साहित्यिक सम्मेलनका गथासा
बिचरालाई जलपान र आनजान खर्चको व्यवस्थापन संशोधन गर्न हम्मेहम्मे परेछ । ती सरल साहित्य साधकले जेरी, समोसा,चियासहित एकएक प्रति आफ्नो विमोचित कृति पनि निम्तो स्विकार्नेलाई उपहारको रूपमा समर्पण गरेछन् ।
युगल बसेल :
अरुले मलाई जेसुकै ठानून् तर म आफूलाई अब्बल साहित्यप्रेमी नै मान्छु र साहित्यिक कार्यक्रमहरूमा सहभागी हुने आफ्नो जन्मसिद्ध अधिकार ठान्छु । कान ठाडा पारेर यसखालका खबर सुन्न तम्तयार रहने गरेकोले यस्ता कार्यक्रमहरूको सुइँको बेलैमाथि पाइ पनि हाल्छु । सूचना वा निम्तो औपचारिक तवरले पाए पनि नपाए पनि म ती कार्यक्रममा टुप्लुक्क पुगिहाल्छु र मान नमान तँ मेरो जजमान भनेझैँ आयोजकलाई यसो गर्नुपर्छ र उसो गर्नुपर्छ भन्ने रायसुझावका पेटारा थोपरीहाल्छु ।
एकपटक संयोगले साहित्यिक सम्मेलनमा मै बिचरोलाई पनि मूल्याङ्कनकर्ताको पगरी गुथाउने गरी बोलाइयो । मुद्दा छिन्ने डिठ्ठा बिचारी भन्दा मेरो जिम्मेवारी के कम छ र भन्ने गम्दै र आफूलाई धन्य धन्य ठान्दै म भूइँ न भाँडामा भएँ । कत्तै विजेता बनाइदिन कोही खुसामद गर्न आई पो हाल्ने हुन् कि भन्ने सुखद कल्पनाले म रोमाञ्चित हुन पनि भ्याएँ । कतिपय साहित्यिक पुरस्कारहरू खुसामदी वा पुरस्कृत हुनेकै लगानीमा हस्तान्तरण हुने गर्छन् भनेर एकजना आफूलाइ बुज्रुक मात्र हैन दिग्गज साहित्यिक हस्ती नै ठान्ने महोदयबाट सुनेकाले मैले उनको कथनमा सोह्रै आना विश्वास गरेको पनी थिएँ ।
कार्यक्रमकै दिनघडीसम्म पनि प्रत्याशीले भेटघाट गर्ने जमर्को गर्छन् कि भनेर बाटो कुरेँ, मोबाइलमा कल गरेको घन्टी बज्छ कि भनेर कान ठाडा पारेँ तर कसैले खुसामद गर्ने चासो नदेखाएपछि मेरो अनुमान खर्लक्कै तुहियो, झन्डै आँखाबाट सङ्लो झोल चुहियो। तोकिएको दिन निर्धारित समय र स्थानमा हाजिर हुन म बतासिँदै हुइँकिएँ । कुखुराले कीरो पाउँदा खुसीले गदगद भै तोरतोराएझैँ जिम्मेवारी प्राप्तिको आनन्दको लहर मेरो मनमा तोरतोराइरहेको थियो त्यसैले म १५ मिनेट अगावै तोकेको ठाउँमा पुगेँ । जाँतोलाई भन्दा हातोलाई खसखस भन्ने आक्षेप आइलाग्ने हो कि भनेर आफू ट्याक्सीमै सवार भएर हतार गर्दै हिँडेकोले छिट्टै हाजिर हुन पुगेको धक्कु पनि लगाइहालेँ । धनबिनाको धक्कु र मसलाबिनाको पक्कु भन्ने उखान मेरो लागि प्रयोग हुने शङ्का रहे पनि एक मट्याङ्ग्राले दुइटा चरा मारेको पुरूषार्थको भन्को भने मेरो मनमा रगमगाइरह्यो ।
एकातिर ट्याक्सी चढ्ने हैसियत राखेको पुष्टि भो अर्कोतिर भूमिका निर्वाहमा मेरो लगानी पनि छ है भन्ने कुराको जनाउ पनि सँगसँगै दिइयो भन्ने अनुभूतिले एकमाना चामलको भात एक्लै बुत्याएको सन्तुष्टि पनि मलाई हासिल भो । यसबाट मेरो कुखुरे छाती अझ फुलियो ।
घरबाट हिँड्ने बेलामा ञञदशैंपछि राम्ररी मासु खान नपाएको धेरै समय भयो , आज त अलिकता आम्दानी गर्छौ होला बुढा, एक बिसौली छानीछानी फलमासु लिएर आएनौ भने गतिलो झटारो खानुपर्ला है भन्दिया छु ।झझ भन्दै श्रीमतीले कडा चेतावनी दिएकी थिइन् । झटारो खानुभन्दा श्रीमतीजीको आदेश कार्यान्वयन गर्नु धेरै गुना हितकारी हुने निष्कर्षलाई मनभरि खेलाउँदै मैले बाटोको यात्रा पूरा गरेको थिएँ ।
