रमेश समर्थन‘मुखाले’को मुकुन्डो
हास्यव्यङ्ग्यात्मक रचना जसमा जसमाथि व्यङ्ग्य गरिएको हो त्यसले पनि पहिले त अर्कैलाई भनेको भनेर खित्खित्खित्खित् गरेर हाँस्छ अनि जब थाहा पाउँछ त्यो उसैलाई पो भनिएको रहेछ अनि बल्ल मरिच चाउरिएझैँ चाउरिन्छ ।

रमेश समर्थन :
नेपाली हास्यव्यङ्ग्य फाँटमा कथाको अभाव पूर्ति गर्ने गरी भोजराज रेग्मी मुखालेले एउटा आख्यानसङ्ग्रह तयार पारेर न्वारान गरे ‘जङ्गबहादुरको फ्रेन्डरिक्वेस्ट’ । अनि यसलाई पाठकसामु ल्याउन जुर्मुरायो ‘फित्कौली अनलाइन मिडिया’ र यसमा आफ्नो बुझक्कीपन प्रस्तुत गरे सिन्धुपाल्चोके सिड्योसाप नरेन्द्रराज पौडेलले । पौडेल आफैमा दरिला हास्यव्यङ्ग्यकार हुन् । उनका शब्दमा मिठास नहोला किनभने प्रशासकहरूमा केही खरोपन हुन्छ नै । मुखालेले यसलाई आशीर्वादका रूपमा लिँदा बेस हुन्छ । मुखालेले नचाहिँदो ढर्रा देखाउँदै ‘विशिष्ट’ थपेर यो शिष्ट (अशिष्ट भने हुँदै होइन) समर्थनलाई आफ्नो भाडाखर्च लगाएर विनामूल्य दुईवटै किताप पठाइदिए । अब समर्थन पर्यो फसादमा । त्यति आदरसाथ पठाएको किताबमा केही नलेखोस् त पठाउनेको के मन रहला र लेखोस् त उसमा त्यो ल्याकत नै छैन । फेरि पनि मुखालेको मुकुन्डो खोलेर उनको अनुहार देखाउने जमर्को भने गरेको छ ।
नेपालमा एउटा समस्या के छ भने दृश्यात्मक हास्यव्यङ्ग्य क्षेत्रमा धेरैजसो कलाकारहरूले मुख बिच्क्याएर र अडबाङ्गे चालढाल देखाएर दर्शकलाई हँसाउने दुश्चेष्टा गरेको पाइन्छ । हाँस्छ होला एउटा समूह तर ठुलै समूह छ जसले त्यसमा भद्दापनबाहेक केही पाउँदैन । त्यस्तै लेखनमा पनि समस्या छ । त्यो के हो भने केवल पात्रका नामहरू अडबाङ्गे राख्दैमा हास्य सृजना हुन्छ भन्ने मानसिकता हामीजस्ता लेखकमा पाइन्छ जुन सही होइन । मुखालेले दुःखले लेखेको यस आख्यानसङ्ग्रहमा पनि त्यो समस्या टड्कारो देखिएको छ जसबाट लेखकहरू जोगिनुपर्छ भन्ने पङ्क्तिकारको विचार छ । बखते, गबुल्ले, जुठे, गुइँठे (दुई पटक) चङ्खे, झिल्के, झ्याउँकिरी र नक्कली आदि । यी र यीजस्तै अन्य नामहरू भैरे, भकुन्डे, फ्याउरी, म्याउसी यस्ता नाम हुन् जसले समाज र लेखक दुबैको घृणाको सामना गरिरहेका छन् । के समाज विकृत भएको यिनीहरूकै कारणले हो त ? के यस्ता नाम हुनु नै समाज विकृत हुनु हो त ? के सत्यप्रकाश, रामप्रसाद, सावित्री, सरस्वती नामका पात्रहरू सधैँ आदर्श चरित्र र यिनीहरू व्यङ्ग्यात्मक चरित्र नै हुन् त ? लेखकहरूको ध्यान यसतर्फ जानु जरुरी छ ।
