साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘मुखाले’को मुकुन्डो

हास्यव्यङ्ग्यात्मक रचना जसमा जसमाथि व्यङ्ग्य गरिएको हो त्यसले पनि पहिले त अर्कैलाई भनेको भनेर खित्‌खित्‌खित्‌खित् गरेर हाँस्छ अनि जब थाहा पाउँछ त्यो उसैलाई पो भनिएको रहेछ अनि बल्ल मरिच चाउरिएझैँ चाउरिन्छ ।

Nepal Telecom ad

रमेश समर्थन :

नेपाली हास्यव्यङ्ग्य फाँटमा कथाको अभाव पूर्ति गर्ने गरी भोजराज रेग्मी मुखालेले एउटा आख्यानसङ्ग्रह तयार पारेर न्वारान गरे ‘जङ्गबहादुरको फ्रेन्डरिक्वेस्ट’ । अनि यसलाई पाठकसामु ल्याउन जुर्मुरायो ‘फित्कौली अनलाइन मिडिया’ र यसमा आफ्नो बुझक्कीपन प्रस्तुत गरे सिन्धुपाल्चोके सिड्योसाप नरेन्द्रराज पौडेलले । पौडेल आफैमा दरिला हास्यव्यङ्ग्यकार हुन् । उनका शब्दमा मिठास नहोला किनभने प्रशासकहरूमा केही खरोपन हुन्छ नै । मुखालेले यसलाई आशीर्वादका रूपमा लिँदा बेस हुन्छ । मुखालेले नचाहिँदो ढर्रा देखाउँदै ‘विशिष्ट’ थपेर यो शिष्ट (अशिष्ट भने हुँदै होइन) समर्थनलाई आफ्नो भाडाखर्च लगाएर विनामूल्य दुईवटै किताप पठाइदिए । अब समर्थन पर्‍यो फसादमा । त्यति आदरसाथ पठाएको किताबमा केही नलेखोस् त पठाउनेको के मन रहला र लेखोस् त उसमा त्यो ल्याकत नै छैन । फेरि पनि मुखालेको मुकुन्डो खोलेर उनको अनुहार देखाउने जमर्को भने गरेको छ ।

नेपालमा एउटा समस्या के छ भने दृश्यात्मक हास्यव्यङ्ग्य क्षेत्रमा धेरैजसो कलाकारहरूले मुख बिच्क्याएर र अडबाङ्गे चालढाल देखाएर दर्शकलाई हँसाउने दुश्चेष्टा गरेको पाइन्छ । हाँस्छ होला एउटा समूह तर ठुलै समूह छ जसले त्यसमा भद्दापनबाहेक केही पाउँदैन । त्यस्तै लेखनमा पनि समस्या छ । त्यो के हो भने केवल पात्रका नामहरू अडबाङ्गे राख्दैमा हास्य सृजना हुन्छ भन्ने मानसिकता हामीजस्ता लेखकमा पाइन्छ जुन सही होइन । मुखालेले दुःखले लेखेको यस आख्यानसङ्ग्रहमा पनि त्यो समस्या टड्कारो देखिएको छ जसबाट लेखकहरू जोगिनुपर्छ भन्ने पङ्क्तिकारको विचार छ । बखते, गबुल्ले, जुठे, गुइँठे (दुई पटक) चङ्खे, झिल्के, झ्याउँकिरी र नक्कली आदि । यी र यीजस्तै अन्य नामहरू भैरे, भकुन्डे, फ्याउरी, म्याउसी यस्ता नाम हुन् जसले समाज र लेखक दुबैको घृणाको सामना गरिरहेका छन् । के समाज विकृत भएको यिनीहरूकै कारणले हो त ? के यस्ता नाम हुनु नै समाज विकृत हुनु हो त ? के सत्यप्रकाश, रामप्रसाद, सावित्री, सरस्वती नामका पात्रहरू सधैँ आदर्श चरित्र र यिनीहरू व्यङ्ग्यात्मक चरित्र नै हुन् त ? लेखकहरूको ध्यान यसतर्फ जानु जरुरी छ ।

