पदम भण्डारीझोले बन्न नेपालमै आईजा: अमेरिका नबस छोरा (२)
"छोरा, अमेरिका नबस, झोले बन्न नेपालमै आईजा ! यहाँ आएर झोले बनिस् भने सबैकुरा पुग्छ, कसैले केही गर्दैन।" यो आवाज नेपालको हरेक कुनाबाट गुञ्जिनुपर्छ ताकि हाम्रो देश 'साँच्चिकै' समृद्ध र 'झोले' हरुका लागि न्यायपूर्ण बनोस् ।

पदम भण्डारी :
छोरा !, तँ अमेरिकामा के दुःख पाएर बसिरहेको छस् ? आईजा नेपालमै बस् । ‘म झोले हो’ ! बस्, यो शब्दलाई स्वीकारोक्ति गर्न सकिस् भने पुग्यो ।
नेपालमा पछिल्लो समय चर्चित केही काण्डहरुलाई हेर्दा नेतृत्वको नैतिक पतन स्पष्ट देखिन्छ तर यस्ता काण्डहरुमा झोलेहरुको मौन समर्थनले ठूलो भूमिका खेलेको छ । यी घटनाहरुले झोले संस्कृतिको विकराल रुपलाई छर्लङ्ग पार्छ र देखाउँछ कि कसरी ‘झोले’ भएर यी सबै ‘खेल’ मा सहभागी हुन सकिन्छ ।
कोभिड-१९ को समयमा स्वास्थ्य सामग्री खरिदमा ठूलो अनियमितता भयो जसलाई ओम्नी काण्डको नामले पिचित छ । २०७६ सालमा कोरोना भाइरसको विश्वव्यापी महामारी फैलँदै गर्दा नेपालमा स्वास्थ्य सामग्रीको चरम अभाव भयो । यो संवेदनशील घडीमा सरकारले ओम्नी समूहलाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दियो, जसमा करोडौंको अनियमितता भएको आरोप लाग्यो । बजार मूल्यभन्दा अत्यधिक बढी मूल्यमा सामग्री खरिद गरियो र गुणस्तरमा समेत प्रश्न उठ्यो । यस्तो गम्भीर राष्ट्रिय संकटको बेला भएको भ्रष्टाचारको विषयमा सत्तापक्षका झोलावाहक कार्यकर्ताबाट कुनै ठूलो विरोध वा आलोचना सुनिएन । उनीहरुले यो सरकारको ‘सद्भावपूर्ण प्रयास’ भन्दै ढाकछोप गर्ने प्रयास गरे, जसले गर्दा वास्तविक दोषीहरुमाथि प्रभावकारी कारबाही हुन सकेन । तैंले बुझिस् छोरा, यहाँ कसैलाई केही हुँदैन, फाइदा लिनेले लिइरहन्छ ।
नेपाल वायुसेवा निगमको विमान खरिद अनियमितता वाइडबडी प्रकरणको नामले चिनिन्छ । नेपाल वायुसेवा निगमका लागि दुईवटा वाइडबडी विमान खरिद गर्दा ठूलो रकमको अपचलन र अनियमितता भएको आरोप लाग्यो । यो खरिद प्रक्रियामा अघिल्लो सरकारका पालामा शुरु भएर वर्तमान सरकारको पालासम्म पनि अनियमितता जारी रह्यो । गुणस्तरहीन र आवश्यकताभन्दा महँगो विमान खरिद गरिएको, आवश्यक अनुसन्धान नगरि प्रक्रिया अगाडि बढाइएको जस्ता आरोपहरु लागे । तर पार्टी कार्यकर्ताले यसको आलोचना गर्नुको सट्टा, यसलाई प्रतिपक्षको ‘राजनीतिक चाल’ भन्दै पन्छाए र नेताको बचाउमा लागिपरे । यसले निगमलाई ठूलो आर्थिक भार पारेको छ, तर त्यही अनियमिततामा संलग्नहरुले त मोज गरे नि! तैंले यही खेल खेल्न सिक्नुपर्छ।
