साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किताब छपाउन गाह्रो ! तेर्सिन्छन् ऋण-उधारो !!

कोही कसैले पुस्तक छपाउन चाहनुभएको छ भने ऋण गरेर भए पनि छपाउनुस्, त्यो कृति तपाईँको ठूलो सम्पत्ति र वैकल्पिक सन्तान बन्नेछ। विरोध गर्ने मुर्खले आफ्नो खाल्डो आफै खन्नेछ।

Nepal Telecom ad

अमर अधिकारी :

हुन त मैले साहित्य लेखनतर्फ हात हालेको २०५३ सालदेखि हो। मैले विद्यालय र कलेजका कुनै पनि कार्यक्रम तथा प्रतियोगितामा भाग लिने अवसर भने पाइनँ, गीत पनि गाइनँ। सरकारी जागिर छोड्दाबित्तिकै साहित्य लेखनमा सक्रियता देखेर धेरैजना चकित पर्नुभो, कसैकसैले भने डाहाले आँखा तर्नुभो।

नेताहरुको सातो उड्ने गरी लेख्नथालेपछि नेताका छाउराहरुले जाजुसी गर्नथाले अनि झोलेहरुले धम्की दिनथाले। तै पनि म विचलित भइनँ, त्यस्ताको डरले म कहिँ गइनँ। किन कि म सच्चा देशभक्त र जनताहरुको पहरेदारको रुपमा सक्रिय हुन्छु भन्ने लागिसकेको थियो। मैले मालपोतको हाकिमको कुर्सी लत्याउनुको कारण मेरा कैयन लेखहरु र मेरै पुस्तकमा उल्लेख छन्। मुलुक बरबादीतिर गैरहेकोमा चिन्ता गर्ने कम नेपालीहरुको सूचीमा म अट्छु जस्तो लाग्छ। जति कराए पनि हुनेवाला केही हुँदैन भन्नेहरु पनि नभएका होइनन् यहाँ। सायद उनीहरुले मेरा लेखका प्रभावहरु थाहा पाएका छैनन् होला।

मेरो पुस्तक ‘ओगिल्जा’ निस्किदाबित्तिकै त्यही पुस्तक नै रोजगार पाउने प्रमाणपत्र बन्यो। जुन पुस्तक छपाउँदा मैले घाटा व्यहोर्नुपरेको थियो। ऋण त गर्नुपरेन, तर उधारो भने पछिसम्म बाँकी थियो प्रेसमा। मोबाइलमा कोरिएको नेपालको पहिलो पुस्तक बन्यो ‘ओगिल्जा।‘ २०८० मंसिरदेखि २०८१ मंसिरसम्म दुईसय भन्दा बढी लेख-रचनाहरु प्रकाशन भए दुई दर्जनभन्दा बढी मिडियाहरुबाट। दिनमा ३।४ सावटासम्म लेख-रचनाहरु प्रकाशन हुँदा साथीभाइहरु छक्क परे, कसैकसैले डाहा गरेर मलाई आँखा तरे। साहित्यिक संस्थाहरुसँग नजिकिदा त्यहाँका पदाधिकारीहरुले मेरो पहिचान राम्रोसँग गर्नुभयो। ज्ञान-चेतना सम्बन्धी मेरो एउटा लेख प्रकाशन भएपछि त्यो लेख साभार गरेर प्रकाशन गर्ने मिडियाहरुको संख्या उल्लेख्य मात्रामा देखियो। पूर्व इलामदेखि पश्चिम डडेलधुरासम्मका मिडियाहरुले त्यो लेख प्रकाशन गर्दा मलाई ज्यादै नै सन्तोष प्राप्त भयो। मेरो पहिलो लेखले सिंहदरबारमा नै तरंग पैदा भएर रातारात सुधारका काम भएको देख्दा पनि मलाई ठूलो सन्तोष प्राप्त भएको थियो। मेरा लेखका कारण पाँचौ सुधार गुणस्तर विभागमा देखिएको छ। नेताहरुको ओँठमुख सुक्नेगरी लेख्दा उनका छाउराहरुले आपत्ति जनाउछन्। किन कि उनीहरु झोला बोक्ने झोले र खोलैखोला हिँड्ने खोले न परे। दलालहरु मार्फत महाभ्रष्टलाई ठूलो पद दिलाउन हजार हजारका बिटाका ब्रिफकेस घरमा पुगेन कि। पदहरुको खरिद विक्री नै हुन्छ लिलाम बढाबढमा यहाँ।

