सञ्जय साह मित्रदुइमुखे म
म जुरुक्क उठेर मोबाइलमा अनुहार हेर्छु । फेरि दुई हातले दुवैतिर छामी हेर्छु कि मेरो मुख दुई मुख छन् कि एक । मनमा यो पनि लागेको छ कि कतै दुइमुखे सर्प मलाई नै पो भनेका हुन कि ?

सञ्जय साह ‘मित्र’:
एक साँझ एउटा इफेमले आफ्नो बकम्फुसे कार्यक्रममा हँसाइरहेको थियो – दुई जिब्रेले बोलेको निकै भरपर्दो हुन्छ । एक जिब्रेले आफूलाई सन्तुलनमा राख्न सक्दैन, त्यसैले दुई जिबे्रको बोली भरपर्दो हुन्छ । एउटा जिब्रोले बिगारेको बोली अर्को जिब्रोले सुधारिहाल्छ रे ।
दुई जिब्रे मान्छे चैं सुनेको थिइनँ । बरु दुइमुखे सर्पको कथा सुनेको छु । अस्ति नागपञ्चमीमा त कैयौँ मुख भाको सर्पको पूजा गरेको देख्या थें ।
इफेमले दुई जिब्रे त भन्यो तर दुई मुखे चाहिँ भनेन । जब दुई जिब्रे हुन्छ तब दुई मुखे किन हुँदैन ? भन्ने प्रश्न उब्ज्यो मलिलो मनमा । यो मन पनि कस्तो मलिलो जमिन हो भने जे पनि उम्रिन्छ, उब्जिन्छ र हुर्किन्छ । कुनै मलजल नचाहिने भएकोले मनको खेती फस्टाएको होला ।
ओछ्यानमा पल्टिने बेलामा मेरो मनले कल्पनाको एउटा नौलो बाली उमार्यो – संसारको दुइमुखे मानिस मै भइदिएको भए कति आश्चर्य हुन्थ्यो ! संसारकै पहिलो दुइमुखे मनुवा । सामान्यज्ञानमा पढिने थिएँ । संसारमा मेरो चर्चा खूब हुन्थ्यो । मेरो फोटो सबै पत्रिका, टिभी र इफेमहरूले पनि खूब देखाइरहन्थ्यो । मसँग सेल्फी खिच्नेहरूको सधैँ भीड रहन्थ्यो । दुइमुखे पर्यटनको विकास पनि हुन्थ्यो ।
निदाएछु । निदाएको कुरो कतिखेर थाहा हुन्छ, थाहा छ ? जबसम्म निद्राले आफ्नो मीठो न्यानो काखमा लिइरहन्छ तबसम्म निदाएको थाहै हुँदैन । थाहा त त्यत्तिवेला हुन्छ जतिखेर निद्रादेवीसित बिछोडको वेला हुन्छ ।
अँ, म त निदाएछु । निदाएपछि सपना देखेछु । सपना देखेको कुरो निद्रा खुलेपछि मात्र थाहा भयो कि मैले देखेको सपना रहेछ भन्ने कुरो । देख्ने बेलामा त साँच्चिकैको जस्तो लागेको थियो । सायद मलाई लागेको कुनै रोगको कारणले होला एसो भएको । जहिले पनि सपना देख्दा साँच्चैको अनुभूति हुन्छ । आजसम्म मैले जति पनि सपना देखेको छु, सप्पै चैं साँच्चैको जस्तो लाग्ने दीर्घरोगी हुँ । मलाई एस प्रकारको वरिष्ठ रोगी भन्दा पनि फरक पर्दैन ।
हेर्नुस् न । सपनामा देखेको कुरा गर्नुपर्ने सपनाको कुरा गर्न थालेछु । आगराको कुरा गर्नुपर्नेमा गाग्राको गरेजस्तो । सपनामा म एक कल्पवृक्षनेर पुगेको रहेछु । त्याँ पुग्ने धेरै थिए । कोही के मागिरहेका थिए भने कोही के । जसले जे मागे पनि तत्काल पूरा भइरहेको थियो । वास्तवमा आफ्नो लागि गरेको कल्पना त्याँ तत्काल पूरा भइरहेको देखें । कोई पनि त्याँ अदुखी देखिँदैनथे । पैलै त्याँ नपुगेकोमा अैले भने पछुतो लाग्यो मलाई । बेकाराँ अैलेसम्म अनेक बर्त, तीर्थ तथा पूजापाठ गरिरा रेछु । ह्याँ आउनासाथ भने सप्पै पूरा भइहाल्ने रेछ । कहीँ नभएको जात्रा मेरो गाउँमा भनेझैँ मैले मेरै जात्रा चैँ मन्दिर, मेला र पर्वहरूमा गरिरहेथें हप्तैपिच्छे, महिनैपिच्छे र वर्षैपिच्छे । तर कुन एउटा जातिको हो कि कस्को बुद्धि चैं पछि नै आउँछ भन्ने उखानको सम्झना भएपछि अलिकति सन्तोष लागेजस्तो हुन्छ मनको कुनै अँध्यारो कुनामा । सन्तोषले मन हलुको हुन्छ ।
