लक्ष्मण गम्म नाके
आमन्त्रित व्यक्तिको नाम लक्ष्मण गम्मनाके भन्ने थियो । एकछिन मनमनै गम खाएँ, को रहेछ यो गम्म नाके भनेर । तलपट्टि ‘विशिष्ट अतिथि, वक्ता’ पनि लेखेको देखेपछि मेरो नाक पनि गम्म भयो ।
लक्ष्मण गाम्नागे :
सबैमा नमस्कार ।
सर्वप्रथम लामो समय शिक्षण पेशामा लागेर अवकासको समयमा साहित्य सिर्जना जस्तो सत्कर्ममा लाग्नुभएका कथाकार आदरणीय शिवप्रसाद पाण्डे सरलाई हार्दिक बधाई दिन्छु । कथाका बारेमा समालोचकज्यूहरुले भन्नु नै हुनेछ । म कथाको समीक्षा वा टिप्पणी गर्न सक्ने मनुख्खे होइन, मेरो विषय र क्षेत्र पनि त्यो होइन । म यो पुस्तकसँग र आजको यो कार्यक्रमसँग संयोगवश जोडिएको पात्र हुँ । कथाकार शिवप्रसाद पाण्डेसँग मेरो अघिल्लो जन्ममा केही कारोबार, सम्बन्ध, मित्रता, नाता केही थियो होला र उहाँसँग म यसपालिको जुनीमा पनि जोडिएँ हुँला भन्ने अन्धविश्वास सँगालेको छु । यो सम्बन्धलाई सम्बन्धित बनाउन यही जन्ममा त्योभन्दा पनि बढी निकटताको नाता भएका डा. रविन्द्र समीरको भूमिका छ ।
केही कारणहरुले, केही परिबन्दले म मञ्जरी प्रकाशनमा संलग्न भएका कारण कथाकार शिवप्रसाद पाण्डेसँग पनि भेटिन पुगेँ । मेरा लागि एक नयाँ लेखकसँग एक नयाँ परिचय स्थापना भयो । एउटा नयाँ कृति हाम्रो साहित्यमा प्रवेश गरेको घटनाको प्रत्यक्षदर्शी हुन पाएँ । यो अवसरका लागि दुवै आदरणीय पाण्डेज्यूहरुप्रति आभारी छु ।
एउटा रहस्य खोल्छु, म यो समारोहमा झण्डै नआएको ! यसको कारण छ । आजभन्दा निकै दिन अघि एउटा कलरफूल निम्तापत्र मेरो अड्डामा फेला परेको थियो । त्यसमा आमन्त्रित व्यक्तिको नाम लक्ष्मण गम्मनाके भन्ने थियो । एकछिन मनमनै गम खाएँ, को रहेछ यो गम्म नाके भनेर । तलपट्टि ‘विशिष्ट अतिथि, वक्ता’ पनि लेखेको देखेपछि मेरो नाक पनि गम्म भयो । तर फेरि विचार गरेँ, कतै लक्ष्मण गम्मनाके भन्ने कोही अर्कै मानव पनि छ कि यो शहरमा !
त्यसपछि निम्तापत्र ओल्टाइपल्टाइ गरी हेर्दा अर्कापट्टि लक्ष्मण गाम्नाके, व्यङ्ग्य लेखक छापिएको देखेपछि यो मै हुँ कि जस्तो लाग्यो । फेरि मन्जरीकै अफिसमा निम्ता आएपछि पक्कै म बाहेक को होला र भन्ने विचार गर्दैगर्दा शिव सरले फोन नै गरेर निम्ता गरेपछि त्यो गम्मनाके वा गाम्नाके पक्कापक्की मै रहेछु भन्ने कुरामा ढुक्क भएर कार्यक्रममा आएँ ।
मेरो यो उपनामले धेरै धोका खाइसक्यो । कहिले गाम नाघे हुन्छ । कहिले गाउँ नाघे हुन्छ, कहिले ग्वाम्लाङ्गे हुन्छ, कहिले गाम नाङ्गे हुन्छ । कसै कसैले त गाम्ना लेखेर गे छुट्टै पनि लेखिदिन्छन् । कार्यक्रमहरुमा सन्चालक वा वक्ताहरुलाई मेरो नाम लिनु पर्दा निकै सकस हुने गर्छ । कन्दै कन्दै गम्नागे पनि भन्छन्, निधारमा मुजा पार्दै ग्वाम्म नाके पनि भन्छन् । एउटा कलेजमा कार्यक्रम सन्चालक विद्यार्थीले अंग्रेजीमा लेखेको G-A-M-N-A-G-E लाई गम्नेज भनेर पनि बोलाएका छन् ।
गाउँ नाघेर आएकोले गाउँनाघे लेखेको होला भन्ने लाग्छ कसैलाई, गाउँमा नाङ्गै कुद्दा कसैले गाउँ नाङ्गे भनिदिएको र त्यसैलाई मानेको होला भन्ने लाग्दो रहेछ कसैलाई । गम्म परेको गतिलो नाक भएकाले गम्म नाके भनिएको भन्ने पनि लाग्ने रहेछ कतिलाई । धेरै कन्फ्युज हुन्छ । यस्ता अनेक नाम भएका सम्मानपत्र पनि प्राप्त भएका छन् मलाई । ‘किन रोइस् मङ्गले आफ्नै ढङ्गले’ भनेको यही हो । मातापिताले कति खर्च गरेर पुरोहित, ज्योतिषी लगाएर, टिपन चिना ट्याक्क मिलाएर राखिदिएको नाम बिगार्दा यस्तै हुन्छ । खुच्चिङ् पनि भन्छु म आफैंलाई बेलाबेला ।
जे होस्, यो एउटा रमाइलो मात्र हो । नानीदेखि लागेको बानी नछाडेको मात्र हो । किताबको बारेमा विशिष्ट समालोचक, समीक्षक व्यक्तित्वहरुले बोल्ने ठाउँमा मैले बोल्नु नै थिएन, त्यसैले सत्य घटनामा आधारित केही किस्सा कलेक्सन गरेको मात्र हो । शिव सरले धन्य किताबको भूमिकामा आफेंँले लेखेको लक्ष्मण गाम्नागे नाम नहेरी निम्तामा दुईथरी नयाँ नाम लेखिदिनुभएकोले मैले तपाईँहरुलाई एकछिन भए पनि अल्मल्याउन पाएँ । उसो त प्रच्छन्न इन्द्रीय पनि लक्ष्मण गाम्नागे जस्तै अप्ठ्यारो अप्ठ्यारो लागेको थियो मलाई । तर अब हामी यी दुवैसँग परिचित भइसकेका छौँ । म प्रच्छन्न इन्द्रियलाई बिर्सने छैन, शिव सरले पनि लक्ष्मण गम्म नाकेलाई माया गरिराख्नु होला । धन्यवाद ।
०००
(कथाकार शिवप्रसाद पाण्डेको कथा सङ्ग्रह प्रच्छन्न इन्द्रिय को विमोचन समारोहमा प्रस्तुत मन्तव्य ।)
Subscribe
Login
0 Comments
Oldest