साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आआफ्नै ताल र सुर

Nepal Telecom ad

धरानबाट एउटा मान्छे सेउती खोलापारि लेदुवातिर जाँदै थियो अरे । बाटामा पर्ने बाँझागरा खेतमा अर्काे एउटा मान्छे हलो जोत्तै थियो अरे । बटुवा पहिलोचोटि त्यो बाटो हिँडेको हुनाले बाटो अल्मलिएला कि भनेर उसले त्यसै हलीलाई सोध्ने विचार गरेछ :
बटुवा : “ए दाइ, लेदुवा जाने बाटो कता हो ?”
हली : “बेच्तिन है, बेच्तिन है बेच्दिन ! एउटा मेरो पेवा, एउटा मेरी स्वास्नीको पेवा ।”
आफूले सोधेको कुरो हलीले राम्ररी नसुनेर बुझेनछ कि भनेर बटुवाले दुई तीनचोटि दोहोर्याएछ, तर हलीले बटुवाको जति सारो बोलेर सोधे पनि एउटै जवाफ दिएकाले, बटुवा आजित भएर आफ्नो बाटो लागेछ ।
दिउँसो हलीकी स्वास्नी उसलाई खाजा पुर्याउन आइछ । टोपीमा मकै भटमास र पातमा ओल्स्याएको लुँडेको साग थापेर एक फाँको मुखमा हालेपछि, हलीले स्वास्नीलाई भन्यो अरे–
हली : “आज एउटा माछे मलाई गोरु बेच्छस् ? भनेर सोध्दै थियो । मैले बेच्तिन, एउटा मेरो पेवा, एउटा मेरी स्वास्नीको पेवा भनिदिएँ ।”
स्वास्नी : “जति मसित पो जङ्गिदा रा’छन् । सक्तिन अब खाजा ल्याउन पनि म त !”
त्यति भनेर भुत्भुताउँदै स्वास्नी चाहिंँ भाँडाकुँडा बोकेर घरतिर लागी र सासूलाई देख्ने बित्तिकै रिस पोखी ।
बुहारी : “तिमीले थोरै खाजा दिएर तिम्रा छोरा मसित जङ्गिदै थिए । आफूले गाली खानु पर्यो बित्थामा !”
सासू : हँ ? छोराका टाउकामा फाली बिझ्यो अरे ? लौन नि ! कता गए बुढा !”
बुढी आत्तिएर बुढानेर पुगी बूढालाई हुट्हुटी लगाउन थाली–
बूढी : “ए बूढा, के गरेर बसिराख्या छौ यहाँ ? छोराका टाउकामा फाली बिझ्यो अरे वहाँ !”
बूढो : “के भन्छे यो बूढी ? कहिले चोरेर खाएँ मैले तेरो टाँडका कनिका ? पख् है त छोरी आएपछि म उसलाई सोधिदिन्छु !”
छोरी बाख्रा हेर्न गएकी रहिछ । घर फर्केर छोरी आँगनमा आइनपुग्दै बुढाको मन भारी भइरहेको थियो, लेग्रो तानेर सोध्यो ।
बाबु : “ए नानी, मैले तेरी आमाका टाँडका कनिका खाएँ अरे ?”
छोरी : “आ बाबु पनि खालि जिस्किन्छन्, जल्लाई दिन्छौ उसैसँग जान्छु नि ।”

यहाँ लेखिएको बहिरो परिवार र मेरो परिवारमा के समानता छ भने परिवारको हरेक सदस्यका दुई दुई वटा कान भए पनि बाहिरको मान्छेले हेर्दा त्यहाँ बोलेको र जवाफ दिएको देखे पनि वास्तविक रूपमा त्यहाँ कानको काम छैन । काम छन् तर सुन्नका लागि होइन । यसरी बहिरो परिवारको हरेक सदस्यको आफ्ना आफ्नै सुर भएजस्तै मेरो देशको परिवारमा भनाइ, सुनाई र काम गराइमा कुनै समन्वय छैन । भन्नेले भन्दै गर्छ, काम गर्नेले आफ्ने सुरले आफ्नोे मनमा जे छ त्यही सुन्छ र त्यसै अनुसार काम गर्छ । अड्डाका कर्मचारीले पनि जनताले जुन आशयले भनेको हो, त्यही आशय नबुझेर आफ्नै सुरको काम मात्रै गर्छन् लाहुरेको सम्चार जस्तो ।

