साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चिनीको चिन्ता

यो मुलुकमा कमिला र मानव बीच चिनीका विषयलाई लिएर विश्व युद्ध नहोला भन्न सकिन्न । यदि विश्व युद्ध भयो भने त्यसको परिणाम चिनी प्रति आशक्त हुनेहरू मानव र कमिलाले व्यहोर्नु पर्ने पक्का छ ।

Nepal Telecom ad

माधव पाेख्रेल गाेज्याङ्ग्रे :

चिनी नचिन्ने को होला र यो दुनियाँमा। त्यही चिनी चिन्दा चिन्दा कतिपयलाई चिन्ताले चिनी रोग लागेको छ । रोग लागेको छ चिनीको तर त्यही चिनीको चिन्तामा इन्तु न चिन्तु भएर मान्छेहरू लडेका छन्। नलडुन् पनि किन ? उमेरमा भातैको साटो चिनी खाए। औषधी भन्दै चिनीको पागको मह खाए, त्यही महको दहमा डुबेर पौडी खेले । अहिले आएर चिनी खान नभएपछि जुन कुरा खान हुँदैन त्यसैको चिन्ताले इन्तु न चिन्तु बनाएको छ ।

सर्वप्रथम चिनी कसले कहाँ ? किन ? केका लागि कहिले उत्पादन गर्याे ! भन्ने कुराको इतिहास केलाउनु जरुरी छ किनभने त्यो चिनी उत्पादन गर्नेले यसले पछि गएर मानव स्वास्थ्यमा असर गर्छ भन्ने कुराको ख्याल नगरीकन उत्पादन गरेकोले हदै सम्मको कारवाहीका लागि प्रहरीमा उजुरी हाल्नुपर्दछ। उत्पादन बन्द गरी मानव स्वास्थ्यमा उत्पन्न हुने रोगको निराकरण गरी पाउँ भनि अदालत जाने हो कि ? भन्ने दूरगामी सोच म जस्तो चिनी सेवन गरेर चिनी रोगी भएको गोज्याङ्ग्रेले बनाउँछ भने यो पक्कै पनि ख्याल ख्यालको कुरा होइन ।

चिनी जोसुकैले जेसुकै भनोस् चीनबाट शुरुमा उत्पादन भएको हो भन्दा चीन आफै दङ्ग नपर्ला भन्न सकिन्न । किनभने उसको उत्पादन नै विश्वलाई चिढ्याउने खालको छ । जसको नक्कल विश्वका विभिन्न मुलुकहरूले गरिरहेका छन् । त्यतिमात्र होइन चीनले चिनीको उत्पादन गरेदेखि उसका इर्ष्यालु मित्रहरुले चिनीबाट रोग फैलने कुरा हल्ला फिजाएर पछि गएर चिनी खानेहरूलाई चिनी रोग अर्थात् मधुमेह भएको पुष्टि भएको किटानी समेत गरे। जे होस् म चाहि छिमेकी मित्र राष्ट्रलाई त्यो आरोप लगाउने पक्षमा छैन किनभने चिनी नखाने महोदय, महाशय वा महोदया, महाशयीहरूलाई पनि चिनी रोग लागेको छ ।

जसरी चिनीले चीनलाई चिनायो । त्यसैगरी चिनी रोगलाई पनि चिनीले ने चिनायो भन्दा कुनै फरक पर्दैन। चिनीलाई वास्तवमा बाहुनको पर्यायका रुपमा लिइन्छ। ‘जहाँ गुलियो त्यहीं वाहुन भुलियो भन्ने उखान नै हाम्रा पुर्खाहरूले त्यसै चलाएकाे होइन रहेछन् भन्ने कुरा अहिले आएर छर्लङ्ग भएको छ । अर्थात मिठी कुरा नै बाहुनलाई चाहिन्छ रे त्यही मिठो खाएर लाग्ने चिनी रोगका बारेमा जैसे धेरै प्रकारका अनुसन्धानहरू गरें तर त्यो रोग लाग्ने चिनीको उत्पादन बन्द गर्न भने कसैले सकेनन् । अर्को तर्फ ‘जहाँ केरा त्यहीं बाहुनको डेरा’ भन्ने उखानको पनि बाहुनका अगाडि धेरैले बखान गर्छन् । बाहुनलाई चिनी जस्तै गुलियो र मिठो कुरा देखेपछि त्यो छाडेर कही जाँदैनन् अर्थात् त्यहीं घरजम गरेर बस्छन् भन्ने व्यङ्ग्यात्मक उक्तिले अहिले चिनीरोग लाग्न थालेपछि सार्थकता पाएको छ भन्दा फरक पर्दैन ।

