साइबर अपराध सम्बन्धी सचेतना सामग्री

क्लर्कदेखि पौने उपसचिवसम्मका जागिरे यात्रा

मसँग सापटी लिएको बिर्सिसके उनीहरुले । सोझो भनेर हेप्नी ? दुनियाँ बेइज्जती खेप्नी ? म फित्कौलीको सम्पर्कमा आउँछु भन्ने थाहा थिएन तिमीहरुलाई ?

Nepal Telecom ad

अमर अधिकारी  :

२०४० सालमा संस्थान सेवा अन्तर्गत क्लर्क पदमा नियुक्ति पाएको यो पंक्तिकारले २०५६ माघमा जागिर छाड्नेबेलासम्म पनि सो क्लर्क पदको शब्दार्थ पत्तो लगाउनसकेको थिएन । हुन त शब्दकोश पल्टाए पुगिहाल्थ्यो । म कार्यरत संस्थान २०४६ सालसम्म मजाले नाफामा चलेको थियो । २०४६ सालसम्म नाफामा चलेका सरकारी उद्योगहरुमा २०४८ सालमा बनेको सरकारले नेताहरु वा पार्टीहरुको सिफारिसमा विभिन्न पदहरुमा अयोग्य र क्षमताहीन् कार्यकर्ता भर्ना गर्नथाल्यो । आठकक्षा पनि नपढेकालाई सञ्चालक बनाए अनि गाउँमा पढाउँदा पढाउँदैका शिक्षकलाई बोलाएर संस्थानको दरबन्दी नभएको ठाउँमा पनि विशेष अधिकृत बनाए र सुविधा प्रदान गरे ।

उता विद्यालयमा शिक्षकको खाँचो यता कमाउधन्दाको चाँजोपाँजो। पेट्रोल पम्पका मालिक जो संस्थानका लागि योग्य थिएनन् उनैलाई संस्थानको सञ्चालक समितिको अध्यक्ष बनाए, नेताले त्यसबाट कति कमाए ? थाहा छैन। हुँदाहुँदा सेवाकाल पुरै भंसारमा बिताएका र अकुत सम्पत्ति आर्जन गरेका महाभ्रष्टलाई पनि अख्तियार कुरुपयोग अन्धाधुन्द आयोगको प्रमुख पनि बनाए। कट्टु लगाएका लाज सरम हराएकाहरुले यस्ता हर्कत गर्नथाले । पार्टीका कार्यकर्ताहरुलाई संस्थानमा जथाभावी भर्ना गर्नथाल्यो साँढेहरुको सिफारिसमा सरकारले ।

औद्योगिक संस्थानहरुको रगत चुसियो, मासु लुछियो र त्यतिले पनि नपुगेर हड्डी दार्ने काम भयो र अन्तमा कैयन सरकारी उद्योगहरु चुर्लुम्म डुबे अनि गर्याम्म ढले । कामदार-कर्चारीहरु पुर्परोमा हात लगाएर बसे भने कारखानाहरुमा कच्चापदार्थ आपूर्ति गर्ने किसानहरु बेरोजगार हुनपुगे, नेताहरुले दुब्लाउँदैगएका संस्थानहरु पनि दुहुनपुगे । जनताहरुलाई पत्तो नभएको कुरा मलाई पत्तो भयो । के गर्नु म मात्र कराएर के पो हुन्थ्यो र ? तँछाडमछाड गर्ने साँढेहरुका बीचमा बाच्छो कराएर मात्र भयो र ? सरकारलाई मनग्यै राजस्व बुझाउने औद्योगिक संस्थानहरु नराम्रोसँग थला परेपछि धेरैको रोजीरोटी गुम्यो, नेताहरुको जीवनशैलीले गगन नै चुम्यो। घरिघरीका सरकारका कुचक्रहरु चलाइए र त्यो अझै पनि चलिरहेकै छ, जनताको दिमागमा निभ्नलागेको दियो बलेकै छ ।

गाउँका युवाहरु खाडीमा अनि नेताहरु गाडीमा । गाउँमा मलामी पाउन गाह्रो यहाँ नेतालाई सलामी चाहिन्छ साह्रो । नाफामा चलेका संस्थानहरु हुँडल्ने र दाइँ गर्ने काम भयो । जिएमले संस्थानको गाडीमा तरुनी राखेर डुलाउने काम पनि भयो। एकपटक गाडीको सिटमा फुटेको चुराको टुक्रा भेटिएपछि सबै अचम्ममा परेको कुरा यो पंक्तिकार पनि साक्षी बनेको थियो । पार्टीको सिफारिसमा नियुक्त भएका ती जिएमले ड्राइभरको हातबाट गाडीको साँचो खोसेको पनि यसै बल्ड्यांग्रे आँखाले देखेकै कुरा हो ।

