साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राइटोफोबिया

समस्यै समस्याले जेलिएको नेपाली समाजमा गौण दर्जाका मानिने यो अर्को बौद्धिक समस्या गलगाँड जस्तै भिरेर हिँड्न बाध्य छन् हाम्रा ‘राइटर ’हरू कोही ‘लेफ्ट’ कोही ‘राइट’ काँढे बाटामा ।

Nepal Telecom ad

हरि बन्दी :

म पनि एउटा सिकारु पत्रिकाको जुझारु सम्पादक भइखाएको हुँदा फुच्चे लेखकदेखि बडे महारथीहरूतकको आदेश र त्यस्तो आदेश पोखिने घाँडो भाँडो बन्न पुगेको छु ।

लेखनको खेतीमा धतुरो-भाङदेखि वनमारा झारसम्म सारा नाना भाँतिका जाति उम्रने हुँदा लेखकहरूको ‘क्राइटेरिया’ किट्ने काम निकै जोखिमपूर्ण छ । किनभने कोही लेखक ‘फाइटर नम्बर वन’ हुन्छ भने कोही ‘सेफर सेक्टर’ पिच्छे मालअड्डाका तालुकदार जस्ता हुन्छन् । उनीहरू सम्पादकको गिदीलाई के सोच्छन् कुनि, ‘राइटर्स फ्रन्ट’को तर्फबाट बेलामौकामा जमात-जत्थासहित सम्पादकलाई चुत्था ठानी अरिङ्गाल झै खनिन्छन् ।

‘राइटोफोबिया’ नामक अघोषित रोगले छोपेपछि बन्दूक पड्काउनु पर्ने मान्छे जब कलम समाउन पुग्छ, त्यस रोगको लक्षणका रूपमा छपाउने लुतो-चिलाइले सर्वप्रथम उसको मथिङ्गलमा काउसोको कुतकुती लगाएपछि परिणामस्वरूप ऊ सम्पादकरूपी डाक्टरकहाँ उपचारका लागि छाडनोस् कस्छ । आफ्नो सिर्जनाको पहिलो पोकोरूपी गुनासो त्यहाँ थमाएर ऊ प्रकाशनको ओथारो बस्नतिर लाग्छ । कृतिरूपी कुनै कच्चा फुल सम्पादकको तिखो कलमले घोच्दा बीचैमा फुट्यो भने लेखनको भाइरसले सताएको त्यो लेखकले जोशमा होश हराएर सम्पादकको कठालो समात्न पनि बेर मान्दैन ।

‘राइटोफोविया’ ग्रस्त एउटा लेखकले एक पल्ट यी पङ्क्तिका लेखक स्वयंकै लेखनलाई आफ्नो हस्तलिपिकलामा उतारेर मेरै पत्रिकामा छपाउने ठूलो रहरको प्रदर्शन गरेका थिए । लेखनको नशामा शायद ती लेखक विक्षिप्त अवस्थामा पो थिए कि । अरूका लेखनको टापनटिपन गरी तिनलाई आफ्नो कलमको नाङ्लोमा निफननाफन पारी मौलिक सिर्जना भनी भिडाउने स्वनामधन्यहरूको जति जय मनाए पनि पुग्दैन । किनभने दिनहुँ कुनै न कुनै निहुँमा ननिकाली नहुने मेरो पत्रिकाको पाना भर्ने गर्जो त यस्ताले नै टारिदिएका हुन्छन् नै ।

यहाँ कनीकुथी लेखिएका, टिपिएका, सारिएका कृतिका लेखकले राष्ट्रिय स्तरका पुरस्कार समेत डकार्छन् भने खारिएका लेखकको सिर्जनालाई सम्पादक कतिपयले रद्दीको टोकरीमा थुपार्छन् । त्यसो त ‘राइटर’ थरीथरीका, ‘एडिटर’ थरीथरीका । लेखन-सम्पादनका ‘वर्कशप’मा काम गर्ने श्रमजीवी, बुद्धिजीवी- यिनका छन् आआफ्नै तरीका । अझै पनि ‘राइटोफोबिया’ले आक्रान्त भई जिन्दगीभरि जति घुँडा धसे पनि लेखन आजीविकाको साधन बन्न नसकेकोले लेखकको पवित्र आत्माले अन्तिम संस्कारको खरानी नघसेसम्म यो सनातन शाश्वत भाइरस एउटा पुस्ताबाट अर्को पुस्ता गरी युगौंपर्यन्त यथावत् सुचारु रहन्छ । एक पटक ‘राइटोफोविया’ लागेको कलमबाज वा कलमदास जे भने पनि हुनेले बसेको लतको लुतो पन्छाउन हत्तपत्त सक्दो रहेनछ ।

आफू आजीवन झोपडीमा बसे पनि यो महान् अनुत्पादक लगानीमा खोपडी नरित्तिएसम्म नाफा होस् वा हानि नोक्सानी अरू विदेशी लेखकको फोटोकपी गर्दै आफूलाई उसबाट ‘प्रभावित’ भन्दै गरेर भए पनि मैदानमा कोही दौडने र कोही लडखडाउने हुनु स्वाभाविक रहेछ ।

तीव्र प्रतिस्पर्धाको यो ‘रेस’मा विरलाकोटि अपवादलाई छोडी ‘राइटोफोबिया’को ‘फिभर हाई’ हुनेहरूलाई पनि हाम्रा पाठकहरूले प्रायः पहिलो संस्करणमै ‘बाई बाई’ गरिदिने र प्रकाशकले एक हजार प्रति सङ्ख्या पुस्तक बडो अनुकम्पापूर्वक छापिदिने रवैया विगत कैयौँ दशकदेखि अख्तियार गर्दै आएका हुनाले ‘राइटोफोविया’को तनावग्रस्त भविष्यको सङ्कटमोचन कसरी हुने ?

समस्यै समस्याले जेलिएको नेपाली समाजमा गौण दर्जाका मानिने यो अर्को बौद्धिक समस्या गलगाँड जस्तै भिरेर हिँड्न बाध्य छन् हाम्रा ‘राइटर ’हरू कोही ‘लेफ्ट’ कोही ‘राइट’ काँढे बाटामा ।

यो ‘मार्चपास्ट’लाई सलाम फर्काएर स्वागत गर्ने प्रचलन चले त ‘राइटर’को ‘बेस्ट सेलर प्रोडक्सन’ हुन्थ्यो होला । बाहिर मुखले ‘वाह वाह’ गरिए पनि भित्र यथार्थमा ‘राइटर’को चिसो चुलो त झन्झन् दिन-प्रतिदिन दिन दुगुना रात चौगुना चिसिएको चिसियै पो छ । खै कहिले तात्ने हो ?

०००
‘आधुनिक नेपाली हास्यव्यङ्ग्य’ (२०६०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गालीको बाली

गालीको बाली

हरि खनाल
साथी पनि कस्तो ?

साथी पनि कस्तो ?

ठाकुरप्रसाद अधिकारी
गुडबाई वासुदेव दाइ !

गुडबाई वासुदेव दाइ !

राजेन्द्र सुवेदी
वर्ल्डकप

वर्ल्डकप

ईश्वर पाेखरेल
मन्त्री बिलौना

मन्त्री बिलौना

ध्रुव नेपाल
0
Would love your thoughts, please comment.x
()
x