युवराज मैनालीपत्रकार जय जयकार
विदेशबाट पाहुना आओस्, स्वदेशी नेता परदेशतर्फ धाओस्, चाहे गायकले गीत गाओस्, कविले कविता भट्याओस् या उद्योगपति व्यापारीले प्रगतिको पानस बालोस् कतै पनि माइनस हुँदैनन् यिनीहरू ।

युवराज मैनाली :
म एउटाले थेग्ने मुलुक यो अब रहेन । मभन्दा कारलाई प्रत्यान्तमा तानेमात्र प्रत्येकमा आकार आउने भइसकेछ । दरकार छ, सरकारको तर सरकार चलाउने आधारको केरकार चिरफार, खबरदार गर्ने त उही पत्रकार मुखिया ठालू शब्दको आलु नै हो । आलु विशेषता नै परिकारको विविधता हो । आलु खाएर पेडाको धाक अथवा तैँले आलु खाइस् ला । भनेर गुरुले भन्नुको अर्थ त्यस बेला सायद आलु तरकारी मात्र बन्थ्यो होला । अब त अचार, चप, समोसा मात्र हैन अनेक मिसमास र पिसपासमा समेत धुलिने भएर व्यापक साम्राज्य खडा गरिसकेको छ, आलुले । यस बेला आलुको तालु चम्केको छ । यसैले पत्रकार बन्धुहरूलाई ठालुको आलु सम्बोधित गरिएको हो । त्यसो त चित्रकार, मूर्तिकार, कलाकारलाई पाखातिर पार्न मिल्दैन नै ।
कार प्रत्यान्तको महत्ता ठाउँठाउँमा अनन्त नै देखिन्छ बेलाको कुरा लाग्दा अब बेकारलाई नै लिउँ- कस्तो तुच्छ अनि हेलाको रेलामा तानिन्छ । तर बाटोमा फालेको टालो पनि काम लाग्छ बेलाँ भनेझै भीड जमाउने खेलको बेलामा जम्ने टिक्ने अरु कोही छन् त ? यसैले प्रत्येक कारको जयजयकार छ । योजनाकारहरूको नाम नलिए आफ्नो प्रत्येक पाइलामा ठेउको ठड्याएर लडाइदिन पनि बेर छैन । बरु बाँकी अरू कारको नामै नलिए सय खत माफ । योजनाकारको योजनाले योजन- योजन जिन्दगी चलिरहेछ त तिनको नाम किन नलिऔं । सडकभन्दा गाडी, मोटरसाइकलको ताँती वातावरण अनुकूल धान्नुभन्दा बढी फ्रि-गाडीको लाइसेन्स खुलाउनु, निजीकरणको डोकोमा पानी हालेर पोकोले टाल्नु, योजनाकारहरूको योजनाले महल, पजेरो जोर्नु डेरेले घेर्न पाएका छन् कम्पाउन्डभित्रको सेरोफेरो । योजनाकारका बारेमा समायोजन गर्नुपर्ने शब्द योजन-योजन छन् । यसैले अहिलेलाई अरू कारतर्फ नडोरिएर पत्रकारतर्फ नै घोरिउँ, कतै आफ्नो पनि दिन खुल्छ कि ?
हो, पत्रकार अहिले यो चटपटे अचार हो । प्रजातन्त्रको मुख्य आधार हो । सब मरमसला अनि तसला असला यसमा मिसिएको छ । यसैले यसमा जनमन झुम्मिएको छ । जति चाटे पनि रसाउँछ, पचाउने पाचकको समेत काम यसले गर्दछ । यसैले सबै चौपटको यो बेलामा पनि पत्रकारको भाउ-दाउ दुवै छ । स्याउ नभए च्याउ छ, च्याउ नभए स्याउ छ । यसमा पनि दाउ छ । राजनीतिको राक्षस छ । निचोरिने जनता छ । दुहुने गाई छ । ममः मारको राँगो छ। उड्ने चड्गा छ । उडाइने लट्टाई छ । आपसमा भिड्ने बट्टाई छ । हरे । कतिमात्र बयान गरौं । पत्रकारिताभित्रको पत्रकारभित्र के मात्र छैन र । यसैले यहाँ सर्वव्यापी सर्वलक्षणले युक्त पत्रकारलाई तत्तत् बन्दना गर्नैपर्छ । सातकोसीको सङ्गम, सागरको अपारता, मरुभूमिको दुरुहता मात्र हैन, शकुनीको कुटनीति, मन्थराको चाल, विष्णुको छल, भीमसेनको बल, हलाहलको हलचल सबै सबै हुने हुनाले पत्रकार भन्नासाथ मैं हूँ भन्ने पनि कन्ने गर्छन् । जति कने पनि फेरि चुम्वकले तानिएझै तानिने गर्छन् किनकि कालोलाई गोरो, गोरोलाई कालो, मानवलाई राक्षस, राक्षसलाई पालनकर्ता, मूर्खलाई ज्ञानी, ज्ञानीलाई मूर्ख बनाउन सक्ने क्षमताकार भएको हुनाले पनि पत्रकारतर्फ बेकार भन्दाभन्दै साक्षात्कारका लागि लालायित बानीले कनीकनी जोसुकै पनि यिनको परिक्रमामा लागेका हुन्छन् किनकि जानकारहरूलाई राम्ररी थाहा छ चार अक्षर घोटेर मान्छेको चरित्रलाई चाँ चु पनि गर्न नदिई ओल्टाई पल्टाई गर्न सक्छन् ।
