साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ढाडे बिरालो

होइन अब आइन्दा बिरालो नपालौँ भने पनि बिरालो पाल्ने चलन संसारभरि छ । प्रकृतिले सृष्टिमा नभई नहुने भनेर जन्म दिएको प्राणी निर्मूलै गर्न पनि भएन ।

Nepal Telecom ad

चिरञ्जीवी दाहाल :

सामान्यतया जो सुकैको र जुनसुकै ठाउँमा राखेको वस्तु देख्दा, मुख मिठ्याउने, राल काढ्ने र अवैधानिक बाटोबाट लुसुक्क त्यसलाई आफ्नो बनाउने कलामा पारङ्गत व्यक्तिलाई चोर भनिन्छ । कसैको घरमा र सार्वजनिक स्थलमा समेत चोर बाटो भएर पस्ने अनि लुसुक्क झिक्ने र जिन्दगीभर कमाएको इज्जत फाल्ने मान्छेलाई चोर भन्ने प्रचलन छ ।

चोरी मान्छेले मात्र गर्दैनन् । चोर्ने काममा ढाडे बिरालाहरू मान्छे भन्दा पनि माहिर मानिन्छन् । फरक यतिमात्र हो कि बिरालाहरूले चोर्ने काम, केवल पेट भर्नका लागि मात्र गर्छन् भने मान्छेले भने पेट भरिए पनि चोर्ने गर्छन् । बिरालाले जस्तै मान्छेहरू चोरेको वस्तु तत्काल उपयोगमा नल्याई घरजग्गा र गाडीका लागि समेत खर्चिन्छन् । बैङ्क ब्यालेन्स गर्छन् । लक्षमा पुग्न सके र भने जस्तै चोर्न सके, छोरा नाति पुस्तालाई समेत फालाफाल बनाइदिन्छन् । होइन मामुली वस्तु चोरी गर्नुपर्ने बाध्यात्मक परिस्थिति खडा भयो भने आफ्नो पालोलाई मात्र पुग्नेगरी भएपनि चोर्छन् । तर चोर्न भने छोड्दैनन् । जब लत बस्छ, यिनले सियो पनि छोड्दैनन् । यस्तै सियो चोरहरूलाई “जात फाल्नु गहतको झोलमा” भन्ने उखान बनाइएको हुनुपर्छ ।

अचेल लगभग सबै गाउँ शहरतिर यस्ता ढाडे बिरालाहरू बग्रेल्ती देख्न पाइन्छन् । यिनलाई कसले पालेको हो त्यो भने बुझ्न सकिदैन । यिनीहरू कहिले कसका घरमा देखिन्छन् कहिले कसका घरमा । मान्छेहरू भन्ने गर्छन् “छ्यापछ्याप्ती चोर बिरालो सधैँको पिरलोँ । यिनले कहिले कसो, घरमा पाहुनापाछा आएको बेला चिया बनाउन भान्सामा पुग्दा दुधको कराही सिनित्त बनाइ सकेका हुन्छन् । मासु ल्याएर भान्सामा राख्यो भने पकाउने बेलासम्म भाँडो रित्तै बनाइदिन्छन् । यिनले हरेक दिन आफ्नो चोरी कौशलता देखाउने गर्छन् । बिहान बिहान कसैको आँखा खुल्न नभ्याउँदै ढाडेहरू आफ्नो काममा लागिसकेका हुन्छन् । बिरालोको काम मुसा मारेर खानु पर्ने हो तर अहँ, अचेल ढाडे बिरालाहरूले मुसा मार्दैनन् । मुसा पनि नमार्ने ढाडेहरूबाट अरु कामको त के आश गर्नु ? खाने वस्तु कहाँ पाइन्छ, कसरी जिप्ट्याउन सकिन्छ भन्ने मात्र तिनको ध्याउन्न हुन्छ ।

एकदिन, एउटा ढाडेले खै कताबाट हो, दह्रै खालको र पुष्ट झोला चोरेर ल्याएछ । जब भरेङको कुनामा बसेर उसले झोला च्यात्न थाल्यो हामी जिल्ल पर्‍यौँ । झोलामा ढाडेलाई मनपर्ने मासु भात र दुधको कुरौनी थिएन । त्यसबाट मुठाका मुठा कट्कटे नयाँ नोट मात्र निस्किए । पेट भर्नका लागि खाने वस्तु चोरेको भए पनि अनौठो मान्नु पर्दैन थियो, किनभने बिरालोको धर्म चोर्ने हो । खाने वस्तु देख्दा बिरालोको मुखमा पानी आउनु ठूलो कुरा भएन । तर त्यसले चोरीगरेको झोलामा भने एकदम नयाँ र कटकटाउँदा नोटहरूको गड्डी हुनुलाई आश्चर्यजनक घटना मान्नु पर्दछ । यो त अचम्म नै भएको थियो ! यसलाई राम्रो सङ्केत जसरी मान्न सकिएला र !

