गोपीचन्द्र कार्कीतिमी बिनाको जिन्दगी
रातिनै आउँछ्यौ, रातिनै जान्छ्यौ
म भेट्न सक्दिन ।
बिहानी आउँछ्यौ, छिनमै जान्छ्यौ
म देख्न सक्दिन ।
म भित्रिइँदा, तिमी बाहिरिन्छ्यौ
म बाहिरिँदा, तिमी भित्रिइन्छ्यौ
तिमीसँगै खेल्दै दिन बिताउने रहर
तिम्रो न्यानो स्पर्शमा
रात बिताउने रहर
कुन नामर्दले नजुराएको होला
कुन बलबानले खोसेको होला ।
तिमी बिना भो बाँच्न गाह्रो
तिमी बिना जिन्दगी अँध्यारो
तिमी बिना छैन कतै रौनक
तिमी बिना घरै अँध्यारो ।
तिम्रो प्रतिक्षामा म अनिदो भैदिन्छु
तिमी भने पुस माघको बादलभित्र
लुकामारी खेल्ने घाम झैं
झल्याक्क झुलुक्क हुन्छ्यौ ।
तिमीलाई म चाहिन्छ कि चाहिँदैन
मलाई तिमी पलपलमा चाहिन्छ
रातिनै आउने रातिनै जाने
छिनमै आउने छिनमै जाने
मेरी बिजुली
अचेल, धेरैभयो
लोडसेडिङमा परेकी छिन् ।
तीनथाना, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































