साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुनावी गीतकाे : सरलार्थ

कवि भन्दछन्, म अबलामा त्यस नेताको जनमोहिनी शोभा र फलदायी कर्महरूको बखान गर्ने सामर्थ्य कहाँ छ र ? मैले त केवल कति जानेकी छु भने यस्ता चतुर राजनीतिज्ञहरूको वन्दनाले नै कविको जीवनलाई सुखी बनाउँछ ।

Nepal Telecom ad

शरद जोशी :

व्यङ्ग्यानुवाद :: रमेश समर्थन

१. यसपालि चुनाव छिटै लाग्यो । के गरौँ, निर्दयी प्रधानमन्त्रीले हाम्रो सुख देख्नै सकेन । उसले हामीलाई समय नबित्दै बेकामे जनताकहाँ पठाइदियो । कठै ! अझै त स्वार्थका चखेवाचखेवीले धित मरुञ्जेल भेट्न पनि पाएका थिएनन् । भर्खर त निजी सुखको कमलजोडीसित भ्रष्ट पवन जिस्किँदै थियो । भर्खर त यो सेवाभावी तन डनलपको सिरानीको मनोहर सान्निध्यमा खुम्चिएकै थियो, त्यसै वेला समयको निर्दयी भालेले बासेर भन्यो, ‘चुनाव आ… यो !!!’

कवि भन्छन्, नेताको हृदयमा अझै एउटा पार्टी फेर्ने इच्छा बाँकी नै थियो तर कठै ! हेर त यो कस्तो अघटनीय घटित भयो ? विचराहरूले के गर्ने के नगर्ने भन्ने बुझ्नै पाएनन् ।

२. ए सँगिनी, आज चौदिशामा मच्चिएको यो कस्तो कोलाहल हो ? बकुल्लाले जस्तै सेतो पहिरन धारण गरेका कार्यकर्तागणको यो लस्कर कहाँ प्रयाण गर्दै छ ? रसिकहरू पनि आज रसिकता छोडेर राजनीतिको चर्चामा किन मग्न भएका छन् ? के अब शृङ्गार पनि रसराज रहेन ? फेरी लगाएर तरुणीहरूको सौन्दर्यको अनुमान लगाउने यी भँवराहरू आज उनीहरूलाई नम्र स्वरमा ‘दिज्ज्यू’ जस्तो आदरसूचक शब्दको प्रयोग किन गरिरहेका छन् ? सधैंँ सहमत हुने प्रौढ नारीहरू पनि आज अभिमानिनी मोहिनीजस्तै किन ठुस्के ठुस्केका लाग्दै छन् ? मेरा पियारा आज यति सबेरै मलाई सुतेकै अवस्थामा छोडेर नाराहरूद्वारा मण्डित पोस्टरहरूको मुठो बगलीमा च्यापेर कहाँ गए ?

कवि भन्छन्, देशमा अकस्मात् चुनाव आउनाले नगरसुन्दरीहरू पनि परस्पर जिज्ञासा राख्दै वास्तविकता थाहा पाउन निकै आकुल छन् ।

३. सुन त सँगिनी, आज मैले फेरि उसलाई देखेँ नि जो पछिल्लो पटक गल्लीमा आएर भाषण दिएर गएको थियो । मिठामिठा कुराको धनी त्यस चतुरे चटकीले फस्ल्याङफुस्लुङ पारेर हाम्रो भोट हरण गरेको थियो । आज बिहानै त्यो फेरि देखियो । म नुहाएर आँगनमा थिएँ । कपाल निचोर्दा त्यसबाट जलधारा यसरी झरिरहेको थियो मानौं मोतीका दाना झरिरहेका हुन् । वस्त्र भिजेका थिए । म कठ्याङ्ग्रिएर घाममा बसेकी थिएँ । के भनूँ ? त्यसै वेला त्यस निलर्ज्जले मलाई हेर्‍यो अनि मैले पनि उसलाई हेरें । ऊ लोभिएका नजरले मलाई यसरी हेरिरहेको थियो मानौं मसित केही चाहिरहेको थियो ।
कवि भन्छन्, चुवावको समयमा सुन्दरीहरू भोट मात्र रहन्छन् । चतुरे चटकीले उनीहरूसित यही मात्र माग्छ ।