कार्यक्रमस्थलमा ३ घण्टा १३ मिनेटसम्म कुर्दा पनि आयोजक समितिका २५ प्रतिशत सदस्यबाहेक कोही माईको लाल वा बाउकी जिली प्रतियोगीको रुपमा उदाएनन् । बरू बीचैमा उपस्थित आयोजकमध्येका एकजनाचाहिँ जजमानको घरमा चियापानको रसस्वादनको लागि अपर्झट बिदा मागेर सुइँकिए भने अर्का एकजना हाकिमकी सालीको जन्मदिनको फेसबुकबाट सूचना मिलेकोले हाकिमकहाँ शुभकामना मन्तव्य समर्पण गर्न अनिवार्य उपस्थित हुन परेको छ भन्दै कुलेलम ठोके ।
‘दुलाहा मरोस् दुलही मरोस्, दक्षिणा नमरोस्’ भन्ने लोकोक्ति स्मरण गर्दै मैले देहाडीको याचनाका लागि भगवान्को पुकारा गरेँ तर मेरो पुकारा भगवान्ले त के भोगवान्ले पनि सुनेनन् । कविताको मूल्याङ्कन गर्न भनेर बुर्कुसी मार्दै गएको मनुवा कविताप्रतिको कारूणिक जनअनुरागको मूल्याङ्कन गरेर पो फर्किएँ ।
समयको अन्तरालमा सौभाग्यवश एउटा अर्को कविगोष्ठीमा सहभागी हुने साइत जुर्योन । त्यहाँ आफूलाई वरिष्ठ कवि ठान्ने महासयले कविता रचनाको गहन पृष्ठभूमि तयार पार्ने हेतुले देहायका संस्कृत पङ्क्ति फलाके –
कविः करोति काव्यानि रसं जानाति पण्डित : ।
तरुः सृजति पुष्पाणि मरुद्वहति सोरभम् ॥
यसको भावार्थमा उनी कुर्ले – ‘कविता रचना गर्न कवि हृदय हुनुपर्छ, बुझ्नुभो ? ऐरेगैरे नत्थु खैरे झारपातबाट कविता लेखिन सम्भव छैन । पण्डितले रस पिएजस्तो सजिलो काम यो हैन ।’
शान्त रसको कविताबाट बिभत्स रस पैदा गर्ने उनको चेष्टाले आग्राको कुरासित गाग्राको कुरा जोडेको सुइँको कतिले पाए कुन्नि, मैले ठम्याउन सकिनँ ।
अर्का कविले आफ्नो स्वघोषित उत्कृष्ट दाबी गरिएको रचना भट्ट्याए –
हिजो साँझ साग खाएँ दाँतै रङ्गाएँ ।
आफ्नै जोईले पकाइन् खाएँ मैले के बिराएँ ?
पराईको कमाई खाइन आफ्नै पौरख खाएँ ।
घाँस खाइनँ, घुस खाइनँ मैले के बिराएँ ?
‘वाह वाह ! लक्षणा , व्यञ्जनायुक्त सार्थक सिर्जना !!!’ भन्दै तारिफ गर्ने एक्ला प्रशँसक पनि त्यहीँ विराजमान रहेछन् । को होलान् भनेर यसो सम्झन खोजेको त हिजो साँझ साइँलीको भट्टी पसलमा साँधेको भट्टसित तिनै श्रष्टाका साथ लोकल काव्यरस पान गर्ने महोदय पो रहेछन् ।
अझ अर्को एउटा सम्झनलायकको घटना मगजमा ताजै छ । एक कवि महोदयले घोर्ले बैँसमा सुरु गरेर ओर्ले बैँसमा कनिकुथी पुरा गरेको काव्यकृति विमोचन तीन पटकसम्म पनि रित्तो दर्शकदीर्घाका कारणले सफल हुन नसकेपछि छोरी जुवाइँले लन्डनबाट पठाएको धन खर्चेर भएपनि विमोचन कार्यक्रमको निरस अवस्थालाई सरस पार्ने जङ् चलाएछन् । अनि त उनले स्थानीय एफ एम बाट सूचना नै जारी गरेछन् । कार्यक्रमका सहभागीका लागि भव्य जलपानसहित उचित आनजान खर्चको व्यवस्था गरिएको बेहोरा सूचनाको मुख्य सार थियो ।
उनको योजनाले भेल्टा खाने सम्भावना शून्य बराबर थियो । तोकिएको दिनमा पाँच बीस पर्यवेक्षक अनुमान गरेको त पाँचगुना बढी अर्थात् पच्चीस बीस पर्यवेक्षक ओइरिएछन् । बिचरालाई जलपान र आनजान खर्चको व्यवस्थापन संशोधन गर्न हम्मेहम्मे परेछ । ती सरल साहित्य साधकले जेरी, समोसा, चियासहित एकएक प्रति आफ्नो विमोचित कृति पनि निम्तो स्विकार्नेलाई उपहारको रूपमा समर्पण गरेछन् ।
कार्यक्रमको समापनपछि उनलाई अरू त केही पछुतो भएनछ तर औडाहा केले गर्दा पैदा भएछ भने जलपानको जलेबी र समोसा झोलामा कुटुर्याउने आगन्तुकले उनको कृति भने रसिलो उपेक्षा भावसहित झोलामा कुटुर्याउन छुटाएछन् । दर्शक दीर्घाका कुर्चीमाथि असरल्ल आफ्नो कृतिका प्रतिहरू देखेपछि उनको चित्त कुँडिनसम्म कुँडिएछ । फलस्वरूप उनले अब उपरान्त आफ्नो प्राणमोचन नभएसम्म पुस्तक विमोचनको नाम नसुन्ने सपथ खाएछन् ।
०००
तुम्कोट, सन्धिखर्क १
Subscribe
Login
0 Comments
Oldest