साहित्य एक कला हो र कला कलाका लागि मात्र नभएर जीवन र जगत्का लागि हो । हामीले लेख्ने साहित्यले केवल मनोरञ्जन दिन खोज्यो भने त्यो साहित्य छिटै मर्छ । भैरवका हास्यव्यङ्ग्यहरू किन अमर छन् ? उनले हास्यलाई साध्य बनाएनन् । हास्य त केवल एक साधन हो, शैली हो लेखनको । कुनै व्यक्ति, प्रवृत्ति वा समाजको विकृत चरित्रलाई उदाङ्गो पार्नुपर्दा सोझै भन्यो भने आक्षेप हुने भएकाले लेखकले व्यङ्ग्यको सहारा लिन्छ र व्यङ्ग्य पनि कोरा नभइदेओस् भनेर हास्यको रस मिसाइन्छ । अर्थात् हास्य साहित्यको मिठास मात्र हो, स्वाद मात्र हो । जसरी तितो औषधि खुवाउन त्यसलाई महमा फेट्ने गरिन्छ त्यसै गरी व्यङ्ग्यको तितोपन सुरुमै तितो नलागोस् भनेर हास्यको आवरणमा प्रस्तुत गरिन्छ र त्यो रचना हुन्छ हास्यव्यङ्ग्यात्मक रचना जसमा जसमाथि व्यङ्ग्य गरिएको हो त्यसले पनि पहिले त अर्कैलाई भनेको भनेर खित्खित्खित्खित् गरेर हाँस्छ अनि जब थाहा पाउँछ त्यो उसैलाई पो भनिएको रहेछ अनि बल्ल मरिच चाउरिएझैँ चाउरिन्छ । यही हो हास्यव्यङ्यको सार्थकता र सफलता ।
केही उपबुज्रुकहरू फेरि हास्यव्यङ्ग्य विधा भनेर उपबुज्रुक्याइँ देखाउँछन् । वास्तवमा यो विधा होइन, यो त रसिलो शैली मात्र हो । साहित्यका नवरसमध्ये तेस्रो नम्बरमा आउँछ यो । हास्यव्यङ्ग्य शैलीको प्रयोग गरेर गीत, गजल, कविता, मुक्तक, निबन्ध, कथा र उपन्यास पनि लेख्न सकिन्छ यदि ल्याकत छ भने । त्यसैले हास्यलाई नै साध्य बनाएर साहित्यसृजना गर्न खोज्दा उद्देश्य हराउँछ र शेष रहन्छ केवल बोक्रे हाँसो जुन हाइनाको हाँसोजस्तो बन्न पुग्छ ।
मैले पहिलो चरणमा त्यही शीर्षक पल्टाएँ जुन कृतिको शीर्षक बन्न पुगेको छ र समर्थन नगरी भन्दा त्यसमा कुनै हास्य देखिएन । म त कृतिको नाम त्यही किन राख्नु परेछ भनेर पो जिल्लिएँ । कुनै सन्दर्भविना नै सपनामा जङ्गबहादुरको फ्रेन्डरिक्वेस्ट आएको भनेर कथा समापन गरिएको रहेछ । यसरी अचानक कुनै कुरा देखाएर लेखकले भन्न खोजेको कुरो स्पष्ट हुँदैन । पहिलाको प्रसङ्ग सही थियो र त्यसैमा समापन गरेको भए हुने थियो । यो थप अप्रासङ्गिक कुरो मलाई चित्त बुझेन । तर एउटो चित्त बुझेन भन्दैमा कृति नै चित्त बुझेन भन्नेचाहिँ होइन है ! ‘अलच्छिनको लक्षण’ र ‘चम्चा र काँटा’ले तगडा व्यङ्ग्य पस्केका छन् । यस्तै अरू पनि केही छन् तर पहिले यिनको कुरो गरौँ ।
