सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भैरव पुरस्कार मन्तव्य

महान् हास्यव्यङ्ग्यकार भैरव अर्यालको नाममा स्थापित सबैभन्दा ठूलो पुरस्कारको हकदार म थिएँ थिइनँ, तर मलाई प्राप्त भयो । यो मेरो पौने साठी निकट उमेरको सबैभन्दा गौरवको क्षण हो । तैंले हास्यव्यङ्ग्य जगतमा केही योगदान गरेको छस् भनेर मलाई भ्रमित तुल्याउने भैरव गुठीप्रति म आभारी छु ।

Nepal Telecom ad

लक्ष्मण गाम्नागे :

नेपाली हास्यव्यङ्ग्यका शिखर व्यक्तित्व भैरव अर्यालकाे स्मृतिमा स्थापित भैरव पुरस्कारद्वारा सम्मानित भएपछि  हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेले समाराेहमा प्रस्तुत गरेकाे लिखित मन्तव्य फित्काैलीलाइ प्राप्त भएकाे छ । फित्काैली गाम्नागेप्रति हार्दिक बधाइ ज्ञापन गर्दछ र मन्तव्य जस्ताकाे तस्तै प्रस्तुत गर्दछ ।   – सम्पादक

०००

मैले पुरस्कारका लागि कहिल्यै लेखिनँ । कक्षा ९ मा पढ्दादेखि अलिअलि साहित्यमा रुचि जागेको र शुक्रबारे कार्यक्रममा कविता सुनाउँदा केही पटक पहिलो दोस्रो भएर कलम डायरी पाएको सम्झना छ । ती कविता सुनाउँदा साथीहरु, गुरुहरु एकदमै खुशी भएको सम्झना छ । ती रचना किन रमाइला भएका थिए भने मैले आदर्श गाउँ पन्चायत गौरादहमा भएको पुस्तकालयबाट तत्कालीन व्यवस्थापक नरनाथ लुइँटेलको सिफारिसमा भैरव अर्यालको जयभुँडी लगेर महापुरुषको संगत रचनाका पात्रहरुका नाम तोडमोड गरी हडबडे रेडियोको गडबडे समाचार बनाएर सुनाएको थिएँ । दन्तुरे बा, बाख्रे बूढी, फटफटानन्द, चटपटानन्द, स्वामी सद्गुणनन्द षड्शास्त्रोपाध्याय, चरिचुच्चे काजी, फाइँफुट्टीराज, सुइँखुट्टी दास जस्ता नामहरुका ठाउँमा मैले कदेखि ज्ञसम्मका अनेक उटाङ्गी पात्रहरु कपुरीकान्त कटुवाल, खतखतानन्द खतिवडा, गँजडीकान्त गुरागाइँ, घिडघिडे घिमिरे, ङ्याकङुक लाल सिङाने आदिलाई पात्र बनाएर सुनाएको त्यो समाचार त्यो बेला स्कूलभरि भाइरल भएको थियो । त्यसको खूब फर्माइस हुन्थ्यो त्यो बेला ।

यसरी विचार गर्दा भैरव अर्यालसँग मेरो भावनात्मक सम्बन्ध जोडिएको ४३ वर्ष भएछ । स्कूल सकेर जीविकोपार्जनका लागि यता रसुवा, धादिङ हुँदै काठमाडौं पसेपछि पनि स्कूलमा आफूले प्रस्तुत गरेका ती रचनाहरुको सम्झना आइरहेको थियो । दाजु गोविन्दराज भट्टराईको उकेरा र आड पाएर मैले अरु दाजुभाइहरुको साथ लिएर काठमाडाैंमा रकेट भन्ने पत्रिकाको प्रकाशन शुरु गरेँ । ३२ पाने पत्रिकामा एक तिहाइ रचना अनेकौँ छद्म नाममा गोविन्द दाइकै हुन्थे । हामी पनि कनिकुथी लेख्थ्यौँ । रकेट ६ अङ्क निस्केर बन्द भयो । चुप लागेर बस्न मन लागेन, हामीले चड्कन भन्ने पत्रिका दर्ता गरेर मेरै सम्पादनमा प्रकाशन शुरु गर्‍यौँ । त्यो ७ अङ्कसम्म चल्यो । मुखिया, खरदारका जागिर खाएर डेरा बसेर पत्रिका चलाउनु हामी दाजुभाइको टिमलाई गिटीका चिउरा चपाउनु जस्तो भयो, त्यो छाड्यौँ ।

मैले के गरेँ कसो गरेँ भन्नेतिर म जान्न । मैले भन्न खोजेको चाहिँ के भने मैले केही गरेको हो भने, जति गरेँ कसैलाई जित्नका लागि गरिनँ, कुनै पुरस्कार वा सम्मान प्राप्तिका लागि गरिनँ । शुरुका दिनहरुमा रहरले गरेँ, पछिपछि करले गरेँ, कर्तव्यवोधले गरेँ, नगर्न नसकेर गरेँ । हास्यव्यङ्ग्यका केही चिजहरु उत्पादन गरिरहेँ । पत्रिका प्रकाशन गरेँ, पुस्तक प्रकाशन गरेँ, धेरै वर्षसम्म स्तम्भ लेखेँ । सिस्नुपानी नेपालका गतिविधिमा लागेँ । इत्यादि । मलाई यस्ता पुरस्कार, सम्मान, प्रशंसा वा पद यतिकै आइलागिरहेका छन् । मैले इच्छा नगर्दा नगर्दै म एक दशकभन्दा लामो समयदेखि सिस्नुपानीको अध्यक्ष छु । छाड्न बल गरेको पाँच वर्ष भयो, पाएको छैन ।

