देवीप्रसाद चापागाईंइतिवृत
अभिव्यक्ति आपत्कालीन र फुर्सदको क्षणमा मानिसले देखाएको आचरण र व्यवहारले छर्लङ्ग हुन सकिन्छ। चमेरो, भँगेरो, ढुकुरे, बाँदरे, आदि प्रवृति हामी आफ्नै वरिपरि देखेर दङ्ग छौँ।

देवीप्रसाद चापागाइँ :
इतिहास भन्दा जेठो हो इतिवृतान्त अर्थात इतिवृत्त। यो अलिखित अर्थाथ अझै प्रष्ट भन्दा प्रागऐतिहासिक प्रकृतिको । इतिहास लिखित लिंडेढिपी। मौखिक परम्पराको खरो शत्रु । फेरि भविष्यको पनि खेदो गर्ने ज्याद्रो अस्तित्व। भन्छन् त्यसमा हिजो, अस्ति, पोहोर, परार, अहिले, त्यो बेला, त्यतिबेला, उतिखेर, त्यतिन्ज्याल, आदि शब्दको बाटिकामा औधी नै मैलाउने एकलकाटे प्रकृतिको।
हुन त त्यतिवेला, त्यो बेला, उतिखेर, त्यतिन्जेल जस्ता शब्दहार अन्य कालमा पनि प्रयोग हुनसक्छ। तर शब्दको स्तरमा लगभग भूतकालीन कै अर्थवोध दिन खोज्छ । वाक्यको स्तरमा पुग्दा भने मात्र अन्य कालको डोरी समातेको भेउ बल्ल पाइन्छ। बुझ्ने हो भने हिजोदेखि अस्ति, पोहोर, परार सबैलाई यसले टोक्छ अनि हजम पार्दछ । समयका पत्रहरुले यसलाई कऱ्याप्प पारेको, तपाईँकै फुस्रा आँखाले दृष्टिगोचर गरेकै छ । जसरी बिरालाले आफ्नो न्याउरालाई घाँटीमा ङ्याकेर बोक्छ त्यसैगरी हिजो, अस्ति, पोहोर, परार इतिहासद्वारा नै ङ्याकिन्छन् । तपाईलाई थाहा नभएको हो र ? अनि सबैले बडो होसियारीका साथ इतिहास ठान्दै मजाले पढ्छन् । र टिका टिप्पणीको बाली झुलाउँछन् र आलोचना र प्रत्यालोचनाको माला पहिऱ्याउँछन् । कि कसो ?
हामी सोच्न सक्छौं। इतिहासले सबै कुराको चुरो खोतल्न सकेन भने त्यो इतिवृतान्तको सहारा लिएर, खोल ओढेर थुचुक्क बस्छ । अनि इतिवृत्तान्तलाई कोही इतिवृत्त बोलेर बोक्रे बढत्व पस्किन्छन् । आखिर उही र उस्तै अर्थवोध हुने वैकल्पिक शब्दको प्रयोक्ता बनेर कति नै विद्धता उचो होला त ? अन्य प्राणीहरू एउटै कार्यमा गहिरिएर स्वकर्मलाई उचो बनाएर देखाउछन् । मान्छे भने स्वजातिको प्रशंसा गर्दै एउटा काममा भूत लागेझैँ लाग्न सक्दैन ।बरु प्राकृतिक कृतिमा अप्राकृतिक रुप दिन ऊ भौताउँछ । अब यसलाई इतिहास भन्दै उच्चकोटीको सम्मान दिनुभन्दा बरु इतिवृति वा इतिवृतान्तमा लगेर थान्को लगायो झन्झटै खतम ।
