रामकुमार पाँडेबुझेँ, बल्ल बुझेँ
कुन दशा लागेर हो गुनासो ठम्याएर ठाउँमै सुनाउँ भन्दै ढुकेको त कुरो उल्टो पर्यो ! रिश र सिफारिश अथवा कुनै निधार र आधारमा कसलाई किन हटाइयो किन अटाइयो अत्तापत्तो भएन । कारिन्दाको करामत यही हो !
छुटाइएका कुटाइएका, लुटाइएका, सबैको कुरोकन्थो ध्यान दिएर सुन्नु भन्दै गाईजात्रामा खडाइएकामध्ये आफू पनि परियो । बरु गुनासो हास्य व्यङ्ग्यकारलाई सुनाए काम लाग्ला दिमागी भूत भाग्ला भन्दै एक जमात हुर्दुरिँदै आए । परेन फसाद ! आफैं त महादेव उत्तानो टाङ ! सारा विद्या, बुद्धि, विवेक हराएर किंकर्तव्य बिमूढ भएका बेला कहाँको भेँडाको बगाल झैँ थुप्रिए । केही सिप नलागी आफू हुटिट्याउँ नै भए पनि आकाश थाम्न नसके पनि ट्याउँ ट्याउँ त गर्न सक्छु भन्दै लौ ठीक छ भट्याओ ! भन्दै दर्शन–गेट खोलिदिएँ ।
अगाडि पछाडि कौनै कुरा नहेरी पशुपतिको भित्री ढोकामा झ्याम्म झुम्मिए झैंँ मेरा अगाडि आए । तिनले बगलकै नवग्रह, हनुमान बेमान कुनै कुराको वास्ता गरेनन् । मेरिबावै ! यो दुनियाँमा त खाली पोलापोल मात्रै गर्ने जमात पो रै’छ ।
कतिका गन्थन सुन्नु ? ! एउटा लाल बुझ्क्कड आएर भन्यो, शिक्षालाई शान्तिक्षेत्र बनाउनुपर्यो । शिक्षादीक्षा नै हाइचेट भो ! मैले भनेँ अस्पताललाई पनि त पर्यो नि । वृद्धाश्रमलाई चाहिन्न र ? युवा नभई देशमा कसले काम गर्छ ? उनलाई त झन् नभई भएन । सबैलाई चाहियो शान्ति देशलाई नै शान्ति क्षेत्र पो बनाउनुपर्यो । किन भ्रान्ति ! शान्तिमा पनि भ्रान्ति । क्या गज्जब !
एउटा लठैतले भन्यो, म मन्त्री भए सबै मिलाउँथेँ । मैले भनेँ, आफ्नै स्वास्नीलाई ठाउँमा राखेर मिलाउन सकेनौ । आफ्नोे भ्रष्टाचार लुकाउन स्वास्नी, छोरा, साँढुभाइ सबलाई पोको पार्न लगाउन त खूब जानेका रहेछौ !
अर्काे च्वाँके चुच्चे नाकेले भन्यो, मैले राम्रो योजना गर्दैछु, गरीबी हटाउन ठाउँ ठाउँमा मान्छे पठाउन लागिरहेछु ।
मैले भनेँ, तिमीले गरीबी हटाई सक्यो हैन र ? तिम्रा परिवारमा प्रोजेक्ट लिने कोही बाँकी छ ?
एउटा गज्जबको रूप आयो । आँखामा पट्टी बानेर एक हातमा तराजु अर्कोमा रोटी । उनी आउँदा आउँदै भन्नथाले, न्याय कर्मीलाई थप बल चाहियो ।
आँखा छोपेर पनि न्याय हुन्छ ? तेश्रो नेत्र ज्ञानचक्षु खोल्नुपर्यो । एउटै मुद्धामा दुई प्रकारको निर्णय गर्ने ! एउटाले जिताउने, अर्काेले हराउने । दायाँ बायाँ कुन जुत्तामा के राखेको पत्तो नपाउने गोरु ! पहिला गाई र गधा, गु र गोबर छुट्याउन सिक त्यसै बलिाये हुने नै छौ । नून कानुनको कुरा म जान्दिन !
