माधव पोखरेल गोज्याङ्ग्रेसडकको तडक भडक
हामीले सडक चिनेर मात्र के गर्नु सडकले हामीलाई चिन्दैन । सडकले सडकलाई समेत नचिन्ने जमानामा ऊ स्वयम्ले तडक भडक गर्नु कुनै नौलो कुरा पनि होइन ।

माधव पोखरेल गोज्याङ्ग्रे :
सडक पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म र भारतीय सीमादेखि उतर हिमालयको काखसम्म नै फैलिएको छ । फैलिएर ब्याउँदै गरेको यो सडकको बारेमा बयान गर्न हामी जस्ता एउटा जिब्रो भएका मान्छेले सक्ने कुरै भएन । हजार जिब्रा भएका शेषनागहरू यो मुलुकमा भएदेखि सक्थे होलान । तर अहिलेसम्म सय जिब्रा भएका शेषनागको त कुरै छाडौ नागको भेषधारी समेतको नाक मुखै देखिएको छैन । सडकको तडक भडक र तामझाम अहिलेको अवस्थामा व्यापक रुपले बढेको छ । भनौ सडक खुम्चिएर, पुरिएर, भरिएर, कुच्चिएर, नेप्टिएर, चेप्टिएर, थेचिएर, सोहोरिएर, दोहोरिएर, एकोहोरिएर, खाल्टिएर रङ्गी बिरङ्गी भएको छ । गाडीमा यात्रा गर्दा थाहा हुन्छ सडक मृत्युबाट ब्युतिएर कसरी जीवन यापनमा आफ्नो वर्चस्व कायम राख्न सफल भएको छ । भनोँ हाम्रो सडक आफ्नो आँशु आफैँ पिएर अरुलाई दिइरहेको छ ।
सडक यतिसम्म चलाख छ कि आफू समयमै जनताका सामु उपस्थित हुनुभन्दा पहिले सि.डि.ई., ईन्जिनियर वा ठेकेदारकामा तलैतलाको महल भएर ठिङ्रिङ उभिन अलिकति पनि लाज मान्दैन । पत्रकारहरूलाई बोलाएर भोज खुवाउँछ , नेताहरूलाई लमतन्न अवस्थामै जदौ गर्छ र अनुगमन टोलीलाई ग्वार्लाम्म अगालो मारेर आफ्नो बनाउँछ । भनौ सडक अत्यन्त दुःखी भएर पनि सबैका सामु सुखीझैँ भएर दुःख लुकाएर सबैलाई पालेर हाइहाई भएर बाँचेको छ । दुर्गतीको नियती भोगेर भए पनिदुनियाँलाइृ ढोगेर आफ्नो अस्तित्व रक्षा गर्न नसक्ने हाम्रो सडक वर्षामा धान रोप्न हिल्याएको खेतझैँ भएर हाम्रो सामु आफ्नो बिद्रुपता देखाउन अलिकति पनि हिच्किचाउँदैन । सडक सधैँ जो कोहीसँग पनि संघर्ष गरिरहन्छ । बस, ट्रक, जीप, कार, बयलगाडा, ठेलागाडा, मोटरसाइकल, साइकल, ट्र्याक्टर लगायतका सवारी साधनहरू हुन वा पैदल यात्रीहरू हुन सबैसँग संघर्ष गर्न कहिल्यै पछि पर्दैन । यति हुँदा हुँदै पनि सडकले आफ्नो जन्मोत्सव कहिल्यै मनाएको देखिएन । भनौ सडकलाई यस्ता कुराहरू प्रति वास्तै छैन । सडक सबैका लागि साझे भएर बसेको भए पनि उसलाई उपभोग गर्नेहरूले कहिल्यै यो हाम्रो साझा सम्पति हो भन्न सकेका छैनन ।
