साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुसालाई टाई

टाई लाउने र नलाउने सबै खाले मुसाहरुले आफूहरुलाई श्रीमुसक महाराजका रुपमा नाम दर्ता गरेका छन् । केन्द्रमा सिंहदरबारदेखि स्थानीय दरबारसम्म र घरबारको कारोबारदेखि छेकबारसम्मको खानपान नीतिमा संलग्न छन् ।

Nepal Telecom ad

माधव पोखरेल गोज्याङ्ग्रे :

मुसा हाम्रो कट्टर दुष्मन हो तर के गर्नु त्यो जावो नाङ्गो शरीरमा टाई लाएर सबैको हाई हाई भाको छ । गणेशजीको बाहन भनेर सबैले सम्मान गरेर मात्तिएको मुसोले टाँई न तुँईको टाई लाएर चोर्न बाहेक अरु केही जानेको छैन । टाई लाएर चोर्न पल्केको मुसोले साँच्चै भन्ने हो भने हामी कतिपयलाई बसि खान दिएको छ न उठी खान दिएको छैन र ऊ आफू मात्र खान पल्केको छ ।

नामै मुसा जातै मुसा कामै मुसा भएको मुसाले नलाउनु टाई लाएपछि चोर्नु नै पर्ने अवस्था किन आयो होला भनेको त टाई लाएर चोर्दा खिच्चा, खान नपाएको, गरिब, हरि तन्दम होला भनेर गाली गर्ने भएकोले भलाद्मी, इज्जतदारी सम्मानित होइन्छ भनेर टाई लाएर चोर्न पल्केको रहेछ । यदि कसैले समाती हाले भने पनि टाई लाएको देखेर यो चोर होइन भलाद्मी मुसा रहेछ भनेर सबैले छाडि दिने भएकोले पनि मुसाले टाई लाएर चोर्ने काम गरेको रहेछ भन्ने कुराको पत्ता लागेको पनि सदियौँ भएछ ।

यो मुसाले मलाई कम हैरान पारेको छैन । २०६८ मा त मैले यो मुसालाई मुद्दा नै हाले तर अहिलेसम्म नि फैसला हुन सकेको छैन । मुसाका कारण मेरो उठीबास हुने अवस्था आएकोमा मैले पटक पटक नै विज्ञप्ती निकालेर सुध्रिन मौका दिए । तर सुध्रिएन र मेरो कपडा, किताब कापी काट्न, सुट्केश, झोला काट्ने, अत्यावश्यक कागजपत्र काट्ने काममा लागि रहेयो । भान्सामा राखेको खानेकुरा खान र राती आफू ओछ्यानमा श्रीमतीसँग सुतेको समयमा डिष्टर्व गर्न आइरहने मुसोले सानो सुट्केशमा राखेको टाई नै धुजा धुजा पारेछ । यो देखेर मेरो कन्सिरीको रौ ठाडो भएर आयो । मेरो रिसको पारो बढेर मुसालाई केही गर्न नसक्ने अवस्थामा पुगे ।

रिसको पारो बढेको बेलामा मेरो आँखा मुसाले प्वालैप्वाल पारेको झुत्रो टाईमाथि पर्‍यो । टाईलाई ओल्टाई पल्टाई हेरेको त टुक्रै टुक्रा पारेको रहेछ । मेरो रिसको पारोले सिमा नाघेकोले मैले त्यो टाई त्यही मुसोलाई लाइदिएर त्यसको बेइज्जत गर्ने निधो गरे । मेरो टाई काट्ने मुसोको खोजी गरेको त भान्सामा रहेको पानीको बाल्टिनमा पौडिखेलिरहेको रहेछ । मौका यही हो भनेर च्याप्प समातेर झुत्रो टाई गलामा ढाँडमा र पुच्छरमा बाँधिदिए । मुसो त झन हिरो देखियो । टाई माथि टाई लाएको मुसो मैले टाई लाइदिएपछि भाग्यो गाउँतिर । गाउँलेहरुले टाई लाएको मुसा गाउँतिर पस्यो भनेर हल्ला खल्ला गरे । आफ्‌नो ठूलो इज्जतमा दाग लागेको सम्झेर होला मुसाले समाजका अगाडि नाक मुख देखाउन सकेन । बिरालो पनि फेरि त्यही बेला नै ससुराली गएको रहेछ र मुसाले दुःख दिएको कुरा उसले पछि चाल पायो ।