साहित्य एक कला हो र कला कलाका लागि मात्र नभएर जीवन र जगत्‌का लागि हो । हामीले लेख्ने साहित्यले केवल मनोरञ्जन दिन खोज्यो भने त्यो साहित्य छिटै मर्छ । भैरवका हास्यव्यङ्ग्यहरू किन अमर छन् ? उनले हास्यलाई साध्य बनाएनन् । हास्य त केवल एक साधन हो, शैली हो लेखनको । कुनै व्यक्ति, प्रवृत्ति वा समाजको विकृत चरित्रलाई उदाङ्गो पार्नुपर्दा सोझै भन्यो भने आक्षेप हुने भएकाले लेखकले व्यङ्ग्यको सहारा लिन्छ र व्यङ्ग्य पनि कोरा नभइदेओस् भनेर हास्यको रस मिसाइन्छ । अर्थात् हास्य साहित्यको मिठास मात्र हो, स्वाद मात्र हो । जसरी तितो औषधि खुवाउन त्यसलाई महमा फेट्ने गरिन्छ त्यसै गरी व्यङ्ग्यको तितोपन सुरुमै तितो नलागोस् भनेर हास्यको आवरणमा प्रस्तुत गरिन्छ र त्यो रचना हुन्छ हास्यव्यङ्ग्यात्मक रचना जसमा जसमाथि व्यङ्ग्य गरिएको हो त्यसले पनि पहिले त अर्कैलाई भनेको भनेर खित्‌खित्‌खित्‌खित् गरेर हाँस्छ अनि जब थाहा पाउँछ त्यो उसैलाई पो भनिएको रहेछ अनि बल्ल मरिच चाउरिएझैँ चाउरिन्छ । यही हो हास्यव्यङ्यको सार्थकता र सफलता ।

केही उपबुज्रुकहरू फेरि हास्यव्यङ्ग्य विधा भनेर उपबुज्रुक्याइँ देखाउँछन् । वास्तवमा यो विधा होइन, यो त रसिलो शैली मात्र हो । साहित्यका नवरसमध्ये तेस्रो नम्बरमा आउँछ यो । हास्यव्यङ्ग्य शैलीको प्रयोग गरेर गीत, गजल, कविता, मुक्तक, निबन्ध, कथा र उपन्यास पनि लेख्न सकिन्छ यदि ल्याकत छ भने । त्यसैले हास्यलाई नै साध्य बनाएर साहित्यसृजना गर्न खोज्दा उद्देश्य हराउँछ र शेष रहन्छ केवल बोक्रे हाँसो जुन हाइनाको हाँसोजस्तो बन्न पुग्छ ।

मैले पहिलो चरणमा त्यही शीर्षक पल्टाएँ जुन कृतिको शीर्षक बन्न पुगेको छ र समर्थन नगरी भन्दा त्यसमा कुनै हास्य देखिएन । म त कृतिको नाम त्यही किन राख्नु परेछ भनेर पो जिल्लिएँ । कुनै सन्दर्भविना नै सपनामा जङ्गबहादुरको फ्रेन्डरिक्वेस्ट आएको भनेर कथा समापन गरिएको रहेछ । यसरी अचानक कुनै कुरा देखाएर लेखकले भन्न खोजेको कुरो स्पष्ट हुँदैन । पहिलाको प्रसङ्ग सही थियो र त्यसैमा समापन गरेको भए हुने थियो । यो थप अप्रासङ्गिक कुरो मलाई चित्त बुझेन । तर एउटो चित्त बुझेन भन्दैमा कृति नै चित्त बुझेन भन्नेचाहिँ होइन है ! ‘अलच्छिनको लक्षण’ र ‘चम्चा र काँटा’ले तगडा व्यङ्ग्य पस्केका छन् । यस्तै अरू पनि केही छन् तर पहिले यिनको कुरो गरौँ ।

