जगदीश्वर पाेखरेलविलासी
युवाको गलामा छुरी धस्न लागे कलाकार भोकै बने देश छाडे सफा व्योम माथि उडेको छ बाज विलासीहरूको चलेको छ राज ।।

जगदीश्वर पाेखरेल :
प्रजातन्त्र आयो भनी ढ्याङ फुक्छन्
गुलामी छिमेकी जदौ गर्न पुग्छन्
सदा खानलाई यिनै मात्र जुट्ने
नयाँ जाल बुन्दै बडो देश लुट्ने ।।१
युवा देश छोड्छन् धरा आँसु झार्छिन्
सदा जित्नु पर्ने बरा युद्ध हार्छिन्
बिकेनन् युवाका यहाँ खै प्रस्वेद
छ माथा झुकेको दुखी छन् दिनेश ।।२
दलाली कटारी पुराना घडेरी
युवाले बुझाए बिके खेतबारी
हिमाली धराको हवा खान छोडि
रुवाएर जान्छन् कठै बैँस जोडी ।।३
कसौडी छ भोकै उधारो मिलेन
सुके ओठ घाँटी कसैले चिनेन
छ नृत्यङ्गनाको पिई हाउभाउ
सदा मोजमस्ती गरी बस्छ माउ ।।४
युवाको गलामा छुरी धस्न लागे
कलाकार भोकै बने देश छाडे
सफा व्योम माथि उडेको छ बाज
विलासीहरूको चलेको छ राज ।।५
०००
पाउँदीबजार, लमजुङ
सम्प्रति-सन्तोषीनगर, कलङ्की
Subscribe
Login
0 Comments
Oldest







