४. नाराहरूले आकाश छोइरहेका थिए । भोँपोहरू (लाउडस्पिकर) गुन्जायमान थिए । पदत्राणहरू शिरस्त्राण भइरहेका थिए, अर्थात् जुत्ताहरू हिँडिरहेका थिए । हेर, चुनावको शोभा यही त हो । नगरका गुन्डाहरू त्यति वेला कार्यकर्ता बनेका थिए । तस्करहरूको त्याग अति सराहनीय थियो । चोरबजारका व्यापारीहरू प्रजातान्त्रिक दायित्वप्रति जागरुक भएका थिए । व्यक्ति त समाजकै अङ्ग हो भन्ने कुरो यस चुनावले फेरि प्रमाणित गरिदिएको थियो जब मानिसहरूले आफ्ना जिप तथा अन्य सवारीसाधन राजनीतिक दलहरूलाई दिएका थिए । बगैंचा, वन, घर, गल्ली र चौबाटाहरूमा खुल्लमखुल्ला झुठरूपी थुकका छिटा उछिट्ट्याइँदै थिए । सत्य के हो र असत्य के हो भन्ने कुराको भेउ पाउन गुणीहरूलाई पनि गाह्रो भएको थियो ।
कवि भन्छन्, यस्तो फोहरमा विचरण गर्नु र सफल हुनु त्यसै चतुरेको काम हो जो हाम्रा गीतहरूको नायक हो । चुनावरूपी पङ्क (हिलो)को त्यही पङ्कज (कमल) मेरो आराध्य हो ।

५. आजको प्रसङ्ग त विचित्रकै भयो । नेताले आफ्ना मित्रहरूलाई एउटा करुण कथा सुनायो । भएछ के भने पुरै दिन चुनावप्रचारमा व्यस्त रहेपछि चुनावको त्यो उम्मेदवार एउटा अधिकृत मित्रकहाँ गएछ र ‘मलाई राति आफ्नो घरमा विश्राम गर्न देऊ, म भोलि उज्यालो हुनासाथ गइहाल्नेछु ।’ भनेर अनुनय गरेछ । अनि यसमा त्यस अधिकृत मित्रले असहमत भएर जे भनेछ त्यो अनौठो रहेछ :
नबाँध न डुङ्गा यस ठाउँमा बन्धु, बग्दै छ यो लहर चुनाउमा बन्धु !
उसले नेतालाई ढोकैबाट सत्कारै नगरिकन इन्कार गरिदिएछ । नेताले बेथा भरिएको स्वरमा मित्रहरूलाई भन्यो, यो अधिकृत त्यही अधिकृत हो जसको बढुवाका निम्ति उसले क्याबिनेटमा दवाब दिएको थियो र बितेका वर्षहरूमा तीन पटक उसको सरुवा थमौती गराएको थियो ।
कवि भन्छन्, चुनावको जय जय होस् जसमा शत्रुले मित्रसमान र मित्रले शत्रुसमान व्यवहार गर्न थाल्दछन् ।

६. त्यस दिन त्यो छली मेरो दैलामा पनि आएको थियो । म तनमा अङ्गराग (लेप) लगाएर नाना थरीका गहनाहरूले आफैंलाई सिँगार्दै थिएँ । लम्पटले त्यसै वेला ढोकाको सिक्री खट्खटायो । मैले सँघारमै उससित वार्तालाप गरें । त्यति वेला उसको तेल पोतिएका र.घुम्रिएका कपालसितको र सुर्तीको बुजो चपाउँदै गरेको कल्स्यौंदो मुखमा दाँतका लहर छुट्टै सुशोभित भइरहेका थिए । चुनावलाई ध्यानमा राखेर उसले कुर्तामा प्वाल पारेको थियो र तिनमा टालो लगाएर अनौठो सिँगारपटार गरेको थियो । त्यस दिन त त्यो बडो जनवादी ठाटमा थियो । हे सखी, यसलाई भाग्य भनूँ कि दुर्भाग्य कि चुनाव आयो अनि त्यस फटाहाका विगतका शब्दहरूका स्मृतिहरू मनमा फेरि ताजा भए जसलाई साँच्चै नै मैले बिर्सिसकेकी थिएँ ।
कवि भन्दछन्, राजनीतिका रसिकहरूले गल्लीमा यस्तो उधुम मच्चाए कि नगरका वनिताहरू (युवतीहरू) चकित थिए, अर्थात् केही बुझ्नै सकेका थिएनन् ।