एउटा नेपाली छानिएर मलाया भर्तीमा पुगेछ । त्यहाँ पुग्दा उसले आफ्नै गाउँको हर्केलाई पनि भेटेछ । धेरै दिनपछि आफ्नै गाउँको मान्छे भेटेर औधि खुसी भएर हर्केले सोधेछ :
हर्के : कान्छादाइ, तिमी पनि आएछौं ! हाम्रा घरतिरको हालखबर के छ ? मेरी पातली के भन्थी त ?”
कान्छो : खोइ हर्के, तँ यहाँ छस् । तँ नभएर गाउँमा तेरी पातली विधवा भएकी छिन् ।”
आफ्नी स्वास्नी विधवा भएको सुनेर हर्केलाई पर्नुसम्म पिर परेछ । उसले मनमनै सोचेछ, ओहो, विचरा ! पातली विधवा भइछ ! मलाई कस्तो मायाँ गर्थी ! पर घुमाउने चौतारोसम्म आएर बर्बरी आँसु झार्दै मलाई बिदा गरेकी थिई !”
आफ्नी प्यारी स्वास्नी विधवा भएकामा शोक मनाउन हर्केले एकदिन छुट्टी लिएछ । उसको क्याप्टेनले हर्केले छुट्टी लिएको देखेर “किन छुट्टी लियो ? गाउँको मान्छे आएको छ भन्थ्यो । केही शोक समाचार पायो कि ! भन्ने सोचेछ र हर्केका डेरामा आएछ र सोधेछ ।
क्याप्टेन : “हर्के आज किन छुट्टी लिइस् ? गाउँबाट केही नराम्रो खबर आयो कि ?”
हर्के : “खोई, क्याप्टेन साहेब ! आफ्नोे पिर अर्कालाई सुनाएर बाँडिदैन ! मेरो त गाउँमा हुनसम्म भएछ नि !”
क्याप्टेन : “के भएछ ? भन् न त ! घरै जानुपर्ने हो कि ?”
हर्के : “क्याप्टेन साहेब ! म यहाँ छु, घरमा मेरी स्वास्नी विधवा भइछ !”
क्याप्टेन : “हत् तँ हुँदाहुँदै तेरी स्वास्नी विधवा हुन्छे लाटा ?”
हर्के : “किन हुन्न ? क्याप्टेन साहेब पनि कस्तो कुरा गर्नुहुन्छ ? म हुँदाहुँदै पल्लाघरे ज्यामै विधवा भइन्, म हुँदाहुँदै माथ्लाघर भाउजू विधवा भइन् भने म हुँदाहुँदै मेरी स्वास्नी विधवा हुन सक्तिन ?”

