ह्यारी र कुकुर
‘पछाडि के लुकाएको ?’ थाहा पाएर पनि विकासले सोध्यो । ‘के गर्ने हेरन, शान हुन्छ भनेर कुकुर पालियो । अब बिहानै बेलुकै यस्को गु सोहर्दा सोहर्दै जिन्दगी जाने भो’ ह्यारीले आफ्नो देश छोडेर आएर पछुतो लागेको झैँ गरि उत्तर दियो ।
राकेश कार्की :
खास नाउँ उसको हरिप्रसाद थियो । गाउँमा छउञ्जेल उसलाई हरे भन्थे। पढ्न शहर छिरेर जागीर खान थालेपछि उसलाई हरि भन्न थाले । अनि ग्रीनकार्ड लटरी परेर अमेरिका छिरेपछि त उसलाई ह्यारी भन्न थाले । गाउँमा छउञ्जेल प्रशस्तै खेतबारी थिए । शहरमा लोकसेवा पास गरेर अफिसर भएपछि प्रशस्तै धन कमाए । निकै कुलघरानकै देखिन्थे ।
कामदार, सेवादार थुप्रै थिए । एक पाइला हिँडन पर्दैनथ्यो । गाडी र ड्राइभर सधैँ तयार रहन्थे । राजनीतिकर्ता र व्यापारीहरूसँग उठबस थियो । ठाँटबाट ठूलै थियो । चाकरी गर्नेहरू मौरी झैँ झुम्मिन्थे। नमस्कार पस्कनेको ताँती लाग्थ्यो ।
यत्रो शानसौकतमा बसिरहेका हरिलाई लटरी परेपछि अमेरिका जाने लोभ लाग्यो । अमेरिका छिरेर ह्यारी भएपछि उनले अमेरिकन ड्रिमको ढाँचामा आफूलाई ढाल्न थाले। त्यहाँको देखासिकी गर्नथाले । अमेरिकनले बोलेजस्तो जिब्रो बटारेर ट्याक्क टुक्क अङ्ग्रेजी पनि बोल्न थाले । ठूलै घर, ठूलै गाडी र ठूल्ठूलै मानिसको सम्पर्कमा रहनथाले । एनाटोलियन शेफर्ड जातको ठूलै कुकुर पनि पाले । अमेरिकामा पनि ‘म के कम’ भन्ने भावना बोकेर आफू पनि उच्च वर्गको अमेरिकन नै भएँ भनेर सोच्नथाले ।
त्यस्तै त्यस्तै पहिरन र त्यस्तै त्यस्तै व्यवहार गर्नथाले । बिहान बेलुकै कुकुरलाई डोर्याएर उनी पार्कमा हिँड्न जान्थे । तर यहाँ आफ्नो देशमा जस्तो चाकरी चाप्लुसी गरि पछि लाग्नेहरू थिएनन् । न त गाडी हाँकिदिने ड्राइभर नै थिए । नमस्कार टक्र्याउनेहरू पनि थिएनन् ।
तर ऊ जस्तै कुकुर डोर्याएर हिँडाउनेहरू चाहिँ छिनछिनमै भेटिन्थे । नमस्कारको बदला ‘हेलो, हाई, र ह्वाटस् अप’ को आदानप्रदान मात्र हुन्थ्यो । यहाँ पार्कमा कुकुर डोर्याउनेहरुमा कल्ले कसलाई मान गर्ने र ? यहाँ त तैँ ठूलो मैँ ठूलो । ‘हेलो, ह्यारी, के छ हालखबर । धेरै भो !’ विकासले पार्कमा कुकुर डोर्याइरहेको हरिलाई अपर्झट भेट्नासाथ सोध्यो । विकास पनि पार्कमा वाकमा आएको थियो ।
ह्यारी चाहिँ भर्खर टिपेको कुकुरको आची पोको पारेको पलाष्टिक लुकाउन खोज्दै विकासलाई ‘हेलो, विकास’ भनेर लाजले भुतुक्क भएर मुसुक्क मुस्कायो ।
‘पछाडि के लुकाएको ?’ थाहा पाएर पनि विकासले सोध्यो । ‘के गर्ने हेर न, शान हुन्छ भनेर कुकुर पालियो । अब बिहानै बेलुकै यस्को आची सोहर्दा सोहर्दै जिन्दगी जाने भो’ ह्यारीले आफ्नो देश छोडेर आएर पछुतो लागेको झैँ गरि उत्तर दियो ।
विकाससँग कुरा गर्दागर्दै ह्यारीले पार्कमा सबैतिर हेर्यो । कोही कुकुरलाई हगाइरहेका, कोही आची सोहरिरहेका । कोइ आची प्लाष्टिकमा पोको पारिरहेका । उसलाई अब फेरि ह्यारीबाट हरि र हरिबाट हरेमै फर्किन पाए हुन्थ्यो जस्तो लाग्यो।
०००
लस एन्जेलस
अक्टुबर २०, २०२३