सफा, सुकिलो, चमकदार, दानेदार चिनी देख्ने बितिकै जो कोहीलाई पनि बार्ड बाउ लाग्छ। चिनी न हो चिनेको होस् कि नहोस् वा रोग लागेका हुन् वा भोक लागेका, भोग लाग्ने वा शोक लाग्ने सबैलाई चाहिन्छ। भोग र शोकले खानु अलग कुरा हो तर रोग र भोकले चिनी खानु भनेको नपाउनेले केरा पायो वो सित खायो भने हो किनभने चिनी रोग लागेकाले चिनी खानु भनेको रोगलाई मलजल गरेर हुर्काउनु, हो पाल्नु हो । भोकले चिनी खानु भनेको विष खानु हो र विषले मानिसको स्वर्गजाने बाटो देखाउँछ अर्थात् स्वर्गमा पुग्ने भोक मेटाउँछ भोगको चिनी जो कोहीले पाउँदैनन् र जो कोहीले जहाँ पायो त्यहाँ विनीको भोग जथाभावी लाउँदा पनि लाउँदैनन्। शोकले चिनी खाने भनेको जुन बार्ने समयमा हो अर्थात जुठो परेको बेलामा हो । त्यतिबेला नुनको साटो घ्यू, अदुवा, कागती, चिनी, मिश्री खानु पर्ने बाध्यता हुन्छ अर्थात नूनको काम चिनीबाट लिनुपर्ने हुन्छ ।

मैले चिनी नखानेहरूसँग अनुसन्धान गरेँ चिनीको चिन्ताका बारेमा अर्काले मिठो खाएको देखेर प्याल झार्ने थुक निल्नेहरू समेत पाइयो अनुसन्धानका क्रममा । सँगै बसेर पुरी जेरी तथा चिया खानेहरू हुन्छन् । कतिपय चिया खानेहरू चिनी बिनाको चिया भन्छन तर सुगर फ्रि हालेर चिनीको स्वादमा रमाएको पनि भेटियो । कोही भने अरुले नदेख्ने र थाहा नपाउने गरी जेरी; रसभरी, लालामोहन, लड्डु, पेडा जस्ता चिनीको अश परेको तर चिनी रोगीले खाँदा हंस उड्ने खालको मिष्ठान्न परिकार खाने पनि देखियो । तर मैले भने ती सबै कुराहरूलाई अरुले देखे पनि नदेखे पनि प्रणाम गरेको छ। अनुसन्धानले मिठो कुरा देख्दा मुख मिठ्याउने र थुक निल्ने अनि न्याल चुहाउने प्रवृत्ति सबैमा रहेको देखियो भने चिनीका विरुद्धमा दह्नो भएर खरो रूपले उत्रनेको संख्या देखिएन ।

यदि चिनी गुलियो, मिठो नहुँदो हो त यसलाई कसैले पनि मतलव गर्दैनथे होलान् । चीनले अरु मुलुकलाई लोभ्याउन आफूतिर आकर्षित गर्नकै लागि पनि चिनीको आविष्कार गरेर चिनिएको होकि जस्तो लाग्न थालेको छ मलाई त ! अर्कोतिर चीनमा लामा अर्थात् त्यहाँका जातीय पुरेत वा बाहुनको संख्या धेर भएकोले पनि उनीहरूलाई भुल्याउन चिनीको आविष्कार गरेर ती पुरेतहरूको स्वास्थ्यमा खेलवाड गरी चिनी रोग उत्पन्न गराएको हुन सक्ने आशा गर्न थालेका छन् विज्ञहरूले । नेपालका विज्ञहरू न हुन् चिनी रोगका बारेमा धेरै राम्रा अनौठा उदेक लाग्दा खालका रहस्यहरू पता लगाउन थालेका छन्। जगतै अब चिनी रोग लागेर चिनीको चिन्ता गरिरहेका महाशयहरूलाई नयाँ सन्देश आउने सम्भावना बढिरहेको पनि अनुसन्धानले देखाएको छ । अनुसन्धान कर्ताहरूको अनुसार चिनी रोग विश्वबाट नै उन्मुलन गर्नका लागि नेपालका विज्ञ तथा अनुसन्धानकर्ताहरू गरेको प्रयासले ठूलो उपलब्धि हात लाग्ने आशा गरिएको छ । जुन उपलब्धिका कारण नेपालका झण्डै ९० प्रतिशत जनता चिनी रोगको शिकार भएर दिनरात चिनीको चिन्तामा डुब्ने छन् ।

