रमेशचन्द्र घिमिरेहराएको कविता
भुन्टेले जङ्गलमा पसेर
अलिकति निहुरो टिप्यो
उसले भरेको छाक टार्ने भयो
सिप्लिकानका मुन्टा भाँचेबापत
पटुकामा पैसा घुसारेर
साँझ घर फर्कने भई सुन्तली
न हर्केले झैँ दाउराको भारी बोकेर
पुरुषार्थीमा नाम लेखाउन सकेँ
न फूलमायाले झैँ स्याउलाका भारी बोकेर
बाख्रो अघाउने गरी
पिँढीमा घाँस थुपारेर
बहादुरी देखाउन सकेँ
हो आइतेकी आमा
म जङ्गल त पसेँ तर
तैँले भनेझैँ केही गर्न सकिनँ
निहुरो टिपेर बेलुकीको छाक टार्ने
भुन्टेले झैँ
पाखुरीमा पौरख बजार्न सकिनँ
सिप्लिकानका मुन्टालाई पैसासँग साट्ने
सुन्तलीले जस्तै
खल्तीमा रोजगारी भर्न सकिनँ
तेरा धेरै चाहनामाथि लात मारियो
आइतेकी आमा
हर्केको पुरुषार्थ र फूलमायाको
कर्तव्यमा अनुवाद भएर
खुसी पार्न पनि सकिनँ
किनभने
यतिबेला म जङ्गलमा पसेर
हराएका कविता खोज्दैछु
म भावनाशून्य कवि
म कविताको खोजीमा छु
तर रित्तिएको छु
मैले फेला पार्न नसकेका कविता
तिनै भुन्टे, सुन्तली, हर्के र फूलमायाका
पाखुरीमा रहेछन्
तिनकै पसिना अनि आँसुमा
वेदना भई बहेका रहेछन्
म विचार निख्रिएको र
कर्तव्य भुल्न पुगेको पात्र हुँ
त्यसैले ममा यस्तो उत्तरदायित्व नभएरै
मैले यत्रो जङ्गलमा पनि
कविता जन्माउन सकिनँ
हराएका कविता खोज्न सकिनँ ।
भोर्लेटार, लमजुङ
Subscribe
Login
0 Comments
Oldest






































