साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खै के ! खै के !!

केवल कुरो उठ्छ स्वार्थी धनात्मक र ऋणात्मक अवस्थाको । सङ्घहरूभित्रका उच्चासनेले हिसाब मिल्दा सत्तापक्ष र नमिल्दा प्रतिपक्ष कहलिने परम्परा विकास गरेका छन् रे ।

Nepal Telecom ad

ह्यारी- ८० :

यताबाट मिलाउँदा पनि मिल्दैन उताबाट मिलाउँदा पनि मिल्दै मिल्दैन, न सग्लेँटो न बिग्लेँटो । होइन यो हिसाब मिलाउन सकेको भए पो मिल्थ्यो भन्या ! तर पनि आफूलाई पदमा आसीन गराउन अरूलाई पदबाट बर्खास्त गर्न हिसाब नमिलाई सुखै छैन । कतिलाई जागिर खाँदा हिसाब मिलाएको, चुनाउमा टिकट लिन हिसाब मिलाएको अनि नेता बनाउनदेखि जेथा बटुल्नसमेत हिसाब मिलाएको रे भनेको सुन्दा र देख्ता त हिसाब मिलाउन नसकेरै यो देश देश नबनेको रहेछ अनि म यो देशको मान्छे नबनेको रहेछु जस्तो लाग्न थाल्यो बा ! हिसाब मिलाउन पहिला मान्छे मिल्नुपर्ने कि हिसाब नै पहिले मिल्नुपर्ने हो ? बुझ्न नसक्ता नै आज मेरो यो हाल भएको छ ।

मैले सोचेँ, “देशअनुसारको भेष त गर्नै पर्‍यो ।” खुला रूपमा हिसाब मिलाएको देखे भने विरोध गर्ने देशमा सबै भित्रभित्रै हिसाब मिलाउन खप्पिस हुँदा रहेछन् । हिसाब मिले तैँ चुप् मै चुप् हुँदा रहेछन् नत्र चुप न सुप ! भित्रको हिसाब बाहिर आयो भने एअरपोर्टको सुन बाहिर आउँदाको समाचारजस्तो हुने रहेछ । हिसाब नमिलेपछि मान्छे मिल्दा रहेनछन् । हैन हाम्रा मान्छे र हिसाबबिच महत्तम समापवर्तकको सम्बन्ध हुँदो रहेछ कि क्या हो ?

हुन त हिसाब भन्नेबितिकै आम्दानी खर्चको लेखाजोखा वा हरहिसाब भन्ने बुझिन्छ । गणितशास्त्र, चाल, तरिका, नियम, वास्ता, भाग्य, गन्ती आदि अनेक शाब्दिक अर्थ बुझाउने शब्द भए पनि हिसाब मिलाउने कुरा चाहिँ धनशास्त्रसँग प्रत्यक्ष सम्बन्ध राख्ने अप्रतिम गणितशास्त्र हो । विशेषतः हिसाब शब्द भ्रष्टहरूसँग पनि मितेरी साइनो गाँस्ने अनुपम शब्द हो भन्ने प्रस्ट नै छ । बेहिसाबको हिसाब पनि मिलाउन कालो धनलाई सेतो बनाउन अनेकौँ शस्त्र र शास्त्रका विधेयक तयार पारिदिएकै छन् हिसाब मिलाउनेहरूले । यसका लागि बेरुजु भन्ने हिसाब पनि जीवितै हुँदा यी वर्गका मानिसहरूका मन मखलेल भएकै छन् ।

निर्वाचन आयोगलाई चुनाउको हिसाब दलबाट लिन फलामको चिउरा चबाउनु जतिकै गाह्रो भएको हिसाब नमिलेरै त हो कि ! अख्तियारमा चाङका चाङ मन नमिलेकाहरूको फाइल घुराघुर गरेर बसेका बर्सौँ भइसक्यो, त्यहाँ हिसाब मिलान गर्न सके भ्रष्टाचार न्यूनीकरण गर्न सहज हुन्थ्यो कि ! न्यायालयमा हिसाब नमिल्नाले न्यायासनमा विराजमान मूर्तिहरू टकराव गर्दै छन् रे, हो र ? । सबैतिर हिसाब गोलमाल छ भन्छन् । घर घरमा हेर्नुपर्छ हिसाब नमिलेर श्रीमान् श्रीमतीले मुन्टो बटारेको पाइन्छ । पति र पत्नी लघुशङ्का गर्न गएदेखि शयनकक्षमा बरालिँदासम्म शङ्का गर्ने एक मात्र प्रमुख कारण हिसाब नमिल्दा नै हो भन्ने फतुरेको अनुसन्धानले देखाएको छ । बाबुछोरा, आफ्ना सम्धीदेखि छोराका ससुरालीसम्मले हिसाबकिताब राम्रो भए सम्बन्ध राम्रो मान्ने गरेको प्रस्टै देखिन्छ । यस्तौ मौसममा म बबुरोले हिसाब मिलाउने त कुरै भएन !

