लक्ष्मण गाम्नागेऊ !
वक्ता र श्रोता झन्डै बराबरी सङ्ख्यामा थिए । केन्द्रीय र स्थानीय गरी १२ जना वक्ताले बोलिसक्दा तीन घन्टा समय चिर्लिप्पै भइसकेको थियो । प्रमुख अतिथि प्रधानमन्त्री सुशील कोइराला निकै छटपटाइरहेका देखिन्थे । १३औँ वक्ताले सरकारको १३औँ दिनको तिथि मनाएझैं जमेर सरकारको आलोचना गर्न थालेपछि धैर्यको बाँध टुटेछ क्यारे, कार्यक्रमका सभापतिलाई प्रधानमन्त्रीले सोधे– “मेरो ऊ कहिले आउँछ ?” (पालो भनेको होला ।)
सभापतिले प्रमुख अतिथिको पालो चौबीसौँ नम्बरमा रहेको जानकारी गराएपछि प्रधानमन्त्री रिसाएर जुरुक्क उठे । उनी कार्यक्र छाडेर हिँड्न लागे । आयोजकहरूले तुरुन्तै उनलाई बोल्ने पालो मिलाएपछि बल्ल थामिए । तेह्रौँ वक्ताले “जय नेपाल” भनिनसक्दै प्रधानमन्त्रीले माइक कब्जामा लिए र बोल्न थालिहालेः
“को हो यो कार्यक्रमको ऊ गर्ने ? (आयोजना !) यो के ऊ गरेको ? (गाईजात्रा !) एउटा कार्यक्रममा डेढ सय वक्ता राख्ने ? सबै उठेर गइसके, अब मैले किन बोल्ने ? के बोल्ने ? खास कुरा सुन्न आएका गाउँका जनता–कार्यकर्ता हिँडिसकेपछि म अब खास कुरा गदिनँ, अखास कुरा मात्र गर्छु । तपाईंहरू खास कुरा सुन्न लायक हुनुहुन्न ।
एकदमै अखास कुरा के भने म जहाँ जाँदा पनि पार्टीका नेता–कार्यकर्ताहरूले सरकारले यो गरेन, त्यो गरेन भनेर ऊ मात्र गरेको सुन्छु । (आलोचना !) म छक्क पर्छु । सरकार बनेको तीन महिना भा’छैन, सरकारले के गर्न सक्छ त ? के प्रधानमन्त्री भनेको जादुगर र सरकार भनेको ऊ हो ? (जादुको छडी !) खुलजा सिमसिम भन्नेबित्तिकै सबै झलमल्ल हुने ?
तपाईंहरू आफ्नै पार्टी सरकारमा भएका बेला जुम्रा परेको गन्जी फुकालेर सडकमा फालेजस्तो सरकारका कमीकमजोरी जतासुकै ऊ गर्ने ? (छताछुल्ल !) मलाई प्रमुख अतिथि भनेर माला लगाइदिने अनि मुखमा आएजति ऊ गर्ने ?(गाली !)
तपाईंहरूले के सोच्नुभएको ! के म ऊ गरेर बसेको छु ? (चुप लागेर !) हेर्दै छु, बुझ्दै छु, सोच्दै छु, विचार गर्दै छु, अध्ययन गर्दैछु, घोरिँदै छु, ओल्टाउँदै छु, पल्टाउँदै छु, कोट्याउँदै छु, चाख्दै छु, ऊ गर्दै छु । (?) म अपडेट छैन भनेर पनि कतिपयले भनेको सुन्दै छु । कसले भन्यो म अपडेट छैन ? मलाई सबै थाहा छ ? भर्खरै खानेपानीको महसुल बढेको मैले थाहा पाएको छु ? मेरै पालामा दूधको ऊ बढेको पनि मलाई थाहा छ । (मूल्य बढेको !) देशमा पेट्रोलियम पदार्थको हाहाकार भएको रिपोर्ट पनि आएको छ । महँगी बढेको छ, जताततै विकृति विसङ्गति, बेथिती छ भन्ने मलाई पूरापूर ऊ छ । (ज्ञान !) त्यत्तिकै अपडेट छैन भन्ने ?
सन् १९९७ देखि यता आजसम्म भारतको कुनै पनि उच्च नेतृत्वबाट नेपालको भ्रमण नभएको कुरा मैले पत्ता लगाएको छु । उनीहरूलाई भ्रमणका लागि ऊ (आग्रह !) गरेको छु । म्यानमारकी नेतृ आङ साङ कि के जातिलाई बोलाएको छु । उनलाई ऊ गर्न सरकार आतुर छ । (स्वागत !) विभिन्न मुलुकका राजदूतहरूसँग भेटघाट गररिहेको छु । के म तपाईंहरूजस्तो माइक फुकेर मात्रै बसेको छु ?
मैलै दस वर्षमा देशको ऊ गर्छु भनेकै छु । (कायापलट !) एक वर्षमा संविधान बनाइसक्ने घोषणा गरेको छु । त्यसका लागि सबैलाई मिलाउँदै छु । सरकार तरबारको धारमा हिँडिरहेको छ । मुखले ऊ गरेजस्तो छ र सरकार चलाउन ? (भाषण !) यति धेरै काम गर्दा पनि कामै भएन भन्ने ?”
प्रधानमन्त्री रिसले थरथर काम्न थाले । उनले अझ रिसाउँदै भने,– “लौ भैगो ! मैले केही नगरेको जस्तो लाग्छ भने मलाई बर्खास्त गर्नूस् । अहिल्यै छाडिदिन्छु । तपाईंहरू चलाउनूस् । ल मैले छाडिदिएँ। म हिँडेँ ।”
प्रधानमन्त्रीले जय नेपाल पनि नभनी माइक छाडे । रिसले राम्ररी खुट्टा पनि नटेकी लडखडाउँदै मञ्चबाट ओर्लिएर सरासर गाडीतिर लागे ।
प्रधानमन्त्रीलाई लोसो भन्नेहरू चोसो पसारेर ऊ ग¥याग¥यै भए ! (हे¥याहे¥यै !)
‘नेपाल’ बाट
Subscribe
Login
0 Comments
Oldest






