हुँदाहुँदा मानिसका कार्य वा कर्म सबै इतिहासमा लेखिन लायक नहुने भएपछि त्यसलाई इतिवृतान्त वा इतिवृत भन्नुपर्ने वाध्यता झल्क्यो होला अध्येतालाई । अब समलिङ्गी विवाह, अर्थोपार्जनका खातिर आप्नाइने सम्बन्धविच्छेदका घटना, तडकभडकयुक्त जीवनशैलीलाई इतिहासले समेट्न सक्ने कुरा नै भएन त्यसैले यो गन्थनलाई पनि इतिवृत्त नै भन्दै पन्छिएको राम्रो। एउटै चिजलाई भुटेर, पोलेर, उसिनेर, काँचोमा मसला मिलाएर अर्धपक्पमा पिनपान पारेर, बोक्रैसुद्ध, बोक्रो खुइल्याएर मेजोकार्यलाई आधा बोक्रोपछि र आधा इन्डोकार्यमा टाँसिदिएर खाए झै इतिहासमा सबै समेट्न नसकिएकोले यसलाई इतिवृत्तको पोल्टामा हाल्दा पो न्याय होला कि ठानेर है। आफैं अड्कल काट्नुहोस ।
मान्छेलाई शारीरिक बनोट, कामको प्रवृत्ति, छालाको रङ, वस्त्रको चयन, खानेकुराको रोजाइ आदिका आधारमा चिन्न सकिने तर्कवाजहरु हाम्रै पूर्वीय दर्शनका दार्शनिक, दर्शनदिग्गज वा दर्शनपण्डितहरु (वात्सायनले शशक, वृषभ, अश्व, मृग) नारीलाई पदमिनी, हस्तिनी, चित्रिनी शंखिनी) आदिमा वर्गीकरण गरेको भए पनि आजका साइकोलोजिष्टहरुले नारी वा पुरुषलाई उमेरगत आधारमा विकाशात्मक चरण अविष्कार गरेर सबैको चित्तवृति र मनोवृति यसैमा चल्ने तर्क दिए। पूर्ववाल्यावस्था, उत्तर वाल्यावस्था, यौवनावस्था, किशोरावस्था, प्रौढावस्था, मध्यावस्था र वृद्धवस्था आदि विकाशात्मक चरण दिएका छन्। तर पूर्वीय वा पाश्चात्य दार्शनिकहरू एकोरिएर लाग्दा पनि अनेक अपवाद जन्मिएपछि इतिहासको पाटोको पनि केही नचलेर त्यो इतिवृतान्त वा इतिवृतमा गएर ठोकिएको हामी पाउँछौं।
इतिहास प्राय: स्थूल घटनाको पेरिफेरीमा नै चक्कर लगाउँछ। अब बौद्धिक उन्नति, व्यक्तिगत आनीबानी, पारिवारिक झमेला, सामाजिक बन्धन, सांस्कृतिक विकास वा व्यक्ति, परिवार र आफन्तका बाध्यता यी सबै कुरा इतिहासको स्थूल रुपमा कसरी भेट्टाउला त? अब नढाटी भन्दा इतिहास बिरालादन्ते र इतिवृत चाहिँ मुसिकदन्ते पक्कै हो। यसरी नियालेर हेर्दा इतिहास सतहमा कुद्ने र इतिवृत चाहिँ मसिनोसँग मिहिन तरिकाले चल्ने पृथक प्रवृत्ति र प्रकृतिका विषय हुन् भन्न किन हिच्किचाउने ? हामीलाई इतिहासले मात्र पूर्ण बनाउँदैन।
इतिवृतको अध्ययनमा नजाने हो भने जीवन नै अधुरो र अपुरो गर्तमा जाकिन पुग्छ। त्यसो त धार्मिक शास्त्र, साहित्यिक रचना, पुर्खाहरूको उन्नति अवन्नतिको आधार तपाईँ इतिहास पढेर मात्र पाउनुहुन्छ ? इतिवृत पढ्नुहोस्। त्यसभित्र तपाईँका रोजाई र खोजे पूर्ण होला। नभए अपूर्ण र अधुरो ज्ञानले तपाईँलाई अल्पज्ञानीको कित्तामा उभ्याइदिन सक्छ। इतिवृतान्त र इतिवृत्त को स्वरूप र प्रारूप चाहिँ अधिकांश अलिखित र मौखिक परम्परा मा नै बाँचेको भेट्छु। इतिहास त पुराना गरिएका वा नगरिएका कुरालाई बढाई चढाई वा घटाई थिचाइको रूप हो। अब यसरी बुझ्दा हाम्रा धर्मशास्त्र, श्रुतिपरम्परा सबै इतिहासकै गोजीमा रमाउन पुग्छन्। इतिहास त एउटा ठाडो वा वर्णनात्मक निबन्धसम्म पुगेर थुपुक्क थच्चिन्छ।