आफूले लाएको टाईले उसको इज्जत बढेको थियो भने मैले लगाई दिएको झुत्रे टाईले नाकमा बेइज्जतीको गन्ध आएकोले होला कुलेलम ठोक्यो मुसा । अर्कोतिर पुरानो मुद्दा फैसला हुन पाएको छैन फेरी अर्को मुद्दा हाल्नु पर्‍यो भनेको त मुसाले अदालतको मुद्दाको फाइल नै काटेर सखाप पारेछ । यस्तो फटाहा मुसालाई गणेशजीले आफ्‌नो अंगरक्षक बनाएर भक्तजनहरुप्रति अन्याय गरेको ठहर गरेको छु मैले । यो मुद्दाका बारेमा अदालतमा श्रीमानलाई भेटेर कुरा राखेको त त्यो मुसाले श्रीमानको पनि लुगा, कागजपत्र काटेर, खानेकुरा जुठो हालेर, छरेर ध्वङ्स गरेको रहेछ ।

सम्माननीय, माननीयहरुले त तह लाउन नसकेको यो मुसालाई तह लाउने भनेको बिरालो नै रहेछ भन्ने कुरा बल्ल बुझे मैले । मुसाको पिरले बिरालो पनि पाले तर बिरालोको गन्ध परैबाट थाहा पाउने भएकोले मुसा कैयौ दिनसम्म पनि मेरो घरमा देखा परेन । मैले लगाईदिएको टाई खोलेर मेरै घरमा छाडेर भाग्यो मुसा । भागेको मुसो, बिरालो मेरो घरबाट अन्यत्र बसाई सरेपछि मात्र मेरो घरमा आयो । झुत्रे टाई लाएर कुना काप्चा चाहार्न थाल्यो । फेरी मुसो एक्लै आएको भए त हुन्थ्यो नि थरिथरिका श्रमितीहरु अघिपछि लाएर नाङ्गा नाङ्गै भएर लाज शरम पचाएर आएको । जेरका जेर श्रीमती ल्याएको देख्दा त बाल विवाह र बहु विवाहमा जाकौ कि भन्ने लागेको थियो तर त्यो टाई लाउने चोर मुसालाई मुद्दा हालेर केही फाइदा नहुने देखेर वकिल सावहरुले नि निचमारे पछि म पनि पछि हटे ।

यो मुसाको उपद्रो हेर्ने हो भने विश्वका उपद्र्याहाहरुको सूचीमा यसको नाम पनि दरिन्छ होला जस्तो लागेर आउँछ । मान्छेले गर्ने उपद्रोसँग दाँज्दा पनि हुने मुसाको उपद्रोले विश्व हल्लाएको छ भन्दा पनि फरक पर्दैन । विश्वमा मुसाको उपद्रोका बारेमा अनौठा खालका समाचार आउने गरेको हामीले सुनेका छौ र मुसाका विरुद्धमा अदालतमा मुद्दा दर्ता भएको पनि सुनेका छौँ । तर एउटा कुरा के भने मुसा टाई लाएर मुसुमुसु हाँस्दै अर्काको आँखा छलेर बिगार गर्न पछि पर्दैन । उपद्रो गर्न सधै अघि सर्ने मुसाले अर्काको श्रीमती र वेवारिसे सन्तान, झड्केलो सन्तान भने धेरै पालेको हुन्छ । प्राणीहरु मध्ये सबैभन्दा बढी उपद्रो र उट्पट्याङ काम गर्ने भने कै म्‌साले हो भन्दा फरक पर्देन । अझ दुई दुई वटा टाई लाएपछि त आफूलाई मुसाले हात्ती नै सम्झन्छ कि क्याहो ? नव नेता भन्दा पनि बढ्ता भएर देखा परेको छ अचेल यो मुसा । यसको चरित्र हेर्ने हो भने जीवनभरी पिंजराभित्र थुनेर राख्नु पर्ने स्वभावको छ । तर गणेशजीले छाडा छाडेर बिग्रेको यो मुसालाई सपार्ने काम भने साह्रै गाह्रो रहेछ भन्ने कुरा सर्प र बिरालोबाट थाहा पाइन्छ ।

