साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नव वर्षको शुभकामना दिन्न लिन्न

बाङ्गो चिताउनेहरूको साङ्गोपाङ्गो दूधको पोखरी बनाएकोबाट थाहा पाइएको हो । “मुखमा रामराम बगेलीमा छुरा” हुनेहरूले दिएको शुभकामना सुन्दा हाँसो उठ्छ । रामरामको माला जपेर भाला खोप्ने छुरी रोप्ने ।

Nepal Telecom ad

रामप्रसाद अर्याल :

अहिले अविरल वर्षाले वर्षाएको, बाढीले तर्साएको र गएको पहिरोभन्दा धेरै शुभकामनाको ओहिरो झरिरहेको छ । भर्खरै मात्र एक प्रज्ञाको धारिलो शुभकामना पारिलो माघको घाम बनेर आयो । मनोरथ चूर्ण होस्, अहँकार पूर्ण होस् । भण्डाराको खान नपाउँ समुन्द्र पार जान नपाऊँ ।

विद्वानको कुरै अर्कै । चितायो कि बितायो । जिन्दगीको रथ नै बाढीको भेलमा चूर्ण चूर्ण भएको छ । कतिपयको जिन्दगी पहिरो भित्र पूर्ण पूर्ण भएको छ । यसपटक उल्टो वरदान मिलेको छ । विजया दशमी भाइटीका (तिहार), छठ, नेपाल सम्वत माघे संक्र्िरन्त आदिको शुभकामनाका साथ प्राकृतिक प्रकोपको माझमा ज्यान गुमाउनेहरूका लागि गरिने श्रद्धाञ्जली र समवेदना सभा । कतै आगोलागी त कतै रेल मोटरगाडी दुर्घटना ।

समयसमयमा प्राकृतिको रिस चुलिने गर्छ । अहिले प्राकृतिको रिस चुलिएको मात्र नभएर पोखिएको छ । प्राकृतिको मात्र नभएर आम नागरिकको पनि रिसको धारो उधारो नभै हाता हाती बगेको छ । कालो झण्डा देखाएर उडेको छ । मनोरथ पूर्ण हुन वातावरण अनुकूल हुनु पर्दछ । वातावरण अनुकूल सिमित माफिया हरूको मात्र छ । असिमित मान्छेहरूको चाहना सिमित हुने कुरै भएन । बडा दशैंको आशीर्वाद पनि ठिक्कसँग आफूलाई पुग्ने गरी माग्नु नि ? जतानामको माग्यो , जथाभावी फलाक्यो पुग्ने होइन । त्यसकारण यस पाली म शुभकामना दिन्न र लिँदा पनि लिन्न ।

के मैले दिएका आशीर्वाद छोरा , नाति पनाति भान्जाभान्जीलाई पुगेको छ ? उनीहरूले सुख पाएका छन् ? पढेर देशमा रोजगार भएका छन् ? छैनन् । मेरो आमाबाले दिएको आशीषले मैले अमनचय गरेको छु र ? छैन भने नेताको जस्तो झुटो आश्वासन किन दिने ? किन लिने ? आत्मरतिमा रमाउन । विगत पीडादायी थियो । आगत कस्तो हुने हो ?कल्पनाको कुरा । कल्पनामा रम्नुभन्दा यथार्थ बोकेको वर्तमानमा जम्नु बुद्धिमानी ठर्हछ ।

वर्तमानको समस्या हामी भोगिरहेका छौँ । समस्याबाट पार पाउन सङ्घर्ष गर्ने हो । काम गर्ने हो । बसेर आषिक मागेर खान पुग्ने र पाइने जमाना होइन यो । यो जमानामा कल्पवृक्ष र कामधेनु गाई हराई सकेका छन् ।

कुन पुरेतको आशीर्वचनले यजमानको भलो भएको छ ? मलाई थाहा छैन । मान्यजनको आषिकले कुन पाठक जान्ने भयो ह ? भगवानमा अनुरक्त कृपापात्र भक्त अर्जुनलाई त श्री कृष्णले कर्म गर भनेका छन् , भने कर्म नगरिकन आषिर्वचन दिने शुभकामना लिने, यति सस्तो भयो शुभकामना ? यति निम्छरो भयो आशीर्वाद ?

तिम्रो भलाई होस् । मेरो भलाई होस् । सबको भलाई होस् । सबको कल्याण होस् । सबको मङ्गल होस् । यो भनाइसँग म पटक्कै सहमत छैन । सबै भन्नुको मतलब चोर, डाँका, बद्मास, हत्यारा, बलात्कारी, घुसखोरी ,कामचोर ,दामचोर ,ठगहरूको पनि भलाई हो । आसुरी प्रवृत्तिको भलाई, भयो हित भयो र कल्याण भयो, जित भयो भने यो समाज कस्तो होला ? उत्तर आउला अहिले जस्तो । त्यसो भए शुभकामना नदिन नै जाती । असुरहरूको जय भन्नुको मतलब सुरहरूको भय ,र जीबन त्रासमय बन्नु हो ।

शुभ होस् । कल्याण होस् । मङ्गल होस् । सुख शान्ति प्रगति होस् । निरोगी हुन् , हुन पाइयोस् भन्नु मानव मात्रको भलो चिताउनु हो । उत्तम विचार हो भन्ने तर्क अगाडि आउला ? यसमा म के भन्छु भने मानव मात्रको कल्याण भन्नुको मतलब स्वार्थी कुरा । कुटिलताको भरिएको मान्छेको हित गर्दा संसारमा भएका अरु जीवजन्तु जनावरको अहित गर्न मिल्छ र ? बुद्धिजीवी मान्छेले । पशु अधिकारवादीहरूले के भन्लान् ?