कालीलाई गोरी बनाइदिने र केटीलाई केटा बनाइदिने भन्दै जन्तर-मन्तर बेच्नै हिँड्ने पाखण्डीहरुको समेत संरक्षण गर्ने यस्ता तोरीलाउरे नेताहरुबाट देशले के आश गर्ने। अर्बपति ठग जोगीहरुको कमाउ धन्दामा साथ दिने र चुनावमा भोट बैंकको रुपमा प्रयोग हुने धाम, आश्रम … मा नेताहरु धाउनाले देश ढुसी परे जस्तो छ। नाम पनि के-के हुन् के-के ठगीखाने अखडाहरुको। बाहिरी रुपमा ज्ञान-चेतनाका कुरा गर्ने र अन्धभक्तहरुबाट भित्रभित्र नगद लुट्ने यस्ता लुटेराहरुका ठगी धन्दाका मसँग धेरै प्रमाण छन्। यस्ता ठगहरुलाई तह लगाउन न्याय प्रशासन र प्रहरी प्रशासन नै आनाकानी गरिरहेको पाइएको छ। नेताहरु यस्तै ढोँगी र पाखण्डीहरुको आश्रममा जाने र “कतिपटक प्रधानमन्त्री बन्छु”, “कतिपटक मन्त्री बन्छु”, “कतिपटक सांसद बन्छु” भन्दै त्यस्ता ढोँगीहरुको शरणमा परेर चरणमा लम्पसार पर्ने गरेको थोरैलाई मात्र थाहा छ। नेताहरु सिंहदरबारमा रंगमञ्चमा झैँ नाटक मञ्चन गर्छन् र रंगशालामा झैँ खेलहरु खेल्छन्। जनतालाई के थाहा त्यहाँ भित्रको गतिविधि ? सरकारी नम्बर प्लेटका गाडीहरुभन्दा निजी नम्बरप्लेटका गाडीहरु बग्रेल्ती देखिन्छन् सिंहदरबारमा। आफू पनि बाह्र वर्ष त्यतै बिताएको र मैले जागिरको क्रममा धेरै नै हण्डर खाएका कुराहरु मैले खुलेरै लेख्छु, बरु मेरो पेन्सन नै रोकियोस्। म भण्डाफोर गर्दै जान्छु फटाहरुका विरुद्धमा लेखेर।

जब मैले साहित्य-लेखनतर्फ उचाइ लिँदै थिए धेरै शुभचिन्तकहरु खुशी थिए। दुःखका साथ भन्नु पर्दा केही आफन्तहरु भने बेखुशी थिए। हुन त भनिन्छ- “विरोधीहरु खोज्न घर बाहिर निस्कनुपर्दैन।“ घर भन्नाले आफन्तवृत्तलाई सम्झनुपर्दछ। खुट्टा तान्न पनि पहिला आफन्त नै अघि सर्ने गर्छन्, यो कुरा सबैलाई थाहा भएकै हो। गीत लेखेँ, कविता लेखेँ, कथा लेखेँ, साहित्यतर्फ तमाम विधाहरुमा लागेँ लेखहरुमा विविध विषयमा लेख्नसकेँ।

