साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मौकामा चौका

म अहिले झ्यालखानामा कैद सजाय काट्तै हुन्थेँ । उद्दण्डको घर भत्काउने महान् अभियानमा सहभागी हुन पनि मलाई उमेरले नै दिएन । नत्र म पनि त्यही घरले किचेर शहीद भइसक्थेँ वा घाइते भएर गहभरि आँसु पारेर मृत्युलाई कुरिरहेको हुन्थेँ ।

Nepal Telecom ad

हरिप्रसाद पौडेल :

एकजना रसिक स्वभावको प्रधान काका हुनुहुन्थ्यो मेरा छिमेकी । निकै सिपालु हुनुहुन्थ्यो उहाँ ख्यालठट्टा गर्न । साँचो कुरा गर्नुभएको हो वा ठट्टा मलाई भने बुझ्न गाह्रो हुन्थ्यो । एकदिन काकाले कुराको सिलसिलामा “मौकामा चौका हान्नुपर्छ” भन्नुभयो । आफूलाई भने जीवनमा कहिले मौका पर्‍यो भन्ने हेक्का नै छैन । न त मलाई कहिल्यै चौका हान्ने आँट नै आयो । न त मसँग चौका हान्ने ढङ्ग नै थियो । आँट नगर्ने मान्छेले गरी खान सक्तैन भन्ने कुरा मैले बाल्यकालदेखि नै सुन्दै आएको हुँ । काकाले पनि सोही कुरो भनेपछि चौका भनेको के होला र कसरी हान्नेहोला भनेर म अहिले पनि सोचिरहन्छु । बल्ल थाहा हुँदै छ । चौका हान्नु भनेको छलाङ मार्नु रहेछ ।

एकदिन काकाले भन्नुभयो, “हाम्रा जिबा नुनको व्यापार गर्नुहुन्थ्यो । बाले पनि जिबाकै बिँडो थाम्नुभो । तर, गरिबी र अभावले कहिल्यै छोडेन । हातमुख जोड्न धौधौ परिरह्यो । काजीमान दाइले सुनको व्यापार गर्न थालेपछि हाम्रा दुःखका दिन गए । उहाँले ह्वात्तै कमाउनुभयो । निकै चर्चामा आउनुभयो । फोटोसहितको पर्चा छापियो । करोडको कमाइ त उहाँका लागि मामुली हुन्थ्यो । एयरपोर्ट नै कब्जा गरेर सुनको व्यापार गर्ने सेटिङ मिलाएपछि त नुन व्यापारीको वंशमा कायापलट नै भयो ।

टन्न रुपैयाँ कमाएपछि नाम चलेकै राजनीतिक दलले पत्यायो उहाँलाई । चुनाउमा टिकट पाउनुभयो । सांसद बन्नुभयो, मन्त्री बन्नुभयो । उहाँको पुरानो व्यापार अझै फस्टायो । झन्डा फहराउँदै गाडीमा हुइँकिन थाल्नुभयो । प्रहरी र कर्मचारीहरू उहाँका सामुन्ने नतमस्तक भए । सरकारी खर्चमा विदेशको उडान हुन थाल्यो । विदेशी व्यापारीसँग हिमचिम बढ्यो । व्यापारका नयाँ नयाँ तौरतरिका साटासाट हुन थाले । संसदमा मन्त्रीज्यूको खोजि हुँदा स्वास्थ्यमा समस्या देखिएपछि उपचारार्थ विदेशमा हुनुभएको जानकारी गराइयो । काजीमान दाइले मौकामा चौका नहानेका भए अहिले पनि हामी नुन बोकिरहन्थ्यौँ । गरिबी र अभावसँग पौँठाजोरी खेलिरहन्थौँ ।

म प्रधान काकाले भनेका कुरा चाख मानेर सुन्दथेँ । सामान्य आँटले काजीमानको जस्तो व्यापार हुने भए जोसुकैले गर्थे । अभावको सामना कसैले गर्नुपर्ने थिएन जस्तो लाग्थ्यो मलाई । म प्रधान काकाले भनेका कुरा अहिले पनि सम्झन्छु । उहाँ मलाई गरी खाओस् भनेर आँटिलो बनाउने मनसायले यसो भन्नुहुन्थ्यो, “कसैले केही भन्ला भनेर खुम्चिएर बस्नुहुन्न । नियम कानुन सोझालाई मात्र हुन् । बाङ्गो हुन सिक्नुपर्छ । सोझो औँलाले घिउ पनि आउँदैन । कुनै राजनीतिक दलको सदस्य बन्नैपर्छ । प्रभावशाली नेता बन्न सके झन् काइदा । धन कमाउने बाटाहरू चिन्दै गइन्छ । आफूले धन खोज्नै पर्दैन । धनका बिटाले आफूलाई पछ्याउँदै आउँछन् । चुनाउमा उठ्नुपर्छ । मतदातालाई सपनाहरू बाँड्नुपर्छ । सकिन्छ भने रुपैयाँ नै बाँडे बेस । मासुभात र रक्सी त मामुली कुरा । गठबन्धन गरेर भए पनि सरकारमा जानुपर्छ । मन्त्री बन्नुपर्छ । एकदुई ओटा राम्रा काम गरेजस्तो गर्नुपर्छ । सञ्चाकर्मीहरूलाई हातमा लिनुपर्छ । सत्ताको स्वाद कस्तो हुन्छ बल्ल थाहा हुन्छ ।” म भने काकाका कुरा सुनेर अचम्म मान्थेँ ।

