शिवप्रसाद जैशीदुई मुख लुगाला मात्तै हुनाछन्
ठ्याक्क उल्टो ‘ज्यान नजाए जमान जाए’ के मतलब ? सकेजति घाँटीका नसा फुलाएर मिनेटमिनेट सेकेण्डसेकेण्डमा बोली फेर प्रतियोगिताका संवाहक मानिसहरूलाई जनताले किन न जिताउने ?

शिवप्रसाद जैशी :
“ए के बोल्लो छै । अक्थि एक थोक बोली । बेलि अक्कै थोक बोल्लो । आज अक्कै भोलि अँज के बोल्लेह्यइ । तेरा मुखऔ ठिङान छैनैं क्याहाओ ? तेरो मुख होइ लुगाल हो” । आदरार्थी आफूभन्दा ठुलालाई भन्दा “के बोल्ला छओ तम्रो मुख पन लुगाल होइ क्या हो, मैल कुडो बुजेइँन ? मुख र लुगाल छुट्टयाउँन अठ्फ्यारो भयो । दुई मुख त लुगाला मात्तै हुना छन् । माण्ठओ त एकै हो मुख” । सानो हुँदा कसैले एउटै विषयमा पटकै पिच्छे बोली फेरेको सुन्दा निष्ठाका प्रतिमूर्ति, गाउँका सज्जन, पुराना मानिसहरूले बोली फेर्नेहरूलाई भनिने यी वाक्यहरू सुनिन्थे । यस्ता वाक्यले अहिले पनि झङ्कार दिन्छन् अस्थित्व बोधको । “ज्यान जाओस् जमान नजाओस्” भन्ने कुरामा अडिग भएर बोलिने भाषा हो यो दुई मुख लुगाला मात्तै हुन्छन् भन्ने । कहिलेकाहीँ साह्रै हुँदा तिनले ‘तेरो मुख हो कि ढेल (चाक) हो’ भन्न पनि बेरलाउँदैनथे । अटसमटस भएको भुँडीमा उत्पादित दुर्गन्धित हावा बायोलोजिकल नियन्त्रण भन्दा बाहिर गएर ढेलबाट फुस्काए जस्तै बोलीमा नियन्त्रण नभएको भन्ने अर्थमा यो भनिएको होला ।
कुनै पनि साधन जसमा केही राखिन्छ वा प्रयोगमा ल्याइन्छ जस्तै डोको, भकारी, गाग्री, ताउलो, लोहोटा, बोरा, झोला वा अन्य कुनै चिजको पनि दुई मुख हुँदैन। लुगालको भने दुईवटा मुख हुन्छ । लुगाल जनावरहरूलाई उनीहरूको पिठ्युँमा दुवैतिर भारीको तौल बराबर होस् । तौलको सन्तुलन मिलोस् र जनावरलाई बोक्न सजिलो होस् भनेर बनाइएको दुई मुखे थैलो हो । यातायातका साधनहरू चलाउन बाटोघाटोको सुविधा नभएका बिकट ठाउँहरूमा खास गरी भेडाहरू मार्फत सामान ढुवानी गर्दा उनीहरूको पिठ्युँमा भारी बोकाएर लैजाँदा लुगालमा समान राखेर बोकाउने गरिन्छ । विशेष गरी हिमाली भेक जहाँ भेडा पालन हुन्छ ती स्थानहरूमा भेडाकै उनद्वारा स्थानीय स्तरमा आफ्नै सीपले बनाएका लुगालहरू प्रयोग गर्ने चलन थियो र अझै छ कतै कतै। बोलीमा ठेगान नभएका मानिसलाई प्रतिकात्मक रुपमा उहिले ‘तेरो/तम्रो मुख हो कि लुगाल हो’ भन्ने चलन थियो त्यो पनि सार्वजनिक ठाउँमै। एक किसिमले भन्ने हो भने बोली फेरिरहने मानिसलाई सार्वजनिक रुपमा दिइने गैर वित्तिय सामाजिक शब्द सजाय थियो यो ।