यी दुवैले भूत, वर्तमान र भविष्यको कालक्रमलाई देखाउँदै अस्ति, हिजो के थियो, आज के छ र भोलि कस्तो हुनेछ भन्ने कुरालाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरेका छन् । राष्ट्रियताको चिन्ता साह्रै मार्मिक रूपमा आएको छ । पृष्ठ असी र एकासीमा रहेका यी आख्यानहरूमा प्रत्यक्ष पात्रहरू त छैनन् तर अप्रत्यक्ष तथा निर्जीव पात्रहरू तगडा देखिएका छन् । जस्तै ‘अलच्छिनको लक्षण’को अस्ति बाजेले ‘श्रीमान् गम्भीर…’ गाए तर यसले हाम्रो अवस्था सुध्रिने कुरामा शङ्का व्यक्त गरे । हिजो बाले तिनै ‘श्रीमान् गम्भीर…’लाई सेतो हात्ती भनेर पाल्न नसकिने र फाल्नुपर्ने कुरा गरे । आजको अवस्था के छ भने त्यस्ता सेता हात्तीहरू एकबाट धेरै भए र तिनीहरू घिच्नमै व्यस्त छन् । बरु यति धेरै सेता हात्ती पाल्नुभन्दा उही पुरानो एउटै सेतो हात्ती पालौँ भन्नेहरू जम्जमाएका छन् । अब भोलि के होला त ? लेखकको चिन्ता छ, यही गति रह्यो भने भोलि हामी ‘सयौँ थुँगा फूलहरूको एउटै माला’ पनि चुँडिने र ‘श्रीमान् गम्भीर नेपाली..’ पनि नरहेर सबै ‘जनगणमनका अधिनायक’ बन्ने सम्भावना बढेको छ है ! सचेत बन । रचनाको उद्देश्य हुन्छ र त्यो स्पष्ट हुनुपर्दछ जुन यसमा भएको छ । मेरो नजरमा यो यसभित्रको अब्वल आख्यान रचना हो । यसले टड्कारो राष्ट्रिय चिन्ता व्यक्त गरेको छ ।

दोस्रो हो ‘चम्चा र काँटा’ । यसमा राजनीतिक व्यङ्ग्य छ । हाम्रा राजनीतिक दल र तिनका माउतेहरूलाई नचाउने त तिनका चम्चा र काँटा हुन् । चम्चा र काँटा त्यस्ता साधन हुन्‌् जुन खाना भरिएको प्लेटमा मात्र बस्छन्, प्लेटलाई रित्याउँछन् र छुट्टै गएर बस्छन् वा अर्को प्लेटको प्रतीक्षा गर्छन् जसमा खाना छ । यी राजनीतिक काँटा चम्चाहरूले गर्दा कहिले कुन समीकरण बन्छ त कहिले कुन समीकरण बन्छ । समीकरण बनाउने र बिगार्ने पनि तिनै हुन् तर तिनका ख्वामित्‌हरू तिनको स्वार्थ बुझ्दैनन् र हातले चम्चा नचाउनुपर्नेमा चम्चाले हातलाई मात्र हैन, हातवालालाई पनि नचाइरहेका छन् ।

अर्को आख्यान हो ‘देखाउने दाँत’ यसमा व्यङ्ग्य छ तर त्यसभन्दा बढी करुणा छ । पितृ अमावश्यामा हाकिम छोराले सम्झ्यो भनेर छोरो भेट्न बाबु जान्छ । तगडा व्यङ्ग्य त यहीँ छ । छोराले बाबुको मुख हेनुपर्नेमा बाबु नै छोरालाई मुख देखाउन जानुपर्ने र जाँदा छोराले सोधीखोजी पनि नगर्ने तर संयोगले भेटिएपछि भने नक्कली दाँत देखाउने कुराले प्रवृत्तिप्रति व्यङ्ग्यभन्दा अवस्थाप्रति तीव्र करुणा जगाउँछ । आँखा आँसुले भरिन्छन् । मेरो सुझाव छ यसलाई हास्यव्यङ्ग्यमा नराखेर अति यथार्थवादी कथामा राख्नुपर्छ ।