कल्पवृक्षनेर पुगेपछि केइँ लिई के फर्किनु ? कसैलाई केईँ दिनुभन्दा हामी त जसबाट जे पायो तेही मागेर लिने सोचाइका छौँ । माग्ने रोगले मलाई पनि अभिनन्दित गरेको छ । कैले कुनै दिन मेरो घर आउनुभो भने भित्ताभरि झुन्डिएका सम्मानपत्र हेरेर थाहा पाउनुहोला । म साँच्चै विशिष्ट मगन्ते हुँ ।
तर कल्पना के गर्ने ? मलाई चाइएको के हो ? यस्सैमा विचार गर्दागर्दै धेरै समय बित्यो । बल्ल सम्झना आयो कि संसारको सबैभन्दा विशिष्ट मान्छे बनूँ । यो विशिष्ट मान्छे बन्न मलाई दुईवटा मुख होओस् ।
तत्काल दुईवटा मुख भयो मलाई । आहा एउटा मुख पछाडि उम्रियो । एकछिन त मलाई गाह्रो भयो कि मेरो अगाडि कुन हो र पछाडि कुन हो भनेर । तर मैले दुई मुखमात्र कल्पना गरेको थिएँ यसकारण अनुहार नै दुइटा भएको थियो । धन्न म आफैँले म आफू दुई भनेर त्यहाँ कल्पना गरिनँ नत्र त म आफू नै दुई गोटा भइदिन्थें र आफूले नै म ओरिजनल कुन हुँ र डुप्लिकेट कुन हुँ भनेर कैलेकाईँ भ्रममा पर्न पुग्थें होला । अझ भनूँ मेरै ओरिजनल र डुप्लिकेटमा झगडा पर्दा के हुन्थ्यो होला ? अझ ओरिजनल र डुप्लिकेटमध्ये कोही म एउटा हराउँथे भने ? वा, वास्तवमा कुन हुँ भन्ने भ्रम मलाई नै पनि पर्न जान्थ्यो कि ? म आफूलाई खोज्न त्यसरी कतै आफैँ नै निस्कन पथ्र्यो कि ? तर मैले निकै बुद्धि पुर्याएर दुइमुखे बन्ने शौभाग्य पाएको थिएँ । तपैँ नै भन्नोस् त-दुइमुखे हुनु शौभाग्य हो कि होइन ?
जतातिर म हिँड्न सक्थें वा जतातिर मेरो पाइला घुमेका थिए वा जतातिर मेरो भुँडी ढल्केको थियो, त्यहीँ नै मेरो अगाडि थियो । अनुहार त मेरो दुइटा भए । दुई अनुहार भएछि नाक कसरी एउटा रहन्थ्यो । मलाई लाग्यो – मेरो एउटा नाक कुनै कारणले काटिएछ भने अर्को नाकले काम गर्छ । मलाई कसैले हेप्नै सक्दैन । नाक काटिए नि मलाई कसैले नकटो भन्न सक्तैन । दुई नाक भएछि एउटा काटिँदा अर्को सक्कली बाँकी नै हुन्छ नि । काटिएको ठाउँमा नक्कली नाक लाए नि के ? दुनियाँले पत्याइहाल्छ नि ।
दुइटा मुख भएपछि क्या मज्जा, वाह । पाएको बेला दुइटै मुखले खाँदा नि हुने । अझ कैलेकाईँ एउटा मुखले मात्र बोलेर नभ्याइने हुन्छ, त्यस्तो अवस्थामा एकैचोटि दुवै मुखले बोल्न नि पाइने ।
सबैभन्दा मुख्य कुरो त कैलेकाईँ एकैछिनमा के फेरि एकै छिनमा के बोल्नुपर्ने हुन्छ । एकैपटक दुई विपरीत विचारका कुरा गर्न एउटा मुख हुनेलाई कति गाह्रो पर्दछ भन्ने कुरो बुझेको छु । अब दुई मुख भएपछि तेस्तो अप्ठेरो नै टर्ने भो । दुई मुखले सबै दुःख चपाएर सुखैसुख ल्याउने पक्का हो । मलाई के पनि लाग्यो भने सबै मानिसको मजस्तै दुई मुख हुने हो भने चाँडै यो समाज समृद्ध बन्ने थियो ।
