँ ? ममा सम्मानको कुनै सीमा रहन्न ! थुक्क ! समाज, म हली नै हुँदो हूँ … ! ए राष्ट्रियता, तँ नढाँटी भन्- को ठुलो ? हली ठुलो कि म ठुलो ? कि तँ ठुलो ? धारा कुवाको पानीले निर्वाह गरेको सानातिना खोल्साखोल्सीका पानी देखेका मानिस ठुल्ठुला सागर, समुद्रको पानीको वास्ता राख्दैन । धारा कुवाको भन्दा समुद्रको पानीको महत्त्व अर्कै छ- सूर्यको तापले समुद्रको पानी उडी बादल बनेर पुनः पानी बनी औसत मिलेर जमिनमा झरी सिँचिने गर्छ भन्ने कुरा दुईचार भूगोलविद्लाई मात्र थाहा हुन्छ । सबैलाई तत्सम्बन्धी ज्ञान नहोला ! हलो जोत्ने हली सागरको पानी हो अनि हलो जोत्ने हली आकाशबाट झर्ने वर्षा हो जसले पूणर् धर्तीलाई एकैचोटि भिजाउँछ । हलो जोत्ने हली सूर्य हो जसले संसारलाई एकै पटकमा हसाउँछ । धन्य हलो र हलो जोत्ने हली !

म हलो र हलीसम्बन्धी सबै कुरा चाल पाउने मान्छे त होइन तापनि हलो जोत्दाको धेरथोर अनुभवको प्रस्तुति गरेको हूँ । म कहिलेकाहीँ ठुल्ठुला रेष्टुरेन्ट, होटलमा पनि पुगेको छु । त्यहाँ पाकेका मिठोमसिनो पनि चाखेको छु । ठुल्ठुला होटल रेष्टुरेन्टमा खाना, नास्ता गर्ने मान्छेहरू ज्यादा मोटाघाटा र सुकिला लुगा लगाएका हुँदारहेछन् । म तिनलाई सुकुलगुन्डा भन्छु । तिनले एकप्लेट भाग मागेर आधा प्लेट खाने र आधाप्लेट फाल्दा रहेछन् । तिनले फाल्ने गरेको मिठोमसिनो भेट्टाए हलीकिसानले कति मिठो मानेर खाँदा हुन् ! तर हलीकिसानले त्यस्ता होटल, रेष्टुरेन्टमै प्रवेश गर्न पाउँदैनन् । अहो ! क्या गजब छ यो संसारको चलन- “काम गर्ने कालु मकै खाने भालु ।”

म हलो जोत्ने हलीलाई सारा मानिसका जीवनको नक्सा कोर्ने जीवन इन्जिनियर भन्छु । हामीमा साधारण विचार छ- हाम्रा बालबालिकालाई हामी डाक्टर, इन्जिनियर बन् भन्छौँ तर हली बन् भन्दैनौँ । साधारण विचारले हामी डाक्टर, इन्जिनियरलाई ठुला मान्छेमा गणना गर्छौं तर हेपिएको एउटा साधारण हलीकिसानलाई भुसुनोसरह पनि गन्दैनौँ । एउटा साधारण हलीको हलोविना डक्टर, इन्जिनियरहरू बाँच्दैनन् । डक्टरको औषधि ठुलो कि हलीको अन्न, फलफूल ठुलो ? असारमा धान रोप्नुपर्छ भन्ने हलीको दिमाग ठुलो कि खेतका गह्रा मासेर घर बनाउनुपर्छ, मोटर गुडाउनुपर्छ भन्ने इन्जिनियरको दिमाग ठुलो ? अन्न खुवाएर नेता, जनतालाई बचाउनुपर्छ भन्ने हलीको दिमाग ठुलो कि बन्दुकले जनता मार्नुपर्छ भन्ने नेताको दिमाग ठुलो ? म त्यति जान्दिनँ, कसलाई ठुलो भनौँ ? घर महलको नक्सा बनाउने इन्जिनियरलाई थाहा छैन- हलोको नक्शा खिचेर खेतबारीका गरा गरामा प्रदर्शन गर्ने एउटा साधारण हलीले एउटा सुखी, सुन्दर संसारको निर्माण गर्ने गर्दछ । राजनीति गर्ने हत्यारालाई थाहा छैन- एउटा साधारण हलीले संसारका मानिसलाई जीवनदान दिएको छ ।