साहित्य-लेखनमा आधा दर्जनभन्दा बढी कीर्तिमान कायम भैसकेको छ। आधा दर्जनभन्दा बढी उपाधि, संज्ञा, उपनाम पाइसकेको छु। पुरस्कारसहित सम्मानपत्र, आदरपत्र भित्तामा सजिएका छन्। “कुकुर भुक्दै गर्छन् हात्ति लम्किदै गर्छ”, वा “काग कराउँदै गर्छ पिना सुक्दै जान्छ” भनेर शुभचिन्तकहरुबाट हौसला र अग्रजहरुबाट प्रेरणा पाएपछि छोटो अवधिमै मैले उचाइ चुम्न सकेँ। सम्पत्तिको नाममा मेरो केही पनि छैन। लालपूर्जा कसैले हेर्छ भने त्यहाँ बाटोले नछोएको सानो टुक्रा बारी छ र आधा घर छ जन्मथलोमा।

“साहित्यकार बन्नका लागि धनीमानी हुनैपर्छ” भन्ने गलत मानसिकता भएकाहरुका लागि म अपवाद नै बनेको छु। “साहित्यकार बन्नका लागि खाइलाग्दो ज्यान हुनुपर्छ” भन्नेहरु पनि अहिले पुच्छर लुकाएर कुन दूलोमा पसे, थाहा छैन। त्यस्तै “शक्तिकेन्द्रहरुमा पहुँच हुनुपर्छ” भन्नेहरुलाई पनि मैले लोप्पा खुवाइसकेको छु अर्थात् झापड हानिसकेको छु। मलाई अझै दर्जन पुस्तक छपाउने मन छ, ऋण गरेर भए पनि सो काम पूरा गर्ने धोको छ र खुट्टा तान्नेहरुलाई देखाउनु छ। समाजमा सकारात्मक सन्देश छोड्ने मन छ। जन्मथलोमा ‘त्रिपुरा पुस्तकालय’ स्थापना हुनेवाला छ कसैले विरोध नगरेको खण्डमा। रक्सी र मासुमा मात्र रमाउनेहरुको बानी सुध्रियोस् भन्नाका खातिर पुस्तकालय खोल्ने योजना बनिसकेको छ। ज्ञान-चेतनाले समाजमा सुधार ल्याउने कुरा अकाट्य छ, अध्ययनले धेरै कुराको जानकारी हुन्छ। कोही कसैले पुस्तक छपाउन चाहनुभएको छ भने ऋण गरेर भए पनि छपाउनुस्, त्यो कृति तपाईँको ठूलो सम्पत्ति र वैकल्पिक सन्तान बन्नेछ। विरोध गर्ने मुर्खले आफ्नो खाल्डो आफै खन्नेछ।

यो देशमा न सामान्य प्रशासन गतिलो छ न न्याय प्रशासन राम्रो छ न त गृह प्रशासन नै चुस्त छ। गाउँ, टोल, समाज पनि यस्तै यस्तै छ। मिलेमतोमा अपराधी चोख्याउने काम हुन्छ यहाँ त! मन्त्री, विभागीय निर्देशनले समेत मेरो पैसा तिरेका छैनन्। मेरो पैसा नतिर्नेहरुको सूची बनायो भने लामै बन्छ। पैसै ठूलो ठान्नेहरुका लागि म चाहिँ घोर विरोधी हूँ। जो पैसाको पछाडि मात्र दौडिन्छ ऊ समाजका लागि भार मात्र बन्छ भन्ने यो लेखकको ठम्याइ छ।
जय देश ! जय जनता !! जय साहित्य !!

०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाटी पार्टीका कुरा

पाटी पार्टीका कुरा

रामप्रसाद पन्थी
चोरहरु

चोरहरु

कृष्ण उफान
आश्वासन

आश्वासन

सुरेशकुमार पाण्डे
भाषण गर्न सिक्नुस् !

भाषण गर्न सिक्नुस् !

हरिशंकर परसाईं
समकालीन योगको ‘आसन’ र पेटको ‘भाषण’

समकालीन योगको ‘आसन’ र...

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x