सडक आफू पनि आफैँमाथि कुद्छ, चिप्लिन्छ, हिलाम्मे भएर प्वाँप्वाँ पुँपुँ गर्दै हुँइकिन्छ । आफू सडक भएर तडक भडकका साथ अरुलाई माथ खुवाउने गरी धुलो खुवाउने काम पहिले देखि नै गर्दै आएको छ । सडक भत्कन्छ, बिग्रन्छ र रोगिएर थलिँदा पनि उपचार नपाई आफ्नो चिच्याहटलाई सर्वत्र उदाङ्गो पार्दा थलिएर बस्न बाध्य भएको छ । भनौ यसको चित्कार राज्यले सुन्दैन र पनि तडक भडकमा व्यस्त भैरहन्छ । कुनै बेला सडक अत्यन्त भद्र बन्छ भने कुनै बेला अत्यन्त उतेजक बनेर दुनियाँलाई सास्ती दिन पनि पछि पर्दैन । भनौ हामीले सधैँ उपभोग गर्ने सडक बहुरुपी छ, बहुआयामिक छ । बहुराष्ट्रिय छविको छ जुनसुकै रुपमा पनि सजिएर हाम्रा सामु उपस्थित हुन सक्ने । यति सम्मकी सडकले तीललाई पहाड बनाउँछ र पहाडलाई तील पनि बनाउन सक्ने क्षमतामा आफ्नो नाङ्गो शरीरलाई निर्लज्ज रुपले सबैका सामु देखाउन कहिल्यै लजाउँदैन ।
सडक आफैँमा बलात्कृत पनि भएको छ । आफ्नो आँशु आफैँ पिएर तिर्खा मेटन विवश नेपालको सडकको बारेमा नेपालको सडक कार्यालय समेत बेखबर भएको समयमा अरुले उसले भोगेका पीडा वा समस्या समाधान गर्न त्यति सहज होला जस्तो लाग्दैन । किनभने सडक आफ्नो समस्या प्रति आफैँ सचेत भएको जस्तो लाग्दैन भने अरुले चासो देखाएर मात्र के पो हुन्छ र । भनौ सडक मौन भएर पीडा र समस्या लुकाएर फिस्स हिस्स बूढी हरिया दाँत भनेझैँ फिक्का हाँसोमा अरुका अगाडि उभिन बाध्य भएको छ ।आफ्नो छाती माथि गाडी कुदाएर अरुलाई आफ्नो अस्तित्व लुटाउन दिने सडकले ऐया भन्न पनि सकिरहेको छैन ।
नेपाली सडक आफ्नो छातीमा हातीलाई समेत कुल्चाएर थलिएको छ । तर जसले जेजे भने पनि गरे पनि यसरी मौनता साँधेर बस्नुको रहस्यता पनि हुन सक्छ । त्यो सबेले सहजे बुझ्न सक्ने कुरा पनि होइन । तडक भडक गरेर र देखाएर कहिल्यै नथाक्ने सडकले कुनै बेला कहीँ कतै बाउको मात्र होइन कि बाजे बराजुको समेत विहे देखिसकेको हुन सक्छ । नेपालीको मनमा बसेर सडकले विदेस सयर गर्न पाएको छ । विदेसीको आँखा छलेर सडकले गाडी गुडने पिच बाटो होइन महल ठड्याएको छ , दरबार बनाएको छ । कैयौँ नेपालीको घरबार उजाड पारेर सडकले आफ्नो स्वेच्छाचारिताको पराकाष्ठा नाघेको छ । कतिपय ठाउँमा सडकले पीडकको भूमिकामा आफूलाइृ उभ्याएको छ भने कतिपय ठाउामा उद्धारकको भूमिकामा पनि देखिएको छ । थोरैको उद्धार र धेरैको पीडकको भूमिकामा देखिएको सडकको महत्व दिनप्रतिदिन हाम्रा लागि बढिरहेको भए पनि पीडामा परेकाहरूका लागि यसले अझ थप कति पीडा दिने हो त्यसको हिसाब किताब जो कोहीले गर्न सक्ने अवस्था देखा पर्दैन ।
हाम्रो अर्थात नेपालीको बिडम्बनाको कुरा भनौ वा गर्वको कुनै सडक बनाउन शुरु गरेको दसकौ भए पनि अहिलेसम्म पुरा गर्न नसकेको अवस्था छ । कतिपय सडकले सन्तान माथि दर सन्तान जन्माएर आफ्नो नाक सोझाको सोझै पारेको छ । तर जे होस् सडकले नेपालीको सोझो अर्थमा भन्नु पर्दा धेरै जागिरेको जीवन स्तर माथि उठाएर आकाश छुनेसम्मको अवस्थामा पुर्याएको छ । यो कुरामा चाहिँ हामी सबैले सडकलाई