‘कोइलाको आगो’ पनि राजनीतिक व्यङ्ग्य हो जुन सफल छ । ‘ककरो नहीँ कहिदिय’मा भने ठमेल जाँदा ठिमीतिर पुगेजस्तो छ । ‘सेकन्ड ह्यान्ड’ केवल हास्यका निम्ति लेखिएकोजस्तो लाग्छ । ‘खुला दिशामुक्त’ कुनै पूर्वतयारी र जनचेतनाविना नै नयाँ कुराको घोषणा गरेर मिडियामा नाम कमाउने होडमा लागेका तथाकथित पालिका र तिनका प्रमुखहरूलाई प्रहार गर्ने उद्देश्यले लेखिएको हो र सफल छ ।

समग्रमा केही केवल हास्यका लागि लेखिएका लागे पनि केहीले राम्रो सन्देश सम्प्रेषण गरेका छन् । तर लेखक त्यस्ता नाम र हास्यका लागि हास्य भन्ने भ्रमबाट मुक्त हुनु जरुरी छ ।

कृतिमा थुप्रै छपाइसम्बन्धी त्रुटिहरू छन् र तिनले कतै त बिजोगै पो पारेका छन् त ।
१. ऊ दिउँसै गाँजा तानेर बस्या रैछन् । पृ.३४ (कि उनी हुनुपर्ने कि रैछ हुनुपर्ने ।)
२. ‘के गर्न त अब मैले ?’ पृ.३४ (गर्नु वा गर्ने हुनुपर्ने ।)
३. ‘आफ्नो पालोमा नगरे कहिले गर्न ।’ पु. ५० (पालामा र गर्ने हुनुपर्ने ।)
४. अब एक झमट फेरि यी बूढाबूढीलाई एक्लै बात मार्न छोड्दिऊँ तो, निकाल्यो । पृ. ५७ (निकालिहाल्यो भन्दा पहिले के ? के निकालिहाल्यो ? सके जुक्ति वा यस्तै कुनै शब्द छुटेको छ ।)
५.अहिले आएर त्यसैले मेरा बाउको बिहे देखाइराकी प्रणामजी ! हाँ ! चल रहा है ।’ चङ्खेले खुड्य्य गर्‍यो । पृ.६० (नेपाली र हिन्दी संवादको बिचमा कुनै चिह्न वा सन्दर्भ हुनुपर्ने ।)

तर यसका अतिरिक्त आञ्चलिकता भने मिठो गरी आएको छ –
१.‘गोर्बाहीटोलके जुक्तिलाल मालिकके लप्कि बहु गुहाइरमे धेनपेडाके लग्मे पादल्के ।’ पृ. ५२
२. ‘नक्कली नगृता’ ठुस्स गनायो । पृ.६९

बेजोड त म भन्दिनँ तर अड्कोपड्को तेलको धुप भनेझैँ आख्यानमा हास्यव्यङ्यको खडेरी परेको बेला यो एउटा जीवनदायी वर्षा हो । अर्को कृति पढ्न शेष छ । मुखालेजीले माया गरेपछि मैले पनि मुख फोर्नै पर्‍यो । त्यसैले भन्छु, ‘लगे रहो मुन्नाभाइ !’ किनभने ‘गौरीशङ्करका नजीक चुचुरा उठ्छन् अरू वामन ।’ महाकविले त्यसै भन्नुभएको हैन । केही कृति सामान्य भएर पो केही कृतिले अब्वल बन्ने अवसर पाउने हुन् । आजको प्रयासले भोलि मुखालेको मुख अझ धारिलो भएर आओस् । मेरो अनन्त शुभकामना !

०००
रुपन्देही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
पेसा

पेसा

रमेश समर्थन
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
वरदान

वरदान

रमेश समर्थन
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
तर्सिङहोम (१)

तर्सिङहोम (१)

कृष्ण प्रधान
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
मानिस नै भन्नु पर्छ !

मानिस नै भन्नु पर्छ...

शिवप्रसाद जैशी
ए यज्ञ कैसे चलेगा ?

ए यज्ञ कैसे चलेगा...

सुरेशकुमार भट्ट
बिऊ

बिऊ

लक्ष्मी रिजाल
0
Would love your thoughts, please comment.x
()
x