कल्पवृक्षमुनि आठौँ आश्चर्य उम्रेझैँ भो । जसै मेरो टाउकाले दुई मुख उमार्यो, सबैको ध्यान मतिरै तानियो । कसैले तत्काल आफूलाई दुइमुखे बनाएन वा कल्पनै गरेन । सबैलाई यही लागेको होला कि म जन्मजात नै यस्तो हुँ । मेरो नजिक आएर मेरो फोटो लिन खोजे । कस्तो हुस्सु हँदारेछन् है, एकसाथ दुई अनुहारको फोटो आउँछ त ? अनुहार त कि अगाडि छ कि पछाडि । दुवै अनुहारको फोटो एकैचोटि खिच्न खोज्नेहरू मूर्ख नै हैनन् त ? तेस ठाउँमा कसैले कसैको भिडियो बनाउन सक्दैनथ्यो ।
पहिला त मैलाई विश्वास भएन कि म दुइमुखे भइहालें । मलाई के सम्झना भयो भने एकमुखे हुँदा पनि त मलाई म एकमुखे नै छु भन्नेमा विश्वास हुँदैनथ्यो । मौका हेरी बोल्ने बानी मेरो नानीदेखिकै हो । एउटालाई के भन्यो र अर्कोलाई के भन्यो । दुवैमा उत्तर र दक्षिणजस्तै तालमेल हुँदाको जस्तो हुन्थ्यो मेरो बोलीको । आखिर एउटै मुख हुँदा पनि दुईथरि बोल्ने म अब दुई मुख नै पाएपछि मलाई मेरो दुई मुखप्रति कसरी विश्वास होओस् ।
एकपल्ट त यसो पनि लाग्यो कि म पैल्यैदेखि दुइमुखे नै हुँ । मजस्ता दुइमुखे अरु कति छन् कति ? दुइमुखे हुनेले पनि आफूलाई दुइमुखे भएको पत्तो पाउँदैन । म आफू साँच्चै दुईतिर फर्केका दुईवटा अनुहारै भएपछि बल्ल थाहा पाएँ – एकमुखे अवस्थामा पनि मानिस दुइमुखे हुँदा रेछन् । यो मेरो आविष्कारजस्तै हो । मेरो पर्सनल पेटेन्ट दर्ता गर्छु वा यस विचारको म कपिराइट आफ्नो नाउँमा गर्छु ।
दुई मुख भएपछि दुई स्वाद एकसाथ लिन खोजें । तर समस्या आयो कि नयाँ मुखमा के हालेर उद्घाटन गरूँ । पहिला त लाग्यो कि कुनै विशेष मान्छे बोलाएरै म आफ्नो मुखको उद्घाटन गर्न लाऊँ । कोई पर्मुख अतिथि बोलाएरै मुखपूजा गर्न लगाऊँ । मलाई मेरो नयाँ मुखको जति धेरै माया लाग्न थाल्यो, मेरो आफ्नै पुरानो मुख मलाई कस्तो कस्तो लाग्न थाल्यो । मलाई आफैँलाई मेरो पुरानो मुख थोत्रो लाग्न थाल्यो । हुन पनि हो । मेरो मुखको कुरो कसैलाई मनै पर्दैनथ्यो । मेरो पुरानु मुखको भरै हुँदैनथ्यो । धेरैले भन्थे पनि जिब्रो चपाएर – सडकमा कुद्ने बीस वर्ष पुरानो मोटरजस्तो आवाज छ भनेर । तर मेरो न्यू ब्रान्ड अर्थात् भर्खर कुनै शो रुमबाट किनेको जस्तो चम्चमाउँदो नयाँ मुखलाई कुनै चानचुने कुराले बिगार्नु भएन । मैले मिठाइले मुख मिठ्याउन खोजें । तेहीँ एउटा पसल थियो । गएर किनें र खुसीले गदगद हुँदै मुखमा मिठाइ कोच्दै थिएँ । नयाँ मुख उल्टोपट्टि थियो, उल्टोतिर हातलाई अप्ठेरो हुँदै थियो तर पनि बलजफ्ती कोचें आफ्नै मुखमा एउटा मिठाइ । बलजफ्ती कोचारेको र उत्साह पनि मिसिएकोले निद्रा खुल्यो ।
उज्यालो भइसकेको थियो । बाहिर हल्लीखल्ली मच्चिएको थियो । एकजनाले कराउँदै बोल्यो – यो दुइमुखे सर्प हो । यसलाई संरक्षण गरी समाजको इज्जत बढाउने गरी पाल्नुपर्छ ।
म जुरुक्क उठेर मोबाइलमा अनुहार हेर्छु । फेरि दुई हातले दुवैतिर छामी हेर्छु कि मेरो मुख दुई मुख छन् कि एक । मनमा यो पनि लागेको छ कि कतै दुइमुखे सर्प मलाई नै पो भनेका हुन कि ?
०००
रौतहट
Subscribe
Login
0 Comments
Oldest







