लुत्रे काने भू.पू. सचिव पनि देखा परे । बाफ रे वाफ ! उबेलामा यिनको फूर्ति क्या थियो ! अहिले दूधमा परेको माखो फालिए झैँ भएछ । लुगा पनि त्यही भिजेको झिँगो । आवाज पनि त्यस्तै गुनगुनाउँदै भने, प्रभु ! अझै पाए त मार्ने थिएँ । उनको मनमनै गुनगुनाएको कुरा सुनेपछि मैले भनेँ, के गर्दैछौ ?
के गर्नु ? मेरापछि झिँगा भुसुना छैनन् । उबेलामा पाइला टेक्ने ठाउँ नहुने बगैँचामा घाँस उम्रेको छ । मूसो आउँदैन । पहिले खाएको उग्राएर बसेको छु ।
उनले गथासो लम्बिने छाँटले मैले भनेँ, बुझेँ । उनीपछि लगत्तै कुखुराको भालेको सिउर जस्तै टोपी लगाएर राजनीतिक पत्रकार टाढैबाट गुनगुनाउँदै आयो, बहुमत पाउनेलाई सरकार दिए त प्रजातन्त्र आइहाल्छ । झन्झटै हराउँछ ।
ठीक भन्यौ, डकैती गरिसकेकाले फेरि डकैती गर्दैन भन्ने प्रमाण के ?
भावी चुनावमा जनताले हराएर सजाय गरिहाल्छन् । खबरले भरेर पत्रिकालाई हिजडा बनाउने काम जारी राख । स्वतन्त्रता तिम्रो मात्र सम्पत्ति हो । मनलागी गर । तर तिम्रा चार अङ्ग मात्र छन् ।
पत्रकार भुनभुनाउँदै भाग्यो । एउटी महिला कार्यकर्ता नक्कल नखरा पार्दै आई र चम्किन थाली, प्रधानमन्त्री महिलाले पाउनुपर्छ ।
प्रधानमन्त्री बनाएपछि दिउँला । नभए लिङ्ग विभेद हटाउन नपुङ्सक हिजडा चाहिने हो कि ? दारी चुस्स, कपाल झुस्स, अनुहार ढुस्स, जातिको नजाति नाराधारी आएर खुस्स भन्यो, आरक्षण चाहियो । दलितले पछाडिबाट भन्यो, हामीलाई पनि संरक्षण चाहियो ।
आरक्षण त वन्यजन्तुलाई मात्र छ । दलित कति वर्ष हुने ? फलित फुलित हुन सबैले बारखरी पढ । नपढ्ने जति सबै गलित । कतिन्जेल मलित ?
लिङ्गभेदी, जाति विभेदी, कर्म संवेदी सबै फेदीकालाई उठाएर टाकुरीमा लान पढ्नैपर्छ जान !
छेउकै डेढअक्कली जस्तो अनुहारले भन्यो, गोरुसिंङ्गे धेरै निस्के । विद्या विदेशी सिकाउने स्वाँठ, सिक्ने ल्वाँठ । त्यसैले विद्यार्थीलाई पढेपछि के हुने ? भन्दा प्रधानमन्त्री हुन्छु भन्ने चरो मुसो भएन । अर्थात् प्रधानमन्त्री, मन्त्री नेता हुन पढ्नै पर्दैन । त्यसैले भैसक्या पनि चौबाटोमा चर्कन्छन् । ज्ञान भरिएका लागे राजनीति भरिया हुँदैथ्यो कि ? !
बुझँं बल्ल बुझेँ !
यति भन्दा पनि ती आफ्नो काममा नगएर साँढेको पछि स्याल झुम्मिए झैँ झुम्मिरहे । तिनलाई ‘बल्ल’ भनेको गोरु भन्ने पनि थाहा रहेनछ । बुझेँ बल्ल बुझेँ भन्दै बल्लकै उपचार गरेर पठाउने सुर कसेँ । कुकुरको काम गर्ने गधालाई के गर्नु त ?
त्यत्रा गथासो सुनाएर पनि नपुगी ती के पाउँला के खाउँला भनेर चोकभरी बसिरहेका होलान् ?
यो देखी मैले भनेँ, मैले बुझें । बल्ल बुझेँ । सबै पशुपतिको ढोकामा पुगेर फर्कने बेलामा फर्केर हेर्नु जे दख्छौ त्यही मात्र पाउँछौ । ल जाऊ !
‘फित्कौली’ अङ्क २ बाट
Subscribe
Login
0 Comments
Oldest









