सद्भावना पार्टीका एक नेता उद्योग मन्त्री भएपछि उनले आधादर्जन सञ्चालक नियुक्त गरेर पठाए हाम्रो संस्थानमा । ती सबै सञ्चालकले धोती लगाएर सञ्चालक समितिको वैठक कक्षमा लहरै छिरेको दृश्य अहिले यै आँखाको वरिपरि घुमिरहेको छ। नाफामा चलेका सरकारी उद्योगहरुलाई साइँदुवाहरुले चिथोरेर, कोपरेर, निचोरेर नपुगेपछि काटेर, चाटेर सिध्याए । कुनै कुनै कारखाना कौडीको भाउमा बेचे । एउटा कारखाना चलाउन खोजेका महावीर थोत्रा लुगा लगाउँदैमा फुर्सद नै छैन उनलाई । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा रहेको उनको प्रयोगशालासम्म पुग्न सातवटा साइनबोर्ड हेर्दै संकेत बुझ्दै जानुपर्ने अवस्था छ। मैले उनीसँग एकघन्टा बिताउँदा उनमा मुस्कान पटक्कै देखिएन, खाली ठुस्कान मात्रै । किन कि सरकारले नै उनलाई जोकर बनाइरहेको छ, सिंहदरबार सधै गन्हाइरहेको छ । उता महावीरले बाह्रकरोडको आफ्नो आत्मकथा किताब बेचे भन्ने गाइगुइँ पनि सुनिन्छ । यता देश बिगार्ने तानाबाना बुनिन्छ। बुझिनसक्नु छ हो हाम्रो देशको परिपाटी, के हो के हो भलिभाँती !

२०५६ सालमा डुबिसकेको संस्थान छोडेर लोकसेवा लडेर मैले सुब्बाको जागिर शुरु गरेँ । मन्त्रालयमा हाकिमहरुले नायब सुब्बालाई हेपेर ‘सुब्बो’ पनि भन्ने गरे । मलाई नभएर अरु सुब्बालाई त्यसरी सम्वोधन गर्थे ती हाकिमले । २०६९ मा चिठ्ठा परे झैँ म अधिकृत भएँ । २०७० मा मलाई हुत्याइयो कपिलवस्तुको मोतिपुर गाविसको सचिवमा । केही समयमा त्यो गाविस वाणगंगा नगरपालिकामा गाभिएपछि म परेँ जिविस कपिलवस्तुको फाजिलमा । २०७५ सालमा आपिस नभा ठाम बाराको सिम्रौनगढमा लखेटियो मलाई ।

हाकिम पनि कस्ता कस्ता ? जाकिम जस्ता । सोझो कर्मचारीलाई जाकिहाल्ने आपिस नभा ठाम्मा । म रनभुल्लमा परेँ । फेरि मालपोत हाकिम बनाएर रोल्पामा पठायो विभागले । रोल्पा मेरो जन्मभूमि भएकोले एकातिर खुशी थिएँ र ८४ वर्षिय बासँग बस्न पनि पाएँ बेलाबेलामा गाउँमा गएर । मालपोत अड्डामा हाकिमको कुर्सीमा शान्तसँग बसिरहेको बेला ८२ वर्षिय एक वृद्धले कोटको भित्री गोजीबाट हजारहजारका नोटको बिटो झिकेर मलाई दिनखोजे । “प्रक्रिया पुर्याएर आउनुस्, काम हुन्छ, बुढो मान्छे भएर यस्तो काम नगर्नुस्” भनेर मैले साफसँग नरम किसिमले हप्काएर पठाएँ ती बूढालाई ।

पछि अर्को दिन फोनमा कोही धनीमानीले फोन गरेर भने- “विदाको दिन भए पनि टिम बसालेर मेरो जग्गा रोक्का राखिनुपर्यो, म यसो हेरौँला हाकिमसाप ।” त्यहाँ पनि मलाई बस्दै र सुत्दै गरेको रिस जुरुक्क उठ्यो। अनिवार्य अवकाशको समय कुरेर बसेको मान्छे, मलाई मालपोत बस्न मन लागेन र म विभागमा बिनाकाम काजमा छ महिना बिताएँ । पछि आराम गर्ने खालको मन्त्रालय ठानेर खेलकूद मन्त्रालयमा सरुवा भएँ । म अभागीलाई त्यहाँ मन्त्रीको निजी सचिवालयमा खटाइयो । मन्त्रीका स्वकीय सचिवले मसँग पौठेजोरी खेल्नखोजे, बाझ्नथाले र आखिरमा मेरो कुर्सी टेबुल नै हडपे अर्थात् कब्जा गरे । “यस्ता साँढेहरुकोबीचमा बस्नुहुँदैन” भनेर म दुईमहिनाको विदा लिएर बसेँ । २०७९ असार २३ गतेदेखि सरकारी जागिरबाट मुक्त भएँ।

