अमर अधिकारीक्लर्कदेखि पौने उपसचिवसम्मका जागिरे यात्रा
मसँग सापटी लिएको बिर्सिसके उनीहरुले । सोझो भनेर हेप्नी ? दुनियाँ बेइज्जती खेप्नी ? म फित्कौलीको सम्पर्कमा आउँछु भन्ने थाहा थिएन तिमीहरुलाई ?

अमर अधिकारी :
२०४० सालमा संस्थान सेवा अन्तर्गत क्लर्क पदमा नियुक्ति पाएको यो पंक्तिकारले २०५६ माघमा जागिर छाड्नेबेलासम्म पनि सो क्लर्क पदको शब्दार्थ पत्तो लगाउनसकेको थिएन । हुन त शब्दकोश पल्टाए पुगिहाल्थ्यो । म कार्यरत संस्थान २०४६ सालसम्म मजाले नाफामा चलेको थियो । २०४६ सालसम्म नाफामा चलेका सरकारी उद्योगहरुमा २०४८ सालमा बनेको सरकारले नेताहरु वा पार्टीहरुको सिफारिसमा विभिन्न पदहरुमा अयोग्य र क्षमताहीन् कार्यकर्ता भर्ना गर्नथाल्यो । आठकक्षा पनि नपढेकालाई सञ्चालक बनाए अनि गाउँमा पढाउँदा पढाउँदैका शिक्षकलाई बोलाएर संस्थानको दरबन्दी नभएको ठाउँमा पनि विशेष अधिकृत बनाए र सुविधा प्रदान गरे ।
उता विद्यालयमा शिक्षकको खाँचो यता कमाउधन्दाको चाँजोपाँजो। पेट्रोल पम्पका मालिक जो संस्थानका लागि योग्य थिएनन् उनैलाई संस्थानको सञ्चालक समितिको अध्यक्ष बनाए, नेताले त्यसबाट कति कमाए ? थाहा छैन। हुँदाहुँदा सेवाकाल पुरै भंसारमा बिताएका र अकुत सम्पत्ति आर्जन गरेका महाभ्रष्टलाई पनि अख्तियार कुरुपयोग अन्धाधुन्द आयोगको प्रमुख पनि बनाए। कट्टु लगाएका लाज सरम हराएकाहरुले यस्ता हर्कत गर्नथाले । पार्टीका कार्यकर्ताहरुलाई संस्थानमा जथाभावी भर्ना गर्नथाल्यो साँढेहरुको सिफारिसमा सरकारले ।
औद्योगिक संस्थानहरुको रगत चुसियो, मासु लुछियो र त्यतिले पनि नपुगेर हड्डी दार्ने काम भयो र अन्तमा कैयन सरकारी उद्योगहरु चुर्लुम्म डुबे अनि गर्याम्म ढले । कामदार-कर्चारीहरु पुर्परोमा हात लगाएर बसे भने कारखानाहरुमा कच्चापदार्थ आपूर्ति गर्ने किसानहरु बेरोजगार हुनपुगे, नेताहरुले दुब्लाउँदैगएका संस्थानहरु पनि दुहुनपुगे । जनताहरुलाई पत्तो नभएको कुरा मलाई पत्तो भयो । के गर्नु म मात्र कराएर के पो हुन्थ्यो र ? तँछाडमछाड गर्ने साँढेहरुका बीचमा बाच्छो कराएर मात्र भयो र ? सरकारलाई मनग्यै राजस्व बुझाउने औद्योगिक संस्थानहरु नराम्रोसँग थला परेपछि धेरैको रोजीरोटी गुम्यो, नेताहरुको जीवनशैलीले गगन नै चुम्यो। घरिघरीका सरकारका कुचक्रहरु चलाइए र त्यो अझै पनि चलिरहेकै छ, जनताको दिमागमा निभ्नलागेको दियो बलेकै छ ।
गाउँका युवाहरु खाडीमा अनि नेताहरु गाडीमा । गाउँमा मलामी पाउन गाह्रो यहाँ नेतालाई सलामी चाहिन्छ साह्रो । नाफामा चलेका संस्थानहरु हुँडल्ने र दाइँ गर्ने काम भयो । जिएमले संस्थानको गाडीमा तरुनी राखेर डुलाउने काम पनि भयो। एकपटक गाडीको सिटमा फुटेको चुराको टुक्रा भेटिएपछि सबै अचम्ममा परेको कुरा यो पंक्तिकार पनि साक्षी बनेको थियो । पार्टीको सिफारिसमा नियुक्त भएका ती जिएमले ड्राइभरको हातबाट गाडीको साँचो खोसेको पनि यसै बल्ड्यांग्रे आँखाले देखेकै कुरा हो ।
