डा. टीकाराम पोखरेलमैले तक्मा किन पाउने हजुर ?
जनताका छातीमा गोली हानेर चराझै पुर्तुक-पुर्लक लडाउन सक्नु पो बहादुरी त, छातीमा गोली थापेर प्राण त्याग गर्नु के को बहादुरी हो र हजुर ! कहीँ कतै इतिहासमा मर्नेलाई बहादुर भन्ने गरिएको छ र हजुर ?

डा. टीकाराम पोखरेल :
आजकल बजारमा गणतन्त्रे तक्माको हल्ला चलेको छ । तक्माको हल्लासँगै मेरो नाम पनि नचलेको होइन, तक्मा पाउनेमा । तक्मा पाउनेमा म पनि पर्ने रे भने पछि म कताकति खुसी पनि भएको थिएँ, तर पछि तक्मा पाउनेहरूको नाम पत्रिकामा प्रकाशित हुँदा त्यहाँ मेरो नाम नदेखेपछि म भित्रभित्रै खिन्न भएँ । तर अहिले पो थाहा पाएँ । म तक्मा पाउन योग्य नै रहेनछु । मैले तक्मा पाएको भए त त्यो तक्माकै अवमूल्यन पो हुने रहेछ । हो हजुर म जस्तो तुच्छ मान्छेलाई तक्मा दिएर तक्माको अपमान गर्नु त भएन नि ।
हो हजुर ! मैले तक्मा पाउनुपर्ने कुनै कारण देखिनँ । गणतन्त्र नामधारी यो तक्मा पाउन त गणतन्त्रको लागि केही योगदान त गर्नुपर्यो नि होइन र हजुर ! मैले तक्मा पाउनुपर्ने त्यस्तो के नै पो गरेको छु र यो देशका लागि ? हो हजुर ! तक्मा पाउनेहरूको नाम सार्वजनिक हुनु अगाडिसम्म त मैले पनि गणतन्त्र र देशको लागि केही गरेको छु, तक्मा पाउनेहरूमा म पनि पर्छ कि भन्ने मलाई आसा लागेको थियो हजुर ! पछि म तक्मा पाउनेमा परिनँ भन्दा मलाई कता कता खल्लो लागेथ्यो, तर गोरखापत्रमा तक्मा पाउनेहरूको नाम हेर्दा पो बल्ल थाहा पाएँ हजुर ! तक्मा पाउनको लागि म योग्य नै भएको रहेनछु । हो हजुर ! त्यस्ता त्यस्ता दिग्गजहरूले पाउने गणतन्त्रे तक्मामा मैले आँखा गाडेर ठूलो भुल गरेंछु । यस्तो मेरो मूर्खताप्रति म आफैंलाई दया लागेर आयो हजुर । त्यस्ता, देशभक्त इमान्दार, दिग्गज, विद्वान्, राष्ट्रवादी, जनसेवी गणतन्त्रवादीहरूले पाउने तक्मामा म कसरी आसे बनेँछु हजुर ?
हो हजुर ! ती तक्मा पाउनेहरूले देशको गणतन्त्रको स्थापना र विकासको लागि गरेको साम, दाम, दण्ड, भेदको नीति अवलम्बन मैले कहिल्यै गर्न सकिनँ हजुर । के गर्ने हजुर ! गर्ने चाहे पनि म त्यो कला मसँग छैन । हो हजुर ! मैले छल, छाम र छुल्याइँ र छुद्रयाइँ पनि गर्न सकिनँ, न त मैले चाकरी, चाप्लुसी र चुक्ली नै गर्न जानें हजुर । के गर्ने हजुर ! भ्रष्टाचार गर्ने त झन कुरै भएन, कहाँबाट भ्रष्टाचार गर्न पाउनु कहिल्यै सरकारी जागिर खाको भा पो त हजुर । अनि अत्याचार र दूराचार पनि मेरो दिनचर्या बन्नै सकेन हजुर । हो हजुर ! म यी सबै काम गर्न असक्षम छु भने मैले के का लागि तक्मा पाउने हजुर ?
