हरिप्रसाद पाैड्यालमौकामा चौका
म अहिले झ्यालखानामा कैद सजाय काट्तै हुन्थेँ । उद्दण्डको घर भत्काउने महान् अभियानमा सहभागी हुन पनि मलाई उमेरले नै दिएन । नत्र म पनि त्यही घरले किचेर शहीद भइसक्थेँ वा घाइते भएर गहभरि आँसु पारेर मृत्युलाई कुरिरहेको हुन्थेँ ।

हरिप्रसाद पौडेल :
एकजना रसिक स्वभावको प्रधान काका हुनुहुन्थ्यो मेरा छिमेकी । निकै सिपालु हुनुहुन्थ्यो उहाँ ख्यालठट्टा गर्न । साँचो कुरा गर्नुभएको हो वा ठट्टा मलाई भने बुझ्न गाह्रो हुन्थ्यो । एकदिन काकाले कुराको सिलसिलामा “मौकामा चौका हान्नुपर्छ” भन्नुभयो । आफूलाई भने जीवनमा कहिले मौका पर्यो भन्ने हेक्का नै छैन । न त मलाई कहिल्यै चौका हान्ने आँट नै आयो । न त मसँग चौका हान्ने ढङ्ग नै थियो । आँट नगर्ने मान्छेले गरी खान सक्तैन भन्ने कुरा मैले बाल्यकालदेखि नै सुन्दै आएको हुँ । काकाले पनि सोही कुरो भनेपछि चौका भनेको के होला र कसरी हान्नेहोला भनेर म अहिले पनि सोचिरहन्छु । बल्ल थाहा हुँदै छ । चौका हान्नु भनेको छलाङ मार्नु रहेछ ।
एकदिन काकाले भन्नुभयो, “हाम्रा जिबा नुनको व्यापार गर्नुहुन्थ्यो । बाले पनि जिबाकै बिँडो थाम्नुभो । तर, गरिबी र अभावले कहिल्यै छोडेन । हातमुख जोड्न धौधौ परिरह्यो । काजीमान दाइले सुनको व्यापार गर्न थालेपछि हाम्रा दुःखका दिन गए । उहाँले ह्वात्तै कमाउनुभयो । निकै चर्चामा आउनुभयो । फोटोसहितको पर्चा छापियो । करोडको कमाइ त उहाँका लागि मामुली हुन्थ्यो । एयरपोर्ट नै कब्जा गरेर सुनको व्यापार गर्ने सेटिङ मिलाएपछि त नुन व्यापारीको वंशमा कायापलट नै भयो ।
टन्न रुपैयाँ कमाएपछि नाम चलेकै राजनीतिक दलले पत्यायो उहाँलाई । चुनाउमा टिकट पाउनुभयो । सांसद बन्नुभयो, मन्त्री बन्नुभयो । उहाँको पुरानो व्यापार अझै फस्टायो । झन्डा फहराउँदै गाडीमा हुइँकिन थाल्नुभयो । प्रहरी र कर्मचारीहरू उहाँका सामुन्ने नतमस्तक भए । सरकारी खर्चमा विदेशको उडान हुन थाल्यो । विदेशी व्यापारीसँग हिमचिम बढ्यो । व्यापारका नयाँ नयाँ तौरतरिका साटासाट हुन थाले । संसदमा मन्त्रीज्यूको खोजि हुँदा स्वास्थ्यमा समस्या देखिएपछि उपचारार्थ विदेशमा हुनुभएको जानकारी गराइयो । काजीमान दाइले मौकामा चौका नहानेका भए अहिले पनि हामी नुन बोकिरहन्थ्यौँ । गरिबी र अभावसँग पौँठाजोरी खेलिरहन्थौँ ।
म प्रधान काकाले भनेका कुरा चाख मानेर सुन्दथेँ । सामान्य आँटले काजीमानको जस्तो व्यापार हुने भए जोसुकैले गर्थे । अभावको सामना कसैले गर्नुपर्ने थिएन जस्तो लाग्थ्यो मलाई । म प्रधान काकाले भनेका कुरा अहिले पनि सम्झन्छु । उहाँ मलाई गरी खाओस् भनेर आँटिलो बनाउने मनसायले यसो भन्नुहुन्थ्यो, “कसैले केही भन्ला भनेर खुम्चिएर बस्नुहुन्न । नियम कानुन सोझालाई मात्र हुन् । बाङ्गो हुन सिक्नुपर्छ । सोझो औँलाले घिउ पनि आउँदैन । कुनै राजनीतिक दलको सदस्य बन्नैपर्छ । प्रभावशाली नेता बन्न सके झन् काइदा । धन कमाउने बाटाहरू चिन्दै गइन्छ । आफूले धन खोज्नै पर्दैन । धनका बिटाले आफूलाई पछ्याउँदै आउँछन् । चुनाउमा उठ्नुपर्छ । मतदातालाई सपनाहरू बाँड्नुपर्छ । सकिन्छ भने रुपैयाँ नै बाँडे बेस । मासुभात र रक्सी त मामुली कुरा । गठबन्धन गरेर भए पनि सरकारमा जानुपर्छ । मन्त्री बन्नुपर्छ । एकदुई ओटा राम्रा काम गरेजस्तो गर्नुपर्छ । सञ्चाकर्मीहरूलाई हातमा लिनुपर्छ । सत्ताको स्वाद कस्तो हुन्छ बल्ल थाहा हुन्छ ।” म भने काकाका कुरा सुनेर अचम्म मान्थेँ ।