धन्यवाद नदिए पनि थ्याङ्कयू चाहिँ भन्नै पर्छ । किनभने यदि नेपालमा सडक नभैदिएको भए धनीहरू गरीब हुने थिएनन, गरीबहरू पनि धनीमा गन्ती हुन सक्ने थिएनन । साँच्चै भन्ने हो भने सडकले धेरैलाई रुवाएर उठिबास गराएको छ भने आफै पनि रोएर सडकमै भौतारिनु परेको अवस्था छ । अरुलाई रुवाएर आफू हाँस्न नसक्ने सडकले न अरुलाई गाँस बास दिएको छ न आफूले अरुको गाँस र बास नै उपभोग गर्न पाएको छ । सडक सधैँ उधै उभै भएर बसेको छ भन्न पनि सकिन्न । तर अवस्था भने त्यस्तै छ । जे होस् सडकले केहीलाई खुशी सुखी बनाएको छ भने केहीलाई अत्यनत दुःखी बनाएर सडक छापमे परिणत गरेको उदाहरण पनि हाम्रा सामु जीवितै छ । आफ्नो छातीमा चहर्याएको घाउलाई मलहम लगाउन नसक्ने नेपाली सडकका बारेमा अब भने बिहारीहरूले प्रश्न तेस्र्याउने अवसथा आएको छ । किनभने बिहारीहरूले आफ्नो विगतलाई नेपालतिर फर्केर हेर्न थालेका छन् र बिहारी हावाको झोक्का नेपालमा पर्न थालेको अनुभवलाई साटफेर गर्न थालेको पाइएको छ । हावाकै कुरा गर्नु पर्दा दक्षिणतर्फबाट बहेको हावा उतरतर्फ प्रवेस गर्दा त्यसमा प्रदुषणका किटाणुहरूले समेत प्रवेस पाउने भएकोले प्रवेसद्धारलाई नै बन्द गर्नु सबैभन्दा उतम हुने कुरा आजको अवस्थामा सानदर्भिक हुने देखिन्छ ।
अर्को कुरा सडक सडककै लागि पनि सौताको छोरोको रपमा देखा परेको छ । राजधानकिा सडक र जिल्ला तथा ग्रामिण क्षेत्रका सडकका बारेमा कुरा गर्ने हो भने यहाँको सडकले कागजमा ठूलो फड्को मारेको पाइन्छ । कागजमा निर्माण भएको सडकमा नेपालमा गाडी गुडन थाल्ने हो भने नेपालको सडकमा भएको विकासले विश्वलाई हल्लाएर छाड्थ्यो । तर त्यसो पनि हुन सकेन । भनौँ सडकको तडक भडक सडकमा भन्दा पनि कागजमा बढी देखिएकोले भोलिका दिनहरूमा कागजको सडकले कस्तो प्रकारको भूमिका निर्वाह गर्ने हो त्यो कुरा निकै विचारणीय छ ।
हामी हाम्रो सडक राम्रो सडक भनेर कागजमा नारा र व्यवहारमा बजेट बिगाराका रुपमा देखछौ । हेर्ने आँखा सबैको एकैनासको हुदैनन किनभने कसेको आँखा बढी तेजिलो हुन्छ भने कसेको आँखा धमिलो त कसैको तिरमिराउने पनि हुन सक्छ । हेराई पनि सबैको फरक फरक खाले हुने भएकोले कुनै एकको लागि राम्रो कुरा कसैको लागि नरामे पनि हुन सक्छ । सडकका लागि आफूले बनाएका सबै सडकहरू राम्रा हुन्छन । वर्ग विभाजन भए पनि सडकको स्तर अनुसारको गुणस्तर कायम गर्न सडकले नै आनाकानी गरेको अवस्था रहेकोले सडक विज्ञहरूको टोली सडकको गुणस्तर निर्धारणमा चौविसै आना असफल भएको कुरालाई सडकले नै स्वीकार्नु पर्ने अवस्था आएको छ । हाम्रो मुलुकाँ सडकाँ पोखरी सरह पानी नजमेसम्म त्यो सडकले सडकको स्तरमा पदोन्नती हुन पाउँदैन । सडकमा खाल्टाखुल्टी भएर दर्जनौ पटक दुर्घटना नभएसम्म त्यो सडकले राम्रो सडकको दर्जा नपाउने अवस्था छ । ।