सरकारी जमिन व्यक्तिगत नाममा सारिएको काण्ड ललितानिवास जग्गा हिनामिनाको नामले परिचित छ । काठमाडौंको बालुवाटारस्थित सरकारी जग्गा (ललितानिवास) व्यक्ति विशेषको नाममा सारिएको यो प्रकरण नेपालको इतिहासकै ठूलो जग्गा घोटालामध्ये एक हो । यसमा पूर्वप्रधानमन्त्री, मन्त्रीहरु, उच्च पदस्थ कर्मचारीहरु र भूमाफियाहरुको संलग्नता देखियो । यो प्रकरणमा नेताहरु मुछिएपछि पनि ‘जनताले थाहा पाएपछि फिर्ता गरियो’ भन्ने जस्तो हास्यास्पद तर्क दिइयो। झोले कार्यकर्ताहरुले यसमा पनि चुपचाप साथ दिएका छन्, ‘नेताले गल्ती गर्नुभयो भने पनि फिर्ता त गर्नुभयो नि’ भन्दै दोषलाई सामान्यीकरण गर्ने प्रयास गरे । छोरा, यो यस्तो भूमि हो, यहाँ यस्ता स-साना कुराले केही फरक पर्दैन, मुख्य कुरा त फाइदा कसले लियो भन्ने हो ।
तत्कालीन सञ्चारमन्त्रीको ७० करोड घुसकाण्डको अडियो झोले हुनुको फाईदाको बलियो प्रमाण हो । एक तत्कालीन सञ्चारमन्त्रीको ७० करोड घुस मागेको अडियो सार्वजनिक हुँदा पनि अनुसन्धानको कुनै निष्कर्ष नआउँदा कार्यकर्ताहरु मौन बसे । यो अडियोले सार्वजनिक पद धारण गरेका व्यक्ति कसरी भ्रष्टाचारमा संलग्न हुन्छन् भन्ने कुरा छर्लङ्ग पारेको थियो । तर, नेताको बचाउमा लागेका झोलेहरुले यसलाई ‘राजनीतिक प्रतिशोध’ वा ‘आवाज सम्पादन’ गरिएको भन्दै सत्यलाई ढाकछोप गर्ने प्रयास गरे । यस्तो ‘क्षमता’ हुनुपर्छ छोरा, ताकि कोही तैंलाई प्रश्न गर्न नसकोस् ।
टेलिकम कम्पनीलाई कर छुट दिएको एनसेल कर छुट प्रकरण अर्को चर्ति काण् हो । एनसेलको स्वामित्व हस्तान्तरणमा पूँजीगत लाभकर छली भएको र राज्यले अरबौं रुपैयाँ राजस्व गुमाएको विषयमा व्यापक विवाद भयो । ठूलो जनदबाबपछि केही रकम असुल भए पनि, यसमा संलग्न ठूला माछाहरुमाथि कारबाही भएन र एनसेललाई कर छुट दिएर राष्ट्रलाई ठूलो आर्थिक हानि भएको विषयमा पनि झोलावाहकहरु नेताको बचाउमै देखिए । पछि चर्चामा आयो, नेपालमा एनसेललाई कर छुट दिएको रकम कम्बोडियाको टेलिकममा नेताका नाममा लगानी भएक रहेछ । यसमा पनि खझओलेहरुले आफ्ना नेताको बदनाम गर्न खोजिएको भन्दै बचाउ गरे । यहाँ त यस्तै हुन्छ, कानुन मान्नेहरुले दुःख पाउँछन्, नमान्नेले फाइदा लिईरहेकै हुन्छ ।
यी काण्डहरुले देखाउँछन् कि वर्तमान झोले संस्कृतिले नेताको जवाफदेहिता खोज्नुको सट्टा, उनीहरुलाई ढाकछोप गर्न भूमिका खेलिरहेको छ । झोले हुनु भनेको मौन सहमति दिनु हो, गलतका पक्षमा उभिनु हो । यसले दीर्घकालीन रुपमा लोकतान्त्रिक संस्थाहरुलाई कमजोर बनाउँछ र भ्रष्टाचारलाई मौलाउने अवसर दिन्छ । नीति निर्माणमा जनताको सरोकारभन्दा नेताको चाहना हावी हुन्छ, जसले अन्ततः राष्ट्रको दिगो विकासमा बाधा पुर्याउँछ । यहाँ राष्ट्रको भन्दा पहिला आँफू बन्नु पर्यो नि । तँलाई व्यक्तिगत रुपमा फाइदा मात्रै हुन्छ छोरा, नेपाल आउन ढिलाे नगर ।
