हरि खनालसिकाइको हब
मान्छेको मृत शरीर चिर्ने कष्ट किन गर्ने जमाना लाइभको हो नि । कोही न कोही दुखी बिरामी भएर अस्पताल पुगेकै हुन्छ त उसैमाथि परीक्षण किन नगर्ने ? कसैको ज्यान जान्छ त के भो कसैले सिक्छ नि भन्ने दर्शनबाट हामी निकै प्रभावित छौँ ।

हरि खनाल :
सिकाइ गर्नु गुरुको कर्तव्य नै हो । सिकाएपछि पो चेला दीक्षित हुन्छ । संसारभरि सिकाइ हुन्छ भने हामीकहाँ नहुनुपर्ने कुरै भएन । हामी त सिकाइका साधन न हौँ ।भूपीको कविताले भनेजस्तै हामी कम्ती वीर छौँ ?
गुरुले सिकारुलाई मात्र राखेर किन हवाइजहाज उडाउने ? कम्पनीलाई घाटामा लैजानु छ र ? सयौँ सङ्ख्याका यात्रु हालेर सिकारुलाई उडाऊ भन्नु पो भन्नु । यता जहाजले रकम पनि सोहोर्ने सिकारुले पनि सिक्ने । सिकारुले हडबड गरेर केही गडबड ग-याै भने किन सिकारु र गुरु मात्र जाने ? यात्रुसहित जाने नि । यो पो सिक्ने सही तरिका हो त । कुनै अमूक एकजनालाई चालक बनाउन सयौँ यात्रीको बलि नियमकानून छली । दुर्घटनापछि आयोग बनाएर हलिखल्ली । यस्तो सिकाइ शायदै कुनै देशमा होला । आउनुहोस् यस्तो सिकाइको अवसर यहाँ छ भनेर प्रचार प्रसार गरौँ । नेपालमा हवाइ उडान सिक्न आउनेको घुइँचो लाग्न सक्छ ।
दायाँ सर बायाँ सर । पछाडि जाऊ । अलि पछि जानुस् न । पछाडि खाली खाली छ । ओ दाइ तपाईंको झोलामाथि राख्नुस् न । झोला हटाए एकजना त्यहीँ उभिन सक्छन् । कहाँ दुई खुट्टाले टेकेको होला ? एउटा खुट्टा उचाल्नुस् न । त्यहाँ त अर्को एकजना मानिस अट्छ । दुईओटै हातले नसमाउनुस् न । एउटा हात छोड्नुस् त अर्कोलाई पुग्छ । एउटा हात गोजीभित्र हाल्नुस् न ठाउँ बन्छ क्या । सिटमा बस्नेले सिधा नबस्नुस् न अलि झ्यालपट्टि लर्किएर बस्नुस् । तपाईं लर्किनुभयो भने अर्का एकजना अट्छन् ।’
यति धेरै कुरा गरेर यात्रुहरुको चाङ मिलाउँछन् गाडीका खलाँसी अनि जान्छन् गुरुजीलाई साइडमा पन्छाएर गाडी सिक्न । जब जब ज्यादा घुम्ती आउँछ सात घुम्तीजस्तो जब जब भीर आउँछ नौबिसेबाट थानकोट चढ्दै गरेजस्तो । सिकारुलाई सिक्नका लागि अर्को महत्त्वपूर्ण क्षण बन्न जान्छ । हामी शिर उचालेर हेर्छाैँ र भगवान भरोसा भन्दै सहचालकले नागबेली चालले चलाएको गाडीमा ढुक्कले उभिन्छौँ वा बस्छौँ । क्या भाग्यमानी खलाँसी । क्या भाग्यमानी बस चालक । क्या वीर हामी जसले एउटा खलाँसीलाई चालक बनाउन शरीरलाई भगवान भरोसामा छोडिदिन्छौँ । कहिले त्रिशुलीमा झ्वाम्म कहिले भीरबाट झड्याम्म । कहिले अर्को साधनसँग ढ्याङ कहिले समथरमै उत्तानो टाङ । यस्तो सिकाइको अवसर यहाँ बाहेक अन्यत्र कतै छ ? कुनै पनि माइका लालले अर्को कुनै देश वा ठाउँ देखाउन सक्छ यस्तो सिक्ने अवसर भएको ठाउँ ? अहँ सक्दैन ।
एकपटक बिरामी भएर अस्पताल पुग्दा गरेको अनुभूति पनि हजुरहरूलाई सुनाउने अनुमति पाऊँ । त्यो घटना पनि सिकाइसँग जोडिएको छ । ज्वरोले शरीरलाई आरनमा तताएको फलामजस्तै बनाइरहेको थियो । एम्बुलेन्समा हुइँकिएर जनता अस्पताल पुगेँ । जनता यस मानेमा कि जनता जान सक्ने अस्पताल । आकस्मिक कक्षको बेडमा सुत्नासाथ तीन जना श्वेत वस्त्रधारी नानीहरू आइपुगे । उनीहरूको रगत झिक्ने सिकाइ रहेछ । उनीहरूका गुरु कता थिए थाहा छैन तर उनीहरुले मेरो शरीरबाट रगत निकाल्न एक ठाउँमा होइन सात ठाउँमा छेडेर पनि सकेनन् । शायद मेरा मान्छेले विरोध गरे क्यारे अनि मात्रै उनीहरूका गुरु आएर मेरो बायाँ हातबाट रगत निकाले । शायद सिकाइको क्रममा रगतमा देखिने किटाणु पनि कसैको चस्माले एउटा कसैको चस्माले अर्को पो देख्छ कि ।
एकजना साथीको हजुरबाको वायाँ घुँडाको शल्यक्रिया गर्नुथियो । सिकारु प्रवेश गरेछन् र दायाँ घुँडा चिर्न भ्याएछन् ।गफमा मस्त गुरु डाक्टर कति बेला आइपुगे र हत्त न पत्त बायाँ घुँडा चिर्न लगाए । दायाँ किन चिरेको भन्दा दाँयामा केही विकृति देखिएकाले गरेको बेलामा किन बाँकी राख्ने भनेर नि । भन्दै गुरु डाक्टरले भनेका थिए । यस्तो युगमा पनि कसले भ्यागुता चिरेर शल्यक्रियाको तरिका सिकोस् । मान्छेको मृत शरीर चिर्ने कष्ट किन गर्ने जमाना लाइभको हो नि । कोही न कोही दुखी बिरामी भएर अस्पताल पुगेकै हुन्छ त उसैमाथि परीक्षण किन नगर्ने ? कसैको ज्यान जान्छ त के भो कसैले सिक्छ नि भन्ने दर्शनबाट हामी निकै प्रभावित छौँ । यस्तो तरिकाको सिकाइ अन्यत्र कहीँ हुन्छ ? कसैले फूर्ति नगरे हुन्छ । आउनुहोस् सबैजना मिलेर हामीकहाँ सिकाइको अद्भूत अवसर छ भनेर प्रचार प्रसार गरौँ । यहाँ सिक्नेको धुइरो लाग्नेछ । यो सिकाइको हब हुनेछ । भीरपहरा र खोलाबाट शव निकाल्ने तालिम केन्द्रहरू खुल्नेछन् । हरेक अस्पतालमा शवबाहनका सङ्ख्या विस्तार हुनेछ ।हामी सिकाइका साधन बन्न सदैव तयार छौँ ।
अस्तु
०००
धादिङ








































सारै राम्रो लेख १ं० बर्ष अगाडी आफै माथि घटेको घटनाको याद आयो