भनेको कुरो ठीकसँग नबुझ्ने समस्या नेहरूलाई पनि एक दुईपल्ट परेछ । एकपल्ट नेहरूलाई स्विमिङ पुल उद्घाटन गर्ने निम्तो आएछ । त्यहाँ गएर आफूले कट्टु मात्रै लगाएर पानीमा फाल हान्ने हो कि ? कसरी उद्घाटन गर्ने त्यो मेसो नपाएर उनले स्वीकार गर्न पनि सकेनछन् । अर्कोपल्ट एक दिन नेहरू राँचीको पागलखानामा पुगेछन् । अफिसमा पुगेर डाक्टरसँग पागलखानाको सबै विवरण लिएपछि नेहरूले सोधेछन्– “तिमीहरूको यो पागलखानामा बिरामी भर्ती मात्रै हुन आउँछन् कि निको भएर पनि जान्छन् ?” डाक्टरले भनेछ, “निको भएर पनि जान्छन् । आजै एउटा बिरामी स्वस्थ भएर घर फर्किंदैछ ।” नेहरूले त्यस बिरामीसँग भेट्ने विचार गरेछन् । नेहरूले त्यस बिरामीलाई धेरै कुरा सोधेछन् र बिरामी साँच्चै निको भएको चाल पाएछन् । नेहरूले सोधेपछि बिरामीले पनि नेहरूसँग उनको परिचय माग्यो अरे । नेहरूले भनेछन्– “म जवाहरलाल नेहरू हुँ ।” त्यो सुनेर बिरामी खित्का छाडेर हाँसेछ र भनेछ– “यो पागलखानामा आएको दिन म पनि आफ्नोे परिचय मोतीलाल नेहरू भनेर दिन्थें ।”

नेपालका कार्यालयहरूमा पनि कर्मचारीहरूले आफूसँग काम लिन आउने मान्छेलाई पागलखानाको बिरामीले नेहरूको उपहास गरेझैं उपहास र अपमान गर्छन् । मलाई त्यस्तो अपमानको बोध नेपालको प्रायः हरेक अफिसमा भएको छ । कर्मचारीहरू काम सकेसम्म छिटो गरिदिन चाहँदैनन्, अनुहार बिगारेर, गारो मानेर, मान खोजेर आलेटाले गरेर, भाका राखेर, जिम्मेवारी पन्साएर सकेसम्म ढिलो गरिदिन चाहन्छन् ।
एकपल्ट दुईजना मान्छे प्यारासुटमा ओर्लंदै थिए अरे । एउटाले प्यारासुट खोल्ने स्वीचमा हात राखेको थियो अरे । दश हजार फिट माथिबाट तिनीहरू खसिरहेका थिए । स्वीचमा हात राख्ने मान्छे चाहिँ प्यारासुट खोल्दैन अरे । अर्काे साथी चाहिँ डरले थरहरी भएर र प्यारासुट खोल्न लगाएछ । स्वीचवालाले भनेछ– “अहिले किन खोल्नु ? हामी दश हजार फिट माथि छौँ ।”
पाँच हजार फिटको उचाइमा पुगेपछि साथीले फेरि प्यारासुट खोल्न लगाउँदा प्यारासुट समाउनेले भनेछ– “अहिले के को हतार !”
एकहजार फिटको उँचाइमा पुग्दा पनि साथीले त्यस्तै जवाफ दिएपछि अन्त्यमा अत्तालिएर उसले भनेछ–
“खोल न ! अब त बीस फिट मात्रै बाँकी छ ।” प्यारासुट बोक्ने साथीले जवाफ दिएछ–
“साले ! त्यति बीस फिट पनि बुद्रुक्क फाल हान्न सक्तैनस् ?”
यसरी नेपालमा प्यारासुट हातमा लिनेहरू हतारिँंदैनन् । उनीहरूका भरमा आफ्नो ज्यान सुम्पनेहरूको दोहोलो भइरहेको छ ।

‘फित्कौली’ अङ्क २ बाट
सानेपा, ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मेरो वामन अवतार

मेरो वामन अवतार

डा. माधवप्रसाद पोखरेल
मेरो वामन अवतार

मेरो वामन अवतार

डा. माधवप्रसाद पोखरेल
लाल-बुझक्कड

लाल-बुझक्कड

डा. माधवप्रसाद पोखरेल
राष्ट्रिय महायज्ञमा अड्को र निम्सरो फड्को

राष्ट्रिय महायज्ञमा अड्को र...

डा. माधवप्रसाद पोखरेल
बुधसिंह र दर्शनसिंहको चुनावी भाषण

बुधसिंह र दर्शनसिंहको चुनावी...

डा. माधवप्रसाद पोखरेल
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x