नन्दलाल आचार्यजिउँदो समय
"पुर्खाको श्री सिद्धिएसँगै तेरो सेवा पाउने समय सकियो । आफ्ना पाखुरा जिउँदा नबनाई मुखमा माड नपर्ने भयो ।"

नन्दलाल आचार्य :
महिना नमर्दै हातमा तलब पर्दा पनि उजेलीको मुहार अँध्यारियो ।
उनको घरमा अनिकालले बास बसेको थियो । एक छाक सुखै र अर्को छाक भोकै रहनुपथ्र्यो । तलब हातमा परेपछि केही दिन भए पनि सन्तानलाई पेटभरि खोलेफाँडो खुवाउन सक्थिन् । विदेशमा थलिएको लोग्नेसँग भलाकुसारी गरेर मनको आशंकाको बिरुवा उखेल्न सक्थिन् । सिमित समयसम्म भए पनि अभावलाई भगाउन सक्थिन् । सन्ततीका चाउरिएका ओठमा गुलाब फुलाउन सक्थिन् ।
“नाइँ, मालिक्नी, म तलब लिन्नँ । महिना मरेपछि मात्र दिनुस् । अहिले लिए, यही महिनामै सिद्धिन्छ । अर्को महिना रित्तै परिन्छ ।” आफ्नो इतिवृति बताएर सकी उजेलीले ।
“पूरा महिनाको तलब दिएकी छु । दिएको बेला लिइहाल् । नत्र……” मालिक्नीको मायामिश्रित आवाज उजेलीको कानमा ठोक्कियो ।
“मेरी सासूको जीवन यही घरमा सिद्धियो । मेरो पनि सिद्धिन्छ । नत्रसत्र नभन्नुस् मालिक्नी !”
उजेलीको अडान सुन्नासाथ मालिक्नीले थपी; “तँ मेरो ठाउँमा बस् । म तेरो ठाउँमा बस्छु । तँ महान् छेस् उजेली ।”
“के मर्जी भएको मालिक्नी ?”
उजेलीको हडबडे सवालको जवाफमा मालिक्नीले सहजताका साथ यत्ति भनी; “पुर्खाको श्री सिद्धिएसँगै तेरो सेवा पाउने समय सकियो । आफ्ना पाखुरा जिउँदा नबनाई मुखमा माड नपर्ने भयो ।”
०००
२०८१ वैशाख १४ एनेलकुटी, सिरहा ।
Subscribe
Login
0 Comments
Oldest








