अझ भन्नै पर्ने कुरा केहो भने चिनी रोगको अनुसन्धानले वैज्ञानिकहरूमा समेत चिनी रोग देखा परेको र ती रोगी वैज्ञानिकहरूको स्वास्थ्यमा गडबडी आउँदा बजारमा चिनीको अभाव भएको तथ्य समेत फेला परेको छ । यस्तो महत्वपूर्ण अनुसन्धानको विषयलाई भने ती अनुसन्धान कर्ताहरूले गोप्य राखेर चिनी रोगीहरू प्रति नै भेदभाव गरेको र औषधि प्रयोगमा समस्या उत्पन्न गराएको जानकारी समेत सधै चिनीमै टाँसिएर बस्न रुचाउने कमिला मौरी लगायतका अनुसन्धानमा संलग्न भएकाहरूले एक चिनी विरोधी कार्यक्रममा जनाएका छन्। यो कुराको पुष्टि चीनको एक चिनी उत्पादक कम्पनीले पनि गरेको छ ।

नेपालको सन्दर्भमा चिनी रोगको अनुसन्धानमा कमिला, मौरी लगायतका किराहरू संलग्न रहेको र अनुसन्धानको निष्कर्ष छिट्टै बजारमा बिक्रीका लागि राख्ने तयारीका साथ काम अघि बढेको हुँदा चिनीका रोगीहरूले चिनीको चिन्ता नगरिकन स्वास्थ्य लाभमा आफैँ सरिक भएर लाग्न अनुरोध गरिएको छ ।

मलाई अचम्म लागेको कुरा त केहो भने हामी मानवले कहिलेकाही चिनी खाँदा चिनी रोगको सिकार हुनु परेको छ। तर चौविसै घण्टा जसो चिनी गुलियो कुरामा मुख गाडेर बस्ने कमिला, मौरी लगायतका विज्ञ किराहरूलाई यो चिनी रोग किन नलागेको होला ? अनुसन्धानकर्तामा मेरो प्रश्न छ र यो प्रश्न म कमिला मौरीहरूका अगाडि पनि लैजान्छु । यसको सही जवाफ नपाए म अदालतको ढोका समेत ढक्ढक्याउन पछि पर्दिन। किनभने कमिलाले त चिनी भएको ठाउमा डेरा नै जमाएर ‘जहाँ गुलियो त्यही बाहुन भुलियो’ भन्ने उखानको बेइज्जत गर्दै जा ‘गुलियो त्यही कमिला भुलियो’ भन्ने उखानलाई आफ्नो पक्षमा पारेर नाम कमाउने दाउमा लागेको रहस्य अनुसन्धानले देखाएको छ ।

हेर्नुस् त । कमिला समेत मानवको विपक्षमा उभिएर अनुसन्धानमा बाधा पुर्याएको कस्तो अचम्म ! अर्को सार्वजनिक नगरी नहुने कुरा के हो भने मानव कमिला जति परिश्रमी नभएका कारण पनि चिनीको रोगबाट पीडित भएको अनुसन्धानबाट पुष्टि भएको छ । जावो कमिलाले आफू भन्दा ठूलो श्रम गरेर चिनी रोगलाई जितेको छ भने मानवले आफू भन्दा सानो श्रम समेत गर्न नसक्दा चिनी रोगको राजधानी भएर बस्न बाध्य भएको देखिएको छ ।

चिनीको राजधानी त कमिला हुनु पर्ने हो तर ठिक उल्टो भएको छ । यो सबै खेला देखाउने बद्नियतपूर्ण कार्य कसले गरेको हो त्यसको मिति पुऱ्याउने काम भएन भने भोलि यो मुलुकमा कमिला र मानव बीच चिनीका विषयलाई लिएर विश्व युद्ध नहोला भन्न सकिन्न । यदि विश्व युद्ध भयो भने त्यसको परिणाम चिनी प्रति आशक्त हुनेहरू मानव र कमिलाले व्यहोर्नु पर्ने पक्का छ ।

०००
गाईघाट, उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खोसेर खाँदै छ जो

खोसेर खाँदै छ जो

माधव पोखरेल गोज्याङ्ग्रे
भू-शासन

भू-शासन

माधव पोखरेल गोज्याङ्ग्रे
लुट्यो डोजरले

लुट्यो डोजरले

माधव पोखरेल गोज्याङ्ग्रे
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
बाँदर- बँदेल र बनकर

बाँदर- बँदेल र बनकर

रामप्रसाद पन्थी
परिधानको भद्र आन्दोलन

परिधानको भद्र आन्दोलन

सञ्जय साह मित्र
अनाम

अनाम

ईगम खालिङ
भजन मण्डलीको पुनर्गठन

भजन मण्डलीको पुनर्गठन

काशीनाथ मिश्रित
तर्सिङहोम (३)

तर्सिङहोम (३)

कृष्ण प्रधान
0
Would love your thoughts, please comment.x
()
x