साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मदारी अभियन्ता

भावनाको व्यापारलाई आफ्नो पेसा बनाउनुहोस्। समाजको पीडालाई पैसा कमाउने माध्यम बनाउनुहोस्। किनकि आजको समाजमा, जो जति धेरै क्रूर छ, जो जति धेरै भावनाहीन छ, ऊ त्यति नै सफल छ।

Nepal Telecom ad

शम्भु गजुरेल ‘कुनाघरे काइँलो’:

आवाज राम्रो छ ? अनुहार राम्रो छ ? खुरापाती दिमाग छ? दया र मानवता छैन? भावनामा खेलेर रमाउन सक्ने खुबी छ ? ‘म सबैभन्दा ठूलो मान्छे’ भन्ने आडम्बर बोक्न सक्ने छाती छ ? यदि यी सबै प्रश्नको उत्तर ‘छ’ भन्ने छ भने, चिन्ता नगर्नुस्, तपाईं छिट्टै एउटा प्रख्यात समाजसेवी कहलिएर “मावा” र “मेवा” खान पाउनुहुनेछ। यो आधुनिक युग हो, जहाँ मानवताको खोल ओढेर गरिने व्यापार फस्टाउँछ। अब तपाईंले समाजसेवाको नाममा ‘मानवताको व्यापार’ कसरी गर्न सकिन्छ भन्ने बारेमा सोच्नुपर्दैन। तर माकुरोको जालो जस्तो सेवा नामक जालो बुन्न थाल्नुपर्छ ।

धेरै मेहनत गर्नु पर्दैन। सुरुमा एउटा निरीह पात्र निर्माण गर्नुस्। सम्भव भएसम्म वास्तविक जीवनबाटै एउटा पीडित व्यक्तिलाई छान्नुस्। त्यो पात्रलाई अत्यन्त कष्टकर जीवन बाँचेको अभिनय गराउनुस्। उसको दुःखलाई सय गुणा बढाएर प्रस्तुत गर्नुस्। खलपात्रका रूपमा उसैका आफन्तलाई उभ्याउनुस्, वा कोही नभए काल्पनिक शत्रु सिर्जना गर्नुस्। अनि ती खलपात्रलाई सामाजिक सञ्जालमा तथानाम गाली गर्नुस्। कानुन र न्यायलाई आफ्नो लगौंटी बनाउनुस्। चौरमा कसैको इज्जत उतार्नुस्, तर यो सबै गर्दा क्यामेराको लेन्स तपाईंको निर्देशनमा घुमेको हुनुपर्छ।

एउटा सानो घटनालाई यति बढाउनुस् कि १२ एपिसोडको एउटा टेलिचलचित्र बन्न सकोस्। सकेसम्म त्यो नाटकका पात्रको सबै पीडालाई छोपेर आफूले टार्गेट बनाएको पात्रलाई ज्यादै पीडित बनाउनुस्। पीडाको पराकाष्ठा देखाउनका लागि घटनाको अन्तरवस्त्र समेत उतार्न नयाँ एपिसोड बनाउनुस्। तपाईंले जति धेरै दुःख र पीडालाई ‘क्यास’ गर्न सक्नुहुन्छ, त्यति नै तपाईंको भावनात्मक व्यापार चम्किन्छ। हजार लगानीमा करोड कमाइ पक्का छ। यो सबै गर्दा तपाईं भित्र मानवता हुनुहुँदैन, बरु तपाईंको मुखबाट मानवीय सेवाको कुराको पखाला लगातार हुनुपर्छ। तपाईंमा लाज नामको लेस पनि हुनुहुँदैन। तपाईं एउटा निर्लज्ज पात्रमा रूपान्तरण हुनुपर्छ।