सद्भावना पार्टीका एक नेता उद्योग मन्त्री भएपछि उनले आधादर्जन सञ्चालक नियुक्त गरेर पठाए हाम्रो संस्थानमा । ती सबै सञ्चालकले धोती लगाएर सञ्चालक समितिको वैठक कक्षमा लहरै छिरेको दृश्य अहिले यै आँखाको वरिपरि घुमिरहेको छ। नाफामा चलेका सरकारी उद्योगहरुलाई साइँदुवाहरुले चिथोरेर, कोपरेर, निचोरेर नपुगेपछि काटेर, चाटेर सिध्याए । कुनै कुनै कारखाना कौडीको भाउमा बेचे । एउटा कारखाना चलाउन खोजेका महावीर थोत्रा लुगा लगाउँदैमा फुर्सद नै छैन उनलाई । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा रहेको उनको प्रयोगशालासम्म पुग्न सातवटा साइनबोर्ड हेर्दै संकेत बुझ्दै जानुपर्ने अवस्था छ। मैले उनीसँग एकघन्टा बिताउँदा उनमा मुस्कान पटक्कै देखिएन, खाली ठुस्कान मात्रै । किन कि सरकारले नै उनलाई जोकर बनाइरहेको छ, सिंहदरबार सधै गन्हाइरहेको छ । उता महावीरले बाह्रकरोडको आफ्नो आत्मकथा किताब बेचे भन्ने गाइगुइँ पनि सुनिन्छ । यता देश बिगार्ने तानाबाना बुनिन्छ। बुझिनसक्नु छ हो हाम्रो देशको परिपाटी, के हो के हो भलिभाँती !
२०५६ सालमा डुबिसकेको संस्थान छोडेर लोकसेवा लडेर मैले सुब्बाको जागिर शुरु गरेँ । मन्त्रालयमा हाकिमहरुले नायब सुब्बालाई हेपेर ‘सुब्बो’ पनि भन्ने गरे । मलाई नभएर अरु सुब्बालाई त्यसरी सम्वोधन गर्थे ती हाकिमले । २०६९ मा चिठ्ठा परे झैँ म अधिकृत भएँ । २०७० मा मलाई हुत्याइयो कपिलवस्तुको मोतिपुर गाविसको सचिवमा । केही समयमा त्यो गाविस वाणगंगा नगरपालिकामा गाभिएपछि म परेँ जिविस कपिलवस्तुको फाजिलमा । २०७५ सालमा आपिस नभा ठाम बाराको सिम्रौनगढमा लखेटियो मलाई ।
हाकिम पनि कस्ता कस्ता ? जाकिम जस्ता । सोझो कर्मचारीलाई जाकिहाल्ने आपिस नभा ठाम्मा । म रनभुल्लमा परेँ । फेरि मालपोत हाकिम बनाएर रोल्पामा पठायो विभागले । रोल्पा मेरो जन्मभूमि भएकोले एकातिर खुशी थिएँ र ८४ वर्षिय बासँग बस्न पनि पाएँ बेलाबेलामा गाउँमा गएर । मालपोत अड्डामा हाकिमको कुर्सीमा शान्तसँग बसिरहेको बेला ८२ वर्षिय एक वृद्धले कोटको भित्री गोजीबाट हजारहजारका नोटको बिटो झिकेर मलाई दिनखोजे । “प्रक्रिया पुर्याएर आउनुस्, काम हुन्छ, बुढो मान्छे भएर यस्तो काम नगर्नुस्” भनेर मैले साफसँग नरम किसिमले हप्काएर पठाएँ ती बूढालाई ।
पछि अर्को दिन फोनमा कोही धनीमानीले फोन गरेर भने- “विदाको दिन भए पनि टिम बसालेर मेरो जग्गा रोक्का राखिनुपर्यो, म यसो हेरौँला हाकिमसाप ।” त्यहाँ पनि मलाई बस्दै र सुत्दै गरेको रिस जुरुक्क उठ्यो। अनिवार्य अवकाशको समय कुरेर बसेको मान्छे, मलाई मालपोत बस्न मन लागेन र म विभागमा बिनाकाम काजमा छ महिना बिताएँ । पछि आराम गर्ने खालको मन्त्रालय ठानेर खेलकूद मन्त्रालयमा सरुवा भएँ । म अभागीलाई त्यहाँ मन्त्रीको निजी सचिवालयमा खटाइयो । मन्त्रीका स्वकीय सचिवले मसँग पौठेजोरी खेल्नखोजे, बाझ्नथाले र आखिरमा मेरो कुर्सी टेबुल नै हडपे अर्थात् कब्जा गरे । “यस्ता साँढेहरुकोबीचमा बस्नुहुँदैन” भनेर म दुईमहिनाको विदा लिएर बसेँ । २०७९ असार २३ गतेदेखि सरकारी जागिरबाट मुक्त भएँ।