बोली फेरेर गफ हाँक्ने मानिसलाई ठाउँकाठाउँ घुप्लुक्क पार्थे । दुईटा घुँडाको बीचमा मण्टो लुकाएर मुख नदेखिने गरी बस्नु पर्ने स्थिति हुन्थ्यो त्यो बेला । बोली फेर्नेलाई कमता सकस थिएन गाउँमा बस्न । एक्लो दोक्लो भए प्रतिपाद गर्नु । सर्वसम्मत रुपमा त्यो पनि कचहरी बस्ने चौतारोमा । धात फिराद केही नलाग्ने । कहिँकतै पुनरावेदन नलाग्ने। सामाजिक कानूनको निर्माण पालना र कार्यान्वयन त्यो पनि सामूहिक रुपमा। बडो गजबको सामाजिक नियम।मानिसको बोलीमा नियन्त्रण राख्न बनाइएको अलिखित विधान ।
आजकाल त्यस्तो कहाँ छ र ? जसले समय परिस्थिति हेर्यो बोल्यो । सक्ने जति बोल्यो । सायद यो कुराको पत्तो पाएनन् र उहिलेउहिले जम्मा दुई मुखको परिकल्पना गरी लुगाल बनाएर र दुई मुखे भने मिनेटमिनेटमा बोली फेरेर जनभावनामा खेल्नेहरू, जनमनहरूलाई रनभुल्ल पारेर आफ्नो दुनो सोझ्याउनेहरूको कल्पना गर्न सकेनन् क्यार ऊ बेला । आउन सक्ने सम्भावित बोली फेर प्रतियोगिताको आँकलन मात्र गरेका भए सायद बहुमुखे कुनै शब्दको उत्पत्ति गरेका हुन्थे होला र हाम्रा मानसपटलमा घुसाउन सजिलो हुन्थ्यो होला । त्यो हुँदै भएन ।
सर्वसम्मतको जमाना पनि त रहेन । साँचो झुटो खुट्याउने भन्दा पनि आफ्ना मानिसले भनेको जे पनि ठिक । जति पटक बोली फेरे पनि ताली ठोक प्रतियोगितामा भाग लिन मानिसहरू कहाँ छन् र कम ? हो हो भन्दै शब्द, वाक्य र बोली फेर प्रतियोगीहरूलाई हौसला दिनेहरूको तालीले एउटै विषयमा कतिपटक फरकफरक ढङ्गले प्रस्तुत भएँ भन्ने कुराको हेक्का समेत रहँदैन तिनलाई । हेक्का भैभैकन जान्दाजान्दै पनि बोल्छन् । ओकल्छन् लाज लजाउने गरी । लोक हँसाउने गरी । अलि पर छ भने शुद्ध पनि चोर । वर आए चोर पनि साधु । आफूसँग मिले मानव, अरुसँग मिले दानव । आफ्नो सङ्गठनको छातामा ओत लागेका सबै सदाचारी । अरुको छातामुनि व्यभिचारी । आफूसँगैको साँच्चिकै सदाचारी अर्कोतिर जाँदा बडो ठुलो व्यभिचारी । हाम्रा जति राम्रा । हाम्राका अपराध हुन्नन् । हाम्राले गरेका अपराध सबै पुण्य प्राप्तीका लागि गरिएका सत्कर्महरू हुन् । कुकर्मबाट मुक्ति पाउनु छ भने हाम्रामा सामेल हौँ भन्ने सार्वजनिक आह्वान गरेकै छन् ।
जघन्य अपराधी आफ्नामा पस्ता, आफ्नो छाताको ओतमुनि आउँदा, अलिकति काशीको पवित्र जल जलौटाबाट झिकेर तितेपाती वा दूबोले छर्कने अनि हिमाली भेगमा प्रयोग गरिने धार्मिक महत्व बोकेको खादा पहिराइ अबिरले निधार टलक्क टल्काएपछि पाप मोचन क्रियाकलाप समाप्त हुन्छ । जल, खादा र अबिरले भने अपवित्र मनुख्यको पहिरन बनेर धार्मिक वस्तुको मर्म भत्किनु पर्ने, अपवित्रताको बोझ सम्हाल्नु पर्ने । हाम्रो मुनि, हाम्रा हजार पटक फेरिएका बोलीमा लोली मिलाएर हो हो को झङ्कार युक्त शब्द आवाज निकाल्ने मानिसहरू सबै शुद्ध हुन् । अशुद्ध ती मानिसहरू हुन् जो हामीसँग छैनन् । हामीसँग हुँदा साधु भनेका थियौँ । अहिले अरुसँग छ चोर हो भन्दा जसले हो भनेर गडगडाहट हत्केला मिलान ध्वनि निकाल्न सक्छ त्यही नै हाम्रो प्रियतम हो । अरु सबै मानिस नामका घसेटा हुन् भन्ने सिद्धान्तले बडो मलजल पाएको युग चलिरहेको छ ।
