डा. टीकाराम पोखरेलदासमहिमा
भ्रम नै किन नहोस् कोहीको भने आस हुँ म, कसैले भन्ने हिम्मत गर्छ र मलाई ? देश डुबाउने खास भास हुँ म, खास भास हुँ ।

हाकिम रिझाएको छु
हाकिमकै मुखारविन्दबाट नै किन नहोस्
घण्टैपिच्छे वाह ! वाह ! पाएको छु
चाहेको गरेको छु,
हाकिमकै बाहुलीबाट चाहेको गराएको छु
त्यसैले त म यो देशको दास कहलाएको छु ।
हो म दास
म यो देशको सच्चा दास
गर्व छ मलाई झोला बोक्न
गर्व छ मलाई दासको भाषा घोक्न
जुटाउने, फुटाउने अनि टुटाउने कलाको पारखी म
लडाउने, भड्काउने, थर्काउने पनि सबै म ।
हिजो पल्लो नाउमा खुट्टा
आज ओल्लो नाउमा खुट्टा
उस्तै परे दुवै नाउमा दुई खुट्टा ।
मैले जति कसले भर्न सक्छ र फूलबुट्टा ?
मैले जे भन्छु त्यो हुन्छ सबै सत्य
तिमी जाबोले भनेर के हुन्छ झुट्टा ।
मेरो धर्म दास,कर्म दास,पहिचान दास
म संवैधानिक दास
म कानूनी दास
म प्रशासनिक दास
म दार्शनिक दास
हाकिमको लागि म दाहिने हात
अडेको छ ममा नै उनको सास ।
बन्द छन् आँखा मेरा
बन्द छ विवेक मेरो
के भो त सबै बन्द भए पनि
हाकिमको ढोका मेरा लागि सधैँ खुला छ
मेरो लक्ष्य स्पष्ट छ
हाकिम भन्छन्- तिमी जस्तो सज्जन छैन कोही
अरुको त अनुहार नै भ्रष्ट छ ।
लक्ष्य मेरो तताउने, फटाउने, रिझाउने, मिलाउने
अन्तिममा भजाउने र झ्याम्म बजाउने
हो म दास, उत्कृष्ट दास, महादास
संसारकै सर्वोत्कृष्ट दास
म दासहरूको नेता
त्यसैले म दासहरूको पनि दास
हो म विश्वकै सर्वोत्कृष्ट दास ।
त्यसैले त म दास हजुर दास ।
मगर्व गर्छु आफ्नो पहिचानमा
अब संविधानमा मेरो स्थान सुरक्षित गरियोस्
समावेशीमा मेरो कोटा निश्चित गरियोस्
नत्र म आन्दोलन गर्छु
विद्रोहको राँको बाल्छु
विमतिका पर्रा बर्साउँछु
र प्रश्न गर्छु सबैलाई
ए ! दासको पहिचान खै ?
दास हुँ म दास हुँ
हाकिमको भने म सास हुँ
भ्रम नै किन नहोस्
कोहीको भने आस हुँ म आस हँु
कसैले भन्ने हिम्मत गर्छ र मलाई ?
देश डुबाउने
खास भास हुँ म खास भास हुँ ।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest









