तँ अमेरिकामा गएर के पढिस्, के बुझिस् ? यहाँ त ‘म झोले हो’ भन्ने नाराले नै दुईवटा मूख्य मनोविज्ञान देखाउँछ । यो यहाँको सफल हुने ‘स्मार्ट चाल’ हो। यो मनोविज्ञानले आफ्नो सोच, विवेक, तर्क, स्वतन्त्रता र आत्मसम्मान सबै छोडेर नेताको छायाँ बन्ने ‘कला’ लाई दर्शाउँछ । यस्ता व्यक्तिहरुले नेताको हरेक बोलीलाई अन्तिम सत्य मान्छन् र आफ्नो व्यक्तिगत निर्णय क्षमतालाई पूर्ण रुपमा नेताको इच्छामा समर्पण गर्छन् । उनीहरुको लागि व्यक्तिगत पहिचान र स्वायत्तता गौण हुन्छ, नेताको पहिचानमा नै उनीहरु आफ्नो अस्तित्व खोज्छन् । यो एक प्रकारको मानसिक दासत्व हो जहाँ व्यक्तिले आफ्नो बौद्धिक स्वतन्त्रतालाई त्याग्छ । तर यसको बदलामा उसले पाइरहेको ‘फाइदा’ हेर् त ! तैंले यस्तो ‘सम्पर्क’ अमेरिकामा कहिल्यै बनाउन सक्दैनस् ।
छोरा ! लाभको बाटो, यो मनोविज्ञान अझ बढी व्यावहारिक र अवसरवादी हुन्छ । सार्वजनिक रुपमा नेताको पक्षमा बोल्दा, उसको हरेक गलत कार्यमा पनि समर्थन गर्दा वा उसका आलोचकहरुलाई दबाउँदा व्यक्तिगत लाभको सम्भावना बढ्छ भन्ने विश्वासले यस्ता व्यक्तिहरुलाई प्रेरित गर्छ। यसमा राजनीतिक पद, ठेक्का, सरुवा, सिफारिस वा अन्य व्यक्तिगत सुविधा प्राप्त गर्ने अपेक्षा लुकेको हुन्छ । यस्ता झोलेहरुले नेताको हरेक गल्तीलाई ‘रणनीति’ वा ‘दूरदर्शिता’ बनाइदिन्छन् र आफ्नो झोलामा ‘सम्भावना’ बटुल्छन्। उनीहरुले आँफूलाई ‘रणनीतिक झोले’ ठान्छन्, जसले नेताको पछि लागेर आफ्नो स्वार्थ पूरा गर्छन् ।
यी दुवै मनोविज्ञानले लोकतन्त्रका लागि ‘खतरा’ उत्पन्न गर्छन् भनिन्छ, तर खासमा यसले त ‘खेल्ने’ हरुका लागि अवसर सिर्जना गर्छ । आत्मसमर्पण गर्ने झोलेले प्रश्न गर्ने नागरिकको भूमिकालाई समाप्त पार्छ भने, लाभको बाटो पछ्याउने झोलेले भ्रष्टाचार र दण्डहीनतालाई मलजल गर्छ । यी दुवै प्रकारका झोलेहरुले नेतालाई अझ बढी निरंकुश र गैर-जवाफदेही बनाउन मद्दत गर्छन्, अनि त्यसैबाट तैंले पनि लाभ उठाउन सक्छस् । उनीहरुको सोंचमा, नेताको ‘सानो गल्ती’ लाई स्वीकार गर्दा भविष्यमा ठूलो फाइदा मिल्छ, र ‘साँचो’ देशभक्ति भनेको नेताको ‘रक्षा’ गर्नु हो । यसले अन्ततः समाजमा ‘चापलूसी’ र ‘आलोचनाहीनता’ को संस्कृतिलाई बढावा दिन्छ । हो यहि हो यहाँ सफल हुने बाटो ।
छोरा ! अमेरिकामा तँलाई संविधानको धारा बुझ भनेर सिकाउँछन् होला, तर यहाँ त्यसो गर्नै पर्दैन। यहाँ नेताको अनुहार हेर्नु र उसले के भन्यो, त्यही मान्नु नै पर्याप्त छ । संविधानले परिकल्पना गरेको लोकतान्त्रिक गणतन्त्रमा हरेक नागरिकको भूमिका महत्त्वपूर्ण हुन्छ भन्ने भनिन्छ, तर वास्तवमा यहाँ त ‘झोले’ को भूमिका महत्त्वपूर्ण छ । सिद्धान्तमा आधारित नागरिक चेतना निर्माण नगरेसम्म देश परिवर्तन हुँदैन भन्ने आदर्श वाक्य हो, तर व्यवहारमा नेताको बोलीलाई नै संविधान मान्ने हो भने सबै कुरा सहज हुन्छ । नेताले बोलेको सबै कुरा पालना गर्नुपर्ने होइन भन्छन्, तर तैंले मानिस् भने त फाइदा हुन्छ नि !