मंसिरका समयमा दिनमा सत्रवटी ल्याउन सक्ने हिम्मत भएको मुसाले साँच्चै भन्ने हो भने चोरी गर्ने काम मानवबाट नै सिकेको हो कि जस्तो लाग्छ । शिवजीका पालामा गणेशजीले मुसालाई आफेनो बाहन भनौँ वा अंगरक्षक नबनाएको भए यति बाठो र चोर हुने थिएन होला । गणेशजीको ठूलो भुँडी भर्नकालागि खाद्यान्नको व्यवस्था सबै मुसाले नै गरेको थियो रे । गणेशजी आफू भूँडी ठूलो भए कै कारण हिड्डुल गर्न नसक्ने भएकोले मुसालाई चोरेर खाद्यान्न ल्याउन अह्राएको हुन सक्छ । मुसाले एक मंसिरमा जम्मा गरेको धानले वर्षभरी खान पुर्‍याउँछ । गणेशजी पनि त्यसैबाट पालिएका थिए भन्दा फरक पर्दैन ।

थुतुनो चोसो परेको र टुसो भएको मुसोले शरीरमा टाई लाएर सबैको हाईहाई भएपछि दुष्मनले बाईबाई गर्नुभन्दा पहिले नै मुसाले दस हात जमिन नापी सकेको हुन्छ । जमिन नाप जाँच र खनजोतमा मंसिरका महिनामा बढी ध्यान दिने गरेको कतैबाट पनि लुक्न सकेको छैन । अरु समयमा प्रत्येक घरघरमा पुगेर मुसीसँग मडारिने मुसो आफ्‌ना सन्तानलाई पाखा लगाएर अरुलाई काखामा राख्छ । समाजमा विकृति फैलाउने मुसाका कारण बिग्रनेहरुको संख्या पनि कम छैन । पटक पटक चेतावनी र कार्वाहीको भागिदार भएको मुसाले टुसो पलाएको केही देख्नै हुन्न । टुसोमा टोकेर आफ्‌नै हानी नोक्सानी गर्ने मुसाले टाई लाएका भरमा अर्काको घरमा गएर दादागिरीको शैलीमा थैलीमा आँखा लाउनु ठिक होइन । मुसाले मुखाले, चोथाले बन्नु पनि ठिक होइन । चोरेर खानु, अर्काकी श्रीमती ल्याउनु, ठाउँ सरी रहनु उसको धर्म हो विशेषता हो ।

एकदिन मुसो टाई लाएर अर्काको श्रीमती चोर्न गएछ । तर मुसाले जे चोर्न खोजेको हो त्यो अर्कै मुसोले अर्थात् टाई नलाएको मुसोले लगेछ । अब टाई लाएको मुसोलाई रिसले पारो चढेछ । आफूले खोजेको कुरा अर्कैले उडाएपछि खपिनसक्नु भएकोले गलामा लाएको टाईलाई घरको दलिनमा ठोकेको काँटीमा उनेर आफू त्यही टाईमा झुण्डिएर इहलिला समाप्त पारेछ । यो देखेर टाई नलाउने मुसाहरुले अबदेखि कुनै पनि मुसाले घाँटीमा पासो नलाउने, टाई पनि नलाउने र लाएमा त्यसलाई मुसा समाजबाट बहिष्कार गर्ने निधो गरेपछि भने केही मुसाहरुले टाई लाउने काम बन्द गरेछन् ।