सहर बजारको सडकको र गाउँको सडकको महत्व आफ्नो ठाउँमा फरक भए पनि र राष्ट्रिय लोकमार्गको महत्वले सडकको भूमिकालाई फराकिलो पारेको छ । तर लोकमार्ग र सडकमा देखिने भिन्नतामा सडक उपयोग कर्ताहरूले सपष्ट परिभाषा बुझ्न नसक्दा भने केही समस्याहरू देखा परेको छ । नेपालको सडकले कुनै समयको बिहारको सडकको भूमिका निर्वाह गरेको थियो भने अहिले आएर बिहारबाट पाठ सिक्नु पर्ने अवस्था आएको छ ।
यो मुलुकाँ सडकका बारेमा धेरै कथाहरू अहिले दन्त्य कथाका रुपमा सुन्न पाइन्छ भने सडकको अन्त्य कथा पनि तयार भैरहेको छ । दन्त्य र अन्त्य कथाका बारेमा सडकको तडक भडकबाट नै स्पष्ट हुन्छ । आफ्नो अस्तित्व जोगाउनका लागि सडकले अन्त्य र दन्त्य दुबै कथा बनेर नेपालीहरूको मन भने जित्न सकेको पाइदैन । अरुभन्दा पनि सडकले यातायात व्यवसायीहरूको मन नजितेसम्म र यातायातका साधनहरूको मार नसहेसम्म जीवनको सार र भार बुझ्न सक्दैन । सडक नेपालको विकासको पूर्वाधार भए पनि पश्चिमाधार भने बन्न नसक्नु यातायात चालकहरूका लागि मात्र होइन कि यातायात व्यवसायीहरूका लागि समेत अनौठो कुरा होइन ।
नगरपालिकाको सडक होस् वा गाउँपालिकाको, जिल्ला समन्वय समितिको होस् वा सडक विभागको जेजे भए पनि आखिरी सडक विकास समिति नेपालाँ बन्न सकेको पाइदैन । तडक भडकको सडक बोर्ड छ तर त्यो कुनै पनि सडकसँग तालमेलमा जाँदैन । सडक विकास बोर्ड नामको एउटा तोडमतोड बोर्ड झुण्ड्याएर सडकको विकास हुँदैन । बरु सडकको विनास भने यत्रतत्र सुन्न र देख्न पाइन्छ । कालो पत्रे सडकको नाम कागजमा अंकित गरेर स्थलगत रुपमा धुलोपत्रे सडकले जिवन्तता पाइरहेको नेपालको सडकको इतिहासले देखाइरहेको अवस्थामा सडक बोर्डको मुन्द्रे बोर्डले कुण्डल झुण्ड्याएर मात्र सडकको विकास हुन्छ भन्नु हामी नेपालीको मुर्खता बाहेक अरु केही होइन ।
पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म स्थानीय निकायहरूलाई प्राप्त बजेटले सबैभन्दा पहिले सडक नै बनाउन पहल गरिएको भए अहिलेसम्म नेपालमा करीब पचासहजार किलोमिटर भन्दा बढी सडक निर्माण भैसकेको हुन्थ्यो होला । तर यस तर्फ कसैको ध्यान गएन भने सडक निर्माणका नाममा सथानीय निकायमा नेपाल सरकारले पठाएको बजेटले सडकमा ओछिएर लम्पसार पर्ने अवसर पाएन । बरु गोजीमा खोजी खोजी खादने काम भने सडकले पाएको छ । सडकले आफ्नो शरीरलाई निर्लज्ज रुपले उदाङ्गो पारेर अरुका सामु देखाएर प्रस्तुत गरेको उदाहरणले आफैलाई नौलो पाठ भएको छ ।