कसैले डेढअक्कल लगाउला – मान्छेले मान्छेलाई अपहरण गर्ने , बलात्कार गर्ने, सम्पत्ति लुट्ने, मार्ने जमानामा बोल्न पनि नजान्ने पशुको कुरा बेप्रसङ्गको । काट्न र काटिन जन्मिएका हुन् पशुहरू । “जीव जीवस्य भोजनम्‌” त्यसै भनिएको होइन । ठूला माछाले साना माछालाई खान्छन् नैै । यहाँ जालमा पर्ने र थुनिने भनेको साना माछा नै हुन् । ठूला माछा अटाउने जाल बनेका छैनन् । ढोग्सामा पर्दैनन्, पर्दैनन् के भन्नु ढोग्सामा अट्दा पनि अट्दैनन् । ढोग्सामा परे रोएर कराएर , जुलुस प्रर्दशन गरेर, धरौटी तिरेर वकिल किनेर छुटी हाल्छन् । नछुटे रिस उठेकालाई कुटिहाल्छन् र कुटाई हाल्छन् ।

यस पटक शुभकामना दिन्न यसै कारण भने कि शुभकामना ज्यादै सस्तो भयो । सस्तो चिज कस्तो कस्तो लाग्छ मलाई । मैले लिउ कि नलिउ भनेजस्तो लाग्छ । आफैंलाई मन नपरेको वस्तुअरूलाई दिएर अपमान नगर्दा राम्रो हुन्छ । फेरि म समदर्शी छु । त्यसैले आफूले नरुचाएको कुरा तपाईँहरूलाई किन दिऊँ ? किन लिऊँ ?

एकथरी मान्छेले भन्ने गर्छन्‌– सोझो, पवित्र मनले चिताएको कुरा पुग्दछ । तर अर्को थरी मान्छेको तर्क छ – आफूले मात्र सोझो चितायो अर्काले बाङ्गो चिताएर बिताउँछन् । बाङ्गो चिताउनेहरूको साङ्गोपाङ्गो दूधको पोखरी बनाएकोबाट थाहा पाइएको हो । “मुखमा रामराम बगेलीमा छुरा” हुनेहरूले दिएको शुभकामना सुन्दा हाँसो उठ्छ । रामरामको माला जपेर भाला खोप्ने छुरी रोप्ने ।

जन्मदिनको शुभकामना, नववर्षको शुभकामना, तीज, दशैं, तिहार छठ, नेपाल सम्वत् ईद, रमजान, क्रिसमस उधौली र उभौलीको शुभकामनाले खोइ त काम गरेको ? नागपञ्चमीमा नागदेवतालाई पूजा गरेकै हो । दूधको धार बहाएकै हो । तर किन यति धेरै पानी पारेको, विष झारेको ? घरबास उठाउने गरी । दूध पिलाएपछि त अमृतको वर्षा गर्नु नि मान्छेलाई डस्न छाडेर ।

अहिले शिक्षकहरूलाई शुभकामना दिऊँ भने उनीहरूको माग पूरा हुुनु हो । सबैको अभिभावक बनेको सरकारले त माग दिने छाँटकाट १२ औँ दिन सम्म पनि गरेको देखिदैन । म जाबो फिस्टेले माग पूरा होस् भनेर हुने होइन ।

यसो भन्दै गर्दा कोही तर्क शास्त्रीहरूले बक्बकाउँदै र भक्भकाउँदै भन्लान् । आफैंले लुकाएर राखेका, मीठा मसिना चाखेका, अगुवाहरूले त मान्छे चिन्दैनन् । गाउँको बाटो हिँड्दैनन् । उनीहरू कुर्सीमा बसीबसी आम जनतालाई डसिरहेका छन् भने सर्पले डस्नु त उसको कर्म नै हो, धर्म नै होे । यस्ताले, तेस्ताले दिएको शुभकामना कस्तो होला ? त्यसैले यसपटक म शुभकामना लिन्न र दिन्न । तपाईँले आफ्नो खुसी गर्नुहोस् । मैले तपाईलाई केही भन्ने हैसियत राख्दिन ।

०००
पाल्पा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
हस् हजुर ! हुन्छ हजुर !!

हस् हजुर ! हुन्छ...

रामप्रसाद अर्याल ‘अविराम’
भाँजी मार्नु

भाँजी मार्नु

रामप्रसाद अर्याल ‘अविराम’
जङ्क पोलिटिक्स

जङ्क पोलिटिक्स

रामप्रसाद अर्याल ‘अविराम’
फुक्लिएको दाँत

फुक्लिएको दाँत

रामप्रसाद अर्याल ‘अविराम’
तैँले गर्दा

तैँले गर्दा

रामप्रसाद अर्याल ‘अविराम’
तब पो हुरी !

तब पो हुरी !

रामप्रसाद अर्याल ‘अविराम’
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x