यी दुवैले भूत, वर्तमान र भविष्यको कालक्रमलाई देखाउँदै अस्ति, हिजो के थियो, आज के छ र भोलि कस्तो हुनेछ भन्ने कुरालाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरेका छन् । राष्ट्रियताको चिन्ता साह्रै मार्मिक रूपमा आएको छ । पृष्ठ असी र एकासीमा रहेका यी आख्यानहरूमा प्रत्यक्ष पात्रहरू त छैनन् तर अप्रत्यक्ष तथा निर्जीव पात्रहरू तगडा देखिएका छन् । जस्तै ‘अलच्छिनको लक्षण’को अस्ति बाजेले ‘श्रीमान् गम्भीर…’ गाए तर यसले हाम्रो अवस्था सुध्रिने कुरामा शङ्का व्यक्त गरे । हिजो बाले तिनै ‘श्रीमान् गम्भीर…’लाई सेतो हात्ती भनेर पाल्न नसकिने र फाल्नुपर्ने कुरा गरे । आजको अवस्था के छ भने त्यस्ता सेता हात्तीहरू एकबाट धेरै भए र तिनीहरू घिच्नमै व्यस्त छन् । बरु यति धेरै सेता हात्ती पाल्नुभन्दा उही पुरानो एउटै सेतो हात्ती पालौँ भन्नेहरू जम्जमाएका छन् । अब भोलि के होला त ? लेखकको चिन्ता छ, यही गति रह्यो भने भोलि हामी ‘सयौँ थुँगा फूलहरूको एउटै माला’ पनि चुँडिने र ‘श्रीमान् गम्भीर नेपाली..’ पनि नरहेर सबै ‘जनगणमनका अधिनायक’ बन्ने सम्भावना बढेको छ है ! सचेत बन । रचनाको उद्देश्य हुन्छ र त्यो स्पष्ट हुनुपर्दछ जुन यसमा भएको छ । मेरो नजरमा यो यसभित्रको अब्वल आख्यान रचना हो । यसले टड्कारो राष्ट्रिय चिन्ता व्यक्त गरेको छ ।
दोस्रो हो ‘चम्चा र काँटा’ । यसमा राजनीतिक व्यङ्ग्य छ । हाम्रा राजनीतिक दल र तिनका माउतेहरूलाई नचाउने त तिनका चम्चा र काँटा हुन् । चम्चा र काँटा त्यस्ता साधन हुन्् जुन खाना भरिएको प्लेटमा मात्र बस्छन्, प्लेटलाई रित्याउँछन् र छुट्टै गएर बस्छन् वा अर्को प्लेटको प्रतीक्षा गर्छन् जसमा खाना छ । यी राजनीतिक काँटा चम्चाहरूले गर्दा कहिले कुन समीकरण बन्छ त कहिले कुन समीकरण बन्छ । समीकरण बनाउने र बिगार्ने पनि तिनै हुन् तर तिनका ख्वामित्हरू तिनको स्वार्थ बुझ्दैनन् र हातले चम्चा नचाउनुपर्नेमा चम्चाले हातलाई मात्र हैन, हातवालालाई पनि नचाइरहेका छन् ।
अर्को आख्यान हो ‘देखाउने दाँत’ यसमा व्यङ्ग्य छ तर त्यसभन्दा बढी करुणा छ । पितृ अमावश्यामा हाकिम छोराले सम्झ्यो भनेर छोरो भेट्न बाबु जान्छ । तगडा व्यङ्ग्य त यहीँ छ । छोराले बाबुको मुख हेनुपर्नेमा बाबु नै छोरालाई मुख देखाउन जानुपर्ने र जाँदा छोराले सोधीखोजी पनि नगर्ने तर संयोगले भेटिएपछि भने नक्कली दाँत देखाउने कुराले प्रवृत्तिप्रति व्यङ्ग्यभन्दा अवस्थाप्रति तीव्र करुणा जगाउँछ । आँखा आँसुले भरिन्छन् । मेरो सुझाव छ यसलाई हास्यव्यङ्ग्यमा नराखेर अति यथार्थवादी कथामा राख्नुपर्छ ।