इतिवृतले काव्यात्मक, कथनात्मक, निबन्धात्मक, अभिनेयात्मक, गेयात्मक, संवादात्मक, वादविवादात्मक, मनोवादात्मक, वक्कृतात्मक, स्वगत कथानात्मक आदि सबै रूप प्रारूप र ढाँचालाई अप्नाएर मानव जीवनको अक्सिजन चाहिँ जतिखेर पनि ढिम्की रहन्छ। अपठित, निरक्षर, विकलाङ्ग जे जति भएखपनि तिनका जीवन भोगाइलाई पनि इतिवृतिले समेटेको हुँदा यसलाई इतिहासको जेठो दाजु बनाइदिँदा तपाईंको चाहिँ के जान्छ र असहमति? इतिहास त शासक प्रशासकभन्दा तल ओर्लन चाहँदैन। ऊ हदै ओर्लिए स्थानीय निकायमा जनप्रतिनिधिसम्म ओर्लिएला। पुरस्कार प्राप्त गर्ने हैसियतमा पुगेका व्यक्ति र जनप्रतिनिधिसम्म झर्ला। तर बाँकी सकारात्मक पक्षहरू मानव जीवनका अन्य झिनामसिना पाटा शासकलाई शासक बनाउने पात्र र परिघटना त्यत्तिकै ओझेलमा परेका हुन्छन्। हो ती छोपिएका पक्षहरूलाई इतिवृत वा इतिवृतान्तले समेट्ने हुँदा यी दुई इतिहास भन्दा बढ्ता व्यवहारिक र न्यायिक पनि छन्। कि कसो ?
हाम्रो समाजमा अनेक पात्र र चरित्रहरू छन्। ती व्यापक चरित्रलाई जाबो इतिहासले मात्र समेट्छ र? त्यो त राजमार्गबाट टाप कसिहाल्छ। इतिवृत्त त राजमार्ग मात्र होइन सहायक मार्ग र गोरेटाहरूमा पनि जान सक्ने हुँदा जीवनका सबै पाटाहरूको हकदार इतिवृत्त हो। इतिहास कदापि होइन। कस्तो लाग्यो तपाईँलाई मेरो अत्तो नपत्तोको बेलीविस्तार ?
इतिहास त जिउँदाहरूको बेलीविस्तार मात्र हो। यसले पूर्वजन्म, पश्चजन्मलाई के को समेट्थ्यो। यो त हाताहाती जीवनको देखिएको भोगाइको अलिकति रुगरुगे जाउलो मात्र। अति भोक लाग्दा जठराग्नी शान्त पार्ने अन्तरिम चलन चाँजो मात्र। इतिवृतान्त र इतिवृतले समेटेको खाइलाग्दो जाइलाग्दो र आइलाग्दो घटनासँग यसको लिँडेगोरु बेचेको साइनो पनि छैन। मात्र लेखोटमा आफूलाई बचाएको इतिहासले इतिवृत्त र इतिवृतान्तसँग जोरी खोज्नु त हात्तीको मुखमा जीरा जस्तै हो काजिसाहेव अर्थात् मैयासाहेवनीहरु ! मसँग नरन्किनुहोस् है चित्त नबुझे तपाईं पनि लेखन्ते बनेर पल्टिन पाउनुहुन्छ नि। अब तपाईं स्वयं तपसिलका घटना, उदाहरण र परिवेशलाई इतिवृति भनेर सही छाप मार्न तयार हुनुहुन्छ कि असहमत ?
