साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नमस्कारको भार

यो नमस्कार गर्नुपर्ने ज्यादतीले मलाई टिम्बुर जस्तै पर्पराउँछ, अकबरे खोर्सानीले जस्तै पिरो गरी पोल्छ, शरीरमा ठूलो भोल्टको करेन्ट जोडेजस्तै भान हुन्छ ।

Nepal Telecom ad

रेहित सैजु :

दुई व्यक्तिहरू आपसमा भेट हुँदा सम्बोधनको रूपमा नमस्कार भन्ने चलन हाम्रो देशमा आजको होइन सदियौँदेखिको हो । बरू भोलि रहला या नरहला, त्यो भावी दिनले बताउला । हामीलाई हाम्रा बाआमाले तोते बोली नफुट्दै नमस्कार भन्न र गर्न सिकाउनु भयो । त्यही भएर पनि हुन सक्छ, कोही मान्यवर आफन्त वा आफूभन्दा ठूला अग्रज व्यक्ति अथवा पढाउने गुरु, गुरुमासँग भेट हुँदा आफसेआफ दुई हात उचालिएर दश औँला जोडिन पुग्दछन् । यसो त नमस्कारका अनेकन रूपहरू छन् । नमन, जदौ, नमस्ते, नमस्कार… यस्तै यस्तै । तर यी सम्बोधन प्रकट गर्दा व्यक्तिअनुसार फरक-फरक हुन्छन् । गुरुसँग भेट भए नमन, आफन्त वा अग्रज भेटे नमस्कार, साहुसँग जदौ अनि आफू बराबरको भेटे नमस्ते । अझ जात, भाषा अनुसारको पनि सम्बोधनको हाँगो आआफ्नै छन् । जस्तो कि नेवारहरूको जोजोलोपा, मगरको झोर्ले, लिम्बुको सेवारो, तामाङको ल्हासो… ।

सम्झना भएसम्म मैले नमस्कार भन्ने शब्द सुनेको स्कुल पढ्दादेखिकै हो । मेरा आमा, दिदीहरूले स्कुलका सरहरूलाई नमस्कार गरेको देखेको थिएँ तर मैले भने कसैलाई नमस्कार भनेको, गरेको थिइनँ । एकदिन मलाई पढाउनु हुने विनोद सर तरकारी खोज्दै मेरो घरसम्म आउनु भएको रहेछ । म कुलेंसोमा खेल्दै थिएँ । सरलाई अचानक हाम्रो घरमा आइरहेको देखेपछि म हतार हतार घरभित्र चोटामा लुक्न पुगेँछु । आमा भित्र चुल्होमा कुन्नि के गर्दै हुनुहुन्थ्यो । आमाले म भाग्दै गरेको देख्नु भएको थियो । आमाले मेरो नाम लिएर दुई चार पटक बोलाउनु भयो । यी… बोल्छु भनेर म त सुनेको नसुने झैँ गरेर धानको भकारीले छेलिने ठाउँमा बसिरहेँ । अलि पछि सर जानु भए जस्तो लागेर मात्र म तल छिँडीमा झरेँ । आमाले सोध्नु भयो,
‘किन लुकिस् ?’
‘त्यतिकै ।’
‘काम बिगारिस् ?’
‘हैन, छैन ।’
‘अनि ?’
‘सरलाई देखेसी लाज लाग्छ अनि लुक्न पसेको ।’
‘थुक्क मोरा, जा बाहिर सर हुनुहुन्छ अनि नमस्कार गर् ?’

म बाहिर हेर्न ग’को है, सर त बाहिर पिँडीमा सुकुलमाथि बसेर दुध पिउँदै हुनु हुँदोरहेछ । म त है लाजले रातो पिरो भइहालेँ । जबरजस्ती नमस्कार गरेको टाउको घोसेमुन्टो, जिउ सर्पको जस्तो बाङ्गो भएछ । कठै बरी लै लै ! मेरो जीवनको पहिलो नमस्कार चाहिँ यही हो है । पछि पछि पनि विनोद सरसँग भेट हुँदा त्यही घटनाले चिमोटेर मर्नु बनाउँथ्यो नि । ऐले त ह्वाँ अमेरिकातिर हुनुहुन्छ क्यारे । त्यो घटनाको खत पुरिए पनि कालो डोब भने अझै बाँकी छ ।

