साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अन्धभक्तका प्रकारहरु

पिता पुर्खादेखि चलिआएको धर्मलाई चटक्क विर्सेर धर्मको नाममा व्यापार गर्ने करोडपति-अर्बपति जोगीहरुबाट बचौँ र बचाऔँ। पाखण्ड वा ढोँग रच्ने बाबा, सन्त वा गुरु भारतबाट आएर अन्धभक्तहरुबाट उतै पैसो ओसार्ने गरेकै छन्।

Nepal Telecom ad

अमर अधिकारी :

नेपाली वृहत् शब्दकोशले ‘अन्धभक्त’ को अर्थ नखुलाए तापनि अंग्रेजी शब्दकोशले भने ‘ब्लाइण्ड फलोअर’ भनेर उल्लेख गरेको छ। यसको तात्पर्य- “कसैले भनेको भरमा उसका पछाडि अन्धाधुन्द लागिरहनु” भन्ने कुरा बुझिन्छ। ‘अन्धविश्वास’ को अर्थ भने शब्दकोशले खुलाएको छ- “सोँच विचारै नगरी अँगालिएको रीतिरिवाज” भनेर। यसको अर्थ हुन्छ खास कुरा नबुझी आँखा चिम्लेर कसैको भनाइप्रति विश्वास गर्नु। अहिले संसारमा धेरै प्रकारका अन्धभक्तहरु पाइन्छन्। नेपालको सन्दर्भमा भन्नुपर्दा तीन प्रकारका अन्धभक्तहरुका कारण देश समृद्ध हुनसकेको छैन। देशले गति नलिँदा त्यस्तै किसिमका अन्धभक्त बनेर जनताहरु पनि रणभुल्लमा परेका छन्। पछिल्लो समयमा आध्यात्मिक र तान्त्रिक संस्था वा गुरुले धार्मिक भन्दै भक्तहरुलाई नजानिदो किसिमबाट आर्थिक तथा यौन शोषण गरिरहेको पनि पाइन्छ। तर यो कुरा सबैमा भने लागू हुँदैन।

पछिल्लो समयमा आध्यात्मिक र तान्त्रिक संस्था वा गुरुले धार्मिक भन्दै भक्तहरुलाई नजानिदो किसिमबाट आर्थिक तथा यौन शोषण गरिरहेको पनि पाइन्छ। तर यो कुरा सबैमा भने लागू हुँदैन। तपाईँले एउटा आश्रम खोल्नुस् ठूलो ॐ को लोगो भित्तामा टाँस्नुस् एउटा गाईको फोटो पनि टाँसिहाल्नुस्। यदि तपाईँले पर्सी पानी पर्छ भन्नुभयो र यदि पर्सीपल्ट पानी परि नै हाल्यो भने तपाईँ त्रिकालदर्शीको सूचीमा दर्ज हुनुहुनेछ। अरु धेरै कुरा नमिले पनि तपाईँको एउटा मात्र भविष्यवाणी मिलेकै कारण तपाईँ महापुरुषमा गनिनुहुन्छ। अरु तमाम नमिलेका भविष्यवाणीप्रति अनुधभक्तहरुले कुनै किसिमको तर्क गर्ने छैनन्। तपाईँको आश्रममा दिनहूँ नगद थुप्रिन थाल्छ। किन कि तपाईँको आश्रम अर्थात् अखडामा ब्लाइण्ड फलोअरहरुको घुइँचो बढ्नथाल्छ।

हिँजोआज एकजना ढ्यांग्रो ठटाउने झाँक्रीले आफ्नो नामको अगाडि डा. लेख्नथालेका छन्। कुनै काल्पनिक तथा अवैधानिक संस्थाले उनलाई डक्टरेटको उपाधि दिएको भनिएको छ। उनको आश्रम केही दिनअघि मात्र तोडफोड गरिएको छ। पोखरामा उनलाई मुक्का हानेको र उनले माफी मागेका भिडियोहरु पनि आइरहेका छन्। नामको अगाडि डा. लेख्नका लागि पिएचडी/पोस्टपिएचडि, एमबिबिएस/एमडी गर्नुपर्ने कानूनी प्रावधान छ। त्यस्तै एकवर्षको इन्टर्नसीपको पनि आवश्यकता पर्दछ। हावातालमा कसैले पनि नामका अगाडि डा. लेख्न पाइँदैन। मेडिकल काउन्सिलबाट लाइसेन्स परीक्षा उत्तीर्ण नगरी डाक्टर लेख्ने कस्तो दुस्साहस होला?
भारतमा एकजना कथित बाबाले आफ्नो प्रवचनमा “सबै देवीदेवताहरुले मलाई सर्वश्रेष्ठ भगवान मान्छन्” भनेपछि त्यहाँ भागदौड मच्चिदा दर्जनौँले ज्यान गुमाएका थिए।