७. धेरै धेरै गरी अनुनय, पहिले पनि लगेका थियौ भोट अनि हृदय !
बहुप्रकार चाटु वचन,
अवसरमुखी सिद्धान्त रचन,
तिम्रो प्रविधि जनमोहन,
गमन गर सत्वर यस पटक अन्य दिशा सदय !
अर्थात् हे स्वार्थी हृदय भएका नेता, पछिल्लो पटक पनि तिमीले निकै अनुनय विनय गरेर भोट अनि हृदय लगेका थियौ । अनेक प्रकारले मनलाई प्रसन्न पार्ने वचन बोल्ने तिमी अवसरवादी सिद्धान्त रचना गर्न सिपालु छौ । अर्थात् जस्तो अवसर देख्छौ त्यस्तै कुरा गर्छौ । तिम्रो शैलीले जनतालाई मोहित पार्छ । तर जहाँसम्म मेरो कुरा छ, तिमी यहाँबाट छिटै निस्किहाल । कतै अन्तै जाऊ । दया गर ।

८. ए सखी, यस चुनावले मेरा प्रेमीहरूको सङ्ख्या बढाइदियो । ती दिनमा गल्लीमा कति जनाले फन्को मारिरहेका थिए भनेर तैँले देखेकी होइनस् र ? जो पनि आएर मसित मेरो भोट मागिरहन्थ्यो । भोटरूपी कमल त एउटै थियो तर त्यसलाई पाउनका निम्ति उत्सुक भँवरा अनेक थिए । त्यस दिन त्यसले मलाई मतदानकेन्द्रमा आउने सङ्केत गरेको थियो । उसले मलाई आफ्नो चिह्न पनि दिएको थियो जसलाई मैले मुटुमा लुकाएर राखेकी थिएँ ।
कवि भन्छन्, चुनावका लडैयाहरूले जतिसुकै चरचर गरुन् तर हाम्रा कमलनयनी नायिकाहरूले त्यसै छलीलाई भोट दिए कुञ्जगल्लीहरूमा जसको ठुलो प्रचार थियो ।

९. रातरातभरि भयो जागरण लाल लाल भए लोचन
कसरी झुक्याऊँ मतदातालाई साथीसित लागे सोचन
जाऊ शर्मा, जाऊ वर्मा, फकाऊ आफ्ना आफ्ना जाति
म छु जातिवादभन्दा माथि, दोहोर्‍याओ पटक पटक यो ख्याति ।
तात्पर्य स्पष्ट छ । चुनावकालमा रातरातभरि जाग्नाले नेताका आँखा राताराता भएका छन् अर्थात् उनी क्रोधित छन् । त्यस दिन मित्रहरूसित बसेर कसरी चुनावका निम्ति जनतालाई फकाएर विजय प्राप्त गर्न सकिएला भनेर सोचिरहेका छन् । उनी शर्मा र वर्मा थर भएका कार्यकर्तासित आफ्नोआफ्नो जातिलाई फकाउन अह्राइरहेका छन् र भनिरहेका छन्, ‘तिमीहरू आआफ्नो जातिका समुदायसित सम्पर्क गर र ‘म सबै जातिवादभन्दा माथि छु’ भन्ने कुराको ख्याति बारम्बार दोहोर्‍याएर सुनाओ अर्थात् खुब प्रचार गर ।’ यस पद्यमा नेताको विरोधाभाषी चरित्रलाई देखाइएको छ । अन्य पङ्क्तिहरू त सजिला छन् ।