हिजो राजालाई देवता मानेर पूज्ने संस्कारले आज नेतालाई पनि देवत्व दिएको छ। पञ्चायतकालमा राजालाई ‘श्रीपेच लगाएको नारायण’ भनी प्रचार गरिन्थ्यो । उनका हरेक बोलीलाई आदेश मानिन्थ्यो र आलोचना गर्नु देशद्रोह ठानिन्थ्यो । लोकतन्त्र आएपछि यो प्रवृत्ति राजनीतिक नेताहरुमा सरेको छ। ‘हाम्रो नेताले जे गर्छन्, ठीक गर्छन्’ भन्ने मानसिकताले गर्दा आज पनि नेताका गल्तीहरुलाई ढाकछोप गरिन्छ । तर राष्ट्र निर्माण झोला बोक्दैन, विचार बोक्छ भन्ने त आदर्शवादी कुरा मात्र हो, वास्तवमा यहाँ त झोला बोक्नेले नै जित्छ ।
हामीले हिजो राजा फाल्यौं, किनभने उनले नागरिक अधिकार कुण्ठित गरे । जनआन्दोलन २०४६ र २०६२/६३ को मूख्य उद्देश्य नै नागरिक स्वतन्त्रता र लोकतन्त्रको स्थापना थियो । आज पनि यदि नेताले नागरिक अधिकार कुण्ठित गर्छन्, भ्रष्टाचार गर्छन् र लोकतान्त्रिक मूल्यमान्यतालाई मिच्छन् भने आलोचना गर्न डराउनु हुँदैन भन्छन्, तर डराएनस् भने त तैंले दुःख पाउँछस् नि ! झोला बोक्नेले होइन, विवेक बोकेर हिँड्नेले मात्रै देशको अनुहार बदल्न सक्छ भन्ने कुरा त किताबी मात्र हो, यहाँ त झोला बोक्नेले नै आफ्नो र परिवारको अनुहार बदल्न सक्छ ।
आदर्श नागरिकले केवल आफ्नो अधिकारको कुरा गर्दैन, कर्तव्यको पनि ख्याल राख्छ । उसले नेताको जयजयकार गर्नुको सट्टा उसको कार्यसम्पादनको समीक्षा गर्छ । उसले निर्वाचनमा भोट हालेर मात्र आफ्नो कर्तव्य पूरा भएको ठान्दैन, बरु निर्वाचित प्रतिनिधिहरुलाई उनीहरुको कार्यकालभरि निगरानी राख्छ र जवाफदेहिता खोज्छ। तर छोरा ! यस्तो झन्झट किन मोलिरहने? नागरिकका लागि नेताभन्दा संविधान ठूलो हुनुपर्छ भन्छन् । संविधानले दिएका अधिकार र कर्तव्यप्रति सचेत रही, संविधानको पालना गर्न नेतालाई पनि बाध्य पार्नु नागरिकको दायित्व हो भन्ने कुरा तैंले छोडिदे । यहाँ त नेताले जे भन्यो, त्यही नै संविधान हो।
नागरिकले कुनै पनि जानकारीलाई जस्ताको तस्तै स्वीकार गर्नु हुँदैन भन्छन् । हरेक कुरालाई तर्कको कसीमा राखेर विश्लेषण गर्ने क्षमता विकास गर्नुपर्छ । मिडियामा आउने समाचार होस् वा नेताका भाषणहरु, सबैलाई आलोचनात्मक दृष्टिले हेर्नुपर्छ भन्छन्, तर तैंले नेताको पक्षमा ताली पिटे मात्र पुग्छ । गलतलाई गलत भन्न सक्ने नैतिक साहस नागरिकमा हुनुपर्छ भन्छन्। व्यक्तिगत लाभ वा प्रतिशोधको डरले मौन बस्नुले झोले संस्कृतिलाई नै मलजल गर्छ भन्ने कुरामा विश्वास नगर। यहाँ त मौन बसिस् र नेताको पछि लागिस् भने मात्र सफल भइन्छ । नागरिकले राजनीतिमा निष्क्रिय भएर बस्नु हुँदैन भन्छन् । स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्मका बहस र निर्णय प्रक्रियामा सक्रिय सहभागिता जनाउनुपर्छ भन्ने कुराले त तैंलाई अनावश्यक झन्झट मात्रै दिन्छ ।
