
चेली र परदेश
भाग्यरूपी चेहरामा आमाको आशिकी स्पर्शले छुँदा साङ्केतिक मर्मले अधरमा आहाल जमेहोलान् । छोरी ! तिम्रो झरेका आँखाका आँसुले नसम्झ मलाई तिम्रो त्यो परदेशमा ! वेदनाको गाँठो धड्कनले धकेल्दै

भीम गौतम :
छोरी !
तिम्रो झरेका आँखाका आँसुले
नसम्झ मलाई
तिम्रो त्यो परदेशमा !
वेदनाको गाँठो
धड्कनले धकेल्दै
आज परेको छ
तीजको दर खाने मध्यरात
हिक्क हिक्क आँसुले भिजेका परेला
नयनको मध्यबिन्दु डिलबाट
विरक्तिका अश्रुले भिज्दै
तिम्रो अभाव र कल्पनामा
बलिन्द्र आँसु
तर्कुलामा पुर्याएर
रोदनको दर खाने भएकी छु ।
सृष्टि रचेर आमा बने
क्षितिजको घुम्टोले
छोपिएको तिम्रो
भाग्यरूपी चेहरामा
आमाको आशिकी स्पर्शले छुँदा
साङ्केतिक मर्मले अधरमा
आहाल जमेहोलान् ।
छोरी !
विवशको खडेरीले
खोला खोल्सा सुकिरहेको यो
पट्यारिलो समयमा
धर्तीलाई नै बगाउला जस्तो गरी
विछोडका आँसु भलहरू
नयनका पटेलामा
समुन्द्र ज्वार बनेका छन् ।
तसर्थ
छोरी !
तिम्रो त्यो झरेका आँसुले र
हिक्क हिक्क हृदयले
नसम्झ मलाई
तिम्रो त्यो परदेशमा …
आज तीजको दर खाने रात ।
०००
भरतपुर, चितवन
२०८०/०५/२९