बडो मुस्किल छ, इमानदार कर्मचारीलाई जागिर खान । “जागिर खान त घुस चपाउन विशेष क्षमता भएका मान्छेले मात्र सक्छन्” भन्ने निष्कर्षमा पुगेँ । दशवर्ष अधिकृत भएको मान्छे उपसचिव हुन पाइनँ। उपसचिवले दुर्गम जिल्लाको सिडिओ पडकाउँछन् । म दुईदिन मात्र सिडियो भैदिएको भए मलाई हेप्नेहरुको मुखमा बुजो लगाउन पाउनेथिएँ । हेप्ने पनि हद हुन्छ नि फलानो त ठूलो मान्छे हुन सकेन भन्नेहरुको । आफ्नै मुख दुखाइरहेकाहरुका लागि झापडस्वरुप मैले केही कृतिहरु रचेँ । सर्वाधिक लेख-रचनाहरु प्रकाशन भएपछि इतिहास नै रचेँ ।

अहिले लेख्दैछु देशको भद्रगोल, चोर फटाहाहरुको जगजगी र बिगबिगीका विरुद्धमा। अवकाशअघि नै निजामती विधेयक पास भएको भए म एक श्रेणमाथि उक्लिने सम्भावना थियो। एक श्रेणी माथिको पद उपसचिवमा उक्लिएपछि हुम्ला, जुम्लाको सिडिओ हुन पनि पाइने अवस्था थियो । दुईदिन मात्र भए पनि सिडियो हुने इच्छा भताभुंगेहरुले तुहाइदिए ।

विधेयकलाई ट्वाइलेट पेपर झैँ ठानियो । सातवर्षअघिको विधेयकहरु खलाद्मीहरुकै कारण यता न उताको भएको छ । एउटा कानून बनाउन अरब रुपियाँ गएको छ । सांसदहरुलाई दिइने सरकारी ज्याला बालुवामा पानी हाले झैँ भएको छ । जे होस् वरिष्ठ अधिकृत भएँ अर्थात् पौने उपसचिव भएँ । ४२ वर्षअघि संस्थानमा पाएको क्लर्क पदको अर्थ २०८१ मा आएर मात्र थाहा पाएँ डिक्सनरी पल्टाएर । २०५६ सालमा संस्थान सेवामा ४२ सय खाइरहेको मान्छे निजामतीतर्फ एक श्रेणी माथिको पदमा आउँदा २७ सय खानुपरेको थियो । जीवनशैली नै बिग्रेपछि झण्डै आत्महत्याको बाटो अपनाउनुपरेको थियो ।

कपिलवस्तुका र रोल्पाका लिखापालद्वयले मलाई भुक्तानी दिनुपर्ने जम्मा सोह्र हजार रुपियाँ खाइदिए । कर्मचारीमा लिखापाल पद गतिलो लाग्दैन । कर्मचारीलाई त दुःख दिन्छन् भने अरुलाई के गर्लान् तिनीहरुले ? अन्धभक्त कार्यकर्ताहरु र झोलेहरुले पार्टी बिगारेकै हुन् भन्ने मलाई हेक्का छ । अबुझ र सोझा कार्यकर्ताहरु अझै पनि उनीहरुकै पछि लाग्न छाडेका छैनन् । एकजना विभागीय उपसचिव अर्थात् निर्देशकले त मेरो ठूलै रकम खाइदिएका छन् । निर्देशकले मात्र होइन मन्त्रीले समेत खाइदिएका छन् मेरो पैसा । मसँग सापटी लिएको बिर्सिसके उनीहरुले । सोझो भनेर हेप्नी ? दुनियाँ बेइज्जती खेप्नी ? म फित्कौलीको सम्पर्कमा आउँछु भन्ने थाहा थिएन तिमीहरुलाई ?

मेरो करिब तीनलाख रुप्पे हजम पारिदिने अघोरीहरुले यो थाहा पाउनु जरुरी छ कि सापटी लिएको पैसो तिर्नुपर्छ र कर्तव्य निभाउनुपर्छ भनेर । कुरो बुझ नत्र भने हिउँदको पानीमा रुझ । मोराहरु हो घच्चडे घोँडाहरु हो। अरुको खान मात्र जान्ने कसैको सल्लाह नमान्ने ?

०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ काठमाडौँ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Pitambar Dahal
Pitambar Dahal
1 year ago

यथार्थपरक लेख गज्जव लाग्यो

Nepal Telecom ad
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
1
0
Would love your thoughts, please comment.x
()
x