साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जे छ त्यो छँदै छैन

मानव छन्, तर मानवता छैन । मनहरू छन्, तर मिल्दै मिल्दैनन् । देश आफ्नै हो, तर मान्छे पराइ भएका छन् । तिमी धारामा पानी नभएको कुरा गर्छ्यौ प्रिय । यहाँ सबथोक छ, तर जेको लागि छ, त्यो त्यसको लागि छैन ।

Nepal Telecom ad

कोइराला वत्सराज :

धारामा दुई दिनसम्म पानी नआएपछि श्रीमतीजी कराइन्- “लौ न एकपटक पानी अड्डातिर जानुपर्‍यो क्या !
मैले अनकनाउँदै भनेँ- “आज नआए भोलि त पक्कै आउँछ, जाबो यति कुराको गुनासो लिएर के जानु । तिमीलाई के थाहा यो देशमा कत्राकत्रा समस्या छन् ।”
“त्यसो भनेर कहाँ हुन्छ ? पानी नआउँदा यहाँ आपतै परिसक्यो ।”

उनले निकै कर गरेपछि म खानेपानी विभागतिर लागेँ । बाटोभरि सोचिरहेँ, आज त जसरी पनि धारामा पानी आउने जोहो गर्नैपर्छ । थोत्रो गाडीहरूको धूवाँमा निस्सासिँदै निकै धुलो खाएपछि विभागमा पुगेँ । तर काम गर्ने कर्मचारी कोही देखिन । मोबाइल लगाएँ तर फोन नै लागेन ।

कस्तो अचम्म ! अफिस छ तर अफिसर छैनन् । अफिसर छन् तर छुट्टीमा छन् । बल्लबल्ल एकजना सहायक भेट भए । निवेदन दिनुस् भने । तर मञ्जूर भएन । रिपोर्ट लेखाउनुस् भने, त्यसपछि पनि केही भएन ।

निराश भएर फर्कन आँटेको थिएँ । अर्दलीले सहानुभूति देखाउँदै भन्यो, “यस्तै हो हजूर । जाँच हुन्छ, तर रिपोर्ट आउँदैन । योजना स्वीकृत हुन्छ, तर बजेट पास हुँदैन । बजेट स्वीकृत हुन्छ, तर रकम आउँदैन । पद छ, तर आजकल खाली छ ।”

अफिसमा अरु कोही थिएनन् । उसले यताउति हेर्दै पुनः बखान गर्न थाल्यो, “पहिलाको हाकिम योग्य थिए, विचराको सरुवा भयो । अहिलेका हाकिम पनि ठीकै छन्, तर प्राविधिकहरू ठीक छैनन् । कर्मचारीहरू काम गर्न खोज्छन् तर माथिबाट अर्डर आउँदैन ।” उसको यो ब्याख्यान सुनेपछि म “भोलि आउँछु” भनेर निस्केँ ।

त्यो पानीअड्डाको अर्दलीको कुराले मलाई गहिरो सोचमा डुबाई दियो । जसोतसो घर पुगेँ । श्रीमती मेरो बाटो हेरेर बसिरहेकी थिइन् । मैले एक कप चियाको फरमाइस गरेँ ।

उनले निराश हुँदै भनिन् “चिया छ, तर चिनी छैन ।”

“ओहो ! म त “छ” र “छैन” को समस्या सुन्दासुन्दा हैरानै भएँ बा ! यो देशमा सबैथोक छ तर केही छैन । कारखाना छ, तर बिजुली छैन । करेन्ट छ, तर तार नै खराब छ । उत्पादन भइरहेछ, तर बिक्री छैन । माग छ, तर पूर्ति छैन । बसमा यात्री छन्, तर सिट छैन । भाडा तिरियो तर उसँग फिर्ता दिने पैसा छैन । बिरामी भइयो तर औषधिले काम गरेन । अस्पताल पुगियो, तर बेड खाली छैन । बल्लतल्ल बेड मिल्यो, तर सोध्नेवाला कोही छैन । गुनासो गर्‍यो, तर सुन्नेवाला कोही छैन ।”

श्रीमती ट्वाल्ल परेर मलाई हेरिरहेकी थिइन् । म पुनः फतफताउन थालेँ ।

“गुनासो सुन्ने अधिकारी छन्, तर भेटिँदैनन् । सुन्न त सुने, तर केही गरेनन् । शिलान्यास भयो, तर भवन बनेन । बिल्डिङ्ग बन्यो, तर अझै काममा आएन । स्कूल छ, तर बच्चाले एडमिशन पाएनन् । पढ्न गएका थिए, तर बिग्रेर फर्के ।”

“कस्तो गजब ! छ पनि छैन पनि । छैन भनौँ- छ, तर छ भनौँ- छैन । अखबारमा खबर थियो, तर पछि अफवाह भएको थाहा भयो । अपराध भयो, तर गिरफ्तारी भएन । सम्पादकको नाममा पत्र पठाएको, तर छापिएन । कविता लेखियो, तर सुन्नेवाला कोही छैन । किताब छापियो, तर बिकेन । निकै खोजियो तर भेटिएन । बजारमा सामान आएको थियो, तर समाप्त भयो । कर्फ्यू हटाइयो तर फेरि झगडा भयो रे । स्थिति नियन्त्रणमा छ भन्छन्, तर खतरा अझै छ रे ।”

“मानव छन्, तर मानवता छैन । मनहरू छन्, तर मिल्दै मिल्दैनन् । देश आफ्नै हो, तर मान्छे पराइ भएका छन् । तिमी धारामा पानी नभएको कुरा गर्छ्यौ प्रिय । यहाँ सबथोक छ, तर जेको लागि छ, त्यो त्यसको लागि छैन ।”

यति बडबडाइसकेपछि म लमतन्न भएर ओच्छ्यानमा ढलेँ ।

“ओहो, हजूरलाई त ज्वरो पो आएको छ !”
श्रीमतीको स्वर निकै टाढाबाट आएजस्तो मसिनो सुनियो । म आँखा चिम्म गरेर सुतेँ ।

०००
हेटौंडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेताजीको गाउँ भ्रमण

नेताजीको गाउँ भ्रमण

काेइराला वत्सराज
कस्तो नक्कली जमाना !

कस्तो नक्कली जमाना !

काेइराला वत्सराज
अनुगमन

अनुगमन

काेइराला वत्सराज
लुतोको दर्शनशास्त्र

लुतोको दर्शनशास्त्र

काेइराला वत्सराज
बाँदर- बँदेल र बनकर

बाँदर- बँदेल र बनकर

रामप्रसाद पन्थी
परिधानको भद्र आन्दोलन

परिधानको भद्र आन्दोलन

सञ्जय साह मित्र
अनाम

अनाम

ईगम खालिङ
भजन मण्डलीको पुनर्गठन

भजन मण्डलीको पुनर्गठन

काशीनाथ मिश्रित
तर्सिङहोम (३)

तर्सिङहोम (३)

कृष्ण प्रधान
0
Would love your thoughts, please comment.x
()
x