यहाँका कविता लेख्ने कविलाई थाहा छैन- एउटा साधारण हलीले वेदनाका गीतहरू सुसेली रहेको छ । मान्छेको शरीर चिरफार गर्ने डाक्टरसाहेबलाई थाहा छैन- हलो जोत्ने हलीको हलोले धर्तीको मुटु अनि गिदीको अप्रेसन गर्दछ । खेतबारीका गह्रालाई क्यान्सर, एड्सजस्ता भयानक रोग लागेका बेलामा कुन डक्टरले उपचार गरेको छ ? डाक्टरहरू त हलीले हलो जोतेर उत्पादन गरिदिएका अन्नलाई यसरी खानू उसरी खानू भनेर खाने तरिकाको रूटिङ बनाउँछन् । कविता लेख्ने कवि दशथरीका फुँदा जोडेर मायाप्रीति, हिमाल र पहाडका कविता बनाउँछन् । नाङ्गै नाचेको दृश्यको वणर्न गर्न पाए महाकाव्य नै जन्माउँछन् तर होर्रा ‘ह’ जस्ता शब्दलाई छन्दमा मिलाउन जान्दैनन् । फेरि छेउ टुप्पो नमिलेका गद्यकविता लेख्ने कवि रे ! तिनलाई त झन् छन्द भनेको के हो त्यो पनि थाहा छैन । त्यस्ता कविलाई के थाहा हलो जोत्ने हलीका हलोबाट निस्कने कविताका रसबारे । अनि किन नभनुन् यी खेतीकिसानी गर्ने कृषकहरू- “अठार पुराण चार वेद, सबैभन्दा ठुलो हलोको फेद ।” हलोको अगाडि गफाडी कविका पुराणहरू खरानीसरह हुन् । हलोको अगाडि हत्यारा राजनेताले बनाएका देशको संविधान भन्ने किताब ट्वाइलेट पेपर हो । अझ बुझिने भाषामा भनौँ- तेरो संविधान हलीले हगेर गुहु पुछ्ने कागज हो ।

पण्डित बाजे हलो जोत्दैनन् । बाहुनले हलो जोते जात जान्छ रे भन्ने गर्छन् । म हलो जोतेर जात जान्छ भन्ने बाहुनलाई भोगटेका चश्मा लाएर सराद्धे गर्न जा भन्छु । गफ गरेर अर्काको किस्मत खाने, पसिना चुसेर खाने प्रवृत्तिका मानिसहरू हलो जोत्दैनन् नेपालका बाहुनमध्येमा ‘केवलपुरे किसान’ को उपनामले चिनिने एकजना बाहुनको छोराले ठ्याक्कै औँसीको दिन पारेर हलो जोत्ने उद्घाटन गरेको रे ! भन्ने सुनेको हुँ तर तत्सम्बन्धी यकीन मलाई छैन । हामी बाहुनवादी भनी घमण्ड गर्नेलाई हलो जोत्ने हलीले हलो नजोतिदिए के घिच्दा हुन् कुन्नि ! हलीकिसानका हलोका बारेमा गीत गाईँदैन । धर्मराज थापा भन्ने एकजना गीताङ्गेले अलिअलि हलीको मर्म छुनेखालको गीत गाएको एकपटक सुनेको थिएँ विज्ञानवादीका रेडियो नेपालमा- ह… ह… तारे, ह… ह… ! ह… ह… माले, ह… ह… ! … होर्रा ह … ह… ह… !

