उमेश रेग्मीजुम्राको हड्ताल !
जुम्राहरूका साना समूह कपालभरि फैलिन थाले। हरेकले आफ्नो ठाउँमा काम रोक्यो । जुम्राहरूले “स्वतन्त्रता चाहिन्छ !” र “जुम्रा अधिकार जिउँदै रहोस् !” भन्ने नारा लगाए ।

उमेश रेग्मी :
जुम्रालाई माया गर्न थालेको मैले पहिलेदेखि नै हो । बचपनमा आमाले “बाबु नुहाउन आइज” भनेर जति कराए पनि आफ्नो प्यारो जुम्राको घर बिध्वंश हुन्छ भन्ने डरले अनेक बहाना बनाउने गरेको याद ताजै छ अहिलेसम्म । त्यसैले होला त्यो बेलाको “जुम्रे केटो” अहिले “जुम्रे बुढा”भनेर चिनिन थालेको । जुम्राको लागि छुट्टै दुनियाँ बन्यो मेरो टाउको।
आफ्नो टाउको छाम्दा सधैं एउटै विचार आउँछ- के यो कपाल हो कि जुम्राहरूको आधुनिक सहर ? हुन त, धेरैले मलाई जुम्राहरूबाट मुक्त हुन सल्लाह दिएका थिए । तर मेरो जवाफ सधैं उस्तै हुन्थ्यो, “जुम्रा पनि हाम्रो जीवजन्तु हो । खै, तिनीहरूको पनि बाँच्ने अधिकार छैन र ? यिनीहरूलाई माया गर्नु पर्छ !” मेरो यो ‘प्राणी माया ले कहिले काहिँ गाउँसभा नै तात्छ । सल्लाह आउने गर्छन् अक्सर, “अब तिमीले जुम्राको बस्ती हटाऊ। गाउँका बच्चाहरू पनि तिमीबाट डराउन थालेका छन् ।“ मेरो उत्तर सदैव उही, “हाम्रो गाउँले बाँदरलाई भगवान् मान्छ । सर्पलाई पूजा गर्छ। अनि यिनलाई किन घृणा गर्ने ? के हामीले जुम्राको हक खोस्ने हो ?”
घरबुढीले जबर्जस्ती अस्पताल पुर्याई एकपटक, चेकअप गर्न- जुम्रा निमिट्यान्न पार्नु पर्यो रे । मेरो ताल देखेर डाक्टर हैरान् । उनले भनेका कुरा बिर्सिन गाह्रै छ, “यतिका जुम्रा पाल्न त तपाईंलाई साह्रै मिहिनेत भएको होला ।” मेरो मुस्कान सहितको जवाफले डाक्टर दङ्ग परेको अहिले पनि हिजै जस्तो लाग्छ मलाई, “हजुर, मिहिनेत मात्रै हो र ? यिनीहरूलाई कहिलेकाहीँ पराल हालेजस्तो टाउको हल्लाएर खेल्न दिन्छु, अनि हरेक शनिबार त बास्केटबल नै खेल्छन्।” अस्पतालमा यस्तो रमाइलो भएपछि डाक्टरले पनि एउटा रमाइलो उपाय सुझाएका थिए त्यतिवेला- मेरो टाउकोमा ‘जुम्रा पार्क’ खोल्ने । टिकट काट्नेहरूलाई जुम्रा हेर्न दिने, अनि आम्दानी बढाउने ।
अस्पतालबाट फर्किएपछि मैले यो आइडिया अस्वीकार गरेँ । “जुम्रा मेरो इज्जत हो । यो बेच्न सक्दिनँ।”
मेरो जुम्रा पाल्ने आदर्शले गाउँमा एउटा कथा मात्रै हैन, एउटा नयाँ परम्परा बनायो- “प्राणी प्रेमको असली पाठ।”