छोरा! तँलाई म एउटा देशको कल्पना गराउँछु, जहाँ हरेक व्यक्ति झोले छ । यो देश साँचिकै स्वर्ग हो, किनकि यहाँ कसैले दुःख पाउँदैन । त्यो देशको हरेक गल्लीमा झोलेका मूर्तिहरु ठडाइएका छन् र हरेक बिहान ‘झोले आरती’ बाट दिनको शुरुवात हुन्छ । विद्यालयमा नेताको जीवनी पढाइन्छ, जहाँ उनका जन्मदेखि निधनसम्मका हरेक सामान्य कार्यलाई ‘महान’ भनी व्याख्या गरिन्छ । ‘नेताले बासी चिया पिउनुभयो, यो उहाँको जनताप्रेमको उदाहरण हो’ जस्ता वाक्यहरु पाठ्यक्रममा समावेश हुन्छन् । विद्यार्थीहरुलाई प्रश्न गर्नुभन्दा नेताको जयजयकार गर्न सिकाईन्छ, अनि उनीहरुले कहिल्यै दुःख पाउँदैनन् ।
बिहान रेडियोमा ‘आरती’ जस्तो समाचार गुञ्जिन्छ । “आज हाम्रो महान नेता बिहान ६:३० बजे उठ्नुभयो । उहाँले बासी चिया पिउनुभयो, यो उहाँको जनताप्रेमको उदाहरण हो।” पत्रकार सम्मेलनमा प्रश्न गर्नु गैरकानुनी छ । समाचार संस्थाहरुले ‘गुणगान’ को प्रमाणपत्र पाउँछन् र केवल नेताको प्रशंसा गर्ने सामग्री मात्र प्रकाशन गर्छन् । सामाजिक सञ्जालमा नेताको आलोचना गर्नेलाई ‘देशद्रोही’ भनी कारबाही हुन्छ, अनि सबै शान्त हुन्छन् ।
जनता भोकै छन्, शिक्षा र स्वास्थ्य सेवाको अभाव छ भनिन्छ, तर नेताको जन्मदिनमा हेलिकोप्टर चार्टर हुन्छ, लाखऔंको फूलमाला आयात हुन्छ र भव्य उत्सव मनाइन्छ । सडकमा खाल्डाहरु छन्, अस्पतालमा बेड छैनन्, तर नेताको भ्रमणका लागि करोडौं रुपैयाँ खर्च गरेर सडक टालिन्छ । यो सब त झोलेहरुले नै गर्ने हो, अनि उनीहरुले नै फाइदा लिने हो । जसले काम गर्छ फईदा उनीहरुले नै पाउनु पर्यो नि ।
अनि त्यो देशको राष्ट्रिय नारा हुन्छ – “हामी सबै झोले, देशका लागि भोले।” जहाँ झोले हुनुलाई गर्वको विषय मानिन्छ र विवेकशील नागरिकलाई ‘समस्या’ का रुपमा हेरिन्छ त्यस्तो ठाउँमा प्रश्न गरेर अनावश्यक झन्झट मात्रै सिर्जना गर्छन् । यस्तो देशमा विकासको कल्पना पनि गर्न सकिँदैन भनिन्छ, तर यहाँ त हरेक झोलेको व्यक्तिगत विकास भइरहेको हुन्छ । प्रश्नविहीन समाजमा सुधारको कुनै सम्भावना हुँदैन भन्ने कुरा त सिद्धान्त मात्र हो, यहाँ सुधारको नाममा ‘फाइदा’ गर्ने नयाँ तरिकाहरु खोजिन्छन् ।
छोरा ! तँ अमेरिकामा इतिहास पढ्छस् होला, तर यहाँ झोले संस्कृतिको इतिहास पढ्नुपर्छ, किनकि यो कहिल्यै असफल भएन । यसको लामो ऐतिहासिक पृष्ठभूमि छ। नेपालको राजनीतिक परिवर्तनहरुको प्रत्येक मोडमा यसले आँफूलाई नयाँ रुपमा प्रस्तुत गरेको छ र सधैं जित्ने पक्षमा रह्यो।
