डा. गोविन्दराज भट्टराईविदेशी पुस्तक चाहिँदैन ! लाठा फ्याँक्न पाइँदैन !!
आज देशमा महिलाको अधिकार खोज्दै उठ्नेहरू छन्, जनजातीय अधिकार, भाषिक, धार्मिक, राजनीतिक, क्षेत्रीय र विविध अधिकारका आवाजले देश चिरिएको छ । यसमा शिक्षितहरू जिम्मेदार छन्, विश्वविद्यालय जिम्मेदार छ, किताब आयातकर्ता र विक्रेता जिम्मेदार छन् ।

गोविन्दराज भट्टराई :
कीर्तिपुरको नाके डाँडामा बेलाबेलै असन्तुष्टिका गीतहरू सुन्न पाइन्छ । अघिल्लो हप्ता महाकविको सालिकवरिपरि उभिएका जोसिला विद्यार्थीहरूले हिँड्दाहिँड्दै मलाई रोकेर प्रश्न गरे ‘सरलाई एउटा कुरा थाहा छ ?’ मैले मुस्कुराउँदै सोधेँ, ‘के होला ?’ यसपालिको बजेट भाषणपश्चात् पुस्तक आयात गर्दा छ प्रतिशत कर लाग्ने गरियो । यो संसारमा नभएको नियम नेपालमा लाग्यो । हाम्रो पठनपाठनका नब्बे प्रतिशत किताब विदेशबाटै आउँछन् । यसबाट विद्यार्थी-शिक्षक-लेखक-पाठक देशको बौद्धिक वर्गलाई ठूलो चोट पर्ने भयो । अरु कमाइखाने वर्गभन्दा पनि उच्च शिक्षाका विद्यार्थीहरू ठहरै भयौँ, अब हाम्रो प्राणै जाने भो । यस निणर्यको हामी विरोध गर्दछौँ, यो फिर्ता लिनुपर्छ भनी हामी हस्ताक्षर गर्दछौ । सरले पनि यहाँ हस्ताक्षर गर्नुहुनेछ भनी अनुरोध गर्दछौँ । त्यसपछि एकजना आफ्नो झोला खोतल्न लाग्यो । विद्यार्थी निकै सुर्रिएका थिए । तिनीहरूका गाला रातापिरा थिए ।
अलिकता मध्याह्नको घामले पनि होला । तिनीहरू महाकविको नवनिर्मित सालिकवरिपरि थिए । एकदुई गर्दै अनगिन्ति सङ्ख्यामा भरिएपछि हस्ताक्षरको लामो सूची मेरो अघिल्तिर सारे । म असमन्जसमा परेँ । सरकारले गरेको यो ताजा निणर्य फिर्ता होस् भन्न सक्तिनथेँ भने हजार जना विद्यार्थीको अघिल्तिर हस्ताक्षर नगरी उम्कन पनि सक्तिनथेँ । मैले एउटा उपाय सोचेर एक चरण यसरी सम्झाउने अठोट गरेँ- ‘देशको कुनाकुनाबाट उच्चशिक्षा ग्रहण गर्न यो त्रिविमा आउने प्यारा विद्यार्थीहरू, आज हाम्रो मुलुक सङ्कटमा छ । यसबेला हाम्रो प्राथमिकता विदेशी किताब होइन, स्वदेशी प्रजातन्त्र हो । आज हाम्रो प्रजातन्त्र पनि सङ्कटमा छ । यसबेला प्रत्येक विद्यार्थीले आफ्नो गाँस काटेर होस् अथवा आफ्ना बाबुआमाको बासै भत्काएर होस्, प्रजातन्त्रको सुरक्षा गर्नु परेको छ । त्यसैकारण हाम्रो अधिकांश बजेट सुरक्षामा लगाउनु परेको हो। तपाईंहरूजस्ता देशप्रेमी प्रत्येक विद्यार्थीले वर्षको दशवटा पुस्तक किन्नु हुन्छ भने अबदेखि नौवटा मात्र किन्नुहोस्, एउटा पुस्तक किन्ने पैसा उभारेर यो राष्ट्रलाई एउटा बन्दुक किन्न सघाउनुहोस्, एउटा राइफल किन्न सघाउनुहोस् अथवा एउटा पिस्तोल किन्न सघाउनुहोस् । आआफ्ना छातीमा हात राखेर भन्नोस् के तपाईंहरूको हृदयमा यो मातृभूमिको माया छैन ? यो प्रजातन्त्रको माया छैन ?’