बडो मुस्किल छ, इमानदार कर्मचारीलाई जागिर खान । “जागिर खान त घुस चपाउन विशेष क्षमता भएका मान्छेले मात्र सक्छन्” भन्ने निष्कर्षमा पुगेँ । दशवर्ष अधिकृत भएको मान्छे उपसचिव हुन पाइनँ। उपसचिवले दुर्गम जिल्लाको सिडिओ पडकाउँछन् । म दुईदिन मात्र सिडियो भैदिएको भए मलाई हेप्नेहरुको मुखमा बुजो लगाउन पाउनेथिएँ । हेप्ने पनि हद हुन्छ नि फलानो त ठूलो मान्छे हुन सकेन भन्नेहरुको । आफ्नै मुख दुखाइरहेकाहरुका लागि झापडस्वरुप मैले केही कृतिहरु रचेँ । सर्वाधिक लेख-रचनाहरु प्रकाशन भएपछि इतिहास नै रचेँ ।
अहिले लेख्दैछु देशको भद्रगोल, चोर फटाहाहरुको जगजगी र बिगबिगीका विरुद्धमा। अवकाशअघि नै निजामती विधेयक पास भएको भए म एक श्रेणमाथि उक्लिने सम्भावना थियो। एक श्रेणी माथिको पद उपसचिवमा उक्लिएपछि हुम्ला, जुम्लाको सिडिओ हुन पनि पाइने अवस्था थियो । दुईदिन मात्र भए पनि सिडियो हुने इच्छा भताभुंगेहरुले तुहाइदिए ।
विधेयकलाई ट्वाइलेट पेपर झैँ ठानियो । सातवर्षअघिको विधेयकहरु खलाद्मीहरुकै कारण यता न उताको भएको छ । एउटा कानून बनाउन अरब रुपियाँ गएको छ । सांसदहरुलाई दिइने सरकारी ज्याला बालुवामा पानी हाले झैँ भएको छ । जे होस् वरिष्ठ अधिकृत भएँ अर्थात् पौने उपसचिव भएँ । ४२ वर्षअघि संस्थानमा पाएको क्लर्क पदको अर्थ २०८१ मा आएर मात्र थाहा पाएँ डिक्सनरी पल्टाएर । २०५६ सालमा संस्थान सेवामा ४२ सय खाइरहेको मान्छे निजामतीतर्फ एक श्रेणी माथिको पदमा आउँदा २७ सय खानुपरेको थियो । जीवनशैली नै बिग्रेपछि झण्डै आत्महत्याको बाटो अपनाउनुपरेको थियो ।
कपिलवस्तुका र रोल्पाका लिखापालद्वयले मलाई भुक्तानी दिनुपर्ने जम्मा सोह्र हजार रुपियाँ खाइदिए । कर्मचारीमा लिखापाल पद गतिलो लाग्दैन । कर्मचारीलाई त दुःख दिन्छन् भने अरुलाई के गर्लान् तिनीहरुले ? अन्धभक्त कार्यकर्ताहरु र झोलेहरुले पार्टी बिगारेकै हुन् भन्ने मलाई हेक्का छ । अबुझ र सोझा कार्यकर्ताहरु अझै पनि उनीहरुकै पछि लाग्न छाडेका छैनन् । एकजना विभागीय उपसचिव अर्थात् निर्देशकले त मेरो ठूलै रकम खाइदिएका छन् । निर्देशकले मात्र होइन मन्त्रीले समेत खाइदिएका छन् मेरो पैसा । मसँग सापटी लिएको बिर्सिसके उनीहरुले । सोझो भनेर हेप्नी ? दुनियाँ बेइज्जती खेप्नी ? म फित्कौलीको सम्पर्कमा आउँछु भन्ने थाहा थिएन तिमीहरुलाई ?
मेरो करिब तीनलाख रुप्पे हजम पारिदिने अघोरीहरुले यो थाहा पाउनु जरुरी छ कि सापटी लिएको पैसो तिर्नुपर्छ र कर्तव्य निभाउनुपर्छ भनेर । कुरो बुझ नत्र भने हिउँदको पानीमा रुझ । मोराहरु हो घच्चडे घोँडाहरु हो। अरुको खान मात्र जान्ने कसैको सल्लाह नमान्ने ?
०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ काठमाडौँ।










































यथार्थपरक लेख गज्जव लाग्यो