अमर अधिकारीफ्रड गुरुको आशीर्वाद र भोजनमा बासीभात
भित्तामा गाईको चित्र टाँसेर, ठूलो ॐ अक्षर टाँसेर अनि कथित आश्रमको आँगनमा त्रिशूल गाडेर धर्म हुँदैन। सक्कली धर्म त त्यो हो जसले समाजका लागि त्याग गरेको हुन्छ अनि जनकल्याणकारी काम गरेको हुन्छ।

अमर अधिकारी :
पल्लोघरकी भाउजू पाउजू बनाउदै हिडिरहन्छिन् गुरुधामतिर हप्तामा एकदुई पटक। टोल छिमेकमा उनको खासै स्थान छैन। किन कि उनी गुरुधाममा गएर गुरु सेवा गर्छिन्। ती गुरु फ्रड अर्थात् धोकेबाज हुन् भन्ने कुरा उनले हेक्का राख्दिनन्। बिगतमा भारतमा गरेका अपराधहरु ढाकछोप गर्ने कथित साधु बनेर ती महाठग गुरु नेपाल पसेका रहेछन्। आश्रम खोले, मीठो बोले, शिष्यहरु लुटिदा कसले बोले। जय भोले ! पल्लारे भाउजू फसेकी छिन् ती फ्रड गुरुको चङ्गुलमा।
धोकेबाज गुरु भन्छन्- “मैले तपाईँहरुको फलिफापका लागि म यहाँ अवतरण भएको हूँ, तपाईँका तमाम समस्याहरु म समाधान गरिदिन्छु।“ ती धोकेबाज गुरुका पुस्तक र पत्रिकाहरु पढ्दा लाग्छ कि उनले नेपाली शिष्यहरुबाट तन-मन-धन लुट्न जाल फिजाएका छन्। “सारा देवीदेवताको बासस्थान मेरो चरण हो” भनिदिए पनि हो, हो ! जय गुरुदेव !! भन्दै ती ढोगीको आची खान पनि तयार हुने अन्धभक्तहरु देवदेवताको मन्दिर धाउनै परेन, समयमा घर आउनै परेन। भाउजू आश्रमले बेचेका विभिन्न बुट्टे धागोहरु घाँटीमा लगाउनै आउछिन् त कहिले रंगीबिरङ्गी माला लगाएर आउँछिन्। सयमा पाइने माला हजारमा किन्नुपर्छ ती पाखण्डीको कथित आश्रम वा धाममा।
व्यापारमा मात्र एजेन्ट होलान् भन्ठानेको त कथित धर्ममा पनि एजेन्टहरु हुँदारहेछन्। छट्टु एजेन्टहरुले विशेष गरी गृहिणीहरुमाथि जाल फ्याँकेर सिद्धिहरुका लोभ लालच देखाएर सदस्यता बनाएर लुट्छन् पतिले थाहा नपाउने गरी। पतिले दुःख गरेर कमाएको धन पत्नीले नक्कली गुरुको आश्रममा लगेर बुझाउँदा पति बेहोस् भए अनि अस्पताल गए। भारतमा आफ्नै चेलीका सम्बेदनशील अंग सुमसुम्याएका कारण मुद्दा खेपेका गुरुको पनि जयजयकार हुन्छ भैरहेको छ र यहाँ मजाले चलेको छ उनको अखडा। ज्यानमारा आरोपमा भारतमै जेलको हावा खाइरहेका कथित सन्तको पनि जयजयकार भैरहेको छ यहाँ र उनकै भजन गाउँछन् तमाम अन्धभक्तहरु। नेपालकै बलात्कारी र ज्यानमारा बाबा झिनो धरौटीमा छुट्छन्। अनि फेरी सर्बसाधारणलाई बेबकुफ बनाउदै लुट्छन्। नेताहरु पनि फेटा बाँधेर त्यस्ता अपराधी बाबाका अगाडि नतमस्तक हुन्छन् र बाबाका अखडालाई आफ्नो भोट बैंक बनाउछन् चुनावताका। “म कतिऔँ पटकसम्म परमधाममन्त्री बन्छु ? कतिपटक मुन्तरी बन्छु ? कतिपटक मान्ने बन्छु ?” भन्दै निहुरिएर बाबालाई प्रश्न गर्छन्।