राणाकालीन समयमा भारदारी सभाहरुमा राणा प्रधानमन्त्रीको हरेक निर्णयको ‘जयजयकार’ गर्ने परम्परा थियो । यसले राणा परिवारलाई निरंकुश बन्न सहयोग पुर्यायो, जहाँ विरोधको कुनै गुञ्जायस थिएन । त्यतिबेला झोलेहरुले मोज गरे । राजा महेन्द्रले जब संसद विघटन गरेर पञ्चायती व्यवस्था लागू गरे, त्यतिबेला पनि झोलेहरु थिए जसले भने – “यो राष्ट्रको हितमा छ ।” उनीहरुले राजाको ‘क्रान्ति’ को समर्थन गरे र बहुदलीय व्यवस्थाको वकालत गर्नेहरुलाई ‘अराष्ट्रिय तत्व’ को ट्याग लगाए । अनि उनीहरुले फाइदा पाए ।
जब २०४६ मा जनआन्दोलन भयो, केही झोलेहरुले भनिरहे – “राजा आउ देश बचाउ !” उनीहरुले राजाको पक्षमा तर्क दिए र लोकतन्त्रको मागलाई ‘विदेशी उक्साहट’ भन्दै खारेज गर्ने प्रयास गरे । पछि लोकतन्त्र आएपछि यिनै झोलेहरु लोकतान्त्रिक नेताको पछि लागे । २०६२/६३ को आन्दोलनमा झोलेहरु फेरि नेताका अनुहारसँगै रंग बदले । हिजो राजाको पक्षमा वकालत गर्नेहरु आज लोकतन्त्रको वकालत गर्न थाले । एकै व्यक्तिले तीन पटक पार्टी फेरे, तर झोले भने जहिले पनि साथमै रह्यो । हिजो राजाको, आज नेताको । यसले देखाउँछ कि झोलेपन वैचारिक प्रतिवद्धताभन्दा पनि व्यक्तिगत लाभको चाहना र शक्ति केन्द्रको पछि लाग्ने ‘सदाबहार’ प्रवृत्ति हो ।
संविधान निर्माणपछिको सङ्क्रमणकालीन राजनीतिमा पनि झोले प्रवृत्ति झन् मौलायो। अस्थिर सरकारहरु, दल बदल र राजनीतिक खिचातानीका वीचमा पनि नेताका पछि लाग्ने, उनलाई समर्थन गर्ने र उनीहरुका गल्तीलाई ढाकछोप गर्ने काम निरन्तर भइरह्यो । यसले राजनीतिक प्रणालीलाई अझ कमजोर बनायो भनिन्छ, तर त्यसैबाट त फाइदा भइरहेको छ नि । त्यसैले झोलेपन केवल व्यक्तिको कमजोरी मात्र नभएर हाम्रो समाज र राजनीतिक प्रणालीमा गहिरो रुपमा जकडिएको एक संरचनागत ‘अवसर’ हो भन्ने देखाउँछ । यो संस्कृतिले लोकतन्त्रको विकासमा निरन्तर फाइदा पुर्याएकाे छ ।
छोरा ! तँ अमेरिकामा फेसबुक कत्तिको चलाउँछस् कुन्नी ? तर यहाँ झोले संस्कृतिले नयाँ रुप लिएको छ – डिजिटल झोले । इन्टरनेट र सामाजिक सञ्जालको व्यापक प्रयोगसँगै झोलेहरु भौतिक उपस्थितिमै सीमित रहेनन्, उनीहरु ‘भर्चुअल’ संसारमा पनि सक्रिय भए । फेसबुक, ट्विटर, टिकटक जस्ता प्लेटफर्महरु डिजिटल झोलेहरुको सुनौलो मैदान बनेका छन् । फेसबुकमा नेताको फोटो राख्ने, उसको स्टाटसमा पूजा गर्नेजस्ता टिप्पणी गर्ने, ‘महान नेता’ जस्ता शब्द प्रयोग गरि प्रशंसाको बाढी ल्याउने काम डिजिटल झोलेहरु गर्छन् । उनीहरुले नेताको आलोचना गर्नेहरुलाई तत्कालै ट्रोल गर्छन्, व्यक्तिगत लाञ्छना लगाउँछन् र गालीगलौजमा उत्रन्छन् । यसले स्वस्थ बहसको वातावरणलाई प्रदूषित गर्छ र फरक विचार राख्नेहरुलाई बोल्नबाट निरुत्साहित गर्छ, तर तैंलाई त फाइदै हुन्छ नि !