काकाले भन्नुभएको अर्को रोचक घटना पनि छ । एकजना उद्दण्ड नाम गरेका युवक थिए रे । उनले कुन्नि हो कसको निर्देशनमा आफ्नै घरमा रडाको मच्चाए रे । पुरानो घर भत्काएर नयाँ घर बनाउने योजना सुनाए रे । परिवारका सदस्यहरू कतिपयले नयाँ घर बन्ने भयो भन्ने आशले पुरानो घर भत्काउने योजनालाई सहर्ष समर्थन गरे रे । घर भत्काउन समर्थन नगर्नेलाई ज्यान मार्ने धम्की दिइयो रे । कतिपयलाई भाटे कार्बाही गरियो रे । कसैलाई त सुराकीको आरोपमा बोका काटेझैँ काटियो रे । स्कुल पढ्दै गरेका भाइबहिनीलाई घर भत्काउने तालिममा सहभागी गराइयो रे । कसैलाई गैंती बोकाइयो रे । कसैलाई झम्पल बोकाइयो रे । कतिपयले घर भत्काउने क्रममा मृत्युवरण गरे रे । मर्नेहरूलाई शहीद घोषणा गरियो रे । शोकलाई शक्तिमा बदल्नुपर्छ; हरेस खानुहुन्न भन्दै आफू भने छिमेकीको घरमा मेजमान खाँदै डकार्दै बसे रे । कहिलेकाहीँ समूहमा उपस्थित भई फोटो खिचाउँथे रे । नानीबाबुहरूले गाँस काटेर कापी कलम किन्न खुत्रुकेमा जम्मा गरेका पैसासमेत लुटिए रे । आमा, काकी, फुपू र माइजूहरूका बुलाकी, तिलहरी, नौगेडी फूली खोसिए रे । पेवा पालिएका कुखुरा, बोका, खसी आदि जबर्जस्त काटेर भोज खुवाइयो रे ।
भगीरथ प्रयत्नका बाबजुद आफ्नो योजनाले पूर्णता नपाएपछि अन्य टोलका टाउकेहरूसँग एकता गरी शान्तिपूर्ण आन्दोलन गरियो रे । खोलापारिका दले दाइको अग्रसरतामा दलानमा बसेर सम्झौताको तमसुक लेखियो रे । घर भत्काउने क्रममा गैँती र झम्पल बोक्नेहरूलाई पुराना घरका संरक्षक बन्दुकेहरूसँग समावेश गराइयो रे । घर भत्काउनेलाई कानुनी कार्वाही नगर्ने, पक्राउ गरी नथुन्ने, घाइतेको उपचार गर्ने विविध सर्तमा अभियान स्थगित गरियो रे । अहिले ती उद्दण्ड नै घरको हर्ताकर्ता भएका छन् रे । ठुलाठुला दलका नेताहरू हामीलाई पनि मन्त्री बनाउनुपर्यो भन्दै उनकै पाउमा पर्छन् रे । मौकामा चौका हान्न सिपालु भएकै कारण आज उनको व्यक्तित्व चुलिएको छ रे ।
काजीमानको सुनको व्यापार फस्टाएको समयमा म सानै रहेछु । सानै भएकाले उनको सुन बोक्ने भरिया बन्नुपरेन मैले । यदि म भरिया बनेको भए सुन व्यापारीको आरोपमा मलाई पक्राउ गरिन्थ्यो । म अहिले झ्यालखानामा कैद सजाय काट्तै हुन्थेँ । उद्दण्डको घर भत्काउने महान् अभियानमा सहभागी हुन पनि मलाई उमेरले नै दिएन । नत्र म पनि त्यही घरले किचेर शहीद भइसक्थेँ वा घाइते भएर गहभरि आँसु पारेर मृत्युलाई कुरिरहेको हुन्थेँ । अस्तु
०००
धुलाबारी, झापा
Subscribe
Login
0 Comments
Oldest







