आश्रमले बेचेको महंगो जामा लगाएकी आमाको अन्धभक्ति देखेर छोराछोरी छक्क, आमा भने गुरुको आशीर्वादले सफल भएँ भनेर मख्ख, बाउको भने टोलाएर आँखा कतै रोकिन्छन् टक्क। टोल छिमेकमा गाइँगुइँ चल्छ- “फलानोकी जहान त फटाहा साधुको फन्दा परेकी छ, उसको ठगी धन्दामा फसेकी छ।“ टोलबासीहरु पल्लारे भाउजु अर्बपति जोगीको फन्दामा परेर अन्धा भएको अड्कल गर्छन्। डिग्री पास गर्नका लागि परीक्षाको फाराम भर्नुपर्दैन, तड्पेर मर्नुपर्दैन, दुःख गर्नैपर्दैन भन्दै जन्तर-मन्तर बिकाएर दुनियाँको घरबार तहसनहस पार्ने यस्ता पाखण्डी ठगलाई जोगाउन केही प्रशासक, नेता, पुलिस हाकिम लागिपरेका छन्। सायद ती जोगीको धन भण्डारबाट केही भाग उनीहरुको पोल्टामा पर्ने निश्चित देखिन्छ। जोगी ढुक्क छन् आफ्ना अपराध छताछुल्ल नहुनेमा। मन्त्र दिलाउने नाममा चेलीहरुलाई एकएक गरी गोप्य कोठामा केहीबेर राख्छन् ती भोगीले। त्यति समयमा उनले केके भ्याउछन् ? थाहा हुँदैन।
अन्धभक्तहरु आफूले मोक्ष प्राप्त गरेको अनुभव गर्छन्। घरको कर्म छोडेर नक्कली धर्ममा लाग्ने अन्धभक्तहरुको संख्या बढ्दो छ। बेरोजगारहरु कामका खातिर विदेशिन्छन् भने भारतबाट नेपालमा चर्न आउने नक्कली जोगीहरु भोगीबाट ढोँगी बन्दै नेपालबाट करोडौँ अर्बौँ भारतमा लगेर तारे होटेलहरुमा सेयर लगानी गरेर पुस्तौँ पुग्ने धनको जोहो गर्छन्। यता तन-मन-धन गुमाउने अन्धभक्तहरुको घरमा भने पाखण्डी जोगीले भने बमोजिम केही पनि फलिफाप भएको पाइँदैन। तिनका जन्तर-मन्तर केबल मनगढन्ते सावित भैसकेका छन्। माथिका नेता प्रशासक नै त्यस्ता महाठग कथित साधुका भक्त बन्न थालेपछि मुलुक कता पुग्छ ? मान्छेको घरबार के हुन्छ ? समाजको अवस्था कस्तो बन्छ? यो विषयहरु गहन छन्, सरकारको बुद्धि फिरेमा मात्र जनताले सहन्छन्। भारतमा झैँ अपराधी जोगीहरुलाई पाता कस्नैपर्छ, प्रशासन चुप नलागी बस्नैपर्छ अनि यस्ता ढोँगीहरुको फुर्ति भुइँमा खस्नैपर्छ।
यस्ता जालीहरु नेपालबाट लखेटिनुपर्छ। यस्ताका भ्रमजालमा फस्नेहरुलाई मुक्त गराएर कर्मशील बनाउनुपर्छ न कि नक्कली धर्मशील। कलियुगीन भगवान कहलाउने यस्ता फटाहाहरुलाई सीमा कटाएर पठाउनुपर्छ। धर्मको आडमा चर्को व्यापार गर्ने जाली-महाठग-धोकेबाज सन्त चिनौँ, सस्तोमा माला अन्त किनौँ। पल्लारे भाउजुलाई पतीलाई खती गराएर त्यस्ताका पछाडि नलाग्न सल्लाह दिने गरौँ। समाजका अर्थात् टोल छिमेकका मुन्छेलाई लाउकेदेखि टाउकेसम्मका जाली फटाहाको भजन गाउन रोकौँ। नक्कली गुरुको आशीर्वाद र भोजनको बासी भातले कसैको पनि भलो गर्दैन। भलो त तीनै पाखण्डीको हुन्छ, जसले नक्कली धर्मको पासोमा सोझासिधा जनतालाई फसाएर धन लुट्छ। भित्तामा गाईको चित्र टाँसेर, ठूलो ॐ अक्षर टाँसेर अनि कथित आश्रमको आँगनमा त्रिशूल गाडेर धर्म हुँदैन। सक्कली धर्म त त्यो हो जसले समाजका लागि त्याग गरेको हुन्छ अनि जनकल्याणकारी काम गरेको हुन्छ।
समाज बिग्रियो नक्कली धर्मले
मान्छे बिग्रियो नचाहिने कर्मले।
हरि ॐ तत्सत !
०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।
Subscribe
Login
0 Comments
Oldest









