भ्रष्टाचारीलाई सदाचारी, अभिनेतालाई जन्मजात नेताका रूपमा, तुकवन्दकारलाई महान् काव्यकारको रूपमा, कलाकारलाई अन्धकारका रूपमा, अन्धकारलाई प्रकाशका रूपमा रूपै बदलेर विरूप देखाइदिन सक्दछ, भलै आफू बुलेटिनकार मात्र भए पनि जिलेटिनभार आफूलाई ठान्ने यी कारहरूमा थुप्रै छन् । तीमध्ये त गोल्टिन ठटाएर हात्ती तर्साउँदै हिँडेका पनि पाइन्छन् र गोल्टिन भरेर फर्केका पनि देखिन्छन् । चुसाहालाई दानी, दानीलाई कन्जुस, सोमरसलाई जुस, दानलाई घुस, भुसलाई दाना, दानालाई कङ्कड, कङ्कडविमानलाई खेलौना, खेलौनालाई जम्बोजेट तुल्याउन क्षमतावान् पत्रकारको पत्रपत्र आनी-बानी सायदै अन्यत्र एवं अन्य कारहरूभित्र अलपत्र परेका होलान् । यसर्थ, विशेषताका शेष अरूमा छिटपुट देखापरे पत्रकारमा विशेष-विशेष नै देखापर्दछ ।
अर्को एउटा निकै निकै महत्वपूणर् गुन त तपसिलमा उल्लेख्य नै देखिन्छ- हात्तीको दाँतसरह देखाउने एउटा, खाने एउटा । तैपनि, उपमा सरोवरी मिल्दैन । हात्तीको दाँत त एकै रङको हुन्छ तर यिनको देखाउने दाँत विशेष प्रकारका रडहरूको निकल चढेको हुन्छ जो देखिने पनि गर्दछ, नदेखिने पनि । यी रडको गहिराईमा यिनीहरू आफ्ना पत्रिकालाई जिलेटिन तुल्याउने सुरमा बुलेटिनमा झार्न पुग्दछन् अनि कुटनीतिक नियोगका हन्डीदेखि विदेशी मन्डीसम्ममा गुटमुटिएर प्रतिस्पर्धाको छेरपटी लाग्दा विदेशी लगानीको शीतयुद्धमा होमिन पुगेका देखिन्छन् । भन्नेहरू यसबारेमा भन्छन्- यो पनि उनीहरूको हात्तीदाँत देखाइ हो । भित्रभित्रै अर्कै चलखेलको मिलेमतोमा ग्ग्राण्डडिजाइन नै हो तर के हो ? के हो ? अचम्मचाहिँ अचम्मै हो। जिताउन, हराउन, मनाउन, गनाउन, सपार्न, बिगार्न, रुवाउन, हँसाउन मात्र होइन, मुर्दालाई उभ्याउन र जिउँदालाई मार्न सक्ने खुबी बोकेका पत्रकारहरू मर्न जान्दैनन् जस्तो लाग्छ । यसैले यो झगडा छोरी कुटेर बुहारी तर्साएको जस्तो पो लाग्दछ, महान् हस्तीहरूबाट यस्तो कहाँ हुन्छ र ।
ढाँट र चाप्लुसी, धम्की र कानेखुसीखाले पनि पत्रकार हुन्छन् । पत्रकारको बिल्ला बोकेर फ्रिसेवा र नजरानाको तानपुरा यिनीहरू सँगसँगै हुन्छन् । तीललाई पहाड, पहाडलाई माटोको डल्लामा उतार्न यिनीहरू पोख्त नै हुन्छन् । ‘जले विष्णु, थले विष्णु’ भनेझै यिनीहरू, नपुगेको ठाउँ र नबोलाइएको कार्यक्रम बत्तीविनाको अँध्यारोसरह हुन्छ । सो ठाँउ र कार्यक्रम अपूणर् हुन्छ । विदेशबाट पाहुना आओस्, स्वदेशी नेता परदेशतर्फ धाओस्, चाहे गायकले गीत गाओस्, कविले कविता भट्याओस् या उद्योगपति व्यापारीले प्रगतिको पानस बालोस् कतै पनि माइनस हुँदैनन् यिनीहरू । जसरी पूजाको सुरुवात भँडेगणेशबाट हुन्छ, त्यसरी नै कुनै पनि सार्वजनिक कार्य थाल्दा पत्रकारविना त्यो पूरै हुन्न । त्यो कार्य विलिनै भएर जान्छ । प्रकाशमा आउँदैन । यसर्थ आजको बेलामा अरू बन्नुभन्दा नेता बन्नु वेश, नेताभन्दा अलिकति ओर्लिएर बन्ने हो भने पत्रकारै बन्नु । पत्रकार बन्न कुनै योग्यता पढाइ, लेखाइ, सीप, शैली चाहिन्न । चाचुचाको चम्चा चलाउन जाने पुग्यो । यो कुरा मैले समुच्चमा वणर्न गरेँ । कोही सोझा सुधा पनि छन्, जो भोका छन्, आफ्नै पोका गुमाएर खप्परमा हात धरेका । यो त भन्न परोइनहोला जुनसुकै बादलमा पनि चाँदीको घेरा हुन्छ । रङ्गाउँदा रङ कहीं गहिरो हुन्छ, कहीँ पातलो हुन्छ । कतै के लाग्छ कतै के छोइन्छ, यो संसार हो । घेरामा पनि अनेक थरिका चेहरा हुन्छन् । चेहरा खुट्याइँदैन सबैलाई मानिसै भनिन्छन् । यो कुरा पनि भन्दिहालूँ । अनि मात्र पत्रकार कि पत्रकार छुट्याएर हेर्न सकिने होला… !
०००
काठमाडौं
‘भ्रष्टाचारको भाङ’ (२०६५)
Subscribe
Login
0 Comments
Oldest








































