साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुरो राष्ट्रिय परिचय-पत्रको

फुली, मुन्द्रा, सिक्री सबै खोल्नुपर्ने रे, अझ विवाहित महिलाले सिन्दूरै पुछ्न पर्ने रे ! के हो यस्तो आसद्धे ?!? यस्तै यस्तै कुरा गरिरहे उनीहरू । देश सकिने भो भन्ने चिन्ता बढी थियो उनीहरूको ।

Nepal Telecom ad

अनिल पौडेल कीर्ते :

यो परिचय-पत्र को अर्थ, आवश्यकता, औचित्य, सान्दर्भिकता बारे सम्बन्धित निकायले नागरिकलाई नबुझाएको हो या व्यापक बुझाउँदा बुझाउँदै म मात्रै छुटेको हुँ यसबारे म पूणर् रूपमा जानकार छैन । तैपनि फोटो खिच्न जाउँ न त, निकै हल्लिखल्ली छ यसबारे भनेर फोटो खिचाउन गएँ । आफैँले अनलाइनमा फारम भोरेर जाँदा पनि अड्डामा झण्डै दुई घण्टा झुल्न पर्‍यो ।

लाइन बस्या छ, घच्चापच्चा गर्‍या छ, घाम चर्क्या छ, जीउ कन्याको छ, अमि…लो स्वादको पसिना गनाको छ, भित्रका ठालुहरू डुक्रेको सुन्या छ, केही बोल्यो कि हान्ने गोरूजस्तो गर्छन्, लाग्छ यी गोरुहरू नागरिक बिरुद्ध डुक्रिँदा डुक्रिँदै मर्छन् !

एक हल छन् भित्र, चर्तिकला विचित्र । मीएमा गोरु घुमेझैँ गर्छन् घरिघरी, चिप्लो बाटोमा साइकल नाचेजस्तो नाच्छन् घरिघरी, हाँस्छन् घरिघरी, बाझ्छन् घरिघरी, पालैपालो हातका औँला भाँच्छन् घरिघरी । गफ हुन्छ, गाफ हुन्छ, यता हाम्रो हानाथाप हुन्छ, अनलाइण फारम भर्दिने दलाललाई मनग्गे दाम हुन्छ, मान्छे माथि मान्छेको जाम हुन्छ, अजिजियामा जस्तै घाम हुन्छ, तर भित्र पूरै व्यस्त छन् । किन ? त्यहाँ काम नगर्ने काम हुन्छ ।

छेस्काको के लाग्छ मुढाको अगाडि ?
कम्पुटर राख्द्याछ बुढाको अगाडि,
आँखा धमिला छन् जालो देखिन्छ
स्क्रिन त पूरै का…लो देखिन्छ
आँखा मिच्न दुई मिनेट, चेस्मा मिलाउन तीन
पालो नम्बर ७ मा छ यत्तिकै बित्छ क्याहो दिन ?

यौटै कोठालाई बिचमा बारेको छ
यताको कागज उता सारेको छ
उताबाट फेरि यता ठेलेको छ
नागरिकको समयसँग खेलेको छ ।

यता आऊ कागज जँचाऊ
उता जाऊ सही गराऊ
फेरि यता आऊ नाम लेखाऊ
फेरि उता जाऊ दाँत देखाऊ
काम खोई त गरेको ?
के आँखा तरेको ?
मेरो कागज फाल्छन् कि के हो ?
यता र उता गराएरै ढाल्छन् कि के हो ?

सिन्दुर लाएकाले सिन्दुर पुछ्ने
फुली, मुन्द्री सबै खोल्ने
विधवा जस्तो फोटो खिच्ने
खुरुक्क जाने केही नबोल्ने

कसरी दुःख दिन सकिन्छ भन्ने सोचेर बनाएजस्तो ठाउँ छ । मौरीको घारजत्रो कोठालाई बारेर जुरेलीको गुँडजत्रो बनाएर गाँड फूलाएर बसेका छन् भित्र । दृश्य छ बडो विचित्र । बोली सुन्दा लाग्छ यिनीहरू चरम तालिम गराइएका गोमनहरू हुन् जो सेवाग्राहीलाई पलपल डसिरहेका छन् र काम नगर्ने काम गरेर निकै व्यस्त बसिरहेका छन् ।

यता हेर्‍यो डस्न ठिक्क
उता दाह्रा धस्न ठिक्क
सेवाग्राही पसिना सुँगेको सुँगेकै
भित्र बुढागोरू उँगेको उँगेकै

पालो आयो सर्भर गयो
सर्भर आयो पालो गयो
म चैँ बाहिरी जिल्लाको परेर पछि आउनुस् रे !
दुई घण्टा लाइनमा बसेपछि थाभो मेरो काम त नबन्ने रैछ । सोधेँ, हिजो आउँदा फलानो फलानो कागज लिएर भोलो दशै बजे आउनु भन्ने कुरो भाथ्यो त !
बूढो अचानक झर्कियोः जसले भनेको हो उसैलाई भन्नुस् ।
यस्तो पारो तात्यो कि यसका लागि एक ठेला दाउराको व्यवस्था म अहिले नै गर्दिहालौँ जस्तो । तातेको पारो अघि बिहानसम्म तातै थ्यो, अ‍ैले बल्ल मनतातो जस्तो भाछ ।