नमस्कार गर्न खै मलाई किन हो सानैदेखि मन लाग्दैनथ्याे, यसबाट म सधैँ पन्छिन खोज्थेँ । नमस्कार गर्नु पर्ने झन्झटले मेरो कन्चट दुखाउनुसम्म दुखाउँथ्यो । एकपटक टोले साथीहरूसँग लुकामारी खेल्दै थिएँ । लुक्ने क्रममा म ठूलोबुवाको मटानमा लुक्न गएकाे थिएँ  कि, माथिबाट तीनजना सर हाम्रै टोलतिर झरिरहेको देखेँ । त्यसपछि त म घरतिर टाप । साथीहरू मेरो नाम लिएर खोज्दै, बोलाउँदै थिए । मेरो सुइँको कतै नपाएपछि उनीहरू मलाई हटाएर खेल्न थालेछन् । मलाई कस्तो हाँसो लागिरहेको थियो । पछि मलाई खोज्दै मेरो घरतिर आएछन् । प्रश्न तेर्स्याउन थाले,
‘नभनी किन घर आको ?’
‘पानी भर्नु थियो ।’
‘अनि सक्यो त ?’
‘अँ’
‘फेरि खेल्न हिँड् ?’
‘नाइ ।’
… । उनीहरू बल्ल निस्के मेरो घरबाट । तिनीहरूलाई मेरो कुरोको चुरो के थाहा । जेहोस्, तिनीहरूलाई असफल पार्न म सफल चाहिँ भएँ है ।

एकपटक उही टोले साथीहरूसँग खेल्दै गर्दा दौडिँदै थिएँ, अचानक सरसँग जम्काभेट भयो । के गरौँ गरौँ भएर नमस्कार गरेको, थुक्क ! यतिसाह्रो लाजको पसारो कहिल्यै बनेको थिइनँ । नमस्कार त गरेको नि, त्यसैदिन इलास्टिक लुज भएको कट्टु लगाएकाे रहेछु । एउटा हातले कट्टु समात्दै दौडिएको साने मरिजाम् दुई हात जोडेर नमस्कार के भन्न लाग्दै थिएँ कट्टु त सलल भुइँमा । नमस्कार भन्नु र भुइँबाट कट्टु तान्नु एउटै समय । विचरा ती सर र म अहिले देखेर पनि नदेखे झैँ तर्की तर्की हिँड्ने गरेका छौँ । यी र यस्तै घटनाहरूले मेरो लागि नमस्कार गर्नु सगरमाथाको शिखर चुम्नु जस्तै बनाइदिएको छ । यस्ता असफल नमस्कारको बहिखाता पल्टाउने हो भने मसँग असङ्ख्य, अलिखित दस्ताबेज मेरो अभिलेखमा सुरक्षित छन् ।

मेरो एउटा साथी छ । ऊ नमस्कार गर्न भनेपछि कस्तो तम्सिने क्या । स्कुल जाँदा कक्षाकोठा भन्दा पहिले अफिसमा सरहरूलाई ‘नमस्कार सर’ भन्न पुग्थ्याे । जान त म पनि उसको पछिपछि लागेर कहिलेकाहीँ जान्थेँ । उचाइमा म त्याे साथी भन्दा अलिकति होचो कदको थिएँ, यदि सरले केहीगरी देखिहाल्नु भयो भने मेरा यी दुई हात जोडिन्थे नत्र त चुम्बकका उस्तै उस्तै ध्रुवबीच विकर्षण भएजस्तै । मैले यो कुरा बुझ्न सकिरहेको थिइँन कि यी साथीले सरलाई यसरी नमस्कार गरिरहँदा जाँचमा चिट चोर्दा नखोस्ने हुन् कि, नमिलेको उत्तरमा पनि नम्बर दिनु हुन्छ भनेर हो कि । तर त्यसो पनि होइन किनकी म नमस्कार गर्नु पर्छ भनेर तीन कोश पर भाग्नेलाई तिनले परीक्षामा कहिल्यै उछिन्न सकेनन् ।