विना निवेदन, विना सिफारिस, विना अनुरोध भैरव प्रतिभा पुरस्कार पाएँ, २०६० मा । नवरङ्गले झापामा गरेको सम्मान, वाणी प्रकाशन विराटनगरले प्रदान गरेको पुरस्कार, महाकवि देवकोटा काव्य सम्मान यी सबै मेरा लागि अप्रत्याशित थिए । पन्त स्मृति पुरस्कारको त झन् रमाइलो कथा छ । पन्त स्मृति प्रतिष्ठानकी अध्यक्ष दिदी गीता केशरीले हास्यव्यङ्ग्यतर्फको गोपालराज पन्त स्मृति पुरस्कारका लागि प्रतिभा छनोट गर्न सहयोगका लागि सिस्नुपानी नेपाललाई अनुरोध गर्नुहुन्थ्यो २०६८। ०६९ तिर । हामीले ३-४ वर्षसम्म व्यक्ति सिफारिस गर्‍यौँ ।

एकदिन दिदीले भन्नुभयो, भाइ तपाईंको नाम त आउँदै आउँदैन त, परारदेखि बाटो हेरेको, अरुअरुको मात्रै नाम पठाउनुहुन्छ । मैले भनेँ, आफ्नो नाम आफैँ सिफारिस गर्ने सुकर्म मबाट हुँदैन दिदी ।

अर्को वर्ष नाम सिफारिसका लागि हामीलाई अनुरोध आएन, बरु पुरस्कार पाउनेमा मेरो नाम आयो । आजको यो पुरस्कार पनि मेरा लागि सरप्राइजिङ प्राइज नै हो ।

पुरस्कारका लागि लेख्ने, पुरस्कारका लागि निवेदन हाल्ने, पुरस्कारका लागि घरघर धाउने, पुरस्कारका लागि आफ्नो सिफारिस आफैँं गर्ने, वा गर्न लगाउने, थपेर पुरस्कार फर्काउने शर्त राख्ने, मैले मान पाइन, मैले पुरस्कार पाइन, फलानो पुरस्कार मैले नै पाउनुपर्छ -यस्ता कुराहरु मेरा लागि शरम लाग्ने कुरा हुन् ।

मैले यति गरेको छु, उति गरेको छु भन्ने पनि मलाई खासै लाग्दैन । मैले राम्रा कविता लेखेको छु, राम्रा निबन्ध लेखेको छु भन्ने पनि मलाई लाग्दैन । पाठक-स्रोताले मन पराउँदा, प्रशंसा गर्दा, ठाउँठाउँमा जाँदा गला मिलाउन आउने शुभचिन्तकहरु फेला पर्दा ए मैले पनि केही त गरेको छु कि क्या हो भन्ने आत्मरति पैदा हुन्छ । यसरी सुन्नेहरु, पढ्नेहरु, प्रशंसा गर्नेहरु, पुरस्कार दिनेहरु कतै भ्रममा त परेका छैनन् भन्ने शङ्का पनि लाग्छ । कति विद्वानहरुले त हास्यव्यङ्ग्य कवितालाई कविता नै होइन भन्छन्, हास्यव्यङ्ग्य निबन्धलाई निबन्धमै गणना गर्दैनन्, ती हास्यव्यङ्ग्य मात्र हुन् भनेर परिभाषा गरेको पनि सुनेको छु । तै पनि म लेखिरहेको छु, सुनाइरहेको छु । मैले गर्ने यति नै हो । योभन्दा बेसी मबाट केही हुनेवाला छैन । यो पुरस्कारले पनि म कता हो कथा जागृत भएर कुनै उल्का गर्छु भन्ने छैन । यत्रो रकमको पुरस्कार पाइस्, अब के गर्छस् भनेर कसैले फ्याट्ट सोध्दा प्याट्ट दिने जवाफ पनि मसँग छैन । गर्दै जाँदा केही भएछ भने भएछ ।

महान् हास्यव्यङ्ग्यकार भैरव अर्यालको नाममा स्थापित सबैभन्दा ठूलो पुरस्कारको हकदार म थिएँ थिइनँ, तर मलाई प्राप्त भयो । यो मेरो पौने साठी निकट उमेरको सबैभन्दा गौरवको क्षण हो । तैंले हास्यव्यङ्ग्य जगतमा केही योगदान गरेको छस् भनेर मलाई भ्रमित तुल्याउने भैरव गुठीप्रति म आभारी छु । हार्दिक धन्यवाद चढाउँछु ।

