लक्ष्मण गाम्नागेमुङ्ग्रे पार्टी मुर्दावाद !
माओवादी नेता सीपी गजुरेलले ठीकै भनेका थिए । मूर्खहरूले कुरै नबुझी उनको पुतला जलाए। क्रिकेटले देशको अनुहार फेरिँदैन भनेको कुरा सोहै्र आना सत्य हो। क्रिकेटले, फुटबलले, जुडोले, कराँतेले देशको अनुहार फेरिने भए कांग्रेस, एमाले, एमाओवादी, माओवादी किन चाहिन्थ्यो रु पारस खड्का, हरि खड्का, बैकुण्ठ मानन्धर वा संगिना वैद्यहरूले देशको अनुहार फेर्ने भए महेन्द्र, ज्ञानेन्द्र, गिरिजा, सुशील, झलनाथ, प्रचण्ड वा सीपी गजुरेलहरू किन चाहिन्थ्यो। खेलकुदले, सिनेमाले, नाटकले, साहित्यले, कलाले, संस्कृतिले, मठले, मन्दिरले, गुम्बाले, पुरातत्त्वले वा इतिहासले देशको अनुहार फेरिने भए क्रान्ति, जनयुद्ध, आन्दोलन, धर्ना, जुलुस, हडताल, बन्द, आगजनी, वार्ता र षड्यन्त्रहरू किन चाहिन्थ्यो ?
देशको अनुहार फेर्न राजनीति नै चाहिन्छ । राजनीतिमा पनि माओवादी राजनीति, त्यसमा पनि हिंसात्मक राजनीति नै चाहिन्छ । प्रतिगामीहरू जतिसुकै चिच्याऊन् न, खेलकुदले केही लछारपाटो लगाउँदैन, बरू यसले त विकृति मात्रै ल्याउँछ । युवाहरू हाहा होहोमा लाग्छन्। हातमा मुङ्ग्र्रा बोकेर हिँड्छन् । गोरुको छालाबाट बनेको भकुन्डो उफार्दै कुद्छन् । ‘नेपाल, नेपाल’ भनेर रातरातभरि चिच्याउँछन्, सुत्न दिँदैनन् । यस्तो अनुत्पादक र विकृत क्षेत्रमा सरकारले पैसा खन्याउनु हुँदैन । व्यापारी, उद्योगपतिहरूले क्रिकेट स्रिकेटमा लगानी गर्नुभन्दा हाम्रा लडाकूहरूलाई चन्दा दिए, पार्टीलाई सहयोग गरे भने हामी देशको अनुहार फेरिदन्छौँ । देशको अनुहार फेर्ने राजनीतिले हो, कवि, कलाकार वा खेलाडीले होइन । कला धनीहरूलाई ‘चेतना’ होस् ।
त्यो काठको मुङ्ग्रोले बललाई हिर्काएर छक्का त के अठ्ठा नै बनाए पनि देशलाई के हुन्छ ? लट्ठीले घर र गाडीहरूका सिसा फुटाए पो देशको अनुहार फेरिन्छ । गोलपोस्टमा भकुन्डो छिराएर के हुन्छ, पुलको प्वालमा विस्फोटक छिराए पो देशको अनुहार फेरिन्छ ।
क्रिकेट हेरेर संसारभरि बस्ने सबै जातका, सबै लिंगका, सबै थर, पेसा र व्यवसायका नेपाली एकै स्वरमा चिच्याएर ‘नेपाल’, ‘नेपाल’ भन्दैमा नेपालको अनुहार फेरिन्छ ? फेरिँदैन । सबै मिलेर ‘माओवाद जिन्दावाद, माओवाद जिन्दावाद’ भनेको भए उहिल्यै देशको अनुहार अर्कै भइसक्थ्यो ।
ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, सोमपाल कामीहरूलाई के के न गरेर आएजस्तो किन माला लाइदिया हुन् मान्छेहरूले ? तिनीहरूले दुई–चारपटक काठका किला लडाएका न हुन्, कत्ति न सेनाको ब्यारेक नै उडाएर आएजस्तो, कत्ति न पुलिस चौकी नै आगो लगाएर आएजस्तो ! महानायकलाई जस्तो तिनीहरूलाई स्वागत गर्न मान्छेहरूको भीड किन लाग्नुपरेको होला । हामी यत्रा यत्रा त्याग, तपस्या, युद्ध, क्रान्ति, जेल, नेल, यातना सबै थोक बेहोरेका नेताहरू हुँदाहुँदै ती मुङ्ग्रे ठिटाहरूका पछाडि सिंगै देश किन उल्टिएको हो ? क्रिकेट खेल्ने मूर्ख, त्यसको पछि लाग्ने महामूर्ख भन्थे, हो नै रहेछ । खेलकुदमा विश्व विजेतै भए पनि, साहित्यमा नोबेल पुरस्कारै जिते पनि, कलासंस्कृतिमा संसारैभरि नाम चले पनि देशको अनुहार फेरिन्छ ? फेरिँदैन । भीरबाट ढुंगा लडाए पो देशको अनुहार फेरिन्छ । राँके जुलुस, बन्द–हडताल, चक्काजाम, आगजनी, ठोकाठोक, हानाहान, कुर्सी तानातान गरे पो देशको अनुहार फेरिन्छ ।
कमरेड सीपीज्यूको गजुरयिल विचारधाराप्रति हामी सम्पूर्ण अग्रगामी नेपाली जनताको घोर समर्थन छ । आफ्नो विचारधाराप्रति कमरेड अटल रही अघि बढ्नूस् । हामी साथमा छौँ, गजुरयिल विचारधारा जिन्दावाद ! मुङ्ग्रे पार्टी मुर्दावाद !!
‘नेपाल’ अङ्क– ५८९, २०७० चैत्र १६ बाट
Subscribe
Login
0 Comments
Oldest







