१०. अब ऊ आफ्नो क्रीडाभूमिलाई छोडेर जाँदै छ । उसले चुनाव जितेको छ र व्यर्थका मोहहरूबाट मुक्ति पाएको छ । उसले जनतासित गरेका आफ्ना वाचाहरूलाई फोहरको ढलमा मिल्काइसकेको छ । आफ्ना नाराहरूको सम्झनाबाटै दिक्क परेको छ । अहिले त आफ्ना पोस्टरहरूतिर पनि हास्य र उपेक्षापूणर् दृष्टिले हेर्छ । उसका घोषणापत्रहरू बाटाभरि छरिएका छन् ऊ तिनलाई किच्दै, मिच्दै र कुल्चिँदै राजधानी फर्किँदै छ ।

कवि भन्दछन्, चुनाव त चार दिनकी उजेली हो । यसमा जनता जतिसुकै रमाए पनि पछि आउने र पाउने त उही अँधेरी नै हो ।

११. कठै साथी ! त्यो निष्ठुरी त गयो । लाग्छ, यसपालि पनि उसले मलाई झुक्याएर गयो । मेरा हातमा लागेको मतदानको समयको कालचिह्न मेटिएको पनि छैन तर त्यस भोटलोभीले मलाई बिर्सिदियो । वनकाननमा त्यसका रसिला नाराहरूको अनुगुञ्जन अझै हराएको छैन तर अनेक गालीहरूका साथमा स्मरणयोग्य त्यस नेताले यो ठाउँ नै छोडिदियो । आज मैले कौसीमा उभिएर त्यसको बाटो हेर्दै थिएँ, तर त्यस निष्ठुरीले यता आँखा झुल्क्याउँदा पनि झुल्क्याएन । उसलाई मत दिनुबाहेक मैले कुनचाहिँ त्यस्तो अपराध गरेकी थिएँ र जसले गर्दा त्यो मबाट टाढा गयो ?
कवि भन्दछन्, हे लाजवन्ती, जसका कर्महरू देखेर लाजले पनि लाज मान्छ त्यसलाई तैंले कसरी मनाउलिस् ?

१२. धूर्तहरूमा परम धूर्त, आदर्शवादीहरूमा परम आदर्शका रूपमा शोभित त्यो चटकी र चतुरे नटुवाले नै अब मेरो ताप हरण गर्नेछ ! जसका ढोकाहरू आफ्ना भक्तहरू र चम्चाहरूका निम्ति सधैं खुला रहन्छन् र जसले सधैं विरोधीहरूको जरो उखेल्ने प्रण गरेको छ त्यसै बहुरङ्गी नेतालाई नै मैले आफैलाई समर्पित गरिदिएकी छु ।
कवि भन्दछन्, म अबलामा त्यस नेताको जनमोहिनी शोभा र फलदायी कर्महरूको बखान गर्ने सामथ्र्य कहाँ छ र ? मैले त केवल कति जानेकी छु भने यस्ता चतुर राजनीतिज्ञहरूको वन्दनाले नै कविको जीवनलाई सुखी बनाउँछ । चुनावरूपी युद्धको विजेता, सत्तारूपी मकरन्दका परम लोभी, जनतारूपी नायिकाको मनलाई लोभ्याउन खप्पिस त्यो मेरा गीतको नायक नै मेरो सच्चा सुखदाता हो जसले मन्त्री बन्नासाथ मेरा कष्टहरू हटाउने छ र मलाई उच्च पद दिलाउने छ ।

राधारूपी जनतालाई कल्पिँदै छोडेर सत्तारूपी रुक्मिणीमा हराएका ए रमणीय ! तिमी सधैँ चम्चाहरूबाट घेरिएर बस्दा म पनि सधैँ तिम्रो त्यो मोहनी मुहारलाई ध्यानमा राखेर नै कलम उठाउने गर्छु भन्ने कुरो नबिर्से ल !

०००
जाेशीकाे ‘चुनाव गीतिका : सरलार्थ ’बाट नेपाली अनुवाद

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x