हाेमनाथ घिमिरेमुलुक !
घट्छन् जो घटना यहाँ मुलुकमा को गर्छ निर्देशन ! होला हैन हुँदैन हुन्छ कसरी सोच्दैछ भित्री मन ! छैनन् चेत अझै विवेक मनमा को चोर को सञ्जन ! लड्छन् भाइ बसेर आज घरमा दिक्दार लाग्दोपन !

होमनाथ घिमिरे :
मान्छन् व्यर्थ खुसी जलेर घर यो थुप्रो खरानी हुँदा !
छैनन् सोच अझै गलेर जननी पीडा सधैँ बर्सिँदा ।
मर्दैछन् कसरी युवा मुलुकका खाडी विदेशी बनी ।
चिन्ता छैन कुनै छ स्वार्थ पदकै सत्ता बन्यो बैगुनी !
गर्छन् नाटक जो सधैँ सदनमा उस्तै छ बाटोतिर !
चर्चा हुन्न जहाँ अभाव दुनियाँ खाद्यान्न शिक्षानिर ।
तन्देरी जनशक्ति यो मुलुकमा बेरोजगारी हुँदा ।
चासो छैन कदापि राष्ट्र दुनियाँ स्वार्थी बने सर्वदा !
कस्तो तन्त्र अहो!जहाँ गरिबका सुन्दैन पीडा व्यथा !
हुन्नन् चिन्तन; कत्ति प्राथमिकता दिन्नन् भरोसा यथा ।
बोल्छन् मात्र सदैव कर्म नगरी जो केन्द्रमा बस्दछन् ।
छैनन् आज नियाँ यहाँ मुलुकमा वैरीसरी डस्दछन् ।
घट्छन् जो घटना यहाँ मुलुकमा को गर्छ निर्देशन !
होला हैन हुँदैन हुन्छ कसरी सोच्दैछ भित्री मन !
छैनन् चेत अझै विवेक मनमा को चोर को सञ्जन !
लड्छन् भाइ बसेर आज घरमा दिक्दार लाग्दोपन !
केकोनिम्ति खुसी मनाउनु जहाँ छैनन् अपेक्षा कुनै ।
हुन्छन् भेद अनेक राज्य तहमा गर्छन् उपेक्षा सधैँ ।
यस्तै हाल रहे अझै मुलुकमा के हुन्छ हाम्रो गति !
खोज्दैछन् कविले चिरेर तम यो आओस् सुनौलो रति !
०००
भरतपुर चितवन
१५ जेठ,२०८२
Subscribe
Login
0 Comments
Oldest







