लोभी मन न हो, नोट देखेपछि मेरो मनमा पनि एकाएक पाप उब्जियो । बिरालोले ल्याए पनि नोट आखिर नोटै हो । आफूलाई हर्जा भएको बेला घरमा आइपुगेको यति धेरै नोट फिर्ता कसरी गर्नु ?  फेरि फिर्ता पनि कसको भनेर गरौँ । होइन फिर्ता नगरी पराइको धन राख्ने हो भने पेट मात्र होइन मन पनि भतभती पोल्छ । यसरी अचानक भएको यो द्विविधाको समाधान निस्किएन ।

लाग्यो कसैले खोजी गरेछ भने र प्रमाण पुर्‍याउन सकेछ भने त्यो नोटको झोला बुझाउँला, अन्यथा जे त पर्ला ! पैसाको झोला खोज्नेहरू अझै आइपुगि सकेका थिएनन्, ढाडेले एकदिन सुनको बिस्कुट बोकेर ल्यायो । कहिले चाँदीको करुवा बोकेर आइपुग्थ्यो । केहीदिन पछि थाहा भयो, त्यो नोट र सुनको बिस्कुट ल्याउने बिरालो हाम्रो टोलका एकजना पूर्व मन्त्रीका घरको बिरालो रहेछ ।

सङ्गत गुनाको फल भनेको त्यसै होइन रहेछ । जब यी ढाडे बिरालाहरूको सङ्गत गर्न थालियो मेरो पनि मन शान्त हुन छोडेको छ । लाग्यो, सुन चाँदी र पैसा फेला पर्दा अब इमानको राग गाएर अलमलिनु हुँदैन । पुनः यस्तो मौका आउनसक्छ या सक्दैन कस्लाई के थाहा ?

अचेल यिनले चोरेर ल्याएको वस्तु हतपती फिर्ता गर्न मन लाग्न छोडेको छ । यी ढाडेहरूले, इमान्दार पूर्वक र शान्तसँग बसेको र मान्छेको मनभित्र निदाएको चोरलाई बिउँझाइदिने काम गर्ने रहेछन् । हुन त यस्तो हुनुलाई मानवीय स्वभाव मान्ने गरिन्छ । यसो विचार गरि हेर्दा कतिपय अवस्थामा बिरालोको चोर्ने गुण मान्छेमा सरेको जस्तो लाग्छ । जब यिनले अति नै चोरी गर्न थाले भने कुरो प्रष्ट हुने नै भयो । बिरालोको सङ्गतले होइन, मान्छेको सङ्गतले बिरालोहरूमा चोरी गर्ने थप सिप वृद्धि भएको हुनुपर्छ । होइन भने दुध चोर्ने बिरालोले नगद र सुन चाँदी नचोर्नु पर्ने थियो ! जुन आजसम्म थाहा पाइएको थिएन ।

बरू बिरालो पाल्न नपाइने नियम बनाइदिएको भए आनन्द हुन्थ्यो । कमसेकम मान्छे र बिरालो दुवैमा चोर्ने बानी हराइ पो हाल्ने थियो कि ! एकजना आफन्त पर्ने ठूलै नेताको निवासमा जाँदा त्यहाँ एउटा बडेमानको ढाडे बिरालो देख्ने बित्तिकै म झस्किएको थिएँ । यिनलाई मान्छेले धेरै कुराको अभियोग किन लगाइएका रहेछन् भनेको त यिनका घरमा पनि बडेमानको ढाडे बिरालो भएपछि कुरो बुझ्न गाह्रो परेन । मेरा ती आफन्तलाई पनि चोर्न मन लाग्ने, ढुकेर बसौँ बसौँ लाग्ने । चोरी गरेको कुरा बाहिर कसैले थाहा पाए पनि सुनेको नसुने झै गर्ने इच्छा उनीमा जागृत भएको रहेछ ।

सायद ढाडेको सङ्गतले होला देखेको वस्तु उँडाइ हाल्न मन लाग्छ रे । चोरी गर्दा अवरोध पुर्‍याउने लाई चिथरौँ चिथरौँ लाग्छ रे । त्यो पनि उनैले भनेका ! आफ्नै कानले नसुनेको भए यो पनि रहस्यकै कुरा हुन्थ्यो । कुरा प्रष्ट बुझियो ।

सबैभन्दा अनौठो चाहिँ के हो भने, जब बिरालोहरूले चोरी गर्छन्, यिनले दसी प्रमाणको रुपमा केही पनि छोड्दैनन् । चोर्नेबेला यिनीहरूलाई कसैको सहयोग पनि चाहिँदैन । लुसुक्क चोर्‍यो निदाएको स्वाङ पारेर आँखा चिम्म गर्‍यो सुत्यो । फेरि कसैले बोलाउँदा पनि सुनेको नसुन्यै गर्‍यो बस्यो ।