मैले बिस्तारै आँखा घुमाएँ, अग्लो ढुङ्गे आसनमा बसेका महाकवि गम्भीर मुद्रा लगाएर कीर्तिपुर बजारतिर हेरिरहेका थिएँ । उनको अनुहारमा घाम टल्किरहेको थियो । यस्तो गम्भीर विषयमा विद्यार्थी सहमत हुँदै गएको देखेँ । अलि चकमन्न भयो तर बीचैमा एक जनाले प्रश्न गरे ‘एउटा बन्दुक कति महङ्गो पर्छ, हामी किताब किन्ने पैसा कटाएर बन्दुक किन्न सक्तैनौँ ।’
तर मैले फेरि सम्झाएँ ‘प्यारा विद्यार्थीहरू, तपाईंहरूबाट उठाइएको करले बन्दुक किन्न नपुगेपनि, पेस्तोल किन्न नपुगेपनि त्यो खेरजाने छैन । त्यसबाट एउटा ट्रेन्च खन्न सकिन्छ, एकहार गोली किन्न सकिन्छ, एक अञ्जुली बारूद किन्न सकिन्छ । एकजोर ज्याकबुट किन्न सकिन्छ, कसैको पैसाले दङ्गामा भिर्ने ढाल किनौला, कसैकोले बडी प्रोटेक्टर, कसैकोले जालीदार कराहीटोप, कसैकोले नी क्याप, केही नपाए एउटा कठबाँसको लाठो त किन्न सकिन्छ । ‘एउटा जाबो लाठो किन्ने पैसा’ भन्नु होला । तर हामीले शीत उघाई घैला भर्नुपरेको छ । आज देशलाई यिनै कठबाँसका लाठाले जोगाएको छ । नागरिक समाज, पत्रकार समूह, वकीलवर्ग, बौद्धिक समूदाय, चिन्तक अथवा तपाईं विद्यार्थीहरूको सुरक्षा पनि यिनै लाठाले गरेको छ । कुनै दिनको रत्नपार्क सम्झनोस्, कुनै दिनको घण्टाघर, इन्द्रचोक वा असन । सदरमुकामहरू हेर्नोस्, नगरपालिकाहरू हेर्नोस् । देशभरिको हिसाब गर्दा प्रत्येक दिन त्रिपन्न हजार लाठा चलाउनुपर्दछ । त्यो दिनको घाम डुबिञ्जेलमा आधाउधी भाँचिइसकेका हुन्छन् । फेरि भोलिको लागि, फेरि पर्सिको लागि । प्रजातन्त्र जतिजति हुर्किँदै जान्छ, त्यति धेरै लाठा चाहिन्छन्, त्यति धेरै काँडेतार चाहिन्छन् । छातीमा हात राखेर भन्नोस् के तपाईंहरूलाई यो मातृभूमिको माया छैन ? केवल लाठीका भरमा प्रबुद्ध समाजको सुरक्षा गर्नु कत्रो ठूलो तागत हो । यसबेला के तपाईंहरू चाहनुहुन्छ सरकारले यी लाठाहरू फ्याँकोस् ?’