साहित्यमा नवरस छन् । श्रृङ्गार रसले प्रेमी प्रेमीकाको मन हुन्छ । भर्खरैका युवायुवतीका लागि शृङ्गार रसले भिजाउँछ । करुण रसले कमलो मन हुनेको आँखा रसाउँछ । बीभत्सले कतिपयका मन दुखाउँछ । यो सबैमा लागू हुन्न । वीर, शान्त, अद्भुत आदिले पनि तत्सम्बन्धी रसले छुने खालेलाई मात्र छुने गर्छ । हाँस्य रसले केही केहीलाई मात्र छुन्छ । रस नौ थरीका मात्रै छन् तर यी नवैरस (नवैरस छुट्टाछुट्टै मानिसमा प्रयोग हुन्छ ।) लाई एउटै रसले भिजाउँछ त्यो रस हो ‘हलो’ रस । हलो रसले विश्वका जति मान्छे छन् त्यति मान्छेलाई एकैपटकमा भिजाउन सक्छ । साहित्यमा भएका नवरसमा ‘हलो’ रस थपी दश रस बनाउनुपर्ने देखिन्छ । दश र रस दुवै दुईदुई अक्षरका शब्द हुन् । अत्यानुप्रास पनि ट्वाक्कै मिल्ने । छन्दमा पनि मिल्ने ‘दश रस’ । हलो रस दश रसमध्यमा टोलीप्रमुख रस हो । यस रसको कामको अनुसरण अरू रसले गर्नुपर्छ । हलो रसको नेतृत्व निर्देशनमा अन्य नवैरसले हिँड्नुपर्छ ।

हाम्रो देश नेपाल कृषिप्रधान देश हो । कृषिप्रधान देश भए तापनि यहाँ हलोवाद त्यति फिँजारिन सकेको छैन । हलोवाद (हलीवाद) विश्वको सबैभन्दा पुरानो र अनुशासनले भरिएको उत्तमवाद हो । हलोवादभन्दा सुन्दर अरू कुनै वाद यस संसारमा छैन । साम्यवाद भनेर उफ्रने नक्कली शासकहरू आजकाल हलोवादलाई निमिटान्य पार्नुपर्छ भन्छन् । यस्ता केटाकेटी विचारका ठेट्नाहरूले हलोवादलाई निमिटान्य पारे भने तिनी आफै निमिटान्य हुन्छन् । हाम्रो देशका दशथरीका फन्टुसहरूका वकमफुसे गफले भरिएका नारावादी वाद, सिद्धान्त ल्याएर हलोवादीका स्वच्छ दिमागमा लाद्ने गरिएको छ । म हलोवादको पक्षपाती हुँ । मलाई नेपालमै जन्मिएका वा अन्य देशबाट नेपालमा भतुवा लाग्न आएका कुनै पनि वाद मन पर्दैन । हलोवाद साम्यवाद मात्रै होइन, महासाम्यवाद हो । साम्यवादमा अर्थनीतिका कुरा हुन्छन् । तर हलोवादमा भुँडीनीतिका । सबै मानिसका भुँडी समानरूपले भरिदिने हलोवाद महासाम्यवाद होइन र ? मार्क्सवाद कार्ल माक्र्स भन्ने जर्मनका एक जना व्यक्तिले प्रतिपादन/सम्पादन गरेको दर्शन हो । त्यस दर्शनका दार्शनिकले हलो जोतेर गोरुलाई छेउकुना कसरी लाउनुपर्छ, गोरुलाई वल्लाछेउ, पल्लाछेउमा पुगेपछि कसरी फर्काउनुपर्छ भनी जानेर लेखेको व्यावहारिक दर्शन मार्क्सवाद होइन । माक्र्सवाद कुन हलो जोत्ने हलीले बुझेको छ ? हलीहरूले मार्क्सवाद बुझ्दैनन् ।

नेपालका हलोवादीका लागि मार्क्सवाद लेनिनवादजस्ता वादहरूको आवश्यकता छैन । यी वादहरू त्यतैतिर फर्काइदिए पनि हुन्छ । बुद्धवाद भनेर भट्भट्याउनेले भनोस्- त्यो गौतम बुद्ध भन्ने मान्छेले कति दिन हलो जोत्यो ? यसको जवाफ छ ? छैन । छैन भने बुद्धवाद अब चाहिँदैन । माओवाद भनेर माओवादीहरू हलोवादीले उत्पादन गरेका अन्न, फलफूल खाएर उफ्रन्छन् । चीनका माओत्से तुङको वाद मान्ने वादीले हलो जोतेर खेती गर्दैन । तिनले भाषण र युद्ध गर्न जानेका छन् । नेपालका कुन माओवादी नेताले एउटा साधारण हलीले जस्तै दिनदिनै हलो जोतेको छ ? जवाफ छ ? यी सबै ठगी खानेहरूको राज्यसत्ता ठगी खानेले नै खोस्ने बहाना मात्र हो । राज्यसत्ता हलोवादीको हातमा हुनुपर्छ ।