गुठीका अध्यक्ष जो स्वयंमा एक पवित्र संस्था हुनुहुन्छ, आदरणीय रोचक घिमिरेज्यू लगायत समितिका सम्पूर्ण सदस्यज्यूहरु, मेरो समेत नाम सिफारिस गर्ने प्रतिभा छनौट समितिका सदस्यज्यूहरु, पुरस्कार पाएको समाचारलाई रातारात भाइरल बनाउने सहृदयी लेखक, पत्रकार भाइ निर्मल अर्याल सबैलाई धन्यवाद भन्छु । भैरव अर्यालका एक भाइ स्वर्गीय अच्युत अर्याल, अर्का भाइ किरण अर्याल, छोरी रश्मी अर्याल सबै मेरा दूरसन्चारका सहकर्मीहरु हुनुहुन्थ्यो । भैरवपुत्र डा. दीपक अर्यालजीसँग त्यस्तै आत्मीयता छ । बेलाबेला विचार गर्छु अघिल्लो जन्ममा म यही आरुबारी, जोरपाटी प्रदेशमा कतै अर्याल परिवारकै भान्जो पो थिएँ कि !

जे होस्, म भूटानको एउटा अनकन्टार गाउँमा जन्मेको मान्छे, झापाको देहातमा हुर्केको मान्छे कताकताबाट हुर्रिंदै बतासिँदै भैरव अर्यालको परिवारको सदस्य हुन आइपुगेँ । मेरा पिताजीभन्दा १ वर्ष र २ दिन जेठा भैरव ठूलाबालाई देख्न नपाए पनि, छुन नपाए पनि उहाँको आशीर्वाद पाए झैं लागिरहन्छ । उहाँले सधैं सधैं हौशला दिए झैं लागिरहन्छ । आज उहाँकै नाममा स्थापित यो प्रतिष्ठित पुरस्कारले सम्मानित हुँदा म हर्ष र गौरवले थिचिएको छु ।

हामीले स्कूल पढ्दादेखि पढ्दै आएका विद्वान लेखक अग्रज आदरणीय चूडामणि गौतम सरलाई हार्दिक बधाई ज्ञापन गर्दछु । आदरणीय दिदी वरिष्ठ कलाकार लक्ष्मी गिरीज्यूसँग मेरो लामो मित्रता छ । २०६० सालताका सिस्नुपानी नेपालले बनाएको एउटा टेलिसिरियलमा हाम्रो नाता गाँसिएको हो । त्यसयता भेटघाट पातलो भए पनि हाम्रो सम्बन्ध सधैं गाढा छ । दिदीलाई हार्दिक बधाइ दिन्छु ।

यसबेला म झापामा रहनुभएका मेरा मातापिता लक्ष्मीमाया भट्टराई र चिदानन्द भट्टराईलाई सम्झिरहेको छु । मैले पुरस्कार प्राप्त गर्दा मभन्दा बढी खुशी हुने जीवन सँगिनी गीताजी यहीँ हुनुहुन्छ, म नमन गर्दछु । मेरा मार्गदर्शक दाजुहरु डा. तुलसी भट्टराई, डा. गोविन्दराज भट्टराई लगायत परिवारका सदस्यहरुको प्रेम र प्रेरणालाई स्मरण गर्दछु । मलाई सामाजिक सन्जालमा बधाई दिने हजारौँ शुभचिन्तकहरु, मेरा रचनाका पाठकहरु, स्रोताहरु, दर्शकहरु जसका कारणले पनि म यहाँ छु, उहाँहरुलाई पनि धेरै धेरै सम्झेको छु । सिस्नुपानी नेपालका मेरा सहकर्मी सबै साथीहरुलाई सम्झिरहेको छु ।

विद्वान समालोचक, कवि स्रष्टा प्रा. डा रामप्रसाद ज्ञवालीजीलाई म के भनुँ ! मेरो चाहिनेभन्दा बढी प्रसंसा गरेर मलाई पसिनापसिना बनाउँदा पनि धन्यवाद नै भन्नु परेको छ । भैरव पुरस्कार गुठी र हामी पुरस्कृत हुनेहरु बीचमा साक्षी बसेर ल्याप्चे लगाइदिनुहुने यहाँहरु सबैप्रति अभार । २०८१ पुस २९ गते एउटा नयाँ व्यङ्ग्य कृतिको सार्वजनिक गर्ने कार्यक्रममा यहाँहरु सबैलाई अग्रीम निम्तो गरेको छु ।

महान् व्यङ्ग्यशिल्पी गुरु भैरव अर्यालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्छु ।
धन्यवाद । नमस्कार ।

०००
२०८१ असोज १९, जोरपाटी ।

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
गाँडमाथि पिलो

गाँडमाथि पिलो

लक्ष्मण गाम्नागे
असफल दाम्पत्ते जीवन

असफल दाम्पत्ते जीवन

लक्ष्मण गाम्नागे
लक्ष्मण गम्म नाके

लक्ष्मण गम्म नाके

लक्ष्मण गाम्नागे
मै उस्तो बूढी !

मै उस्तो बूढी !

लक्ष्मण गाम्नागे
गाँडमाथि पिलो

गाँडमाथि पिलो

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x