आफ्नो टाउकोलाई जसोतसो तकियामा अड्याएर सुत्ने तरखर भइरहेको बेला अकस्मात जुम्रा कलह शुरु भयो एकदिन । एउटा जुम्राले आफ्नो साथीलाई सिमाना पार गर्ने प्रयास गर्दा- “ओ साथी, कता हिंड्दै छस् ? यो हाम्रो जुम्रा नगरपालिकाको सिमाना हो !” भन्दै झगडाको शुभारम्भ गरेछ। यो सामान्य संवाद जस्तो लाग्न सक्थ्यो, तर सिमाना भन्ने शब्दले जुम्राहरूको मनमा ठूलो प्रश्न खडा गरिदियो ।
किन यो सिमाना बनाइयो ? किन हामीलाई स्वतन्त्र हिँडडुल गर्न दिइँदैन ? केही जुम्राहरूले महसुस गरे कि यो सिमाना त ठूला जुम्राहरूको षड्यन्त्र हो । “हामीलाई सधैं सिमानाभित्र कैद राख्न खोज्नेले हाम्रो स्वतन्त्रता खोस्दैछन् !” उनीहरूले भने । आक्रोश बढ्दै गयो, र जुम्राहरूले एउटा ठूलो सभा बोलाए। त्यो सभामा जुम्रा र लिखाहरुको बराबरको उपस्थिति थियो । लिखाहरु आफूलाई ‘सानो जुम्रा’ भन्न मन पराउँथे।
सभामा साना जुम्राहरूले आफ्नो आवाज उठाए । “हामीसँग काम गर्न दिनभर समय छैन”, एउटा जुम्राले भन्यो । “ठूला जुम्राहरू हामीलाई शोषण गर्दैछन् । अब हाम्रो पालो हो !” त्यही दिन, हड्तालको घोषणा गरियो। “अब हामी कपालबाट कुनै नुन तेल निकाल्ने छैनौं । कपालका मालिकलाई यो शोषणबारे जानकारी गराउनुपर्छ !”
जुम्राहरूका साना समूह कपालभरि फैलिन थाले। हरेकले आफ्नो ठाउँमा काम रोक्यो । जुम्राहरूले “स्वतन्त्रता चाहिन्छ !” र “जुम्रा अधिकार जिउँदै रहोस् !” भन्ने नारा लगाए।
पृथ्वी जस्तै डल्लो डल्लो आकारको मेरो टाउकोमा यी जुम्रा र लिखाहरुको हड्ताल चल्न थालेपछि आफ्नो निन्द्रा हराम भएको गुनासो कोसँग गर्नु । जुम्राको पक्ष्य र लिखाको पक्ष्य विच मारमुङ्ग्री चल्दा आफूलाई टाउको चिलाएर उधुम हुन्छ । फेरि यिनीहरुको हड्तालमा मौका छोप्न आउने उपियाँहरु एक कुनाबाट अर्को कुनामा उछिट्याउँ खेल्दा हुने हविगतको वयान गरि साध्य नै छैन। हडतालको लहरले आफ्नो टाउकोमा उपद्रो गर्दा हडतालको आविष्कारक माथि रन्का नछुटेको एक दिन पनि भएन मलाई ।
हड्ताल साम्य पार्ने उपाय नअपनाएको हैन मैले पनि। कहिले बुढीको साबुन प्रयोग गरियो त कहिले छोरीको स्याम्पो, तर हड्ताल रोकिएन । फलस्वरूप जुम्राहरूले आफ्नो अधिकारका लागि नयाँ सन्धि गर्न सफल भए । अब त्यो सहर केवल जुम्राहरूको आधुनिक सहर मात्र रहेन, बरु विद्रोहको प्रतीक बन्यो। हड्तालले एउटा सन्देश दियो- साना जुम्राहरूले पनि ठूलो परिवर्तन ल्याउन सक्छन् ।
०००
लण्डन
Subscribe
Login
0 Comments
Oldest







