बोली फेर प्रतियोगिता चल्ने सबै भन्दा अजिबको गजब ठाउँ रहेछ विधि विधान भवन । जहाँ आफ्नै बोलीलाई पहिचान गर्न नसक्ने स्थिति आएको देखिन्छ । आफ्नो बोलीमा लगाम लगाउन आवश्यक पनि नठानिने । बादल, हुस्सु र कुहिरोले स्थान परिवर्तन गर्ने समयभन्दा पनि कम समयमा यिनका बोली फेरिने भएकोले कुन सत्य कुन असत्य भन्ने खुट्याउन पनि कति अप्ठ्यारो । सामाजिक सञ्जालले देखाउने प्रतियोगीको आफ्नै साँचो भनाइलाई पनि मेरो होइन भन्न सक्ने अद्भूत क्षमता यी प्रतियोगीमा हुँदोरहेछ । दल अदल बदलले यी प्रतियोगीको क्षमतामा मलजल राम्रै गर्दो रहेछ । गठबन्धन परिवर्तनले यी प्रतियोगी सर्वसम्मतको जमाना पनि त रहेन । साँचो झुटो खुट्याउने भन्दा पनि आफ्ना मानिसले भनेको जे पनि ठिक । जति पटक बोली फेरे पनि ताली ठोक प्रतियोगितामा भाग लिन मानिसहरूका लागि गजवकै उर्बर र मलिलो भूमि बनाउँदो रहेछ फस्टाउनका लागि ।
जति पटक बोली फेरे पनि ताली ठोक प्रतियोगितामा भाग नलिने मानिसहरूको खैरियत छैन, हुनु हुँदैन भन्ने जमात तयार छ । एकै वर्षमा चार पटक सम्ममा त्यही मानिस अनि पार्टी राम्रो अनि नराम्रो अनि राम्रो अनि नराम्रो भन्ने सक्ने नै भावी प्रधानमन्त्री हुन सक्ने योग्यता भएकोले नैं, न त हिमालमा हिउँ छ न त भेडा नै । न त भेडा पाल्ने मानिस नै । भेडा नै नभएको ठाउँमा कसरी, कहाँबाट हुनु ऊन ? ऊन र मानिस दुवै नभएपछि न सीप न ऊन । न कसैको गुन । किन चाहियो लुगाल ? लुगाल लोप हुन थाले पछि दुई मुख पनि लोप । दुई मुख लोप हुनै लाग्दा नीतिहरुको राजा राजनीतिमा बस्ने मानिसहरूका मात्र दुई थुतुना हुन नाजायज भएकोले ‘बहुमुखे मानिस राजनीति जानिस्’ भन्ने दिन आयो ।
ठ्याक्क उल्टो ‘ज्यान नजाए जमान जाए’ के मतलब ? सकेजति घाँटीका नसा फुलाएर मिनेटमिनेट सेकेण्डसेकेण्डमा बोली फेर प्रतियोगिताका संवाहक मानिसहरूलाई जनताले किन न जिताउने ? आउनुहोस् लेखाजोखा गरौँ जसले एउटै वस्तु. घटना र प्रवृतिलाई पटकपटक फरक हो भन्न सक्छ, एउटै होइन भन्ने दलिल पेस गर्न र वकालत गरेर निर्धक्क जनतालाई फस्ल्याङ् फुस्लुङ् पार्न सक्छ तिनैंलाई शुभलाभको चिन्ह प्रदान गरेर नीति निर्माणमा पठाउँ। विधायक बनाउँ । हामी नाङ्लो ठटाउँ । विधि भवन भित्र पठाउँ । हामी सबैलाई ढँटाउँ । लोपोन्मुख लुगाल संरक्षण गर्न नसके पनि लुगाल शब्दको संरक्षण गरौं । जसले बोली फेर्छ उही विधान सभामा बसाइँ सर्छ ।
०००
काठमाडौं







































एउटा इमोजी वा संकेत चिन्ह तातो न छारोको अभिव्यञ्जनाको लागि पनि थप्नुपर्ने भयो प्रतिक्रिया दिनेहरुका निम्ति