सम्भवतः तिनीहरुले नेतासँग भेटेका पनि हुँदैनन्, तर फेसबुकमा यस्तो लेख्छन्, “तपाईं देशको गौरव हो।” जबकि वास्तविकता यस्तो छ – विद्यालयमा पुस्तक छैन, आधारभूत स्वास्थ्य सेवाको अभाव छ, जनता गरिबीमा पिल्सिँदै छन्, तर नेताको प्रचारमा करोडौं खर्च भइरहेको छ। डिजिटल झोलेहरु यो वास्तविकतालाई देख्न वा स्वीकार गर्न चाहँदैनन्, किनकि उनीहरुलाई त फाइदै छ । डिजिटल झोलेहरु नेताको पक्षमा फेक न्युज फैलाउन र दुष्प्रचार गर्न पनि पछि पर्दैनन्। विपक्षी वा आलोचकहरुका विरुद्धमा गलत सूचना फैलाएर उनीहरुको छवि धुमिल पार्ने प्रयास गर्छन् । यसले सामाजिक सदभाव खल्बल्याउँछ र नागरिकहरुलाई सही सूचनाबाट वञ्चित गर्छ, तर तैंले यसैबाट आफ्नो राजनीतिक ‘पहूँच’ बनाउन सक्छस् ।
सामाजिक सञ्जालमा सहजै पहूँच भएको कारण धेरै यूवाहरु पनि डिजिटल झोलेको शिकार भएका छन्। लाइक, शेयर र कमेन्टको माध्यमबाट उनीहरुले नेताको ‘समर्थन’ मा सक्रिय भूमिका खेल्छन् । यसमा कुनै ठूलो बौद्धिक प्रयास आवश्यक पर्दैन, केवल भावना र आवेगमा आधारित प्रतिक्रिया मात्र पर्याप्त हुन्छ । तैंले अमेरिकामा कति दिमाग खियाइस्, यहाँ त मोबाइल चलाए मात्र पुग्छ ।
जब सामाजिक सञ्जालमा चाटुकारिता र व्यक्तिगत प्रहार हावी हुन्छ, तब यसले सार्वजनिक चेतनालाई नै कमजोर बनाउँछ। नागरिकहरुले गम्भीर मुद्दाहरुमा बहस गर्नुको सट्टा, राजनीतिक नेताहरुको व्यक्तिगत झगडा वा उनीहरुका अनुयायीहरुको भावनात्मक ‘झोले’ प्रतिक्रियामा समय खर्च गर्छन् । यसले लोकतन्त्रमा नागरिकको सक्रिय र अर्थपूर्ण सहभागितालाई अवरुद्ध गर्छ, तर तँलाई त अगाडि बढ्न बाटो खुल्छ नि ! डिजिटल झोले आधुनिक युगको एक गम्भीर चुनौती हो भनिन्छ, जसले झोलेपनलाई नयाँ आयाम दिएको छ र समाजमा विभाजनको रेखा कोरिरहेको छ, तर यही विभाजनबाट त झोलेहरुले फाइदा उठाउँछन् ।
छोरा ! तँ अमेरिकामा बसेर सोच्नुपर्ने बेला आएको छ । तैंले झोले बन्न चाहन्छस् कि विचारशील नागरिक ? यो प्रश्न केवल व्यक्तिगत छनोटको मात्र होइन, यो राष्ट्रको भविष्यसँग जोडिएको प्रश्न हो, तर खासमा तैंले आफ्नो भविष्य हेर्नुपर्छ । झोले हुन सजिलो छ, सोच्न पर्दैन, प्रश्न गर्नुपर्दैन, फाइदाको सपना देखिन्छ । नेताको पछि लागेर व्यक्तिगत लाभ प्राप्त गर्ने सहज बाटो झोलेपन हो । यसमा कुनै जोखिम छैन, किनकि गल्तीको जिम्मा नेताले लिन्छन्, तैंले किन टाउको दुखाउने? तर नागरिक बन्न कठिन छ । यसमा जिम्मेवारी लिने, गल्ती देखाउने, आलोचना सहने र कहिलेकाहीँ त प्रतिशोधको शिकार हुने जोखिम पनि हुन्छ । नागरिक बन्नका लागि स्वतन्त्र विवेक, आलोचनात्मक चेतना र नैतिक साहस चाहिन्छ। यस्तो कुराले त अमेरिकामा पो काम गर्ला, यहाँ त बेकारमा दुःख पाइन्छ ।