इतिवृतको स्वाद तपाईँले पाउनुभएको छैन भने अहिले नै खाइहाल्नुहोस्। यो कथानात्मक छ। कोहीकोही दृष्टान्त र कोहीकोही कुथुङ्ग्री हो भनिदिएर अर्काको लेखलाई पनि खोजिहाल्छन् बिचराहरुलाई पेट पाल्नु छ करोडको घरमा एक दुई सम्मान पत्र झुन्ड्याउने सोच छ। एक दुई पुरस्कार गुठीका प्रशंसापत्र देखाएर आफन्त र साथीभाइका माझ बढत्व पस्किनु छ। तर म यसलाई कुनै विधामा टाँस्दिन इतिवृतमा नै लगेर कित्ताकाट गर्दा राम्रो ठान्छु। अँ एकपटक एउटा कथानात्मक इतिवृत सुनेको थिएँ। कुनै स्थान भनौँ वा बिहान। वरिपरि थुप्रै मोटाघाटा र सिकुटे लाशहरु पनि थिए अरे। गिद्धहरू मोटाघाटा लासहरूलाई नठुगी एउटा हाडैहाड मात्र बाँकी रहेको सिकुटे लासलाई ठुँगिरहेका रहेछन्।
त्यो देख्ने मानिस तीन छक मात्र हो र उन्नाइस छक नै परेछ। धेरै अचम्मित भएर अनुमान लगाएछ। बिचरा ! उसको बुद्धिले त्यो रहस्यको भेउ पाउन सकेनछ। अरुभन्दा ऊ बढी जिज्ञासु थियो । हरेक जिज्ञासाको उत्तर उसले खोजेरै छाड्थ्यो। ऊ गिद्दको राजा कहाँ पुग्यो र त्यसको रहस्य खोतल्ने यत्नमा लाग्यो। हामी पूर्व जन्म एक जन्म अगाडि भएपनि मान्छे नै छ भने उसको लास मात्र खान्छौँ। त्यो हाम्रो परम्परा हो। गिद्दको राजाले यो कुरा बताउँदा उझने दङ्ग परेछ। हामीलाई चाहिँ किन विधाताले ठगेका होलान् ? हामी अघिल्लो जन्ममा के थियौँ? उत्तर हामीसँग छैन त ? तपाईंहरु भाग्यमानी प्राणी पो हुनुहुँदो रहेछ। मान्छेले दिक्कदारी पोख्यो । लौ, यो प्वाख लैजाऊ । तिमीलाई एक हात हप्ताको लागि त्यसपछि फिर्ता लेउ त्यो मान्छे गिद्दको प्वाख लिएर आफ्नै घरतर्फ लागेछ। ऊ सरासर कतै नगई घरतर्फ हानिएछ ।
हत्त न पत्त पत्नीलाई हेऱ्यो । मेरी बाबै ! पत्नी त अघिल्लो जन्मको कुकुर्नी पो रहिछे। त्यो दिन बच्चाले खेलौना पाएझै भोक प्यास सबै बिर्सेर गाउँ टोल सबैतिरका मान्छेका पूर्वजन्म हेर्दै हिँड्यो। अघिल्लो जन्ममा मान्छे भएकाहरू जम्मा तीनजना मात्र भेट्यो उसले। उसलाई चित्त बुझेछ र त्यो प्वाँख फिर्ता गर्नु अघि पूर्व जन्ममा मान्छे नै भएकी केटी खोजेर विवाह गर्न चाहिँ भ्यायो रे त्यसले। अब कुथुङ्ग्री भनौँ वा इतिवृत समाप्त हुन्छ। अब तपाईँ हामीले चित्त दुखाएर के काम ? विधाताकै परिपन्च्याई भएपछि। हामी अलिक दिन घोटिलयौँ त यसमा सत्यता छ कि भन्ने लागेनछ भने त तपाईंकै गोठालो म । चित्त बुझ्यो कि छैन अब यस कुथुङग्रिलाई आधार मानेर केही प्रवृत्ति केलाईकुलाई गर्न सकिन्छ तपाईँ हामी जो कोही पनि यसभित्र पर्न सक्छौं।