के गर्ने हजुर ! मैले गाउँको अगुवा भएर छिमेकी छिमेकीलाई फुटाउन, छुटाउन र टुटाउन जानिनँ हजुर । न त नेता भएर जनतालाई थिच्न, मिच्न र पाएसम्म जनताको मानो मुठी घिच्न नै जानें हजुर । हो हजुर । न त समाजसेवी भएर सोझासाझालाई हकार्न, थचार्न, पछार्न र लछार्न नै जानें न त मैले विद्वान्का नाममा आफूले सदस्यता लिएको पार्टीका नेताले जे जे भन्छन् त्यसमा आँखा चिम्लेर ताली पड्काउँदै समर्थन नै गर्न सकेँ हजुर ।
हो हजुर ! मैले ओल्लो कित्तामा फाइदा हुँदा ओल्लो कित्तामै बसेर लुट्ने र पल्लो कित्तामा फाइदा हुने जस्तो देखेपछि त्यतै फड्को मार्ने सुन्दर कला पनि जानिनँ हजुर । अनि मैले न त – मानवअधिकारकर्मीका नाममा पार्टी पार्टी बिचका तँछाड मछाडका घटनामा चर्को स्वरमा बोल्न सिकँ, न त पत्रकारका नाममा पार्टीका ठूला बडा नेताको गाथा नै गाउन जानँ । न त राष्ट्रसेवकका नाममा जनताका छातीमा गोली बर्साउन नै जानेँ, न त नागरिक समाजका अगुवाको पगरी भिरेर दलका एजेन्डालाई काँध थाप्दै हिँडे हजुर । हो हजुर । यीमध्ये मसँग कुनै योग्यता नै छैन भने मैले तक्मा किन पाउने हजुर ?
न मैले उद्योगपति भएर गुणस्तरविहीन सामान उत्पादन गर्न सकें न मैले व्यापारीका नाममा दाल चामलमा बालुवा मिसाई त्यसबाट आएको फाइदाबाट पार्टीलाई चन्दा दिन सकें । न मैले गाँजा चरेसको व्यापार गर्न सकेँ न मैले अकुत सम्पत्ति कमाएर कर छल्न नै सिकेँ । न मैले विदेशी मुद्राको अवैध कारोवार गरेँ, न मैले ठमेलका बारमा नग्न चेली नचाउन नै सकें। तब यी सबै गर्न नसक्ने भएपछि मैले तक्मा किन पाउने हजुर ?
हो हजुर माथिका कामहरू कुशलतापूर्वक सम्पन्न गरेका दिग्गजहरूको तुलनामा गणतन्त्र ल्याउनको लागि मैले के नै गरेको छु र हजुर गणतन्त्रे तक्मा पाउनँ ? गणतन्त्रे आन्दोलनमा मेरो जाबो एउटा छोरो गोली लागेर मरेको र अर्को छरो आन्दोलनकै गोली खाएर लँगडो भएको न हो हजुर । जनताका छातीमा गोली हानेर चराझै पुर्तुक-पुर्लक लडाउन सक्नु पो बहादुरी त, छातीमा गोली थापेर प्राण त्याग गर्नु के को बहादुरी हो र हजुर ! कहीँ कतै इतिहासमा मर्नेलाई बहादुर भन्ने गरिएको छ र हजुर ? मार्नेलाई नै त बहादुर घोषित गर्ने गरिएको छ नि होइन र हजुर ? त्यसैले हो हजुर ! यत्रा बहादुरहरूको योगदानको तुलनामा एकबारको मर्ने जुनीमा मेरो छोराले छातीमा गोली थापेर मृत्युवरण गर्नु कुन ठूलो कुरा भो र हजुर । मलाई चित्त बुझ्यो हजुर, मैले तक्मा पाउनुपर्ने होइन रहेछ र गणतन्त्रका लागि मृत्युवरण गरेको मेरो छोरो पनि यसको लागि योग्य रहेनछ हजुर । तक्माका लागि त तिनीहरू नै योग्य रहेछन् हजुर, जसको गोरखापत्रभरि नाम छापिएको छ हजुर ।
०००
काठमाडौं
‘हाइ, हाइ नेपाल बन्द’ (२०७०)
Subscribe
Login
0 Comments
Oldest









