बाटोमा भेट्दा आफ्नो त आफ्नो भइहाले अब कसैको मामा, मित बालाई भेट्दा पनि नमस्कार, कहिले ह्वाँको घरबाट हाम्रो बाले गोरु किनेर ल्याउनु भएको, ह्वाँसँग हाम्रो गोरु किनेको साइनो छ, ह्वाँलाई पनि नमस्कार । हत्तेरिका, यिनले गर्दा म पनि को न कोहो नचिनेकालाई नमस्कार गर्न बाध्य हुन्छु । मलाई त यस्तो पनि लाग्थ्यो कि बाटोमा ढुङ्गा, मुडा देखे भने पनि नमस्कार गर्न पुग्छन् होला यिनी त… ! अँ त नि, अस्ति यी साथी स्थानीय निर्वाचनमा वडाध्यक्ष पद दावी गर्छु भन्दै टिकट माग्न ग’का थिए, विचरा दुई हात जोडेर नमस्कार गर्नेले के को टिकट पाउनु । टिकट पाउन त एक हातले नमस्कारको इशारा र अर्को हातले टेबलमुनि बाट पैसाको बिटो हुइँक्याउनु पर्ने तर यी सुद्धि हराएको मेरो साथीले अलिकति बुद्धिको बुजो खोल्न जानेनन् । बरू मलाई भनेका भए अलिकति खुकुलो त पारिदिन्थेँ नि । आ… भनेनन् टण्टै साफ् ।

अलि अगाडि एउटा साहित्यिक कार्यक्रममा ग’को थेँ । फेसबुकको साथी तर भौतिक भेटघाट नभएको मान्छेले अघि सर्दै मलाई ‘नमन सर’ भन्न आइपुग्यो । म अक्क न बक्क परेँ । उसैले ‘नमन सर’ भनेर साक्षात्कार गरेपछि मलाई पनि भन्न करै लाग्यो । म पनि टक्क उभिएर दुई हात जोडेर ‘नमन सर’ भनेको त जिब्रो फुत्किएर ‘नभन् सर’ पो भनेछु । लु फसाद् । ती मित्र त मबाट कालो निलो भएर भित्ताको टेबलतिर बस्न गए । मलाई पनि त्यो कार्यक्रमभरि खल्लो लागिरह्यो । कहिलेकाहीँ दिमागले काम गर्दा गर्दै जिब्रोले काम नगर्ने रहेछ । त्यही भएर यो उखान बनेको हुन सक्छ, ‘हाड नभएको जिब्रो चिप्लिन्छ’ । भरे गएर फेसबुक खोल्छु त ती मित्रले मलाई उसको फेसबुकबाट यान त्यान दर्शन छाँटिराखेर सदाको लागि बढारकुँडार गरी डस्टबिनतिर खाँदिसकेछन् । आ, ठिकै भो । मलाई पनि त्यस्तो ठूलो कुरो लागेन । बरू राम्रै मानेँ, जाबो मेरो अञ्जान भुललाई माफी गर्न नसक्नेलाई के साथी बनाउनु । कि कसो… !

एकदिन एकाबिहानै एकजना साथी नमस्ते रेहितजी गर्दै मेरो कोठामा प्रवेश गरे । अनि भन्न थाले, ‘हेर न, मेरो गाउँको साथीको दुवै हातमा पाक्ने घाउ आएको महिनौं भएको रहेछ, उपचार गर्ने क्रममा दुवै हात काटेका छन् रे, उसलाई भेट्न जान पर्‍यो भनेको म एक्लैलाई जाने आँट नआएर तिमीलाई लिन आएको ।’
‘ए, हो र… ! अँ, हुन्छ नि । हामी गएर थोरै मात्र भए पनि सहानुभूति दियौँ भने उसलाई थप हौसला मिल्न सक्छ । यस्तोमा नजाने कुरै छैन नि ।

हामी उसको घरमा गयौँ । साथीले त्यहाँ वित्याँस पारे शल्यक्रियापश्चात् दुवै हात काटिएको साथीलाई नमस्कार गरेर । जतिखेर जसलाई पनि हजुर, हवस्, नमस्कार गर्ने यी साथीले पनि दिमागमा बिर्को लगाएर काम गर्ने रहेछन् भन्ने पत्तो लगाएँ । विचरा ! ती बिरामी साथीले के सोचे होलान्, यदि उसको हात सकुशल भइदिएको भए यी साथीलाई घुम्ने गरेर बजाइदिन्थे होला भनेर मैले अनुमान मात्र गरेँ ।

