साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उत्तरपन्थी झुकाव

सम्पूर्ण जनसङ्ख्याको बहुमतको विचारलाई एउटा पन्थी र झुकाववादमा परिणत गरी नयाँ बाटो हिँड्नु आजको मध्यपन्थी झुकाववाद हो, यही नै हाम्रा लागि सबै खाले पन्थी वाद हुन् ।

Nepal Telecom ad

माधवप्रसाद पोखरेल गोज्याङ्ग्रे :

हामी नेपाली कही कतै वा कसैको दवाबमा नपरी शिर ठाडो पारेर बाँच्ने मान्छे भनि विश्वमा नै चिनिएका छौँ । तर हामी नेपालीको यो स्वाभिमानलाई हाम्रा चौ दिशे नेताहरूले धुलोमा मिलाएका छन् । पृथ्वी नारायणका पालामा चिनिएका नेपाली वीर गोर्खालीको मान सम्मान अहिले आएर झुकाववादमा फेरिएको छ । हामी नेपाली कसैको डर, धाक, त्रासबाट कुनै पनि दिशातर्फ नझुक्ने तर ताक परे चारै दिशा घुमेर भुक्ने प्रवृत्तिको विकास गर्न जोकतन्त्रले सिकाएको छ । हाम्रो पुर्खाको शान र मानलाई दिशा हेरेर भुक्नेहरूले सुक्ने अवस्थामा पुर्‍याई उत्तरपन्थी झुकाववादमा रमाएका छन् । अर्काको मुखमा भोटे तालचा लगाउन खोज्नेहरू आफू रुखमा चढेर हाँगामा बसी फेदमा बञ्चरो प्रहार गरिरहेका छन् । उत्तरपन्थी झुकावले दक्षिण पन्थीसँग रिस पोख्न भुक्ने काम र भ्याए चोक्टै लुछिने गरी टोक्ने, छेक्ने, रोक्ने काम गर्न पनि पछि परेका छैनन् । तर पछि गएर यसले दुवै पन्थीहरूलाई दुख्ने रोगले सताउनेछ ।

कोही कतै झुकेर, भुकेर, खोकेर स्वतन्त्र मनलाई पोको पारेर काँटी कसेर हिँड्नेलाई केही फरक पर्दैन । उत्तरपन्थीको बहुमत भएकोले दक्षिणपन्थीहरूको भड्कावाद भड्खालोमा परेर दिर्घ रोगी भै थलिन पनि सक्छ । उत्तरपन्थी झुकावको दुर्दशा पनि देखिएकै हो, सुनिएकै हो । थालको तालमा झुक्ने प्रवृतिले उत्तर दक्षिण दुवै पन्थीलाई सताएको छ । सबैले देशकाल परिस्थिति बुझेर नाच्ने तालिम लिएकै छन् । भेडा भेडाकै हुलमा गोरु गोरुकै हुलमा जुद्धै सिंगौरी खेल्दै जता झुके पनि भुके पनि आखिरी एकातिर फर्केर निहुर मुन्टी न परेकै छन् ।

देश र जनताका लागि केही गरौँ भन्ने भित्रि भावना बोकेर कुनै दिशा नझुक्नेहरूले राजनीति गर्छन भने बाहिरी आडम्बर, देश र जनताको देखाईमा भित्र भित्र कुभावना पालेर कुनै दिशामा झुकेर हिँड्नेले लाजनीति गर्छन् । भनौँ नेपालमा घरजम गरेर बस्ने अनि विदेशीका लागि राजनीति गर्ने झुकाववादले नेपाली माटो सुगन्धित हुन सक्दैन । त्यस्ता नकावधारीको राजनीतिलाई जोकतान्त्रिक लाजनीति भन्नु सबै भन्दा उपयुक्त होला भन्ने मतमा सर्व सम्मत हुन आइतवार कुरिरहनु नपर्ला ।

दक्षिणपन्थी झुकावले सबैको मन मष्तिष्कमा काँढाले घोचे जस्तो हुन्छ । उत्तरपन्थी झुकावले न पोल्छ, न बिझ्छ, न चिसो, न तातो बरू सञ्चो हुन्छ भन्ने मानसिकता बोकेर हिँड्नेहरू बाटो बिराउँदै छन् । त्यो पनि आफैले खनि खोस्री गरेको नयाँ बाटोमा हिँड्न छोडेर काँडा घारीको बाटो रोजेका छन् । स्याल कराएझैँ कराएका छन् । कोही दक्षिण पन्थी त कोही उत्तरपन्थी, कोही पूर्वपन्थी त कोही पश्चिम पन्थी, जुनसुकै दिशाको पन्थी भए पनि आखिरी घाटीमा घण्टी झुण्ड्याएर भारी बोकेर हिँड्ने खच्चरझैँ भएर उत्तरपन्थीहरू मात्र होइन दक्षिणपन्थीहरू पनि निहाउ गर्न लाम लाग्ने गरेकै छन् क्यारे !