सामाजिक सञ्जालको चिलासा र आधुनिकताको आडम्बर

जब तपाईंको उत्पादनका चिलासा सामाजिक सञ्जालमा सल्बलाउनेछन्, तब आधुनिकताको खोल ओढेर गाउँको खेतबारी बाँझो पारेर बा-आमालाई वृद्धाश्रममा फालेर सहर पस्ने अनि गमलामा धनियाँ उमार्दै टिकटकमा फिला नचाउनेहरूका आँखा रसाउँछन्। उनीहरू भित्रको ‘सुतेको’ मानवता एकैछिनमा जाग्छ। एक पलमा उनीहरू साहित्यकार, लेखक, मानवतावादी, अभियन्ता, सबैथोक बन्छन्। तपाईंले खडा गरेको काल्पनिक वा अर्ध-काल्पनिक कथाको आधारमा उनीहरू सराप र गालीको वर्षा गराउँछन् अन्धाधुन्ध। उनीहरूलाई लाग्छ कि उनीहरूले ठूलो सामाजिक काम गरिरहेका छन्, जब कि उनीहरू केवल तपाईंको व्यापारको हिस्सा बनिरहेका हुन्छन्।

तपाईंको चलचित्र सुपरहिट हुन्छ। मान्छेको भावनामा लात हानेर गरिने यो भावनाको व्यापारले तपाईंलाई रातभरमा जमिनबाट आकाशमा पुर्‍याउँछ। तपाईंको स्तर उचालिन्छ अनि तपाईं बन्नुहुनेछ सफल अभियन्ता। तपाईंको नामको अगाडि ‘महा’, ‘समाजसेवी’, ‘मानवतावादी’ जस्ता विशेषणहरू जोडिन्छन्। पुरस्कार र सम्मानको ओइरो लाग्छ। विभिन्न अन्तर्राष्ट्रिय फोरमहरूमा तपाईंलाई वक्ताका रूपमा आमन्त्रण गरिन्छ, जहाँ तपाईं मीठा-मीठा भाषण छाँटेर आफ्नो छवि अझ उज्यालो बनाउनुहुन्छ।

क्रूरतामा सफलता

जसरी हिंसा नगर्ने मान्छे राजनीतिज्ञ हुन सक्दैन, त्यसैगरी भावनामाथि बलात्कार नगर्ने मान्छे सफल अभियन्ता हुन सक्दैन। यो कटु सत्य हो, जुन समाजले बिस्तारै-बिस्तारै स्वीकार गरिसकेको छ। यदि तपाईं साँच्चै सफल हुन चाहनुहुन्छ भने, क्रूर बन्नुहोस्। आफ्नो संवेदनालाई मार्नुहोस् । भावनाको व्यापारलाई आफ्नो पेसा बनाउनुहोस्। समाजको पीडालाई पैसा कमाउने माध्यम बनाउनुहोस्। किनकि आजको समाजमा, जो जति धेरै क्रूर छ, जो जति धेरै भावनाहीन छ, ऊ त्यति नै सफल छ।

यो केवल व्यङ्ग्य मात्र होइन, यो हाम्रो समाजको एउटा नग्न सत्य हो। के हामीले साँच्चै यस्तै अभियन्ताहरूलाई प्रोत्साहन गरिरहेका त छैनौं ? के हामी मानवीयताको नाममा भइरहेको यो व्यापारमा अन्धाधुन्ध सहभागी भइरहेका त छैनौं ? प्रश्न आफैंलाई सोधौँ र यसको उत्तर खोज्ने प्रयास गरौँ।

०००
नुवाकाेट

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Madan Kumar Paneru
Madan Kumar Paneru
9 months ago

One of the Best 💯💐

Nepal Telecom ad
छद्म छायाहरू

छद्म छायाहरू

शम्भु गजुरेल
बिनाकाम दामैदाम

बिनाकाम दामैदाम

शम्भु गजुरेल
मेरो जेठो छोरो

मेरो जेठो छोरो

शम्भु गजुरेल
कालकाे काल छैन

कालकाे काल छैन

शम्भु गजुरेल
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
1
0
Would love your thoughts, please comment.x
()
x