वसन्त अनुभवनियाँस्रो
“तिम्रो समस्या त म बुझौँला छोरी ! तर मेरो समस्या ... कसले बुझ्छ ? तिमीहरू त यता नआउने भइहाल्यौ । त्यसरी आमालाई पनि उतै राखिदिँदा यो बुढो बाउले एक्लै कसरी दिन काट्ला, कहिल्यै सोचेकी छ्यौ ?”

वसन्त अनुभव :
एक्लै बस्नुपर्दा उनलाई साह्रै नियाँस्रो लाग्ने गर्दथ्यो । भव्य महल पनि उनलाई मसानघाट झै लाग्थ्यो । बिरामी, अशक्त हुँदा उनलाई तातो/चिसो दिनेसम्म कोही थिएनन् ।
परिवार आफन्त नभएका पनि होइनन् । छोरा अस्ट्रेलिया र छोरी अमेरिका थिइन् भने श्रीमती तेल भिसामा लामो समयदेखि छोरीसँगै थिइन् ।
“अब त नाति पनि हुर्किसक्यो, ठूलो भइसक्यो । आमालाई पठाइदेओ न हो । कति राख्छौ उता ? एक्लै बस्दा बस्दा दिक्क लाइसक्यो ।” एकदिन फोनमा हिम्मत गरेर उनले छोरीसँग भने ।
“ह्या ! ड्याडी पनि । तपाईंको त्यहाँ के काम छर ? बस्ने, खाने त हो । बरू खर्च छैन भने पठाइदिन्छु । यहाँ हामीलाई एकछिन फुर्सद छैन । हजुरको जुवाइ र म जागीरमा जानै पर्यो,
बाबुलाई कसले हेर्छ ? बाबु पनि आमासँग निकै झ्याम्मिएको छ । आमा नभई एकछिन मान्दैन । समस्या बुझ्नुस् न ड्याडि !” छोरीले इन्कार गर्दै भनिन् ।
“तिम्रो समस्या त म बुझौँला छोरी ! तर मेरो समस्या … कसले बुझ्छ ? तिमीहरू त यता नआउने भइहाल्यौ । त्यसरी आमालाई पनि उतै राखिदिँदा यो बुढो बाउले एक्लै कसरी दिन काट्ला, कहिल्यै सोचेकी छ्यौ ?” उनले भन्न खोज्दै थिए । एकाएक उताबाट फोन कट्यो ।
०००
घोराही उपमहानगरपालिका १४, दाङ
Subscribe
Login
0 Comments
Oldest







