वाद वादको विवादमा परेको झुकाववादले केके गर्छ भन्ने कुराको भेउ नपाउदा लेउ लागेको वाद पछि गएर अपवादका रुपमा नआओस् । भनौँ यसले नयाँ अवसरवादलाई जन्म नदेओस । यदि नयाँ अवसरवादले जन्म लियो भने उत्तरपन्थी झुकाववादलाई धन्यवाद त दिनै पर्दछ । किनभने नेपालीले दक्षिण पन्थी झुकाव पटक पटक भोगे, केही समय उत्त।पन्थी झुकाववाद पनि भोगे तर नयाँ अवसरवाद भोग्न बाकी रहेकोले सायद अव त्यो पनि भोग्ने तयारीमा जुटेका होलान् भन्न सकिने अवस्था देखा परेको छ । जसले टाउकामा आफ्नो शरीरको तौल भन्दा पनि बढी तौलको भारी बोकाएर जनतालाई घोडा बनाएर दौडाउँछ । भनौँ उत्तरपन्थी झुकाव नेपालीहरूका लागि अशुभ होइन किनभने मरेको मुर्दालाई उत्तर फर्काएर राख्ने पुरानो संस्कारले अव परिवर्तन हुने मौका पाउँदैछ । मरेका बाबु आमाको तेह्र दिने कर्म अव धर्म बाहिरको कुरा हुँदै गएको छ ।

उत्तर तर्फको चिसो खाान वा हिमाली हावा पानीले शरीर हृष्टपुष्ट पार्न र त्यो भन्दा उत्तर तर्फको राजनीतिक दुर्गन्धलाई सुगन्धित अत्तर छर्केर नेपालमा जाक्ने सुरले फुरफुर भइरहनेहरूको जमातमा उत्तरपन्थी झुकाववादले जरो गाडेको छ । त्यहाँको माटोमा नुन फलेको देख्दा नेपालमा त्यो माटो ल्याएर सुन फलाउन खोज्ने रणनीति उम्रेको भए पनि सप्रन भने सकेको छैन । सप्रन खोज्दा खोज्दै हाँगा भाँचिने, मुन्टो निमोठिने कि त बोटै मासिने प्रवृति पनि छ । यस्तो हुनुको मूख्य कारण उत्तरपन्थी झुकावमा नुन चर्को भएर हो । त्यो नुन नेपाली माटोले पचाउन सक्दैन भन्ने कुरा सबैले बुझ्नु पर्दछ र नेपाली माटोले पचाउन सक्ने तवरले नुन हालिएको पकवान नेपालीलाई मन पर्ने भएकोले सोही अनुसारको व्यवस्था हुनु सबैको माग पनि हुन आएको छ । अर्को कुरा हावा पानी वातावरण पनि फरक भएकोले त्यहाँको माटोको प्रतिलिपि भनो वा छायाँ प्रतिमा अत्यधिक चाया परेकोले पनि बढी कन्याउनु पर्ने हुन्छ । कन्याइ रहनु पर्ने अवस्थाबाट मुक्त हुन त अब दक्षिणपन्थी र उत्तरपन्थी झुकावको बाटो होइन स्वतन्त्र र मध्यपन्थी बाटो हिडनु उचित हुन्छ । अर्थात् सम्पूर्ण जनसङ्ख्याको बहुमतको विचारलाई एउटा पन्थी र झुकाववादमा परिणत गरी नयाँ बाटो हिँड्नु आजको मध्यपन्थी झुकाववाद हो, यही नै हाम्रा लागि सबै खाले पन्थी वाद हुन् ।

हामी नेपालीले सबै खाले विचार र पन्थीका गुदी कुरा वा भित्री कुरामा मन्थन गर्ने अवसर पाएकोले ढाँट छल दलका नेताले झैँ मनपरी तवरले जनतालाई झुक्याउने, ठग्ने तथा आफ्नो अनुकूल हुने गरी जनताकै विरुद्धमा काम गर्ने आफ्नो पन्थीका कुरा लादेर हैरान पार्ने अनि जनताले नमानेमा अनावश्यक आरोप लगाएर मुद्दा हाल्ने गलत नियत बोक्ने गर्न पाइन्न । निजी विचार लादेर पाजीहरू काजी बन्ने सपना अव कसैले पनि नदेखे हुन्छ । यदि त्यस्तो सपना देख्ने हो भने हिजोको हनुमते शासनले अनुशासन बिगार्न पाइन्न र जनताले आफूले दिएको मत फिर्ता माग्नु नपरोस् ।

०००
उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खोसेर खाँदै छ जो

खोसेर खाँदै छ जो

माधव पोखरेल गोज्याङ्ग्रे
भू-शासन

भू-शासन

माधव पोखरेल गोज्याङ्ग्रे
लुट्यो डोजरले

लुट्यो डोजरले

माधव पोखरेल गोज्याङ्ग्रे
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
0
Would love your thoughts, please comment.x
()
x