नेपाली सडक साँच्चै भन्ने हो भने व्यापार समेत गर्दछ । नपत्याए राजधानीका सडकमा होस् वा जिल्ला सदरमुकामका वा मुलुकका अन्य सहरहरूमा हेर्दा स्पष्ट रुपले हेर्न र देख्न सकिन्छ । सडकले सडकमा व्यापार गरेर व्यापारीहरूलाई नै चुनौती दिएको छ । सडकमा निर्माण सामाग्री राख्ने, पसलका अन्य सामानहरू राखेर यातायातका साधनहरूलाई अवरोध पुर्याउने, सडक नै मिचेर घर टहरा बनाउने जस्ता कार्यहरू समेत भैरहेको देख्न पाइन्छ । सहरको एउटा व्यवस्थित पसलभन्दा पनि राम्रोसँग व्यापार चलेकोले होला व्यापारमा सडकको चासो बढेको हुन सक्छ । सडकले सडकमा यातायातका साधन गुडाउन गुणस्तरीय सडक बनाउने हो व्यापार गर्ने होइन । कालोपत्रे गरेको भोलिपल्टै नपुग्दै भत्किने सडक बनाएर जनता र यातायात व्यवसायीको मन जित्न सक्ने हाम्रो नेपाली सडक संयन्त्रको कुरा गर्दा हामी सडक उपभोग गर्नेहरूलाई लाज लागेर आउँछ । तसर्थ सडकले आफ्नो तडक भडकलाई अरुका सामुन्ने होइन कि आफ्नै सामुन्ने देखाएका खण्डमा अरुले दण्ड जरिवाना गर्न पनि सक्दैनन ।
सडकका बारेमा धेरै कुरा के लेखौ सडकभन्दा जान्ने बुझ्ने र कर्मको भागी अरु नभएका कारण बढी कुरा यहाँ उल्लेख गर्नु उचित त अवश्य पनि हुँदैन । अनुचित हुनुका पछाडि पनि केही खल्तीका कुराहरू हुन सक्छन । अकाृको खल्तीका कुराहरू भनेको बहुतै सजग भएर गर्नु पर्ने कुरा भएकोले सडकको इज्जत धान्ने तवरले गुडने गाडी तान्न सक्ने भएमा त्यो सडकलाई धेरै नभए पनि थोरै तिनो चाहिँ धन्यवाद पर्दछ भन्ने मलाई लागेको छ । सडकले ट्रयाक खोल्दा नै होस् वा ठेक्काको हेक्का राख्दा होस् ट्रयाकमा गाडी गुडाउन शुरु भैसकेको हुन्छ । नेपालको सर्वाधिक चर्चामा रहेको सुपर फास्ट बैकल्पिक बाटोका रुपमा मानिएको निजगढ काठमाण्डौ फास्ट ट्रयाक खोल्दाको अवस्था र सेनाले गरेको कामको बारेमा सार्वजनिक लेखा समितिमा भएको छलफल र छानविनका कुराले भुराहरूलाई समेत तर्सन बाध्य बनाउँछ ।
र अन्त्यमा नेपाली सडकको जय नभए पनि सडक कर्मीहरूको जय होस् , विजय होस भनौ भने उनीहरूले अरुसँग युद्ध गर्नु परेको छैन । प्राप्त बजेटले सडक नबने पनि आखिरी सडकमै खर्चेको कागज प्माणका रुपमा छदैछ । सडकमा गाडी गुडदैन भने त्यो अलग कुरा हो तर नेपालमा सडकको कमी छैन र यातायातको साधनको धनी धेरै भएकोले पनि होला सडक बनाउन नभ्याउँदै गाडी गुड्न हतारिने गरेको । जे होस् नेपाली लोकमार्ग भनौ वा सडक जे भनौ हामीले सडकको माग गरेकोमा भागमा नपरेको कारणले गर्दा सडकले हामीलाई पहिचान गर्न नसकेको हुन सक्छ । हामीले सडक चिनेर मात्र के गर्नु सडकले हामीलाई चिन्दैन । सडकले सडकलाई समेत नचिन्ने जमानामा ऊ स्वयम्ले तडक भडक गर्नु कुनै नौलो कुरा पनि होइन ।
०००
गाईघाट, उदयपुर
Subscribe
Login
0 Comments
Oldest






