हिसाब नमिलेर अझ भनौँ हिसाब मिलाउँदा मिलाउँदै पनि अनुत्तीणर् भएका विद्यार्थीको त कुरै छोडौँ, हिसाब मिलाउन नसकेका तर हिसाब मिलाएरै गुरु बनेका गुरुको हिसाब नमिलेर पिसाब चुहिएको कुरा सुन्दा पनि खै के खै हुनु स्वाभाविकै हो । ट्युसनबाट असुलेर नम्बरदानले हिसाब मिलाउने मास्टर, सेन्टर मिलाएर हिसाब मिलाउने स्कुले मालिक, पुरस्कार किनेर पुरस्कार जित्ने पुरस्कार विजेता, मागेर पड्किएको ताली खाने प्रशंसक सबैलाई हिसाबको मूल्य थाहा पाउन उनीहरूकै आत्मालाई सोधनी गर्नुपर्छ ।

करारोपण गर्ने अड्डा र करदाता भनिएका तर कर नबुझाएका व्यवसायीलाई सोध्दा थाहा हुन्छ हिसाब कतिको मिलेको छ वा छैन भनेर । बिचौलियालाई थाहा हुन्छ कृषक र ग्राहकबिचको हिसाबमा कति फरक छ भनेर । तर जे होस् हिसाब मिलेन भने मात्र मान्छे मिल्दैनन् भन्ने चाहिँ पक्का भएको छ ।

हिसाबका प्रकार हेर्दा बेहिसाब, अलल हिसाब, हरहिसाब, हिसाबसान्तीको हिसाब, बचत हिसाब, नगदी हिसाब, वार्षिक हिसाब, साप्ताहिक, मासिक, अर्धवार्षिक, वार्षिक, आदि आदि अनगन्ती हिसाब भए पनि बुझाउनुपर्ने हिसाब र बुझ्ने हिसाब गरी हिसाबलाई दुई प्रकारमा वर्गीकरण गर्न सकिन्छ । बुझाउनुपर्ने हिसाब बुझ्नु इमानदारिताको द्योतक हो भने बुझ्ने हिसाब दिनुभन्दा लिनुपर्छ भन्ने हिसाब मिलाउँला वर्गको वर्गीय भाव बोकेर हिँड्नेको सोचाइ सामन्ती सोचाइ हो । त्यसैले एनी हाउ हिसाब मिलाऊ । ठेकेदारसँग हिसाब मिलाएन अर्को वर्ष बजेट आउँदैन । जताबाट जे र जसरी कुरा भए पनि जनताले हिसाबकिताब राखे भने पुच्छर लाग्नेहरूको टपरी र दुनाको हिसाबको मूल्य पनि पव्रिmएको सुनजस्तै हुने छ ।

कतिपयले त सन्तति हुर्काउँदा हिसाब गरेर खर्च कति लाग्यो भनी हिसाब गर्दै राख्छन् रे । गर्भ बसेदेखि हिसाब गर्दै जन्मने, नामकरण गर्ने, पास्नी गर्ने, व्रतबन्ध, गुन्युचोलो, विवाह, मृत्युजस्ता संस्कारहरूका हिसाबकिताबभित्रको हिसाब गर्नेलाई के भनूँ । त्यही भएर होला हिजोआज जनसङ्ख्या ह्वात्तै ओरालो लागेको समाचार छापिँदै छ । केवल कुरो उठ्छ स्वार्थी धनात्मक र ऋणात्मक अवस्थाको । सङ्घहरूभित्रका उच्चासनेले हिसाब मिल्दा सत्तापक्ष र नमिल्दा प्रतिपक्ष कहलिने परम्परा विकास गरेका छन् रे । अरू त कोही कोही हिसाब मिलाउनेहरूले यति मिलाएका छन् कि ती कर्तुतकोे हिसाब गरे भने भोलिको तिनको भविष्य खै के खै के हुन के बेर !

०००
गोकर्णेश्वर- ५, काठमाडौँ
२०८० साल पौष २८ गते शनिबार

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तिम निर्णय

अन्तिम निर्णय

रामकृष्ण ढकाल
गालीको बाली

गालीको बाली

हरि खनाल
साथी पनि कस्तो ?

साथी पनि कस्तो ?

ठाकुरप्रसाद अधिकारी
गुडबाई वासुदेव दाइ !

गुडबाई वासुदेव दाइ !

राजेन्द्र सुवेदी
वर्ल्डकप

वर्ल्डकप

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x