दीनानाथ पाेखरेलम नेता
सुवर्ण किन्छु बेच्छु त्यो मिलाउँदै छिराउँछु । विधान मिच्न कर्मले अनेक प्वाल पाउँछु ॥ पुगेन भाग हेमको म छेक्न बढ्छु रोष्ट्रम । बिहाल देशको भयो रहेन छेक्न क्यै दम ॥

दीनानाथ पोख्रेल :
गमक्क गम्किएँ यता फुरुक्क फुर्किएँ पनि । 
रहेन ज्ञान कर्ममा घुम्यो दिमाग फन्फनी ॥
घुटुक्क निल्छ कण्ठ यो म देख्छु देशको धन ।
जुरुक्क चेत उठ्छ यो छरेर जाल बन्धन ॥०१॥
म खिप्छु जाल शब्दमा सचेत पार्छु दुर्बल ।
लडाउँदै छु देवता छरेर दुष्ट दुर्मल ॥
सकार कर्मले सधैँ नकारमात्र पाउँछन्।
मकार टिप्छु यत्नले अनन्त सौख्य आउँछन् ॥०२॥
विषाक्त पार्छ जो धरा उही छ पूणर् सौख्यमा ।
सशक्त कर्ममा हुने उही छ नित्य मारमा ॥
छ देह मांसपिण्डको अनन्तसम्म घोट्छ जो ।
छियाछिया छ वक्ष त्यो विचारसाथ हेर्छ को ? ०३॥
कठैबरा ! म भन्छु त्यो थपक्क बस्छ जालमा ।
म नेत्र छोप्छु बातले र पार्छु घोर हालमा ॥
अनन्त कालदेखि यो यही दशा बिहोर्छ ऊ ।
निधार हान्छ हातले अभाग्यको छु ठान्छ ऊ ॥०४॥
म बातले सधैँ यहाँ हिमाल माल पार्दछु ।
जुटेर नित्य बातमै अनन्त सौख्य झार्दछु ॥
कराल कष्ट देशमा पसी सुके सबै जरा ।
म पार्छु देश यो सधैँ कुरा छरी हराभरा ॥०५॥
छ भाइबन्धु को कहाँ म दिन्छु उच्चको पद ।
कुटुम्ब खोज्छु बाँड्छु क्यै उचाल्छु हर्षले कद ॥
स्वयम् उठे छ फाइदा विचार योग्य मान्दछु ।
विरोध फैलिए त्यहाँ म रोक्न जाल हान्दछु ॥०६॥
सबै उठी मिले भने लुलो अवश्य पार्दछन् ।
जुधाउँदो छु यत्नले उनै लडेर हार्दछन् ॥
कटक्क देश काटिँदा चरक्क चेत चर्किए ।
खुरुक्क भेष फेरिँदा सनक्क कष्ट तर्किए ॥०७॥
कतै छ द्वन्द्व लिङ्गमा कतै छ द्वेष जातमा ।
छरेँ विकार धर्ममा लिएर शक्ति हातमा ॥
लगाउँदै छु शब्दमा हिमालमा र मालमा ।
म उठ्छु सौख्यमा सधैँ सबै परे बिहालमा ॥०८॥
सुवर्ण किन्छु बेच्छु त्यो मिलाउँदै छिराउँछु ।
विधान मिच्न कर्मले अनेक प्वाल पाउँछु ॥
पुगेन भाग हेमको म छेक्न बढ्छु रोष्ट्रम ।
बिहाल देशको भयो रहेन छेक्न क्यै दम ॥०९॥
युवा किसान लम्कँदै मिली सबै उठे भने ।
बिहान दिव्य आउला जुटी सबै डटे भने ॥
विदेशका दलाल छन् स्वदेशमा बिहाल छन्।
उठी लडौँ स्वदेशमै अनेक अर्थ माल छन् ॥१०॥
०००
सूर्यविनायक, भक्तपुर
Subscribe
Login
0 Comments
Oldest






