काकाले भन्नुभएको अर्को रोचक घटना पनि छ । एकजना उद्दण्ड नाम गरेका युवक थिए रे । उनले कुन्नि हो कसको निर्देशनमा आफ्नै घरमा रडाको मच्चाए रे । पुरानो घर भत्काएर नयाँ घर बनाउने योजना सुनाए रे । परिवारका सदस्यहरू कतिपयले नयाँ घर बन्ने भयो भन्ने आशले पुरानो घर भत्काउने योजनालाई सहर्ष समर्थन गरे रे । घर भत्काउन समर्थन नगर्नेलाई ज्यान मार्ने धम्की दिइयो रे । कतिपयलाई भाटे कार्बाही गरियो रे । कसैलाई त सुराकीको आरोपमा बोका काटेझैँ काटियो रे । स्कुल पढ्दै गरेका भाइबहिनीलाई घर भत्काउने तालिममा सहभागी गराइयो रे । कसैलाई गैंती बोकाइयो रे । कसैलाई झम्पल बोकाइयो रे । कतिपयले घर भत्काउने क्रममा मृत्युवरण गरे रे । मर्नेहरूलाई शहीद घोषणा गरियो रे । शोकलाई शक्तिमा बदल्नुपर्छ; हरेस खानुहुन्न भन्दै आफू भने छिमेकीको घरमा मेजमान खाँदै डकार्दै बसे रे । कहिलेकाहीँ समूहमा उपस्थित भई फोटो खिचाउँथे रे । नानीबाबुहरूले गाँस काटेर कापी कलम किन्न खुत्रुकेमा जम्मा गरेका पैसासमेत लुटिए रे । आमा, काकी, फुपू र माइजूहरूका बुलाकी, तिलहरी, नौगेडी फूली खोसिए रे । पेवा पालिएका कुखुरा, बोका, खसी आदि जबर्जस्त काटेर भोज खुवाइयो रे ।

भगीरथ प्रयत्नका बाबजुद आफ्नो योजनाले पूर्णता नपाएपछि अन्य टोलका टाउकेहरूसँग एकता गरी शान्तिपूर्ण आन्दोलन गरियो रे । खोलापारिका दले दाइको अग्रसरतामा दलानमा बसेर सम्झौताको तमसुक लेखियो रे । घर भत्काउने क्रममा गैँती र झम्पल बोक्नेहरूलाई पुराना घरका संरक्षक बन्दुकेहरूसँग समावेश गराइयो रे । घर भत्काउनेलाई कानुनी कार्वाही नगर्ने, पक्राउ गरी नथुन्ने, घाइतेको उपचार गर्ने विविध सर्तमा अभियान स्थगित गरियो रे । अहिले ती उद्दण्ड नै घरको हर्ताकर्ता भएका छन् रे । ठुलाठुला दलका नेताहरू हामीलाई पनि मन्त्री बनाउनुपर्‍यो भन्दै उनकै पाउमा पर्छन् रे । मौकामा चौका हान्न सिपालु भएकै कारण आज उनको व्यक्तित्व चुलिएको छ रे ।

काजीमानको सुनको व्यापार फस्टाएको समयमा म सानै रहेछु । सानै भएकाले उनको सुन बोक्ने भरिया बन्नुपरेन मैले । यदि म भरिया बनेको भए सुन व्यापारीको आरोपमा मलाई पक्राउ गरिन्थ्यो । म अहिले झ्यालखानामा कैद सजाय काट्तै हुन्थेँ । उद्दण्डको घर भत्काउने महान् अभियानमा सहभागी हुन पनि मलाई उमेरले नै दिएन । नत्र म पनि त्यही घरले किचेर शहीद भइसक्थेँ वा घाइते भएर गहभरि आँसु पारेर मृत्युलाई कुरिरहेको हुन्थेँ । अस्तु

०००
धुलाबारी, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सपना

सपना

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
नेतृत्व भयो काँतर

नेतृत्व भयो काँतर

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
0
Would love your thoughts, please comment.x
()
x