माकर््सवादी, लेनिनवादी, माओवादी, गान्धीवादी, हिटलरवादी, हिन्दुवादी, मुस्लीमवादी, चम्चेवादी, गिलाँसेवादी, घ्याम्पेवादी आदि आदि सबै हलोवादीकै किस्मत पसिना शोषण गर्ने खाओवादी हुन् । प्रजातन्त्रवादी भनेर उफ्रनेले हलोवादीका छोराछोरीलाई ड्याम्ड्याम् राइफलले हिर्काएर मार्छ । प्रजातन्त्रवादी भन्नेका पुलिस पनि हलोवादीकै छोराछोरी हुन् । हलोवादीका छोराछोरी र हलोवादीकै छोराछोरीलाई भटाभट मार्ने काम हलोवादीका उत्पादन खाएर मोटाएका माओवादी र प्रजातन्त्रवादी भन्नेले गरेका छन् । यहाँका च्यान्टे, भुन्टे, गोज्याक्रे, भालुभुत्ते, कुकुरखुट्टे, जुम्रे, उडुसे सबै ठगी खाने खाओवादीहरू हुन् र यिनले प्रयोगात्मक व्यावसायिक रूपमै देखिएको हलोवादीमाथि शोषण दमन गरिराखेका छन् । हलोवादको प्रचारप्रसार हुन रोक लगाएका छन् । हलोवादका नेताहरू साधारण किसान हलीहरू हुन् । गर्ने मान्छे धेरै बोल्दैन ऊ खुरुखुरु काम गर्छ तर नगर्नेको डाँको ठुलो हुन्छ । हलो जोत्ने हलीले भाषण गरेको रेकर्ड कतै छ ? भाषण गर्ने त ! एउटा हली अड्डा अदालतमा पुग्यो भने त्यहाँका कर्मचारीको उसप्रतिको हेराइ र एउटा सुकुलगुन्डे नेता पुग्यो भने उसप्रतिको हेराइमा कति अन्तर छ ? दूध खुवाएर पालेको सर्पले आफैलाई डस्छ भनेको यही हो । हलोवादीका हलो जोत्ने नेताहरू हली हुन् र उनीहरू जे बोल्छन् त्यो पुरा गरेर छाड्छन् । हलोवादीहरू साँच्चिकैका व्यावहारिक हुन् तर साउनमा निस्कने साउनेकिरा जस्ता मार्क्सवादीदेखि नेपालका राजावादीसम्मका छट्टुहरू व्यावहारिक र प्रयोगवादी छैनन् । हाम्रो देशका शासकहरू हलो जोत्ने हलीलाई बल्ढ्याङ्ग्रे आँखा तरेर हेर्छन् । हेलाँ गर्छन् । ती त्यस्ता छट्टु शासक पनि हलोवादीका लागि निर्जीव पुतली वा कार्टुन हुन् ।

हाम्रो देश नेपाल हलोप्रधान देश हो तर यहाँका विद्यालयहरूमा हलोको शिक्षा दिइने गरेको छैन । हलोको शिक्षा प्रयोगात्मक शिक्षा हो । हलोको शिक्षा पाएका विद्यार्थी महापण्डित, महाविद्वान्, महामानव हुन् । महाविद्यालय पनि छन् हाम्रो देश नेपालमा तर यी महाविद्यालयमा हलोको शिक्षा दिने गरेको छैन । विश्वविद्यालयमा डिग्री गर्ने कुनै पनि विद्यार्थीले हलोको विषयमा एउटा पनि प्रोफाइल तैयार पारेर पेस गरेका छैनन् । यो निराकार ब्रह्माण्ड कुनै अदृश्य तत्वद्वारा अडेको छ त्यस्तो तत्व भनेको ईश्वरलाई भनिन्छ । ईश्वर सबैले देख्न सक्तैनन् भनी व्याख्या गर्ने हाम्रा शिक्षानीति उल्टा छन् । यो पृथ्वीलाई अड्याउने सूक्ष्मतत्त्व कुनै ईश्वर होइन, हलीको हलो हो । हलीले हलो हड्ताल गरिदिए पृथ्वी जनशून्य हुन्छ अनि ईश्वर छन् र छैनन् भनेर बाझाबाझ पनि हुँदैन । एकलथाल भात हसुरे अनि तर्क वितर्क, वाद-सिद्धान्त भनेर कुर्लनुपर्ने काम नै हुँदैन । हलो जोत्ने हलीमा ईश्वरीय आत्मा छ । म हलो जोत्ने हलीको पक्षपाती भएकाले म हलीलाई ईश्वर मान्दछु । ईश्वर हली हो । यो धरती हलीको हलोबाट सञ्चालित छ ।