कस्तो अचम्मको कुरा भने जानु छ चोर्न र अर्काको बिगार गर्न, गलामा टाई लाएर ठाँटिएर चोर्न जानुको अर्थ हुने खानेले नहुँदा नखानेको सम्पति प्रति आँखा लाउनु हो भन्दा फरक पर्दैन । यि मुसे मुसाहरुप्रति हामीले बेलैमा निगरानी बढाउनु आवश्यक देखिएको भए पनि सै बिराला मुसा जस्तै भएका छन् । मुसा र बिराला एकापसमा जातै शत्रुताका पर्याय हुन । दुबै प्रति समाजको धारणा सकारात्मक छैन । तर पनि समाजले त्यही मुसा र बिरालोलाई पालेका छन् । भनौँ समाज मुसा र बिरालाको संरक्षकका रुपमा रहेका छन र त समाजमा मुसा बिरालाहरु छ्यास्छ्यास्ती देखा परेका छन् । मुसा बिरालाले सबैलाई दुःख दिएको छ । तर आफूलाई दुःख दिने त्यही मुसा बिरालोलाई तेल घसेर, मिठो मिठो खाने कुरा दिएर पाल्ने पनि समाज नै हो । अर्को कुरा मुसाले दुःख दियो भनेर त्यसको बेइज्जत गर्न टाई लगाई दिने म जस्ता गोज्याङ्ग्रेका कारण पनि मुसाहरुले हौसला र प्रश्रय पाएर समाजमा उधुम मच्चाउन अघि सरेको स्पष्ट छ ।

अर्को कमत्वपूर्ण चुरो कुरो केहो भने नेपाल सदियौँदेखि मुसाबादमा विश्वास गर्ने देश भएकोले पनि मुसाहरुको चकचकी बढि भएको हो कि भन्ने मलाई लागेको छ । नेपाली मुसाहरु चोर्ने कलामा आफ्‌नै स्ट्यान्डरमा बस्ने भएकोले होला विश्वमा नाम कमाउन र गुमाउन पनि सफल भएका छन् । कमसल र बद्नाम मुसाका रुपमा विश्वमा नाम दरिएका भ्रष्टका रुपमा प्रष्ट भएका मुसाहरु छन । भ्रष्टहरुको जालोभित्र जेलिएका कारण विश्वमा चर्चित भएको टाई बाँध्ने मुसा शरीरको टुसो हजारौ पटक भाँचेर पनि नाँच्न अघि सरिरहेका छन् । उमेरले लौरो टेकेर हिड, ओछ्यानमा सुत, वृद्धाश्रममा रमाइलो गरेर बस, अस्पतालको बेडमा आराम गर भन्छ तर मुसाहरु चोसो पसारेर शरीरको बोसो पग्लिने गरी उफ्रन छाड्दैनन् ।

टाई लाउने र नलाउने सबै खाले मुसाहरुले आफूहरुलाई श्रीमुसक महाराजका रुपमा नाम दर्ता गरेका छन् । केन्द्रमा सिंहदरबारदेखि स्थानीय दरबारसम्म र घरबारको कारोबारदेखि छेकबारसम्मको खानपान नीतिमा संलग्न छन् । झुसे मुसे मुसाहरु आफूहरुलाई नेपाल कै कानून वेत्ताका रुपमा लिन्छन र टाई लाएर आफ्नै दाजुभाइलाई ठगेर घ्याम्पे भुँडी भरेको सबैमा जग जाहेर नै छ । त्यसैले मुसालाई भाइ र बिरालालाई दाइ कहिल्यै नभन्नु । त्यै पनि टाई लाउने जातको मुुसो पर्‍यो भने दाइभाइ दुबैले तिरस्कार गर्छन । यो मुसाको जात नै बैरी भएकोले टाई लगाई दिएर बैरीको झन बेइज्जत होस् भनेर प्रयास गरेको त मुसो झन पो समाजमा छुसी हिरोको रुपमा उभियो ।

०००
उदयपुर, गाईघाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
नेपाल कछुवा दल

नेपाल कछुवा दल

माधव पोखरेल गोज्याङ्ग्रे
जालझेल

जालझेल

माधव पोखरेल गोज्याङ्ग्रे
व्यशासन भित्रको कुशासन

व्यशासन भित्रको कुशासन

माधव पोखरेल गोज्याङ्ग्रे
नगरगाउँका सिंहमहाराज

नगरगाउँका सिंहमहाराज

माधव पोखरेल गोज्याङ्ग्रे
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x