झ्वाट्ट हेर्दा चोर बिरालाहरू यतिबिघ्न सोझा र इमान्दार देखिन्छन् कि यिनले पनि के चोरी गर्लान् र जस्तो लाग्छ । यो गुणको विकास बिरालोबाट मान्छेले सिकेको हो या मान्छेबाट बिरालोले सिकेको हो ? बुझ्न कठिन छ । पहिले पहिले पनि घरमा बिरालो पाल्ने चलन नभएको होइन, प्रशस्त पालिन्थ्यो । अझै उखान मात्र हो अथवा यथार्थ पनि हो, एकताका त श्राद्धमा पनि बिरालो बाँध्नु पर्थ्यो भन्ने सुनिएको हो ।

त्यसभन्दा अघि यिनले रातभरि मुसा मारेर खान्थे । साँझ बिहान एक डाडु दुध र दुई गाँस भात दिँदा पनि मजाले अघाउँथे, मक्ख पर्थे । केही वर्ष यता जुनसुकै जातको बिरालो पालेपनि फिटिक्कै मुसा मार्न छोडेका छन् । चोरेर खान पल्किएपछि कस्को के लाग्दो रहेछ र ! उहिले एक आपसमा मिलेर मुसा मार्ने बिरालाहरू अचेल दुईटा भेट भए कि ङ्यार्र र ङुर्र मात्र गर्छन् । फेरि पहिले पहिले त आफ्नो काम के हो भन्ने कुरा सबैले बुझ्थे । अचेल त अहँ ।

यी ढाडे बिरालाहरू पक्कै चोर हुन् भन्ने जान्दा जान्दै पनि यिनलाई सजाय दिन सकिँदैन । यिनले चोरी गर्दा प्रमाण छोड्ने गरेको भए पो सजाय दिनु ! आखिर सबुत प्रमाण नभेटेपछि चोरै हुन भनेर किटान साथ भन्न पनि सकिन्न । कतिपय ढाडेहरू त यति बलिया र टाठाबाठा छन् कि प्रमाण फेला परेपनि कार्बाही त के कुरा यिनको एउटा रौं पनि झार्न सकिंदैन । यिनका डरलाग्दा नङ्ग्रा र हरिया, निला आँखा देखे पछि सबैको सातो जाने गरेको छ । आँखा झिमिक्क गर्न पाइँदैन लुसुक्क चोर्छन् फरक्क फर्किन्छन् । बरू यिनले कसरी चोर्छन्, चोरेपछि कस्तो गतिविधि देखाउँछन्, त्यसको राम्रोसँग अध्ययन गरिनुपर्छ ।

यी ढाडेहरूको मुख्य औजार भनेको नाक रहेछ । यिनले हरेक वस्तु सुँघेर नै कहाँ के छ भनेर पत्ता लगाउँने गर्छन् । बरू केही ढाडेको नाक काट्न सक्ने हो भने चोरीका घट्नामा कमी आउँथ्यो कि ! हुन त बिरालोको घाँटीमा घण्टी बाँध्ने आँट नभएका हामीलाई बिरालोको नाक काट्ने हिम्मत झन् कसरी र कसले गर्न सक्ला र खै ?

हामी कतिलाई आफ्नै घरमा दिउँसोको खाजा कता छ भन्ने पनि थाहा हुँदैन । तर यी ढाडेहरूले भने सुरक्षित स्थानमा जतनसँग राखेको अदृश्य वस्तुको पनि गन्ध थाहा पाई हाल्छन् र चोर्ने कार्य निकै होसियारी पूर्वक फत्ते गर्छन् । होइन अब आइन्दा बिरालो नपालौँ भने पनि बिरालो पाल्ने चलन संसारभरि छ । प्रकृतिले सृष्टिमा नभई नहुने भनेर जन्म दिएको प्राणी निर्मूलै गर्न पनि भएन । होइन मजासँग दुध भात खुवाएर पालौँ, चोर भन्ने जान्दाजान्दै कसरी चोर पाल्ने ? लौन यिनको बानी कसरी सुधार गर्ने होला ?

०००
चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुन कागती र गोजी कागती

सुन कागती र गोजी...

चिरञ्जीवी दाहाल
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
जिब्रो

जिब्रो

चिरञ्जीवी दाहाल
ताली पर्व सधैँ आइरहोस्

ताली पर्व सधैँ आइरहोस्

चिरञ्जीवी दाहाल
धूपको धुवाँ र चुरोटको धुवाँ

धूपको धुवाँ र चुरोटको...

चिरञ्जीवी दाहाल
ज्ञानको उल्टी

ज्ञानको उल्टी

चिरञ्जीवी दाहाल
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x