हलोप्रधान देश नेपालमा हलोको पूजा गर्न छोडेर निर्जीव मूर्ति-मन्दिरको पूजा गर्न सिकाइएको छ । बाह्रथरीका धर्मका नामले हलो जोत्ने हलीलाई आक्रमण गरिएको छ । भएभरका सिन्दुर अवीर छरेर सिन्के धुप बाटेको धुप, दियो, पानस आदिमा बत्ती बाली निर्जीव मूर्तिमन्दिरको पूजा गर्छन् हलीको किस्मत पसिना खाएर जिएका मानिसहरू तर हलोको पूजा गर्दैनन् । हलीको पूजा गर्न सिके मानिस जिउँदैमा स्वर्ग पुग्छ । जिउँदैमा स्वर्ग, वैकुण्ठ ब्रम्हलोक आदिको भ्रमण गर्न चाहनेले हलो र किसानको पूजा गर्नुपर्छ । हलोकिसानको पूजा गरी आफैले हलो जोते मात्र स्वर्ग जान पाइन्छ, नत्र स्वर्ग पुग्न असम्भव छ । स्वर्ग जाने भए हलोको फेदलाई लम्पसार परेर ढोग ! नत्र, स्वर्ग जान पाउँदैनौ । यो मैले सत्य बोलेको छु । मूर्ति मन्दिरजस्ता कृत्रिम स्थल, भावनामा निर्जीव तत्त्वको खोजी गरेर केही पनि पाउँदैनौ । वास्तविक ईश्वर कहाँ छ भन्ने चाल पाउन भावनामा सजीवता आउनुपर्छ । राजा, मन्त्री, बडापण्डित, हाकिम, व्यापारी-साहुमहाजन, राज्य सत्ता हातमा भएका वा हातमा पार्न भनी हिँडेका कुनै पनि वादी, सिद्धान्त्त वा पार्टीका हत्यारा नेताहरू र तिनका चम्चेहरू, आफैलाई कति न जान्नेसुन्ने छु भनेर विलक्षण शक्तिको प्रदर्शन गर्न खोज्छन् तर पेटदेवताको चित्त बुझाउने महान् देवता हलीको भावना बुझ्दैनन् । हलोको पूजा गर्न सिके देश र जनताको उन्नति हुन्छ । त्यहाँ नै ईश्वरको मुहार स्पष्ट देखिन्छ ।

हलोप्रधान देशमा हलोवाद, हलीसिद्धान्त लागू हुनुपर्छ । हलोप्रधान देशमा अरू ठगी खानेहरूको शासन सत्ता हुनु हुँदैन । हलो र हलोको पसिनाको मूल्य हुनुपर्छ । हलोभन्दा भलो चिज अरू केही पनि छैन । हामी सबैले दैन्दिन जप्नु पर्ने मूलमन्त्र हो- जय हलो ! हलीवाद जिन्दावाद ! हामीलाई अरू वादको आवश्यकता छैन । हलो जोत्ने हलीकिसानी महामानव हुन् । हली र हलोको पूजा गरौँ, पुकारा गरौँ हामी नेपाली साराले ।

०००
सिन्धुपाल्चोक ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिनी र यिनी

तिनी र यिनी

चन्द्रप्रसाद न्याैपाने
सत्ता

सत्ता

चन्द्रप्रसाद न्याैपाने
कहाँ छ प्रतिशाेध ?

कहाँ छ प्रतिशाेध ?

चन्द्रप्रसाद न्याैपाने
अहंकार

अहंकार

चन्द्रप्रसाद न्याैपाने
नयाँ बिम्ब

नयाँ बिम्ब

चन्द्रप्रसाद न्याैपाने
हामी बहुमत ल्याउँछाैँ

हामी बहुमत ल्याउँछाैँ

चन्द्रप्रसाद न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x