तुलेगाँडो चित्तसँग मिल्दो चरित्र-हामी तुलेगाँडो शब्दको अपव्याख्या गरिरहेका छौं। समाजमा अरुभन्दा बढी जान्ने व्यक्तिलाई तुलेगाँडो भनिदिएर शब्दकै खिल्ली उडाउँदा पनि चुपचाप सहेर बसेका छौँ । यथार्थमा तुलेगाँडो शब्द व्युत्पत्तिको आधार तराईको घना जंगलमा पाइने एक प्रकारको अनौठो पन्छीको स्वभावसँग गराइएको साक्षत्कार हो। तराईको अत्यन्त घना एवं अध्यारो जङ्गलमा गुँड बनाउने यो चरा उसको गुँड वा वासस्थान वरिपरि मानिस वा अरु कुनै जीव आकस्मात पुगेमा अचम्मको कर्कस आवाज निकालेर कराउँछ। जुन आवाजले त्यहाँ कुनै जीवजन्तु वा पन्छी टिक्न सक्दैन भनिन्छ। अब हामी माथिकै को कुथुङ्ग्रीलाई अगाडि सार्न सक्दछौं। पूर्व जन्ममा तुलीगाँड चरो यस जन्ममा मनुष्य भई जन्मियो भने स्वभाव ठ्याक्कै र दुरुस्तै हुन सक्छ। सत्य असत्य जेसुकै होस् मेरो अगाडि कोही ठूलो पल्टिन पाइन्न भन्ने उर्दी उसले लगाउन भ्याइहाल्छ । ‘अन्यत्र लोकप्रिय बन् अर्थात् इतिहास लेखाऊ तर मेरो अगाडि क्रियाकलाप बन्द गर’यो खालको अभिव्यक्ति दिने पात्र पूर्व जन्ममा तुलीगाडँ हुन सक्ने अनुमान हन्रेि ट पर्सेन्ट नभए पनि नाइन्टी पर्सेन्ट सही हुन सक्ला ।
स्वानो चित्त (कुकुरसँग मिल्दो चित्त धारी) आफूसँगै लडिबुडी गर्ने, साथसाथै हिँड्ने व्यक्तिलाई टोकेर, चिमोटेर माया गर्ने तर अलिक पर टोल समाज र राष्ट्रमा रहेकालाई देखि नसक्ने मनोवृत्तिका मानव पूर्वजन्ममा (स्वान) भएको अन्दाज काट्दा अन्याय हुन्न कि? अतिथि या अभ्यागत देखिनसहने मानवाकृति पनि यसैको प्रवृत्तिसँग मिल्दोजुल्दो हुन के बेर ? भोक स्वयंलाई मात्र लागेको देख्ने चरित्र पनि यसै वृतिको कोटीमा थुपार्दा अन्यायमा दर्ज हुनु नपर्ला कि ? कुनै दिन अभ्यागतलाई खुवाउन वा सुताउन परे तीन वर्ष तक गफको विषय बनाइरहने मानववृति यस कोटीका उत्कृष्ट नमुना हुन् ।