भारतमा अरु पाखण्डीहरु पनि छन् जसले आफूलाई सर्वश्रेष्ठ भगवान सावित गराउन खोज्दैछन्। नेपालमा समेत उनको प्रचार प्रसार भैरहेको छ र लुटिरहेका छन् अन्धभक्त शिष्यहरुबाट तन-मन-धन। कुनै समय एक भारतीय बाबाले नेपालमा ठगी धन्दा चलाउन नपाउदै कारणबस उतै कुलेलम ठोकेका थिए। यस्ता तथाकथित तथा भ्रमात्मक गुरु वा माताहरुले मिडिया किन्ने, प्रहरीका हाकिम किन्ने, बडी गार्डको नाममा गुण्डाहरु पाल्ने गरेको पाइन्छ। यस्तै पाखण्डीहरुका कारण देश अगाडि बढ्न सकेको छैन, जनतामा चेतना छैन। हाम्रा बाबा गुरुले छुँदाबित्तिकै जुनसुकै रोग पनि निको हुन्छ भनेर प्रपोगण्डा अर्थात् प्रचारबाजी भएपछि त्यस्ता बाबा वा गुरुका आश्रमहरुमा अन्धभक्तहरुको लस्कर लाग्नु र पाखण्डीको पोल्टामा लाखौँ-करोडौँ-अर्बौँ धन थुप्रिनु कुनै नौलो कुरा होइन।

भारतबाट नेपालमा आएर पुरुषलाई स्त्री र स्त्रीलाई पुरुषमा परिवर्तन गर्नै भन्दै जन्तर-मन्तर बेचिरहेका छन्। उनीहरुलाई कारवाही गर्नेतर्फ गृहप्रशासन मौन वा चुप रहँदै आएको छ। त्यस्ता पाखण्डीहरुले सबैतिर भेटी बुझाउने हुँदा कसैले पनि यस्तालाई कारवाही गर्नर्तर्फ चासो दिदैनन्। “हाम्रो गुरुको पछाडि डाक्टर, इन्जिनियर, वकिलहरु समेत लागेका छन्” भनेर कसैले प्रचार गरिएमा दुनियाँ पछि लाग्छन् महाठगका पछाडि अन्धाधुन्द। कर्म गर्नेभन्दा पनि कथित धर्मको ढोँग रच्नेका पछाडि निकै दौडिन्छन् अन्धभक्तहरु घर व्यवहार लथालिङ्ग पारेर। यस्ता देखावटी धर्मका पछाडि लाग्दा सर्वस्व नै गुमाउनुपरेका कहानीहरु बेलाबेला सञ्चार माध्यमहरुबाट थाहा पाउन सकिन्छ।

कथित धनाढ्य जोगीहरुले अन्धभक्त बनाउनुभन्दाअघि सर्वसाधारणको ब्रेन वास गराउँछन्। ब्रेन वासको अर्थ हुन्छ मस्तिष्क धुनु अर्थात् सम्पर्कमा आउने नयाँ मान्छेहरुमा जबर्जस्ती विचार थोपर्नु। जवर्जस्ती सम्पुर्ण रुपमा सहमत गराउनु नै ब्रेन वास हो। नानाथरी प्रचारको माध्यमले कसैको ब्रेन वास गर्नु र तन-मन-धन खिच्नु एकप्रकारको अपराध नै हो। तर अन्धभक्तहरुले त्यसलाई धर्मको रुपमा लिनेगरेका हुन्छन् र आफू लुटिएको हेक्का राख्दैनन्। ज्यानमारा बलात्कारी बाबा वा गुरुले नेपालमा झिनो धरौटीमा उन्मुक्ति पाउँदैआएका छन्। ठगी सम्बन्धी आधा दर्जन मुद्दा खेपेका कथित गुरुले पनि आश्रम खोलेर समाज सेवा गरेजस्तो गर्दै दुनियाँसँग आर्थिक लाभ लिइरहेका छन् सहयोगको नाममा।