आखिर विद्यार्थीले पनि लाठाको महत्त्व बुझे र एकस्वरमा नारा लगाए ‘विदेशी किताब चाहिँदैन, लाठा फ्याँक्न पाइँदैन ।’
विद्यार्थीहरू खुसीले गगनभेदी नारा लगाइरहेका थिए । त्यो आवाजले तर्छेर छानाबाट हजारौँ परेवा उडे अनि हामी पनि सिंहदरबारतिर बत्तियौँ । तर मन्त्री भेटिएनन् । संयोगले एक जना भ्याटविज्ञसँग जम्का भेट भयो र उनैलाई एउटा प्रश्न राख्यौँ ‘तपाईंहरूले किन पुस्तकमाथि कर लगाउनु भयो ? यो संसारको कुनै देशमा नभएको कुरा पो । युनेस्को घोषणापत्रमा नभएको, बर्न कन्भेन्सनलगायत संसारको कुनै पनि संस्थाले सोच्न नसक्ने कुरा यो देशले कस्तो नकाम गरेको । यसबाट शैक्षिक जगतमा संलग्न सारालाई ठूलो मर्का पर्दछ । त्यसै पनि विदेशी पुस्तक महङ्गा छन्, त्यसमाथि कर लगाउँदा कति मुस्किल पर्दछ । उच्च शिक्षामा जाने सारा विद्यार्थी विदेशी किताबमै भर पर्दछन् । विश्वज्ञान विदेशी किताबबाटै प्राप्त हुन्छ । यहाँका लेखक-चिन्तक-पाठक-शिक्षक-अनुसन्धाता एउटा सिङ्गो बौद्धिक वर्ग नै यस कार्यले कुण्ठित हुन पुगेको छ ।’
हाम्रो कुरा सुनेपछि ती विज्ञ बिस्तारै बोले ‘हेर्नोस् सरहरू, यति मामुली कुरा सुनाउन त्यति टाढा विश्वविद्यालयदेखि यहाँसम्म आउनु भएछ, तर मलाई के लाग्यो भने विदेशी किताप पढ्दापढ्दा तपाईंहरू पनि एकोहोरिइसक्नु भएछ । यसबेला दुईवटा कुरा बुझ्नुहोस्- सर्वप्रथम हाम्रोमा राष्ट्रवादी शिक्षा लागू गर्ने तयारी हुँदैछ । त्यसको मार्गमा विदेशी किताप काँडा भए रोपिएका छन् । विदेशी किताप आइरह्यो भने कसरी राष्ट्रवादी शिक्षा भयो ? यो ता अराष्ट्रवादी पो भयो त । उनले बिस्तारै टोपी ढल्काउन खोजेका थिए, हामीले फेरि प्रश्न गर्यौँ- ‘होइन श्रीमान् रक्सी-चुरोट-मादक पदार्थ आदिमा बढाए हुन्थ्यो तर पुस्तकमा ट्याक्स लगाइदिँदा देशको शिक्षित समाज कसरी अघि बढ्न सक्छ ? कसरी नयाँ ज्ञान र सूचनाले उसलाई छुन्छ ? अझ त्यसमा उल्टै राहत दिनुपर्ने होइन ? हाम्रो देशका असी प्रतिशत शोधार्थी सामग्रीको अभावले विदेशै जान्छन्, यहाँका इन्जिनियरिङ्ग, मेडिसिन्, विज्ञान तथा प्राविधिक विषयका सम्पूर्ण पुस्तक विदेशबाटै आउँछन्, मानविकी, वाणिज्य र शिक्षामा पनि नब्बे प्रतिशत किताप विदेशबाटै आउँछन्, बरू मादक पदार्थमा भ्याट बढाइदिनू, बरू कस्मेटिक्समा ट्याक्स बढाइदिनू ।’