आलोचनात्मक सोंच र विश्लेषण गर्ने क्षमता विकास गर्ने शिक्षा प्रणाली आवश्यक छ भनिन्छ । तैंले त त्यही पढिस्, के कमाइस् ? परिवार, समाज, विद्यालय र मिडियामा खुला बहस र फरक विचारलाई सम्मान गर्ने वातावरण सिर्जना हुनुपर्छ भनिन्छ, तर यहाँ त नेताको बोली नै काफी छ । स्वतन्त्र र निष्पक्ष मिडियाले सत्ताको निगरानी गर्ने र जनतालाई सही सूचना दिने भूमिका खेल्नुपर्छ भनिन्छ, तर यहाँ त मिडिया पनि झोलेकै पछि लाग्छन् ।
नागरिक समाजका संस्थाहरुले भ्रष्टाचार, अनियमितता र मानवअधिकार हननका विरुद्ध आवाज उठाउनुपर्छ भनिन्छ, तर यिनीहरु पनि ‘झोले’ बन्ने दौडमा छन् । यूवाहरुलाई राजनीतिक प्रक्रियामा सक्रिय र विवेकी रुपमा सहभागी हुन उत्प्रेरित गर्नुपर्छ भनिन्छ । उनीहरुले सामाजिक सञ्जाललाई केवल मनोरञ्जन वा चाटुकारिताको माध्यम मात्र नबनाएर सार्वजनिक बहस र चेतना फैलाउने माध्यम बनाउनुपर्छ भन्ने कुरा बेकार हो । राजनीतिक दलहरुले आफ्नो आन्तरिक लोकतन्त्रलाई बलियो बनाउनुपर्छ र कार्यकर्ताहरुलाई प्रश्न गर्ने अधिकार दिनुपर्छ भनिन्छ, तर कसले दिन्छ र ? भ्रष्टाचारमा संलग्न जो कोहीलाई पनि कानूनी दायरामा ल्याउनुपर्छ ताकि झोलेपनबाट प्राप्त हुने फाइदालाई निरुत्साहित गर्न सकियोस् भनिन्छ, तर यो त भन्ने कुरा मात्रै हो ।
आज हामी सबैको उत्तरदायित्व हो – झोले संस्कृतिको पक्षमा उभिनु र आदर्श बोकेर हिँड्नु भन्ने कुरा अमेरिकामा गर । यहाँ त झोले बन र फाइदा उठा । देश नेता मात्रले होइन, विवेकशील नागरिकहरुले पनि चलाउँछन् भन्ने कुरा किताबी मात्र हो । लोकतन्त्रमा जनता नै सार्वभौम हुन्छन् भन्ने पनि भनिन्छ, तर यहाँ त नेता र उनका झोले नै सार्वभौम हुन्छन् । त्यसैले अब हामी सबैले भन्नुपर्ने बेला आएको छ – “छोरा, अमेरिका नबस, झोले बन्न नेपालमै आईजा ! यहाँ आएर झोले बनिस् भने सबैकुरा पुग्छ, कसैले केही गर्दैन।” यो आवाज नेपालको हरेक कुनाबाट गुञ्जिनुपर्छ ताकि हाम्रो देश ‘साँच्चिकै’ समृद्ध र ‘झोले’ हरुका लागि न्यायपूर्ण बनोस् ।
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest






