गेरु बस्त्रधारी कसैले बुधबारलाई बिहीबार भनिदिएपछि अन्धभक्तहरु पनि हो हो बिहीबार हो भन्नथाल्छन्। एउटा भेँडा भ्या भ्या गरेपछि अन्य भेँडाहरु पनि भ्या भ्या गर्छन् भने झैँ। केही वर्षअघि भारतमा एउटा आश्रममा एकपछि अर्को गर्दै ५।६ वटा गेट खोलेपछि आश्रमको रहस्योद्घाटन भएको एउटा समाचार आएको थियो। त्यहाँ त बालिकाहरुलाई गुरु र उनका आसेपासेहरुले बलात्कार गर्दा रहेछन्। आश्रमका नाममा यस्ता संस्थाहरु बग्रेल्ती छन् भारतमा, त्यस्तो रोग नेपालमा सरिसकेको छ। भारतबाट आउने एकजना गुरुका अगाडि पोखरामा आयोजित कार्यक्रममा नेपाली चेलीहरु फन्को मार्दै नाचिरहेको र ती ढोँगीलाई आनन्द दिइरहेको दृश्य यो लेखकले देखिसकेको छ। ती गुरुले खाएर बाँकी रहेको जुठो भात खान अन्धभक्तहरु तँछाडमछाड गर्ने कुरा पनि सुनियो त्यहाँ। त्यहाँ एकजना सिकिस्त विरामी पनि ल्याइएका थिए कथित गुरुका एकजना शिष्यले। गुरुको जन्तर-मन्तरले उनलाई सञ्चो भयो वा भएन त्यो त थाहा तर ती पाखण्डी गुरुका पछाडी भ्रम बोकेर श्रम गर्न छोडेर लागिपरेका छन्। यो त भयो अन्धभक्तहरुका किसिममध्येको एक प्रकार।

राजनीतिमा पनि अन्धभक्ति ज्यादा छ। सरकारमा पुगेका शक्तिशाली नेताको नाम भजाएर राज्य कोषबाट करोडौँ अर्बौँ लुँड्याउने झोलेहरु पनि नेताका अन्धभक्तमा गनिन्छन्। सरकारमा बसेका नेताका टाठाबाठा कार्यकर्ताले मौकामा चौका हानिहाल्छन्। विचरा सोझा सिधा कार्यकर्ता केवल चुनावमा सपरिवार भोट दिने काम मात्र गर्छन्। अहिले सामाजिक सञ्जालले गर्दा कथित समाजसेवी पनि च्याउ झैँ गरी उम्रिएका छन्। देशभक्तिका नाममा एउटा मीठो वाक्य बोलिदिएपछि एकजना हावादारी मान्छेका पछाडि दौडिरहेका छन्। उनले जनतालाई मीठा सपना पनि बाँडेका छन्। मीठा सपना बाँडेपछि कुरै नबुझी विचरा सोझा मान्छेहरु उनका पछाडि दौडिएका छन्। तस्कर वा माफिया भएर के भो र पृष्ठभूमिमा ?

अहिले आएर देश र जनताका लागि राम्रो गर्छु भनेपछि जनताका केही चोइटाहरु त्यतैतिर लाग्छन् अन्धाधुन्द। नेपालमा कसैको भर र विश्वास छैन। त्यसैले कसैका पछाडि अन्धभक्त भएर लाग्नुभन्दा अगाडि उनका बारेमा धेरै अध्ययनहरु गर्नुपर्दछ। अहिले सूचना प्रविधिको विकासले गर्दा जसको पनि पृष्ठभूमि बुझ्न सकिन्छ। गुगलबाट पनि कसैका बारेमा तमाम विवरणहरु लिन सकिन्छ। पिता पुर्खादेखि चलिआएको धर्मलाई चटक्क विर्सेर धर्मको नाममा व्यापार गर्ने करोडपति-अर्बपति जोगीहरुबाट बचौँ र बचाऔँ। पाखण्ड वा ढोँग रच्ने बाबा, सन्त वा गुरु भारतबाट आएर अन्धभक्तहरुबाट उतै पैसो ओसार्ने गरेकै छन्। त्यसका साथै हाम्रै देशभित्र पनि यस्ता खालका पाखण्डीहरुको संख्या बढ्दैगएको देख्दा उदेक लागेर आउँछ। यो कलियुगका सिद्धिको चक्करमा फसेर घर व्यवहार बर्वाद नपारौँ र भ्रमजालमा नफसौँ। आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ।

०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x