गाेपेन्द्रप्रसाद रिजालसाहित्यकार महात्म्य
वहाँ व्यस्त साहित्यकार अर्को कार्यक्रममा जान हतार छ त्यसैले वहाँलाई रचना पाठ गर्ने कष्ट गरिदिनु हुन भन्ने बित्तिकै फुँदो समायो रचना वाचन गर्यो हात हल्लाउँदै बाहिरियो बस् ।

गोपेन्द्रप्रसाद पौडेल :
काव्य जन्माउने आमा बाबू, काका काकी जे भने पनि कवि नै हुन् । साहित्यमा अरु विधा उपविधा लेखेर मनुवाको गिदिमा द्विविधा उब्जाउने हो साहित्य । सत्य त ग्रेडिङ्ग गरेको बासमती चामलमा बियाँ खोज्नु जस्तै हो । महाभारत होस या चरक सिद्धान्त, जय भोलि होस् या नीलो चोली… मनलाई चिउ चिउ पार्ने बाहेकका काम गर्नै जान्दैनन् साहित्यले । जे जस्तो भए पनि मान्छे अल्मल्याउन खप्पिस भनेकै साहित्य हो । मान्छेलाई एकैछिनमा रुवाउनु छ, तत्काल हँसाउनु छ या योगी जस्तै फकिर बनाइ जङ्गल ध्यानमा हेल्नु छ भने तत् तत् कोटीको साहित्य पढे भैगो ।
सत्य युगमा शिव लिला, द्वापर युगमा कृष्ण लिला, त्रेता युगमा राम लीलादेखि कलियुगमा झाडी लीला रच्न सक्ने हुति बोकेको साहित्य साहित्यकारको दिन दशाचैँ ज्योतिषीको पहुँच भन्दा बाहिर छ । हेर्नू है, मान्छेले नपढी पनि छोड्दैन, पढेर सढाउन र उडाउन पनि छोड्दैन । जुके भाइले फेसबुकको रचना गरेपछि त झन् साउने झरीमा लेकाली जुका जन्मिए जस्तै माउ बच्चा कति जन्मिए कति साहित्यकार त ।
यसरी हेर्दा जुका कोटिको महात्म्य गाउनै पर्ने भो । कुनै रचनालाई हजुरको यो रचना त फलानु विधाको नियम कानून विपरित जस्तो छ भनेर प्रतिक्रिया हान्यो भने त ती रचनाकारलाई पातालमै भसाइदिए जस्तो लाग्दो रैछ गाँठे । उताबाट प्रतिक्रिया माथि प्रतिक्रिया आइहाल्छ । मैले मेरो निजि भित्तामा जे टाँसौँ तपाईंलाई के को खस्खस । यसो जोखना हेर्यो निजि भए किन सार्वजिक गर्नु ? सार्वजनिक भए किन निजि भन्नू । यस्ता साहित्यिक जुका भुरा जुका हुन् । यस्ता खाले जुकाले कहिलेकाहिँ अर्काको चोरेर चुस्न पनि भ्याउँछ्न् ।
अब मझौले साहित्यिक जुके चरित्र । फेरि जुका भन्दा कसैको रक्ती चुसेर ज्यान पाल्ने भन्न खोजेको चैँ होइन । त्यो जिम्बा त मिटर ब्याजी र नेताका हनुमानहरूलाई छँदैछ नि । यो मार्का जुकाको चरित्र पूरा छिप्पट पनि हुँदैन, कलिलो पनि हुँदैन । बाह्र पन्ध्र वर्षका कुरकुरे वैँशले कुत्कुत्याएर छेउमा बसेका विपरित लिङ्गीको हात छोएर आनन्द लिने खालको हुन्छ । एउटा पत्रिकामा दुई चार हरफ छापी दिएर कुनामा एउटा फोटो टाँसियो भने एक महिनालाई अघाउँजी हुन्छ । पत्रिकाको कटिङ्ग बोक्यो सुनायो, फोटा देखायो हिँड्यो । यी विकसित हुन तम्सिएका साहित्यिक जुका हुन ।
मन्त्र पाई नसकेको काम्ने उत्रिएको मान्छेलाई लौ परमेश्वरी भनेर अछेता हान्यो भने झन उफ्रन्छ नि तेस्तै हो । यो मर्कामा पर्नेहरूको ठूलो आश नै कसैले बोलाउँछ कि ? भन्नेतिर लाग्छ । यस्तै बेला कोही अपरिचितको फोन आयो भने हत्तपत्त उठाएर हेल्लो हानी हाल्छ्न । उताबाट तिम्रो दाइले सापटी लगेको पैसो फर्काएन सम्झाइ देउ न है ! भन्ने जवाफ आउँदा कस्तो होला आफैँ विचार गर्नु न । नबोलाए पनि जानू पर्ला भनेर कुनै गोष्ठीमा गयो । उद्घोषकले माइकको फुँदो समाउँदा मेरो नाम भन्छ कि भनेर मन चिउ चिउ पार्यो बस्यो । अन्तिममा आलु मटर पोको पारेर उसिनेको चुच्चे डल्लो चपायो फिर्यो ।
अब खरी जुका मार्का साहित्यकारको । साहित्यकारको दर्जामा दरिएका हुन्छ्न यिनीहरू । जसले जहाँ पनि बोलाउँछ र जान्छ्न् पनि तर यो मार्कामा पनि एउटा चस्का त हुन्छ नै । मन्चको अगाडि दर्शकतिर फर्किएर कोटको कठालो मिलाउन पाइएला कि नपाइएला भन्ने । मञ्चाशन गराएर एउटा न त गलबन्दी न त रुमालको टुक्रो जस्तो बुट्टे कपडाको टालो गलामा भिराइ दिएर उद्घोषकले खाँडो जगाएजस्तो भटभट्याए भने त नाक राख्ने गोजी नै सानू हुन्छ नि ।
यिनीहरूको एउटा ठालुपन देखाउने मौका नै पालो मिच्नु हो । यसो उद्घोषकको कानमा के के फुसफुसाउँछ्न् । विचरो उद्घोषक बाध्य भएर भनिहाल्छ । वहाँ व्यस्त साहित्यकार अर्को कार्यक्रममा जान हतार छ त्यसैले वहाँलाई रचना पाठ गर्ने कष्ट गरिदिनु हुन भन्ने बित्तिकै फुँदो समायो रचना वाचन गर्यो हात हल्लाउँदै बाहिरियो बस् । पालो कुरेर बस्नेको पालो सकिएर कार्यक्रमको शिवजीले मेलो तुरिएको जानकारी दिएपछि बाहिर निस्कँदा त ती महोदय त अरुसँग आकाश पताल जोडेर गफ हाँक्दै हुन्छ्न । अब सम्झिनुहोस्- तपाईं कुन कोटीको साहित्यिक जुकामा पर्नु हुन्छ ? म चैँ तिनै जुके भाइले उद्याएको फेसबुके जुकामा परेँ । जदौ !!!
०००
मैतीदेवी, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