यो नमस्कारको भारले मलाई यसरी थिचेको छ कि म केही बोल्न र भन्न सक्ने अवस्थामा छैन । मान्छे जति ठूलो हुँदै गयो त्यति नमस्कारका भोका हुँदै जाँदा रहेछन् । सबैभन्दा बढी नमस्कार खाने चाहिँ स्कुल कलेजतिर पढाउने गुरुवर्ग हुन् भन्दा नि फरक नपर्ला । अनि नमस्कार खुवाउने चाहिँ सङ्घ संस्था, स्थानीय, प्रतिनिधि सभाको निर्वाचनमा उठ्ने उम्मेद्वारहरू नै हुन् । नमस्कारका भोकाहरूले जतिखेर पनि अरूलाई बलिको बोका बनाएर नमस्कार खान्छन् । अस्ति सुर्खेतको एउटा गाउँमा आफूलाई नमस्कार नगरेको झोँकमा मर्नेगरी गोदेछन् । तर पनि कतिपय बडाहरू भने नमस्कार खुवाउँदा पनि बेवास्ता गरिदिन्छन् । तर यी नमस्कार खान नरुचाउने बडाहरू सलामीको तिर्खाले छटपटाइरहेका हुन्छन् । यिनीहरू क्रान्तिकारी विचार सिद्धान्तबाट प्रभावित भएका हुन्छन् । यिनीहरू विद्रोही स्वभावका हुन्छन् । यस्ता विचारका वस्त्र लगाई हिँड्नेहरूलाई सातचोटी होइन सत्रचोटी नमस्कार गर्दा पनि बेपर्वाह गरिदिन्छन् । यिनीहरूका हात नटेरुवा हुन्छन्, जोडिनै मान्दैनन् ।

हेर्नोस् न मेरो लागि यो नमस्कार एउटा नमिठो ओखति जस्तै भएको छ । म बाउँठेलाई नमस्कार भनेर कसैलाई गर्नु भन्नु नपरे पनि हुने नि भन्ठान्छु । यो नमस्कार गर्नुपर्ने ज्यादतीले मलाई टिम्बुर जस्तै पर्पराउँछ, अकबरे खोर्सानीले जस्तै पिरो गरी पोल्छ, शरीरमा ठूलो भोल्टको करेन्ट जोडेजस्तै भान हुन्छ । तर मेरो नमस्कार खानेहरू मैले नमस्कार नगरेसम्म तस्कर झैँ ठानेर हेरिरहन्छन् अनि मैले त्यहाँबाट नमस्कार नभनी उम्कनै पाउँदिन । फेरि कोही चाहिँ मैले पाँच सात चोटी नमस्कार गर्दा पनि देखेर पनि नदेखेझैँ बेवास्ता गरिदिन्छन् ।

यस्ता घटनाहरू सम्झिँदा मन साह्रै अमिलिएर आउँछ । नमस्कार खुवाउनेको अनुहार रातोपिरो हुँदा नमस्कार खानेवालालाई शर्म लाग्नु पर्ने हो तर तिनीहरू आफूलाई त्यस्तो ठान्दैनन् । साँच्चै, यो नमस्कार त ठूलोबडाले आफू ठूलो हूँ भन्ने हुर्मत देखाउन गरेको हर्कत त होइन नि । अरु देशमा नमस्कार भन्ने गर्ने गरेको आजसम्म दखेको सुनेको छैन । उनीहरूकोमा हलो भनेर एउटा हात हल्लाए पुग्छ । हामीकहाँ मात्र हो मन लागी नलागी नमस्कार भन्नु गर्नु पर्ने । फेरि कता कता नमस्कार गरेरै आफ्नो भाग्य चम्काउनेहरू पनि छन् भन्ने सुनेको छु, देखेको छु । अहो ! कतै मेरो भाग्यमा कालो मोसो लाग्नु त यही नमस्कार नगर्नुको करामत त होइन हाेला नि ?

०००
रामेछाप, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
मान्छे महान्

मान्छे महान्

रेहित सैजु
क्रान्ति

क्रान्ति

रेहित सैजु
चटकवाद

चटकवाद

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x