वराहचित्तो हृदयी- बदेलको स्वभावसँग मिल्दाजुल्दा प्रवृत्तिका मानिसहरू यस कोटीका सशक्त उम्मेदवार हुन सक्छन्। शत्रुको पन्जाबाट उम्किन सक्दो प्रयत्न गर्ने तर जति बल गरे पनि अन्त्यमा हारमा टुंगिने प्रवृत्ति वराहको स्वभावसँग ठ्याक्कै मिल्दोजुल्दो भेट्न सकिन्छ। खानपान जतिखेर पनि गर्न सक्ने, सन्तान वृद्धिमा, अत्याधिक ध्यानकेन्द्रित प्रवृत्ति यससँग मिल्न जान्छ। सन्ततिको ज्यान बचाउन जति पनि कुद्न र बुर्कुसी मार्न सक्ने प्रवृत्ति यस कोटिका मान्छेले टपक्कै टिपेको देखिन्छ।
कछुवाचित्तो हृदयी मानव- बिस्तारै हिँड्ने र काम गर्ने। हिँड्दा र काम गर्दा सँगैको सहकर्मीलाई समेत झिजो लाग्ने गरी काम गर्ने मनोवृति यस अन्तर्गत अटाउँछ। स्नान, पठन, लेखन यी सबै कार्यमा ढिलासुस्ती गर्ने। प्राय: स्थायी जागिरमा नाम निकाल्न झिजो मान्ने। अस्थायी जागिर भएपनि वा अस्थायीमा नै झुन्डिएर आफ्नो जागिरको प्रशंसा गरिरहने व्यक्ति यस कोटीमा परेको हो कि जसो अनुमान लगाउन सकिन्छ।
व्वाँसो चित्तो हृदयी- यो कोटीमा अगाडि ठिक्क पछाडि दिक्कको लोकआहान चरितार्थ पर्ने पात्र भेट्टाउन सकिन्छ। ओठेभक्त अनि जस्केलाबाट कार्य सम्पन्न गर्ने मनुष्यलाई यस कोटीमा राखी वर्गीकरण गर्नु नजायज पक्कै नहोला।
प्रवृतिगत पक्षलाई केलाउँदै जाँदा जति जीव, वनस्पति र पंक्षीहरू छन्। ती सबैका प्रवृतिसँग मिल्ने मनुष्यहरू भेटिन्छन् । जीवमा सिंह, बाघ, स्याल, भालु, जरायो आदिको व्यवहारसँगै ठ्याक्कै मिल्ने । पन्छीमा बाझ, गिद्ध, चिल, भंगेरा, चमेरो, चिवे आदिका प्रवृत्ति । उभयचर, सरिसृप, मेरुदण्डीय अमेरोदण्डीय यी सबै प्राणीका चित्तसँग हुवहु मिल्ने स्वभाव र आनीबानी हेर्दा ईश्वर साँच्चैका कलाकार हुन् भन्ने लाग्दछ। हिँडाइ, खुवाइ, बोलाइ, संवेगको अभिव्यक्ति आपत्कालीन र फुर्सदको क्षणमा मानिसले देखाएको आचरण र व्यवहारले छर्लङ्ग हुन सकिन्छ। चमेरो, भँगेरो, ढुकुरे, बाँदरे, आदि प्रवृति हामी आफ्नै वरिपरि देखेर दङ्ग छौँ।
चरित्रको पहिचान गर्न गाह्रो हुने बाह्य आवरण र आन्तरिक व्यवहारको पृथकता बोध चमेरे प्रवृत्ति हो भनेर ल्याप्चे मार्नु नाजायज हैन। पेशा एउटा धान्ने, कर्म बिल्याउँटो गर्ने पात्र आज जताततै भेटिनुले ती पूर्वजन्मका चमेरा होइनन् होला भन्ने आधार पुरा गर्ने कसको खुती छ र ? यसरी वर्गीकरण गर्न खोजे कि चल्ला जीवन नचले बुद्धिविलासको मौका त मिल्यो नि। कि कसो ?
०००
२०८१-०८-२३
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest








