लाईणका अरू बबुरा नागरिकहरू पनि निकै रिसाए । एक जना अधबैँसे महिला भन्दै थिइन्, यस्तो हैरान गरेर के लिनु यो कार्ड ! पछि छोराछोरीलाई तिमीहरूका बाउआमाको देश नेपाल थियो भनेर देखाउन काम लाग्छ भनेर मात्र आएकी !
ओहो ! कस्तो गम्भीर कुरा । (मैले केही भनिँन)

यौटा लगभग ६ फिट जति उचाई भएको १९/२० वर्षे केटो बरण्डा कट कपाल मिलाउँदै, फूलपातीको खसीले मकै चपाए जसरी भोला चपाउँदै छेउमा आयो । ठस्स चुरोट गनायो । (सोचेँः चुरोट नगनाओस् भनेर यसले पनि उहिलेको हाम्रै जस्तो तकनिक गरेछ)
भन्योः “एनआइडि कार्ड रिसिभ” गर्न आको ।
भित्रकाले भनेः फलानो कागज दिनुस् र एकछिन् पर्खनुस् ।
मैले सोधेँः के को लागि चाहिएको भाइ यो कार्ड ?
भन्यो, बाहिरको लागि प्रोसेस गर्न ।

एकजना ७० हाराहारीकी बुढी आमा आईन् फोटै खिचाउन । नागरिकता देखाईन् हाम्रै अगाडि । नागरिकतामा फोटो प्रष्ट भएन, स्टिकर पनि छैन आदि इत्यादि भनेर सिंहदरबारमा फलाणो विभागमा जानू त्यहाँ गएर निवेदन दिनु के-के हो के-के भनेर भत्ता थाप्ने मिति समेत याद नहुने भैसकेको मगज गोलचक्करमा पारिदिए । काम होला कि भनेर गोरूदरबार आएकी बुढीआमाले अब सिंहदरबार जानपर्ने रे !

उनी भन्दै थिईन्, यही नागरिकताले अहिलेसम्म सबै भको हो, अब म बुढी मान्छे काँ जानू ?
हामीले देख्दा पनि उनको नागरिकता ठीकै देखेको, फेरि त्यस्ति बुढी मान्छेले ल्याएको जिनिस के झुठो होला र ! हामीले भन्यौँ ठीकै छ त किन दुख दिएको यस्ती बुढी मान्छेलाई ? कान र विवेक सुन्य भएका स्वाँठहरू के सुन्थे । त्यसै फर्काईदिए । एक बज्नै लागेको थियो, उनले सोधिन् त्याँ जाने बस काँबड लाग्छ बाबु ?
अब यहाँबाट तपाईँलाई त्यहाँ पुग्न कम्तीमा डेढ घण्टा लाग्छ । त्यहाँ पनि यहाँजस्तै मान्छे बस्छन् जो काम नगर्ने काम गर्छन् । तपाईं एक्लै त्यहाँ गएर पार लाग्दैन आमा । भोलि बेलैमा कसैलाई लिएर जानूहोला ।
हामीले देख्दा ठीकै भएको नागरिकता त्याँ चलेन । त्यो सिंहदरबार उनीजस्ता, हामीजस्ता निम्छराका लागि होइन तर त्यता पठाएरै छोडे ।

एकजना कटुवाल थरका दाइसँग यसो कुराकानी भयो । भर्खर लोकसेवा पाँच/सात पल्ट दिने उमेर हुँदैछ पुलिसबाट पेन्सन हुनेबित्तिकै राजिनामा दिएको पो भन्छन् बा !
सोधेँ, कति छिटो पेन्सन भैसकेछ त ! किन राजिनामा दिहाल्नुभको ?
फ्याट्ट भने, देशको सेवा गर्न भनेर पसियो, व्यक्तिको सेवा गर्न परेपछि के जागिर खानु !
बरू सेकरेटीमा दुबई तिर लाग्नुपरो भनेर यो कार्ड बनाउन आको !
कोही भन्छन् नागरिकता हुँदाहुँदै किन चाहियो यो कार्ड ?
खै यो त षड्यन्त्र हो जस्तो लाग्छ । जथाभावी नागरिकता बाँडेर सकिसक्यो अब फेरि यो किन ल्याको होला !
फुली, मुन्द्रा, सिक्री सबै खोल्नुपर्ने रे, अझ विवाहित महिलाले सिन्दूरै पुछ्न पर्ने रे ! के हो यस्तो आसद्धे ?!?
यस्तै यस्तै कुरा गरिरहे उनीहरू । देश सकिने भो भन्ने चिन्ता बढी थियो उनीहरूको ।

देश सम्झिन्छु चिन्ता लाग्छ,
जनताको कुरा सुन्छु चिन्ता लाग्छ,
बालुवाखानीमा हिरा फल्छ
स्वर्ग जस्तो देशमा पीडा फल्छ
तर ढुक्क हुनुस्
पिउनुस्, जीउनुस्
बजाउनुस् बाजा
तपैँ बाँचुञ्जेल रहन्छ देश
मरेपछि डुमै राजा !!

०००
मोरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
उसको भाषण

उसको भाषण

अनिल KH पौडेल’
झोले

झोले

अनिल KH पौडेल’
क्या अलौकिक खाडल !

क्या अलौकिक खाडल !

अनिल KH पौडेल’
महँगो सुख

महँगो सुख

अनिल KH पौडेल’
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x