‘कोइलाको आगो’ पनि राजनीतिक व्यङ्ग्य हो जुन सफल छ । ‘ककरो नहीँ कहिदिय’मा भने ठमेल जाँदा ठिमीतिर पुगेजस्तो छ । ‘सेकन्ड ह्यान्ड’ केवल हास्यका निम्ति लेखिएकोजस्तो लाग्छ । ‘खुला दिशामुक्त’ कुनै पूर्वतयारी र जनचेतनाविना नै नयाँ कुराको घोषणा गरेर मिडियामा नाम कमाउने होडमा लागेका तथाकथित पालिका र तिनका प्रमुखहरूलाई प्रहार गर्ने उद्देश्यले लेखिएको हो र सफल छ ।
समग्रमा केही केवल हास्यका लागि लेखिएका लागे पनि केहीले राम्रो सन्देश सम्प्रेषण गरेका छन् । तर लेखक त्यस्ता नाम र हास्यका लागि हास्य भन्ने भ्रमबाट मुक्त हुनु जरुरी छ ।
कृतिमा थुप्रै छपाइसम्बन्धी त्रुटिहरू छन् र तिनले कतै त बिजोगै पो पारेका छन् त ।
१. ऊ दिउँसै गाँजा तानेर बस्या रैछन् । पृ.३४ (कि उनी हुनुपर्ने कि रैछ हुनुपर्ने ।)
२. ‘के गर्न त अब मैले ?’ पृ.३४ (गर्नु वा गर्ने हुनुपर्ने ।)
३. ‘आफ्नो पालोमा नगरे कहिले गर्न ।’ पु. ५० (पालामा र गर्ने हुनुपर्ने ।)
४. अब एक झमट फेरि यी बूढाबूढीलाई एक्लै बात मार्न छोड्दिऊँ तो, निकाल्यो । पृ. ५७ (निकालिहाल्यो भन्दा पहिले के ? के निकालिहाल्यो ? सके जुक्ति वा यस्तै कुनै शब्द छुटेको छ ।)
५.अहिले आएर त्यसैले मेरा बाउको बिहे देखाइराकी प्रणामजी ! हाँ ! चल रहा है ।’ चङ्खेले खुड्य्य गर्यो । पृ.६० (नेपाली र हिन्दी संवादको बिचमा कुनै चिह्न वा सन्दर्भ हुनुपर्ने ।)
तर यसका अतिरिक्त आञ्चलिकता भने मिठो गरी आएको छ –
१.‘गोर्बाहीटोलके जुक्तिलाल मालिकके लप्कि बहु गुहाइरमे धेनपेडाके लग्मे पादल्के ।’ पृ. ५२
२. ‘नक्कली नगृता’ ठुस्स गनायो । पृ.६९
बेजोड त म भन्दिनँ तर अड्कोपड्को तेलको धुप भनेझैँ आख्यानमा हास्यव्यङ्यको खडेरी परेको बेला यो एउटा जीवनदायी वर्षा हो । अर्को कृति पढ्न शेष छ । मुखालेजीले माया गरेपछि मैले पनि मुख फोर्नै पर्यो । त्यसैले भन्छु, ‘लगे रहो मुन्नाभाइ !’ किनभने ‘गौरीशङ्करका नजीक चुचुरा उठ्छन् अरू वामन ।’ महाकविले त्यसै भन्नुभएको हैन । केही कृति सामान्य भएर पो केही कृतिले अब्वल बन्ने अवसर पाउने हुन् । आजको प्रयासले भोलि मुखालेको मुख अझ धारिलो भएर आओस् । मेरो अनन्त शुभकामना !
०००
रुपन्देही
Subscribe
Login
0 Comments
Oldest







































