भाेज अर्यालआजै भत्काऔं
भत्काउॅंनैको लागि जन्मिएका हौ भत्काएरै बाँच्छौं भत्काएरै मर्छौ हामी बाँदर हैंनौं तर बाँदर भन्दा कति पनि फरक छैनौं आउँनुहोस् भत्काऔं आजै भत्काऔं यो शुभ कार्यमा हो मा हो मिलाउॅंदै भत्काऔं..।

भोज अर्याल :
बाँदरहरु घर बनाउँदैनन्
यो कुरा मैले सुनेको थिएँ
अरुले घर बनाएको पनि उनीहरु
जाति मान्दैनन्
यो कुरा त झनै मनैमा गुनेको थिॅएँ
मानिसका पुर्खाहरु पनि
बाँदर नै हुन भन्छन तर
मानिस बाँदर त होइनन्
किन फेरि बाँदर झै गर्छन् ?
बाँदरलाई जंगलमै बसेर पुग्छ
घर बनाउँने लेठो किन गराेस्
ऊ गर्दैन, गर्दै गर्दैन
मानिसलाइ पुग्दैन जंगल पसेर
उतै घरजम् गरि बसेर
कोहि मानिसहरु जंगलतिरै बसेर
शहर पसेका पनि त छन्
के उनीहरु बाँदर नै भए त अब ?
बाँदर नै नभए पनि
अलि अलि गुण भने
बाँदरको जस्तै सल्केको हुँदो रहेछ
उनीहरुमा पनि
कसैले घर बनाएको देख्नै सक्तैनन्
कुरा घरको मात्र हैन दरबारको हो
सिंह जस्तै
सिंहदरबार भित्र बस्ने कुर्सीको हो
सयौं वर्ष पहिल्यैदेखि गाडिएको छ जो
भित्र कतै
ठाडिएको छ जो
कुर्सी कै लागि कि सधैको रोइलो
कि हदैसम्मको भाँडभैलो
बस्नेवाला किर्नो झैं गढेर
ढाडिएको छ डुङ्ग सडेर
आफू बसिरहदा
संसारै मिलेको झैं लाग्ने
आफू खसिरहँदा संसारै हिलेको झै लाग्ने
कोही कुर्सी कै लागि गोडा घस्ने
कोही कुर्सी नपाएरै
सात कोष पर जंगल पस्ने
कोहि हुने खाने कोही रुने
कुर्ची गुम्दा कमन्डलु बोकेर
अर्को जातलाइ विजात पार्दै
सात पुस्ता नै छुनेगरी सिरानीको खोल धुने
आफू जे गर्दा
जसो गर्दा राम्रो
बाटैमा बिस्टाउॅंदा झन राम्रो
पार्टीकै दिगो दर्शन पो हो त यो हाम्रो
सिद्दान्त सबै सुकेर भै गयो डाम्रो
को भन्छ खै हामी छौं नराम्रो ?
हामी छौं अरुको लागि
हामी नै हुनसकेनौं केबल हाम्रो लागि
हामी विग्रियौं के सारो
मानिसहरु भन्छन्
यो त भयो लाजैको पसारो
हामी बाँदर हैनौं तर
बाँदर भन्दा हामी केही कम छैनौं
हामी केही गर्दा सुध्रिने हैनौं
हामी हाम्रै घर बनाउॅंदैनौं
अरुले बनाएको घर पनि
हामी क्षणभरमै भत्काइदिन्छौं
भत्काउँने नै हाम्रो कर्म हो
भत्काउँने नै हाम्रो धर्म हो
किनकि हामी
भत्काउॅंनैको लागि जन्मिएका हौ
भत्काएरै बाँच्छौं
भत्काएरै मर्छौ
हामी बाँदर हैंनौं तर
बाँदर भन्दा कति पनि फरक छैनौं
आउँनुहोस् भत्काऔं आजै भत्काऔं
यो शुभ कार्यमा
हो मा हो मिलाउॅंदै भत्काऔं..।
०००
क्यानाडा
Subscribe
Login
0 Comments
Oldest







































