मनीषकुमार शर्मा ‘समित’दण्डनीय
आफ्नैका भकारी कोतरेर लाद्रो भर्न थाल्यो, आफ्नै कोख कोतर्न थाल्यो तर म माकुरो हुन सकिन । नालायक सन्तानको आमा भएर समाजमा घृणित हुन सकिन ।

मनीषकुमार शर्मा ‘समित’ :
“किन तिमीले उसको हत्या गर्यौ ?”
भर्खर मात्र पन्ध्र वर्ष टेकेको आफ्नो सन्तानको हत्याको अभियोगमा कठघरामा उभिएकी बुढी महिलालाई न्यायधीशले केरकार गर्दै थिए ।
“आफ्ना अघिल्ला सन्तानले पिरोलिएकी म यो सन्तान जन्मदा निकै हर्षित थिएँ । हुर्काउन निकै सकस पर्यो । जन्मेको दस वर्ष सम्म निकै बिरामी पर्यो । सबैले आस मारेका थिए । वल्लो घर पल्लो घर धेरैले दागा धरे पनि । तर ममा साहस थियो, आत्मविश्वास थियो । निकै सकस पछि संवैधानीक बुटीले उसलाई तङ्ग्राएँ ।” – महिला केहीबेर चुप भइन् ।
“अनि यस्तो दुःखले हुर्काएको सन्तान प्रति किन निर्दयी भएको त ?” फेरि न्यायधीशको प्रश्न तेर्सियो ।
“उसले आफ्नो जात धर्मकर्म सबै छाड्यो । पहिलाका सन्तान भन्दा झन् गतिछाडा भयो । समाजको लागि सीनो भयो, महामारी भयो । आफ्नैका भकारी कोतरेर लाद्रो भर्न थाल्यो, आफ्नै कोख कोतर्न थाल्यो तर म माकुरो हुन सकिन । नालायक सन्तानको आमा भएर समाजमा घृणित हुन सकिन । सामाजिक उत्थानको लागि तिलाञ्जली दिएँ ।”
“तर यस्तो जघन्य अपराधमा निकै ठुलो सजाय हुन सक्छ नि”
फिस्स हाँस्दै उनले जवाफ दिइन्-
“खै के सजाय दिन्छौ र तिमीले ? हिजोको दिनमा तीस वर्षे लक्का जवान छोरा र १३ महिने नाबालकको घाँटी निमोठ्दा त केही गर्न सकेनौ ?”
०००
मध्यपुर ठिमी, भक्तपुर
Subscribe
Login
0 Comments
Oldest






