भ्याटविज्ञ बोले ‘हेर्नोस् विद्वान् मित्रहरू, सबै मादक पदार्थमध्ये ठूलो मादक पदार्थ हो पुस्तक । तपाईंहरूले बुझ्नु भएन । मादक पदार्थ बेलुका सेवन गरेर सुत्नुहोस् भोलिपल्ट बिहान त्यसले छङ्ग छोडिसकेको हुन्छ, तर किताब ? एउटा किताबको मातले मानिस जीवनभर रन्थनिन्छ, लडिरहन्छ । एड्सले छोड्ला त्यसले छोड्दैन । हेर्नोस् माओ आफैँ नेपाल आएनन् तर उनका किताब आए, मार्क्सका किताप आए, गान्धीका किताप आए, गोर्कीका आए, सेक्सपियरका आए, फ्रेन्च रिभोल्यूसनका आए, स्वतन्त्रता सङ्ग्रामका, ग्लोरिअस रिभोल्युसनका, जर्मनीको कन्सन्ट्रेसन क्याम्पका आए ।
विश्वभरिका सबै किताब पाना खोलेर बसौँदेखि यो देशभरि फिँजाइदिनाले आज नेपालीहरू विभिन्डिन थालेका छन् । बहुलाउन थालेका छन् । कोही हिटलरका मेन क्याम्फ झोलामा भिरेर हिँड्ने भए, कोही दलाइ लामाका बिल्ला भिरेर हिँड्ने भए, हिजो एक जना बिन लादेनको पर्चा बाँड्दै थियो, अर्कोले मुसोलिनी र सद्दामलाई जोडेर नक्सा उत्तारेको थियो । एउटाले मकियाभेलिबारे भाषण दिइरहेको थियो । कोही ओशो पढ्नेहरू छन्, कोही रजनीशबाट, कोही सैदबाट प्रभावित छन् । धेरै विखादी विदेशी कितापबाटै पसिरहेको छ । अस्तिमात्रै एक जना डेरिडाभक्तले संसारलाई उल्ट्याइदिन्छु भनिरहेका थिए । मिसेल फुको पढ्ने अर्थोकै भन्थे, ग्राम्सी पढ्ने अर्थोकै, चम्स्की पढ्ने अर्थोकै । आज देशमा महिलाको अधिकार खोज्दै उठ्नेहरू छन्, जनजातीय अधिकार, भाषिक, धार्मिक, राजनीतिक, क्षेत्रीय र विविध अधिकारका आवाजले देश चिरिएको छ । यसमा शिक्षितहरू जिम्मेदार छन्, विश्वविद्यालय जिम्मेदार छ, किताब आयातकर्ता र विक्रेता जिम्मेदार छन् । विदेशी किताबका पाठक जिम्मेदार छन् । त्यसैले हामी यो अन्यौलका विरुद्ध उठेका हौँ, यो विभाजनको विरुद्ध उठेका हौँ । अब रोगको उपचार गर्ने होइन यसको जरो नै उखेलिनेछ, त्यो हो विदेशी किताब। त्यसैले यो कर लगाइएको हो नत्र कसरी जोगिन्छ हाम्रो प्रजातन्त्र ? फेरि विदेशी पुस्तक पढ्नु भनेको उच्च विलासिताको व्यायाम हो । पचास प्रतिशत जनसङ्ख्या निरक्षर भएको देशमा यस्तो विलासितालाई थेग्न सक्तैन यो सरकारले । मादक पदार्थको खुला आयातलाई प्रोत्साहित गर्न सक्दैन यो सरकारले । विश्वविद्यालयको कोरा सैद्धान्तिक ज्ञानले मक्किसकेका हामी विदेशी किताबलाई धिक्कार्दै घरघर फिर्यौँ । अझै मेरो कानैमा क्रुद्ध विद्यार्थीको आवाज गुन्जिरहेको थियो ‘विदेशी किताप चाहिँदैन, लाठा फ्याँक्न पाइँदैन ।’
उनीहरूले पनि प्रजातन्त्रको सुरक्षार्थ लाठाप्रेम प्रदर्शन गरेका थिए । वास्तवमा प्रजातन्त्रको अस्तित्व लाठामा छ, अलिकति भय सिर्जना र त्यसले नथामे गोला र बन्दुकमा छ । धन्य मेरा विद्यार्थीहरू !
०००
कीर्तिपुर
गोधूलिमा दस पाइला (२०६६)
Subscribe
Login
0 Comments
Oldest








































